८ चैत्र २०८२ आइतबार
image/svg+xml
अन्य

शबाना अवतार

दस वटा जल्दाबल्दा प्रश्न र चार वटा जगेडा प्रश्न बोकेर हामी पुगेका थियौं, होटल एभरेस्ट शेराटन। मानौं हामी बन्दोबस्तीका सबै सामान बोकेर लडाइँमा थियौं। हामी भन्नाले म र मेरा पत्रकार मित्र पुष्करलाल।
अनि हाम्रो समरको अर्को पक्ष शबाना आजमी। बलिउडकी चर्चित अभिनेत्री।लडाइँ हाम्रो सामान्य विषयमा थियो। उनी अन्तर्वार्ता नदिने पक्षमा, हामी लिएरै छाड्ने पक्षमा। त्यस बेला उनी यति चर्चित र व्यस्त थिइन्, वर्षमा दुइटा मात्र अन्तर्वार्ता दिन तयार हुन्थिन्, 'फिल्मफेयर'लाई या 'धर्मयुग'लाई। 
हामीले काठमान्डूमा अन्तर्वार्ता तयारी गर्दैगर्दा उनले भर्खरै विनोद भारद्वाजलाई 'दिनमान' नामक साप्ताहिक पत्रिकामा अन्तर्वार्ता दिइसकेकी थिइन्। दिनमान त्यति बेला काठमान्डूको बजारमा सर्वाधिक चर्चित पत्रिका मानिन्थ्यो। त्यो हिन्दीमा दिइएको अन्तर्वार्ताको तिथिमिति जोड्ने हो भने हामीले अन्तर्वार्ता पाउन सक्ने सम्भावना कम थियो। खैर, हामी पुग्यौं हाम्रा सरसामग्रीसहित।
शबानालाई विमानतलबाट लिएर आए, अध्यक्ष भरतलाल र उपाध्यक्ष नरेन्द्रबहादुर श्रेष्ठले। यी दुवै नेपालमा पहिलोपटक हुन लागेको नेपाल चलचित्र महोत्सवका आयोजक थिए। 
(शबाना आजमी त्यति बेला चानचुन कामको लागि नेपाल आएकी थिइनन्, यहाँ हुन लागेको पहिलो चलचित्र महोत्सवकी उनी प्रमुख अतिथि उनी नै थिइन्।) 
यो विक्रमाब्द २०४१ सालको कुरा। जुन समय निजी क्षेत्रबाट फिल्म बन्न थालेको तीन वर्षमात्र हुँदै थियो।
शबानाको यो नेपाल भ्रमण दोस्रो थियो। पहिलोपटक नेपाल आगमन १३ वर्षअघि ईश्क–ईश्क–ईश्कका बेला भएको थियो। जसमा थिए शेखर कपुर नायक।
शेखरसित उनको पहिलो प्रेम यहीँ पलाएको थियो। ईश्क नाम भएको देव आनन्दको यो फिल्म पनि चलेन र यिनीहरूको प्रेमप्रकरण पनि।
लन्डनमा चार्टर्ड एकाउन्टेन्ट पढेर रुट्स काम गरिबसेका शेखरलाई उनका मामा देव आनन्दले सिनेमामा काम गर्न बोलाएपछि सिएको धन्दा छोडेर हुर्रिएर आएका थिए, उनी।
१३ वर्षअघिको यो कथा सम्भि्कँदै गर्दा शबाना सेतो पाइन्ट, प्याजी टिसर्ट र सेतो ज्याकेटमा अवतरण भइन् र कतै गइन् गाडीमा। 
काठमान्डू आइपुगेकै साँझ शबानाले चलचित्र पुरस्कार वितरण गर्दै प्रज्ञा प्रतिष्ठानको मञ्चमा भनेकी थिइन्, '१३ वर्षअघि म नेपाल आएकी थिएँ, धेरै कुरा बद्लिएछन्। घरहरू उच्चा भएछन्, बाटो साँघुरिएछन् तर नबद्लेको एउटै कुरा रहेछ– तपाईंहरूको ओठको हाँसो।'
(ताली–ताली। त्यसपछि फेरि ताली।)
टरर्र ताली बजेको सुनेर शबाना चकित भइन्। धेरै बेर स्तब्ध पनि।
तिनको भाषण सुन्दा नेपालका धेरैजसो कलाकार त्यहीँ थिए, नायक–नायिका, गायक–गायिका, फिल्म निर्माता, निर्देशक र हलवाला पनि।
नायक शिव श्रेष्ठले जीवनमा पहिलोपटक अटोग्राफ भरेको त्यो दिन नै उनले पुरस्कार पाएका थिए, कान्छीका लागि। शर्मिला शाहले नायिकाका लागि र अरुणा लामाले पार्श्व गायिकाको लागि। नारायणगोपालले चाहिँ पुरस्कार पाए पनि लिन अस्वीकार गरेका थिए। 
...
शबाना राष्ट्रिय सम्मानले विभूषित अभिनेत्री थिइन्। उनले केही समयअघि मात्रै क्यानाडामा बबाल मच्चाएकी थिइन्– 'केटी मान्छे डाक्टर हुन सक्छे, ड्राइभर हुन सक्छे भने किन एक्टर होइन?'
यो प्रश्न जल्दोबल्दो मात्र होइन, सान्दर्भिक थियो। उनको यो प्रस्तावपछि धेरै पुरस्कार दिने संस्थाले एक्टर एक्ट्रेस नभनीकन अब एक्टर नै भन्न थालेका थिए।
यही प्रश्न उठाएका थिए, २०२२ सालमा शंकर लामिछानेले। पारिजातको उपन्यासमा उनले 'स्रष्टाको लिंग हुँदैन' भनेका छन्।
शबानालाई हामीले बुझाएको प्रश्न ओके भयो भनेमात्र उनले हामीलाई भोलि बिहान होटल एभरेस्टमा अन्तर्वार्ता दिने पक्का थियो। उनलाई पहिले प्रश्न सेन्सर गराउनुपर्छ भनेर आयोजक र उनका पिएले हामीलाई निरन्तर दबाब दिइरहेका थिए।
दस वटा प्रश्नमा उनले पाँच वटाको मात्र उत्तर दिने भइन्। अन्तर्वार्ताको स्थान तोकिएको थिएन। 
भोलिपल्ट साँझ हामीलाई अचानक बोलावट भयो। शबाना अन्तर्वार्ता दिन राजी भइन् भनेर। होटल ब्लू–स्टारमा, त्यहीँको डिनर पार्टीमा।
हाम्रो हातमा प्रश्न कच्याककुच्युक भएर फर्केको थियो, मानौं निमाविको विद्यार्थीको कापी कुनै शिक्षकले जाँच गरेर हेरेजस्तो। काटकुट र अन्डरलाइन मात्रै।
हामी भर्या ङ चढ्दै थियौं। क्यामेरा, ब्याट्री, रेकर्डर यावत् सामग्री चेक गर्यौं ।
'जय हो' भन्दै हलमा प्रवेश गर्यौं ।
आकर्षक प्रिन्टेड कुर्तामा थिइन्, शबाना। प्रसिद्ध कवि शायर कैफी र अभिनेत्री शौकत कैफीकी एक्ली छोरी शबाना। भारतीय सिनेमाको नयाँ धारको आन्दोलनकी एक सूत्रधार। 
'सलाम वालेकुम' भन्नेबित्तिकै उनले जवाफमा 'वालेकुम सलाम' भन्दै मलाई नै प्रतिउत्तर दिइन्। अर्को क्षेप्यास्त्र छोडिहालिन्, 'यु आर दी क्वेस्चनर?'
मैले हाँस्दै भने, 'नट एक्जेट्ली म्याम्। बट आई डिड्। यु डन्ट लाइक दी...'
मेरो कुरा हावाको हावामै हुँदा तिनले अर्को तोप छोडिन्, 'आई डन्ट् वान्ट टु वी भेरी पर्सनल। बट इट काउन्ट्स्।'
हामी टेबलको वारपार छौं। म प्रश्नतिर, पुष्करलाल क्यामेराको लेन्सतिर। शबाना एक्सनमा।
मैले पहिलो प्रश्न सोध्नेबित्तिकै उनले भनिन्, 'यो प्रश्न जरुरी छैन, कसले भनेको यो कुरो? अर्को प्रश्नमा जाऊँ।'
म पहिल्यै क्लिन बोल्ड भएँ। धरमर–धरमर।
प्रश्न मैले फेरि मधुर स्वरमा दोहोर्याधएँ, 'एउटा निर्देशकले चाहे भने एउटा कलाकारलाई बनाउन पनि सक्छ, बिगार्न पनि।'
'कुनै पनि निर्देशकले यस्तो गर्न सक्दैन,' उल्टै प्रश्न तेर्स्याइन्, 'कसले भनेको यो कुरो?'
मैले उनको प्रश्नमा श्याम बेनेगलको रेफरेन्स दिएँ। 
उनले भनिन्, 'श्यामले यस्तो कुरा गर्नै सक्दैन।'
स्मरणीय त, शबानालाई बेनेगलले फिल्ममा ब्रेक दिएका थिए। 
दोस्रो प्रश्नमा सहज हुँदै उनले भनिन्, 'कुनै पनि पुरस्कारले न्याय गर्न सक्दैन। अलग–अलग किसिमको भूमिका देखिएको कलाकारमध्ये कसलाई सर्वोत्कृष्ट भन्ने? के पागल र डाक्टरको भूमिका खेल्ने दुई कलाकारको तुलना हुन सक्छ?'
उनी प्लेटमा केही खाँदै पनि थिइन्।
आयोजक बेलाबेला दशअवतार शैलीको परिक्रमा पनि गर्दै थिए। यसपछिको प्रश्नको उत्तर कस्तो आउने हो थाहा नपाईकन मैले आफ्नै घरकी दिदीलाई जस्तै गरी सहजै सोधेँ, 'एउटा कलाकारले अभिनय गर्दा आफ्नो जीवनको निजी अनुभवको पनि सहारा लिन्छ, वा भनौं– आफ्नो निजी अनुभव र अनुभूति उसको पुँजी हो। यस्तो अवस्थामा कसरी तपाईंले खेलेको 'अर्थ' फिल्मको पूजामाथि न्याय हुन सक्छ, जबकि तपाईं वास्तविक जीवनमा दोस्रो पत्नी हुनुहुन्छ तर अर्थमा तपाईंले दोस्रो पत्नीको विरुद्धमा लडाइँ लड्नुभएको छ?'
भरतमुनिका अनुसार अभिनयमा चाहिने नवरसमध्ये सबभन्दा शक्तिशाली रौद्र रस मानिन्छ, यसपालि शबानाको हाउभाउमा रौद्र रूप देखियो। तिनको हातबाट चम्चा र काँटी एकसाथ खस्यो। पुष्करले डरले क्यामेरा झोलामा थन्क्याए।
म त आश्चर्यमा परेँ। मेरो सबभन्दा प्रिय अभिनेत्रीको भयावह रूप देखेर।
शबाना जुरुक्क उठिन्, मैले तिनको कुर्ता र सलवारको आकर्षक वेशमा अब दुर्गा अवतार देखेँ। 'कसले भन्यो तपाईंलाई म कसैको दोस्रो पत्नी हुँ भनेर? कसले भन्यो?' उनी बेस्मारी कड्किइन्। 
उनको हातबाट खसेको चम्चाको बदलामा अर्को चम्चा दिन वैटर आए उनले त्यो पनि हुत्याइदिइन्। अलिअलि भक्भकाउने मेरा मित्र पुष्करले मलाई डरले भने, 'भयो–भयो जाऔं।'
म त अदालतको कठघरामा उभिएजस्तै भएँ। मानवताको हिसाबले पनि मैले शबानाजीलाई ठूलै अपमान गरेँ कि भनेर पछुताउन थालेँ।
आयोजक सबैले मलाई घेरेर मलाई 'यता आउनुस्' भनेर तानेर लगे। कसैले मलाई तैंले ठिक गरिस् भनेनन्।
अन्तर्वार्ता पूरा हुन सकेन। अपूरो अन्तर्वार्ता बोकेर म पार्टीमा केही नखाई बाहिर सडकमा आएँ। ठिक गरेँ या गलत; मलाई पनि थाहा भएन।
प्रश्न त मैले एक दिनअघि नै बुझाएको थिएँ। तिनले सेन्सर गरेरै ओके गरेकी थिइन्। मेरो मेहनत खेर गएकोमा मैले गरेको पनि ठिक थिएन भन्ने मलाई लाग्यो। मेरो इच्छा थियो– नेपालको एउटा राम्रो सिनेपत्रिकामा विश्वप्रसिद्ध अभिनेत्रीको अन्तर्वार्ता छापियोस् भन्ने। अन्तर्वार्ता त डस्टबीनमा गइगयो।
भोलिपल्ट शबाना पनि मुम्बई फर्किन्। एक किसिमले माफी माग्न मन थियो, त्यो पनि सम्भव भएन। 
उनी नेपाल आउँदा खुसी भएर जान सकिनन् भन्ने लागिरह्यो। तर आफूसँग पढेका अभिनयी साथी रीताराज गुरुङ र टीका पहारीलाई भेटेर खूब खुसी भएकी थिइन् उनी। त्यो खुसी पनि मेरो कारणले नाश भयो भन्ने चिन्ताले धेरै दिनसम्म मलाई पिरोलिरह्यो।

...
छ महिनापछि सिनेमासम्बन्धी अध्ययन गर्ने क्रममा मुम्बईमा थिएँ म। शेखर कपुरको 'मिस्टर इन्डिया' र सागर सरहदीको 'वागडे पाणी'मा सहायक भएर थाल ठटाइसकेको थिएँ। कहिलेकाहीँ शबानाजीको घर जुहूबीचको छेउमा जानकी कुटीर भएर हिँडिरहँदा उनलाई भेटेर माफ माग्न मन लाग्थ्यो। 
शबानाको माइतीघरअगाडि शशि कपुरको पृथ्वी थिएटर थियो, जहाँ म नाटक हेर्न गइरहन्थेँ। 
एक दिन गायक कुमार शाहले मेरो भलाइका लागि एउटा प्रस्ताव ल्याए, 'रंगकर्मी हो भने इप्टा ज्वाइन गर्नुस्। म तपाईंलाई सिफारिस गरिदिन्छु।'
कुमार शाह साइनो फिल्मबाट गायनमा प्रवेश गरेपछि कुमार कान्छा भए। म उनैसित पेइङ गेस्ट भएर बसेको थिएँ, कला नगरमा। उनैको सिफारिसमा मेरा मित्र सोमनाथसँग इप्टा पुग्यौं।
इप्टामा हामीबाहेक कलाकार मुरलीधर, गायक बिके शाही, सुरेश विश्वकर्माजस्ता नेपाली कलाकार आबद्ध थिए भने टीका पहारीले कार्यसमितिमा हुँदा यहाँ थर्काएर गइसकेका थिए। नेपालीको हैकम भएको यो ठाउँमा आफू पनि हुनु मेरो लागि आनन्दकर थियो नै।
कुमारको सिफारिसमा म अघिल्लो तीन महिना रेडकार्डमा बसेँ।
मुरलीधरलाई भारतीय मूलका मान्छेले पनि दाजु भन्थे, मुरली दाजुको बल बदौलतमा मैले ग्रीनकार्ड पाएँ। यसपछि मेरा एक बिहारी मित्र अखिल मिश्रले इप्टाको विशेष बैठकमा लिएर गए। मैले त्यहाँ दोस्रोपटक शबानाजीलाई देखेँ। अरूसित जिस्किरहेको, इत्रिरहेको शबाना आजमी।
काठमान्डूमा देखेभन्दा धेरै भिन्न। उनी अर्की कलाकार सुलभा आर्यका सेता केस टिप्दै थिइन्।
अखिलको करबलले म शबानाजीको अघिल्तिर उभिन पुगेँ। अखिलले मेरो परिचय दिँदै भने, 'दिदी ये प्रकाश है। नेपाल से आये है। हमारा एक्टिभ मेम्बर।'
म धर्मसंकटमा थिएँ, मेरो पुरानो परिचय दिऊँ कि नदिऊँ। जीवनमा सयौं–हजारौं ठाउँमा अन्तर्वार्ता दिइसकेकी शबानाले मलाई याद गरेकी होलिन् र? 
सम्भवतः यही थियो सान्त्वनाको उपाय। म ढुक्क भएँ। 
उनले त्यो प्रिन्टेड कुर्ता लगाएको भए मेरो सातो पुत्लो जान्थ्यो होला तर त्यो दिन तिनले सेतो कुर्ता र जिन्स पाइन्ट लगाएकी थिइन्, जसलाई उनीहरू इप्टा युनिफर्म भन्थे। 
यस्तै सोच्दै म ठिक उनको अगाडि यसरी उभिएँ, जसरी नौ कक्षामा दुईपटक फेल भएको विद्यार्थी आठ कक्षामा झारिँदा हेडसरको अगाडि चुपचाप उभिन्छ।
तिनलाई पनि मैले पहिले नभेटेजस्तो गरेर हाँस्दै भने, 'नाइस् टु मिट यु दिदी।'
उनलाई इप्टामा प्रायः सबैले दिदी नै भन्थे र मैले पनि भनेँ। इप्टामा उनको परिवारका प्रायः सबै सदस्य थिए। बाबु–आमा र भाइ–बाबा आजमी अनि उनका फुपू मामाका परिवार। उनका आफन्त जावेद सिद्दीकी, लुभना, सुलभा आदि। 
भेट लाभदायी नै भयो। मैले कुमारलाई सुनाएँ। उसले अलि पत्याएन।
कुमारको आंशिक कुरामा मलाई विश्वास लाग्थ्यो। उसले मुम्बईलाई धेरै किसिमले चिनेको छ, अनेकानेक तरंगले।
मुम्बईमा नेपालीको दुइटा सीमान्त छ, नेपालका नेपालीलाई दार्जीलिङतिरका नेपालीले छयत्तरेजस्तै बनाउथे। यी दुवै भेगमा कुमारको मिलनविन्दु बलियो थियो।
त्यति बेला दार्जिलिङमा चलेको गोर्खाल्यान्ड आन्दोलनले धेरै दार्जिलिङवासी त्यहीँ भेटिन्थे। 
एक दिन इप्टाको रिहर्र्सल सकेर फर्किंदा शबाना चढेकै गाडीमै म परेँ। पछिल्लो सिटमा। उनले अघिल्लो सिटबाट फर्केर मलाई सोधिन्, 'जर्नलिस्ट साहब। सब खैरियत?'
प्रश्नले म तरंगित भएँ। गाडी हल्लेको हल्यै भयो।
होटल ब्लू–स्टारमा भेटिएकी रातो प्रिन्टेट कुर्ता लगाएकी शबानासित साक्षात्करण भइगयो। मलाई भोलि नै मुम्बई छोडूँ जस्तो भयो तर तिनले थप्दै भनिन्, 'रिहर्सल अच्छा हो रहा है ना? आप वामन के नाटक मेँ हो कि नहीँ?'
वामन त्यति बेला इप्टामा राजदर्शन नाटक गर्न आएका थिए। अन्य केही नेपालीले वामन केन्द्रेको व्यहोराले गर्दा मञ्च छोडेका थिए। त्यसो त इप्टामा पैसाको अभाव भयो कि शबानाको बुबाले लेखेको नाटक आखरी शमा र सर्वेश्वरदयाल सक्सेनाको नाटक बकरी भइरहन्थ्यो।
बकरी मञ्चन गर्नलाई गायक–अभिनेता मुरलीधर नभई हुँदैनथ्यो, उनी गाउन पनि सक्ने र अभिनय पनि गर्न सक्ने। 
बकरीको लामो इतिहास बनिसकेको थियो। त्यसलाई ब्रेक गर्न राष्ट्रिय नाट्य विद्यालयबाट आएका वामन केन्द्रेको नयाँ नाटक हुनेवाला थियो। म पनि थिएँ त्यसमा।
इप्टाको दोस्रो बैठकमा एकपटक फेरि म शबानाको समूहमा परेँ। मैले त्यति बेला एकपटक मन खोलेर काठमान्डूमा भएको अन्तर्वार्ताप्रति क्षमा माग्न चाहेँ, उनले अत्यन्त सहजतासाथ भनिन्, 'यो समय हो। हुन्छ त्यस्तो। मेरो पनि त्यो बेला सही हालत थिएन। जावेदसितको मेरो सम्बन्धको कारणले परिवारमा सबै विरोधी थिए। मैले बुबालाई सोधेँ, के जावेद ठिक मान्छे होइनन् त अब्बा? मेरा बुबाले के भने थाहा छ, प्रकाश? तुम भी ठिक हो जावेद भी ठिक है। बहरहाल तुम्हारा हालत ठिक नहीँ है। म त्यस्तो अवस्थामा काठमान्डू आएकी थिएँ। सायद त्यही फ्रस्ट्रेसनको रूप थियो त्यो।'
शबाना आफ्ना कवि पितालाई खूब माया गर्थिन्। उनले लेख्ने महँगो कलम मो ब्लाँ र उनले लाउने मुशायरी पोसाकको व्यापक प्रशंसक पनि।
सबै कलाकारको जीवनमा यस्तो हालत आउँदो रहेछ जस्तो लाग्यो। मैले बारम्बार आफ्नो त्यो प्रश्नको निम्ति आफूलाई पचासौंपटक फेरि धिक्कारेँ। त्यो प्रश्न सोधेर म कति नै ठूलो पत्रकार हुन्थेँ वा मलाई कतिले नै चिन्थे होला– यस्तै सोचेर मैले आफूलाई फेरि फेरि सरापिरहेँ। 
केही वर्षअघि शबाना पर्वतीय फिल्म महोत्सवका लागि प्रमुख अतिथि भएर काठमान्डू आइन्।
बेलुका मन्त्रीलगायत धेरैलाई आयोजकले यलमाया केन्द्रमा रात्रिभोजमा बोलाएका थिए। म गायक–संगीतकार शैलेश सिंहसित पुगेको थिएँ। शैलेशले प्रेमपूर्वक आफ्नो अटोग्राफसहित शबानाजीलाई सन्धि सिडी उपहार दिए। सस्नेह ग्रहण गरिन्। फोटो खिचिन्। 
हामी सँगै उभिएकी सपना मल्ल प्रधानको साडी छोएर प्रतिक्रिया दिइन्, 'यो ढाकाको टंका साडी होइन?' 
सपनाले दंग परेर जवाफ दिइन्, 'हो। म यो घरमा धुँदिनँ, धुन पनि कलकत्ता नै पठाउँछु।'
त्यही बेला आयोजकमध्येकी एक कनक दीक्षितकी पत्नी शान्ताजीले शबानासित फोटो खिच्नका निम्ति एक हुल मान्छे लिएर आइन्। र, प्रस्ताव राखिन्।
तर, आश्चर्य!
शबाना एक्कासि खानाको थाल भुइँमा राखेर झर्किन्, 'प्लिज नो मोर फोटो सेसन।'
शान्ता माफी माग्न खोज्दै थिइन्। शबाना खानै नखाई त्यहाँबाट गाडी लिएर हिँडिन्। 
फेरि अर्को रूप देखेँ मैले। कलाकारको जीवनमा यस्तो भइरहँदो रहेछ सायद।
शबानाजीलाई मैले जस्तो र जुन रूपमा देखे पनि पहिलोपटक अर्थ फिल्म हेर्दा कुलभूषण खरवन्दा र स्मिता पाटिलसमेत रहेको पार्टीमा बोलेको संवाद सधैं सम्भि्कन्छु। उनले भनेकी थिइन्, 'स्त्रीले हरेक रूप धारण गर्नुपर्छ। आमाको, दिदीको, बहिनीको छोरीको तर कहिलेकाहीँ लोग्नेसित बिछ्यौनामा रन्डीको रूप धारण गर्नुपर्छ...।'
अर्थ फिल्मको यो संवादले शबानालाई राष्ट्रिय पुरस्कार दिलायो तर मेरो आँखामा शबानाको त्यो रौद्र चेहरा अनायास आइपुग्छ; जब यो संवाद मेरो कानमा गुञ्जिन्छ।

प्रकाशित: २२ कार्तिक २०७१ ००:३९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App