१० चैत्र २०८२ मंगलबार
image/svg+xml
अन्य

गायक रामचन्द्र काफ्लेको स्टेज अनुभव - त्यो मानवसागर, त्यो चुम्बन

गायक रामचन्द्र काफ्लेलाई 'स्टेज हिरो' नै भन्ने गरिन्छ। उनका लोकपप र आधुनिक गीत चर्चित छन्। उनको गीतमा दर्शक नाचेर रमाइलो गर्छन्। 'वार्ता गराइदेऊ', 'उही मुलाको सिन्की', 'लाठी चार्ज', 'झिम्काइदेऊ परेली' जस्ता हिट गीत दिएका उनले १५ सयभन्दा बढी गीत गाइसकेका छन्। नेपालका १५ वटा जिल्ला मात्रै उनी पुग्न बाँकी छ भने विदेशमा नेपाली रहेका अधिकांश देशमा पुगेर गीत गाइसकेका छन्। स्टेज कार्यक्रमका क्रममा भोगेका केही रमाइला अनुभव उनले डिबी खड्कालाई सुनाएका छन्।

पहिलोपल्ट केटी
पहिलोपल्ट गाउन स्टेज चढ्दा केटीको भेषमा थिएँ। स्कुलहरूको जिल्लास्तरीय दोहोरी प्रतियोगिता थियो। मेरो दाइ गाउने भएकाले सरले भाइ पनि गाउँछ होला भन्दै मलाई गाउन लगाए। म ४ कक्षामा पढ्थेँ, स्वर केटीको जस्तो सुरिलो लागेपछि मलाई केटी बनाइयो। केटीकै ड्रेस र मेकअपमा गाएँ, कसैले पत्तो पाएनन्। केटाको तर्फबाट दाइले लिड गर्नुभयो, केटीका तर्फबाट मैले। हामी त्यो प्रतियोगीतामा दोस्रो भएका थियौँ।
 
लाजमर्दाे क्षण
पहिलो एल्बम 'मनकी रानी' बजारमा आएपछि स्टेज कार्यक्रमका लागि पहिलो अफर कतारबाट आयो। कतारमा रहने नेपालीमाझ एल्बम सुपरडुपर हिट भइसकेको रहेछ। कसैले चिन्दैनन् होला भनेर दुइटा गीत गाएर फर्किन्छु भन्ने ठानेको थिएँ। दर्शकले अरू गीत पनि गाउन अफर गरे। अरू गीतको न लिरिक्स लेखेर लिएको, न याद गरेको। तैपनि जेनतेन गाउँछु भनेर गुनगुनाएको त दर्शकले सही गाए, मैले गल्ती गाएँ। विदेशमा गीत बबाल हिट भएको तर त्यसको मैले हेक्का नराख्दा लाज मर्नु भएको थियो।
त्यसैगरी दुबईको बर दुबईमा एउटा कार्यक्रम भएको थियो । मलाई लागेको थियो, बढीमा एक हजार नेपाली दाजुभाइ होलान्। दर्शक हेरिनँ, स्टेज पछाडिबाटै आलाप लिएर स्टेज उक्लिने मेरो स्टाइल छ। त्यही स्टाइलका साथ स्टेज पुगेको त दर्शक देखेर छक्कै परेँ। १५ हजारभन्दा बढी दर्शक रहेछन्। एकछिन आलाप नै रोकिएछ । दर्शक देखेर अनौठो लाग्दै थियो। गाउँदै जाँदा 'वान्स मोर' आयो। पहिले नै नर्भस भइसकेको मैले बोल्ने भेउ नपाउँदा दर्शकलाई 'फेरि पनि आउँछु सर' भनेछु। सबै गलल हाँसे। दोस्रोपल्ट लाजमर्दाे भयो।
 
धनगढीमा मानवसागर
मेरो गायन करिअरमा सबैभन्दा धेरै दर्शक धनगढीमा पाएको थिएँ। दोस्रो औद्योगिक महोत्सव थियो। महोत्सव अवधिभर झन्डै १ लाख ३० हजार दर्शक कार्यक्रम अवलोकनका लागि आएका थिए।
मेरो कार्यक्रमका दिन स्टेज चढेर हेर्दा दर्शक होइन, मानवसागर देखिन्थ्यो। भीड अलिकति मात्रै बिथोलिँदा जे पनि हुन सक्ने देखियो। प्रहरीलाई कन्ट्रोल गर्न हम्मे परेको थियो। 'रमाइलो गर्ने स्वतन्त्रता सबैलाई हुन्छ, तपाईंहरूको रमाइलोले अरूलाई असर नपुर्‍याउने भएमात्रै गाउँछु' भनेँ। दर्शक त ठाउँको ठाउँ स्थिर भए। वाह, कति अनुशासित दर्शक ! अहिले पनि त्यो माहोल याद आउँछ। मेरो एकवचनमा भीड स्थिर भएको देखेर प्रहरीहरू छक्क परेका थिए।
 
अरेबियन पनि नाचे
संगीतको भाषा विश्वव्यापी हुने रहेछ। गीत बुझून् कि नबुझून्, नेपाली मादलको तालमा कम्मर मर्काउन थालिहाल्छन् विदेशी पनि। बहराइनको एक फाइभस्टार होटलको आँगनमा 'काफ्ले एकल साँझ' थियो। नेपालीभन्दा बढी अरेबियनहरू नाचे। उनीहरू तालमा ताल मिलाएर नाचेको देखेर अरू दर्शकलाई पो अचम्म भयो। पछि उनीहरूले हिन्दी गीत अफर गरे। मैले हिन्दी नगाएको तर उस्तै गीत भनेर आफैँले गाएको चौधरी गीत 'चलौरे लडिया, हमार बडिया' गाइदिएँ। उपहारको त चाङ नै लाग्यो।
स्विट्जरल्यान्डमा एउटा कार्यक्रम थियो। आयोजक गौरी बर्तौलाले स्विस साथीहरू पनि बोलाएका थिए। नेपाली कल्चर हेर्न आएका उनीहरू रमाए। तीमध्ये एकजना युवती आँखाभरि आँशु लिएर मलाई भेट्न आइन्। उनलाई नेपाली संगीत र मेरो प्रस्तुतिले छोयो रे।
 
ठाउँको ठाउँ स्टेज
भारतको उत्तराखण्डमा एक कार्यक्रमका लागि गएका थियौँ। बीचमा एकदिन खाली थियो। हामी मसिल्यारी भन्ने ठाउँ घुम्न निस्क्यौँ। बाटोमा एकजनालाई त्यहाँको प्रसिद्ध ठाउँ सोधेँ। यहाँ मलाई चिन्ने कोही छैनन् भनेर निर्धक्क हिँडिएको थियो, ती मान्छेले त 'रामचन्द्र काफ्ले होइन' भने। मलाई खुशी र अचम्म लाग्यो। उनले हामीलाई घुमाए। त्यसपछि गाउँभरिका मान्छेलाई भनेर ठाउँको ठाउँ स्टेज पो बनाइहालेछन्। हामीले कार्यक्रम गर्नु नपरोस् भने बढी पारिश्रमिक माग्यौँ, खुरुक्क दिए। पछि दर्शक हेर्छु त ठूलै भीड ! गीत गाउन थालेको, उनीहरूलाई पनि कण्ठै रहेछन्। लाग्यो, भाषा र संगीतको त सिमाना हुने रहेनछ।
 
श्रीमतीकै अघि किस
स्विट्जरल्यान्डमै कार्यक्रम गर्दाको कुरा हो। मसँगै श्रीमती जुनु रिजाल (गायिका) को कार्यक्रम पनि थियो। हामीले कार्यक्रम गर्दा नै आफूहरू श्रीमान्–श्रीमती भएको स्पष्ट भनेका थियौँ। तर, त्यहाँ एकजना महिला मेरो असाध्यै ठूलो फ्यान हुनुहँुदो रहेछ। सँगै श्रीमती उभिरहेकी थिइन्, उहाँ आएर अँगालो मारेर चुम्बन पो गर्न थाल्नुभयो। म त लाजले लाल–लाल भएछु।

प्रकाशित: ११ मंसिर २०७१ १२:४२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App