९ चैत्र २०८२ सोमबार
image/svg+xml
कला/साहित्य

फेरी विवादमा पर्यो ‘धुरन्धर-२’

निर्देशक आदित्य धर निर्देशित चलचित्र ‘धुरन्धर २’ रिलिज भएपछि नयाँ विवाद चर्किएको छ। रणवीर सिंहको मुख्य भूमिका रहेको चलचित्र ‘धुरन्धर २’ ले मिश्रित प्रतिक्रिया पाइरहेको छ।  

यस पटकको विवाद भने चलचित्रमा देखाइएको ‘आतिफ अहमद’ नामको पात्रसँग सम्बन्धित रहेको छ, जसलाई धेरैले वास्तविक जीवनका अतीक अहमद उत्तर प्रदेशको कुख्यात गैंगस्टर‑राजनेताबाट प्रेरित भएको ठानिरहेका छन्। साथै चलचित्रले समाजमा घृणा फैलाउने तथा चलचित्रलाई राजनीतिक प्रोपेगान्डा भएको आरोप लागेको छ।

चलचित्रमा देखाइएको आइसआइएसँगको कथित सम्बन्धका कारण राजनीतिक दलहरू, सामाजिक समूहहरू र दर्शकहरूबिच तीव्र बहस सुरु भएको छ। केही नेताहरूले यसलाई संवेदनशील विषयलाई उक्साउने प्रयास भन्दै आलोचना गरेका छन्।

चलचित्रमा आतिफ अहमदको भूमिका अभिनेता सलिम सिद्धकीले निभाएका छन्। समाजवादी पार्टीको नेता एस.टी. हसनले चलचित्रले समाजमा तनाव र घृणा फैलाउन सक्ने उल्लेख गरेका छन्। त्यस्तै कैयौँले चलचित्रलाई ‘पाकिस्तानी चलचित्र जस्तो’ भन्दै आलोचना गरेका छन्।

त्यसैगरी विपक्षी दलका नेताहरूले चलचित्रलाई राजनीतिक प्रोपेगान्डा भएको आरोप लगाएका छन्। उनीहरूका अनुसार यसले वर्तमान राजनीतिक वातावरणलाई प्रभावित पार्न सक्छ भन्ने आरोप लगाइएको छ।

अर्को तर्फ भने चलचित्रलाई केहीले राजनीतिक एजेन्डा भएको बताएका छन्।

‘धुरन्धर-२’ ले मनोरञ्जनसँगै राजनीतिक बहस पनि सिर्जना गरेको छ। कसैले यसलाई यथार्थसँग जोडिएको कथा मानिरहेका छन् भने कसैले यसलाई अतिरञ्जित र राजनीतिक सन्देश बोकेको चलचित्रका रूपमा हेरेका छन्।

‘धुरन्धर-२’ २०२५ डिसेम्बरमा सिनेमाघरमा प्रदर्शनमा आएको चलचित्रको सिक्वेल हो। २०२५ को सबैभन्दा बढी व्यापारिक हिसाबले कमाउने चलचित्र बनेको थियो। हाल 'धुरन्धर-२' को बक्स अफिस कलेक्सन देखेर कतिपय विशेषज्ञले अनुमान गरे अनुसार उक्त चलचित्र २०२६ कै सर्वाधिक कमाउने चलचित्र बन्न सक्छ। चलचित्र सिनेमाघरमा प्रदर्शनको तीन दिनमा यसले विश्वव्यापी ३७० करोडको व्यापार गर्न सफल भएको छ।

यसअघि २०२५ मा सिनेमाघरमा आएको चलचित्र धुरन्धरले पनि उत्तिकै विवाद तथा आलोचना बेहोर्नुपरेको थियो।

प्रकाशित: ८ चैत्र २०८२ १७:५० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App