'धूम थ्री', 'सत्यमेव जयते' र अहिले 'पीके' मा आमिर खानले आफ्नो 'आर्ट अफ सिक्रेसी' लाई कायम गरेका छन्। फिल्म प्रमोसनमा पनि उनी कमै बोलिरहेका छन्। 'गोप्यता राख्नु आवश्यक छ, नत्र दर्शकलाई फिल्म हेर्दा त्यति मजा आउँदैन' भन्ने गर्छन् उनी। १९ डिसेम्बरमा रिलिज हुने फिल्म 'पीके' बारे धेरै अड्कलबाजी भइरहेका छन्। तर, कथाबारे केही स्पष्ट जानकारी अहिलेसम्म आएको छैन। एक भारतीय मिडियासँग उनले गरेको कुराकानीः
पहिलो पोस्टरको उद्देश्य हंगामा गर्नु हो ?
पहिलो इमेजमा फिल्मको आत्मालाई दर्शाउनु आवश्यक हुन्छ। 'तारे जमीन पर' फिल्ममा हामीले बच्चाहरूलाई फोकस गर्दै पोस्टर बनाएका थियौँ। त्यसलाई नै कला भनिन्छ। 'पीके' को पहिलो पोस्टर पनि त्यस्तै छ, जसले तपाईंलाई फिल्मबारे सही भावना प्रदान गरोस्, उत्सुकता जगाउन सकोस्। यो पोस्टर फिल्मको सबैभन्दा साँचो पोस्टर हो।
त्यस्तो पोस्टरले हंगामा मचाउला भन्ने त थाहा थियो होला नि ?
हामीलाई थाहा थियो, मानिसले यस्तो पोस्टरलाई सहजै स्विकार्ने छैनन्। तर, निर्देशक राजु (राजकुमार हिरानी) र मलाई विश्वास थियो– यो गलत चाहिँ हुनेछैन। रेसलिङमा सानो लंगौटी लगाएर खेलाडी मैदानमा उत्रन्छ। लंगौटीले मुश्किलले छोप्न सक्ने भागलाई मैले कम्तीमा ट्रान्जिस्टरले छोपेको छु। फिल्म 'थ्री इडियट्स' मा चुम्बन दृश्य थियो। तर, हामीले कुनै पनि ट्रेलरमा देखाएनौँ। किनकि, त्यो एउटा क्षणमात्र थियो। फिल्मको कथाको मुद्दा थिएन। 'पीके' मा पनि सामाजिक सरोकारका कुरा छन्। फिल्मबारे धेरै कुरा बोल्दिनँ। तर, यति भन्छु– फिल्ममा विस्थापनको पीडा छ।
यस रचनात्मकतालाई आमदर्शकले कत्तिको बुझ्लान् ?
हरेक मानिसको आ–आफ्नै दृष्टिकोण हुन्छ। तर, फिल्मको पूरा कथा यस पोस्टरले भन्छ। केही मानिसले अलिक ढिलो बुझ्लान्।
फिल्मप्रतिको उत्सुकताले बक्स अफिसमा कस्तो व्यापार गर्ला जस्तो छ ?
कुनै पनि फिल्मको व्यवसायबारे पहिला नै भन्न सकिँदैन। आशा गर्छौं– फिल्म दर्शकले मन पराउनेछन्। म आफ्नो फिल्मको तुलना अरू फिल्मसँग गर्दिनँ। 'पिपली लाइभ' वा 'धोबीघाट' को व्यवसायको तुलना 'गजनी' वा 'थ्री इडियट्स'सँग गर्न सक्दिनँ।
तर, आजभोलि फिल्मको सफलताको मापदण्ड व्यावसायिक आँकडा नै हुन्। होइन र ?
म चार वर्षदेखि भनिरहेको छु– मिडियामा फिल्मको व्यावसायिक आँकडा दिनु हुँदैन। 'मुगल–ए–आजम', 'प्यासा' को व्यवसाय कसलाई थाहा छ ? मलाई पनि थाहा छैन। तर, यी फिल्मको प्रभाव छ। जति आँकडा निर्माता वा अभिनेताले दिन्छ, त्यो ९९ प्रतिशत गलत हुन्छन्।
सही आँकडा थाहा पाउनका लागि तपाईंसँग कुनै उपाय छ ?
अमेरिकामा रेन्ट ट्र्याक छ, जसबाट कम्प्युटरमा एक–एक टिकट बिक्री भएको सूचना पाइन्छ। वितरकलाई पनि थाहा हुन्छ। भारतमा पनि रेन्ट ट्र्याक आउनुपर्छ।
'सत्यमेव जयते'मा तपाईंले फिल्मसँग जोडिएका मुद्दा उठाउनुभयो। यसपछि तपाईंसँग फिल्मका अवसर कम भएका छन् कि ?
मलाई लाग्छ फिल्मको निर्वस्त्र पोस्टर कहिल्यै निस्कने थिएन होला। तर, म डराउँदिनँ। किनकि, सिर्जनशील मान्छे सत्यतासाथ काम गर्छ। उसले त्यही काम गर्छ, जसमा उसको मन लाग्छ। 'सत्यमेव जयते' पछि म मानिसहरूसँग झन् नजिकिएको छु। हाम्रो उद्योगका मानिस राम्रा छन्। उनीहरू जानीबुझी स्क्रिनमा गलत देखाउँदैनन्। स्क्रिनमा केही गलत नदेखाइयोस् भनेर इन्डस्ट्रीका लेखक र रचनात्मक मानिसलाई घर बोलाएर 'सेन्सेटाइजेसन प्रोग्राम' गर्ने सोचमा छु म।
समीक्षकको सल्लाहलाई कसरी लिनुहुन्छ ?
फिल्म सिर्जनशील माध्यम हो। फिल्म हेर्ने बेला मानिसको मुड अलग्गै किसिमको हुन्छ। सर्वप्रथम फिल्म मलाई कस्तो लाग्यो ? मेरो टिमले के भन्छ ? म यो कुरामा ध्यान दिन्छु। दोस्रोमा, दर्शकलाई कस्तो लायो ? दर्शकले फिल्म मन नपराउँदा नराम्रो लाग्छ। किनकि, ऊ फिल्म हेर्नका लागि पैसा खर्च गरेर आएको हुन्छ। तेस्रोमा, आमा, किरण, बच्चा र साथीहरूका कुरा सुन्छु। त्यसपछिमात्र आउँछ समीक्षक। जो मेरा लागि एउटा दर्शक हो। अन्तर यतिमात्र हो कि अरू दर्शक लेखेर भन्दैनन्, समीक्षक लेखेर बताउँछन्। म सबै समीक्षामा त्यति ध्यान दिन्नँ तर पढ्छु अवश्य। तिनलाई पढेर नै काम कस्तो भयो भन्ने कुरा थाहा पाइन्छ। व्यवसायमा समीक्षाको प्रभाव पर्दैन।
प्रकाशित: ११ मंसिर २०७१ १२:४६ बिहीबार





