आफ्नै रगत, आफ्नै छोरीलाई वासनाको मूर्ति देख्ने बाउलाई कुन शब्दले गाली गर्नु? सारा संसारबाट छोरीलाई जोगाउने अभिभारा भएको बाउ नै जब छोरीलाई बलात्कार गर्छ, सम्बन्धहरू संदिग्ध र धमिला बन्छन्।
चोकोफन दिएर कोपिलाजस्ती छोरीको जिन्दगी नष्ट गरिदिनेदेखि डरत्रास देखाएर छोरीमाथि जघन्य अपराध गर्नेसम्मका राक्षस बाउहरू भएको समाजमा छोरीहरूलाई कसरी जोगाउने? कसले जोगाउने? यही प्रश्नवरिपरि रहेर अम्मर जिसीले गरेको खोजीनिती।
ललितपुर, चाकुपाटका ४१ वर्षीय श्याम ट्याक्सी ड्राइभर थिए। रातभर ट्याक्सी चलाएर दिउँसो घरमै आराम गर्थे उनी। घरमा कोही नभएको मौका छोपी आफ्नै १५ वर्षीया छोरीमाथि उनले कुदृष्टि राखे। एक दिन छोरीलाई मुखमैथुन गराइरहेका बेला श्रीमतीले देखिन्। 'कसैलाई थाहा दिइस् भने तँ, तेरो छोरी र तेरो माइती कसैलाई छोड्दिनँ' भन्दै उल्टै थर्काए। तर, मिल्ने छिमेकीसँग उनले मनका कुरा साटिन्। पछि माइती र केही छिमेकीको सहयोगमा उनले प्रहरीकहाँ उजुरी गरिन्। प्रहरीको सहयोगमा गत जेठमा अदालत पुगेकी उनले गत महिनाको अन्त्यमा न्याय पाइन्। श्यामले विगत चार वर्षदेखि त्रास देखाउँदै छोरीको यौन शोषण गर्दै आएको खुल्यो। ललितपुर जिल्ला अदालतले २० वर्ष कैद सजाय र पाँच लाख क्षतिपूर्ति भराउने फैसला गर्यो।
०००
काठमाडौँको कमलपोखरीस्थित एक निजी स्कुलमा पढ्ने १२ वर्षकी मीना झोक्राउने, कसैसँग नबोल्ने, पढाइमा ध्यान नदिनेजस्ता असामान्य व्यवहार गर्न थालिन्। कारण पत्ता लगाउने शिक्षकको प्रयास सफल भइरहेको थिएन। त्यसैबीचमा गैरसरकारी संस्था अन्तरदृष्टि विभिन्न विद्यालयमा शिक्षकसँगको अन्तरक्रिया कार्यक्रम गर्ने क्रममा सो विद्यालय पुग्यो। 'शिक्षकले हामीलाई त्यो नानीको असामान्य व्यवहारबारे जानकारी दिनुभयो,' संस्थाकी कार्यक्रम व्यवस्थापक योगिता चापागाईंले भनिन्। संस्थाको निगरानीमा निरन्तर काउन्सिलिङपछि एक वर्षदेखि बाबुले उनलाई बलात्कार गर्दै आएको खुलासा भयो। पीडित बालिकालाई यो कुरा खोल्न वर्षदिन लाग्यो। आमाले अर्कैसँग बिहे गरेर गएको दिनदेखि बुबाले आफूमाथि त्यस्तो गर्न थालेको बालिकाले बयान दिइन्। संस्थाकै सहजीकरणमा मुद्दा अदालतमा पुग्यो। अहिले बालिका संस्थाकै सेफ हाउसबाट स्कुल जान्छिन्।
०००
भक्तपुरकी भीमा लोकसेवा पास गरेर खरिदारमा नियुक्त हुँदा खुशीको सीमा थिएन। १४ र १६ वर्षे दुई छोरीलाई श्रीमान् रामकै जिम्मा छाडेर उनी पाल्पा जागिरमा खटिइन्। उनको यो खुशी वर्षदिन पनि टिकेन। एक दिन ठूली छोरीको फोन आयो। छाँगाबाट खसिन् भीमा। 'छोरीले रुँदै बाउसँग बस्न सक्दैनौँ हामी। उतै लैजानु। नत्र हामी मर्छौं' भन्न थाले। के भएछ भनेर त्यसैदिनको गाडी चढेर घर फर्केको उनले बताइन्। घरमा कल्पनै गर्न नसकिने दृश्य देख्दा उनलाई छोरीमात्र होइन, आफैँलाई सम्हाल्न गाह्रो पर्योघ। सानी छोरी रगताम्य भएर हिँड्न नसक्ने भएकी थिइन्। तीन दिनदेखि राम घरमा थिएन। ठूली छोरीले बाबु नभएको मौकामा सबै कुरा आमासँग खोलिन्। कुरा सुन्दासुन्दै पटक–पटक मुर्छा परिन् आमा। त्यसपछि छिमेकीले पनि यो कुरा थाहा पाए। यस्ता केटाकेटीको कुरा पत्याउनु हुन्न भनेर छिमेकीले उल्टै छोरीमाथि तथानाम गाली गर्न थाले। पछि माइतीको सहयोगमा छोरीको उपचार थालियो।
आमाले घर छाडेदेखि ठूली छोरीमाथि राक्षसीनजर गाडेछन् रामले। सानी छोरीले देखेपछि उनीमाथि पनि गिद्धेनजर गाडिहाले उनले। एक वर्षभरि तर्साउँदै, धम्क्याउँदै छोरीहरूमाथि जबर्जस्ती गरेको भन्दै भीमाले अदालतमा मुद्दा हालिन्। यो घटनापछि उनले जागिर त्याग्नुपर्योय। 'बाउको जिम्मा छोडेका छोरी सुरक्षित छैनन् भने कस्को जिम्मा लाउनु?' उनले भनिन्, 'त्यो यस्तो राक्षस होला भन्ने कल्पना गर्न सकेको भए उसैबेला म जागिरमा जाने थिइनँ।' मानसिक सन्तुलन गुमाएकी उनकी कान्छी छोरीको अहिले उपचार हुँदै छ। अहिले छोरीहरूसहित माइतीको संरक्षणमा छिन् भीमा।
०००
काभ्रेका पवन व्यापारी हुन्। उनका तीन छोरा एक छोरी छन्। ७ वर्षीया छोरीको असाध्यै माया लाग्छ भनेर स्कुल बिदाको दिन बुई चढाएर पसल लैजान्थे उनी। चोकोफन भनेपछि हुरुक्कै हुन्थिन् उनकी छोरी। 'बाबाले माया गरेर चोकोफन जति मागे पनि दिनुहुन्छ' भन्दै छोरी फुर्किंदै घर फर्कन्थिन्। पवनले छोरीलाई कस्तो माया गर्दा रहेछन् भन्ने कुरो खुल्यो एक दिन। छोरीको कपडामा रगतको टाटो देखेर आमाले आत्तिँदै छोरीलाई सोधिन्। छोरीको उत्तरले आमालाई 'झसङ्ग' बनायो। 'बाबाले यसरी माया गर्दा अस्ति रेड कलर निस्केको थियो भन्दा म ट्वाँ परेँ,' पीडित बालिकाकी आमाले भनिन्, 'रगतलाई रेड कलर भनेर सिकाएको रहेछ। माया गरेको अनि चकलेट दिएको कुरा कसैलाई नभनेस् भनेर पनि सिकाउँदो रहेछ।' यो कुरा उनकै छिमेकी शिक्षिकालाई भनेपछि उनले बाटो बताइन्। उनै शिक्षिकाको सहयोगमा मेडिकल चेकअप गरियो। 'तीन छोरा भइसकेपछि पनि परिवार नियोजन गर्न नमानेर एक छोरी जन्माउनैपर्छ भन्ने मान्छे यस्तो गर्ला भन्ने कसले सोच्यो?' रामकी श्रीमतीले भनिन्। अहिले पीडित बालिकालाई मनोसामाजिक उपचार दिइँदैछ। जबर्जस्ती तथा हाडानाता करणीको मुद्दा पार लागेपछि श्रीमान्सँग सम्बन्ध–विच्छेद गरी पीडितकी आमा छुट्टै बस्छिन्।
०००
पत्नी वैदेशिक रोजगारीमा गएको मौका छोपी छोरीलाई बलात्कार गर्दै आएका झापाका एक व्यक्ति गत महिना पक्राउ परे। १० वर्षीया छोरीलाई बलात्कार गरेको उजुरी परेपछि हल्दीवारी–७ का ४० वर्षीय भैरव सोरेनलाई प्रहरीले पक्रेको हो। २० महिनाअघि पत्नी कुवेत गएपछि उनले अबोध छोरीमाथि शोषण गर्न थालेका थिए। पीडितकी दिदीले बाबुले बहिनीलाई बलात्कार गरेको देखेपछि प्रहरीमा खबर गरेकी थिइन्।
०००
काठमाडौँकी सुजाता १३ वर्ष पुग्दा उनका बुबाले तेस्रो बिहे गरे। त्यही झोँकमा आमाले दोस्रो बिहे गरेर घर छाडिन्। आमाले घर छाडिसकेपछि उनीमाथि 'यौनप्यासी' बाउले जे पायो त्यही गर्न थाल्यो। उसले पटक–पटक 'कसैलाई भनिस् भने मार्दिन्छु' भन्दै त्रास देखाएर जबर्जस्ती गर्न थाल्यो। छिमेकीले यो कुरा थाहा पाएपछि बालअधिकारका क्षेत्रमा काम गर्ने गैरसरकारी संस्था सिविन नेपालमा खबर गरे। सिविनकै अगुवाइमा जाहेरी दिइयो। काठमाडौँ जिल्ला अदालतले बलात्कारी बाउलाई गत वर्ष २२ वर्ष कैद सजाय फैसला गर्योे।
०००
सानैमा आफ्नो बुबा बितेकाले आफूलाई जन्माउने बुबा को हो भन्ने थाहा थिएन, धादिङकी प्रेमालाई। बुबा बितेको दुई वर्षपछि आमाले अर्को बिहे गरिन्। आफ्नै बुबाभन्दा कम थिएन सौतेलो बुबाको माया। उनलाई आफ्नै छोरीसरह व्यवहार गर्थे ध्रुव। छोरी ९ वर्षकी थिइन्। ४ कक्षामा पढ्थिन्। आमा माइत गएका बेला छोरीको स्याहार गर्ने जिम्मा बुबाको थियो। शुक्रवारको दिन स्कुल नपठाएर गाडीमा घुमाउन लगे। फकाइफुलाई गरे। छोरीलाई मन पर्ने खानेकुरा खुवाउन रेस्टुरेन्ट लगे। शनिवारको योजना बुन्दै थिए उनी। शनिवारको दिन छोरीको संवेदनशील अंगमा सुम्सुम्याउँदै बलात्कारकै प्रयास गरे उनले। छोरी चिच्याउँदा मुख थुनेर जबर्जस्ती गरे। छिमेकीले के भयो भनेर आउँदा रगताम्य भएकी छोरी बेहोस थिइन्। भाग्दै गर्दा गाउँलेहरूले समाएर प्रहरीमा बुझाए ध्रुवलाई।
०००
काठमाडौँकी ललिता तीन वर्षकी छँदा आफैँलाई जन्म दिने बाबुबाट बलात्कृत भइन्। ज्यामी काम गर्ने उनका बाबु साँझमा मदिराले मातिएर घर फर्किन्थे। छोरीलाई माया गर्ने निहुँमा आफ्नै काखमा सुताउँथे। राति श्रीमती सुतेका बेला उनले छोरीमाथि मनपरी गर्थे। एक दिन छोरीले ठूलो स्वरमा चिच्याएपछि आमाले थाहा पाइन्। के भयो भन्दै नजिक पुगेकी आमाले कहालीलाग्दो दृश्यको सामना गर्नुपर्यो । 'अरू कसैले थाहा पाए आमाछोरीलाई नै मार्दिन्छु' भन्दै धम्क्याउँदै घटना छिपाउने प्रयास गरे उनले। यस्तो असह्य घटनाबाट विक्षिप्त आमाले प्रहरी हुँदै सिविनसम्म पुग्ने आँट गरिन्। सिविनकै सहयोगमा उनले उजुरी दिइन्। अहिले अदालती प्रक्रियामा छ यो मुद्दा।
०००
सम्बन्धित संघसंस्थाको तथ्यांकलाई आधार मान्ने हो भने यौनतृष्णा मेट्न छोरीमाथि आँखा गाड्ने बाउहरूको कमी छैन यहाँ। जुनसुकै प्रकृति, स्तर, उमेर, पेशा, व्यवसाय, व्यवहार भएका व्यक्तिले छोरीमाथि कुदृष्टि लगाउन सक्छन्। यस्ता घटनाले यहाँ कुनै पनि सम्बन्धलाई पवित्र मानेर आँखा चिम्लेर विश्वास गर्नु घातक बन्न सक्ने सन्देश जान्छ। बलात्कार आफैँमा जघन्य अपराध हो। त्यसमा पनि आफैँलाई जन्म दिने बाबुबाट बलात्कृत हुनुपर्दा छोरीहरूको अवस्था के होला?
केही तथ्यांक
गतवर्ष अन्तरदृष्टि नामको गैरसरकारी संस्थाको सम्पर्कमा आएका ३८ वटा बलात्कारका घटनामध्ये १८ वटामा बुबाद्वारा छोरी बलात्कारको शिकार बन्नुपरेको छ। त्यसमा १४ जना आफ्नै बाबु र ४ जना सौतेला बाबु छन्। 'माया गरेको भ्रम पारेर बाउहरू छोरीमाथि गलत नियतले आँखा गाड्छन्,' अन्तरदृष्टिकी कार्यक्रम व्यवस्थापक योगिता चापागाईं भन्छिन्, 'यस्ता घटनामा पीडितलाई नै झन् पीडा दिने काम गर्छ समाजले। त्यसैले समाजको डरले पीडित लुकाइएका छन्। गन्नेमान्ने भनिएका केस गुपचुप मिलाउन व्यस्त छन्।' पुरुषमा आफू शक्तिशाली छु भन्ने दम्भका कारण उनीहरू महिला चाहे त्यो आफ्नै छोरी किन नहोस्, जे मन लाग्यो त्यही गर्ने योगिताको भनाइ छ।
महिला पुनःस्थापना केन्द्र (ओरेक नेपाल) का अनुसार ८४ प्रतिशत बलात्कार परिवार, आफन्त, छिमेकी, साथी, सहकर्मीबाटै हुन्छ। त्यसमा पनि १६ प्रतिशत बलात्कार आफ्नै परिवारको सदस्यबाट हुन्छ। सबैभन्दा बढी ५७ प्रतिशत बलात्कार छिमेकीबाट हुने गरेको जनाउँदै संस्थाको एक तथ्यांकमा बलात्कार हुनेमा १६ वर्षमुनिका बालिकाको संख्या ४२ प्रतिशत रहेको उल्लेख छ।
सिविन नेपालका कार्यक्रम अधिकृत सागर भण्डारी भन्छन्, '८० प्रतिशतभन्दा धेरै बलात्कार आफ्नै मान्छेबाट हुन्छ। ती 'आफ्नै मान्छे'भित्र आफैँलाई जन्म दिने बुबा पनि कम देखिँदैनन्।' सन् २०१३ मा सिविनद्वारा सञ्चालित बाल हेल्पलाइन शाखाको सम्पर्कमा आएका ६९ वटा बलात्कार घटनामध्ये १९ जना बुबाबाट शोषित घटनामात्रै छन्। जसमा ११ जना आफ्नै बुबा र ८ जना सौतेलो बुबा हुन्। सरकारी वकिलको कार्यालय ललितपुरले जिल्ला अदालतमा गत आर्थिक वर्षमा १२ वटा बलात्कार मुद्दा दायर गर्यो्। जसमा तीनटा आफैँले जन्म दिएका छोरीमाथि बलात्कार भएका घटना रहेको सरकारी वकिल कार्यालयका नासु कपिल पौडेलले जानकारी दिए।
'बाहिर आउँछन् नगन्य घटना'
केही महिनाअघि तथ्यांक सार्वजनिक गर्दै प्रहरीले बलात्कारका ४१ प्रतिशत घटनामात्र प्रहरीसम्म आइपुग्ने जनाएको थियो। प्रहरीका अनुसार अधिकांश बलात्कारमा आफन्त, छिमेकी, साथी, सहकर्मी नै संलग्न हुने भएकाले घटना लुकाउन हरसम्भव प्रयास गरिन्छ। अन्तर्राष्ट्रिय स्तरमै बलात्कार घटना न्यूनमात्र सार्वजनिक हुने तथ्य छ।
सिविनका कार्यक्रम अधिकृत भण्डारीको अनुभव भने फरक छ। उनका अनुसार नगन्य संख्यामा मात्र घटना बाहिर आउँछन्। '१० प्रतिशत घटनामात्र सार्वजनिक हुन्छन्। त्यसमा ५ प्रतिशत प्रहरीसम्म पुग्छन्। त्यहाँ पुगेका ३ प्रतिशत घटनाले मात्र अदालतसम्म पुग्ने मौका पाउँछन्,' उनले आफ्नो अनुभव सुनाए, 'यसको कारण भनेको लोकलाज हो। अधिकांश केसमा आफ्नै मान्छे बलात्कारमा संलग्न भएकाले बाहिर ल्याए इज्जत जाने ठानिन्छ भनेर घटना लुकाउने गरिन्छ।' जसले गर्दा बलात्कारी बाउ निरुत्साहित हुनुको साटो प्रोत्साहित भइरहेकोप्रति गाउँसमाजले सोच्नै सकिरहेको छैन। जसबाट माया, सुरक्षा, संरक्षण पाउनुपर्ने हो, त्यही व्यक्तिबाट बलात्कारको शिकार बन्नुपर्ने कहालीलाग्दो अवस्था विद्यमान छ।
कानुन र समस्या
नेपालमा बलात्कारजस्ता जघन्य अपराधका लागि 'फास्ट ट्रयाक' अदालतको आवश्यकता ठान्छन् अधिकारीकर्मी। यस्ता घटनामा पीडितले न्याय पाउने द्वारसम्म पुग्न ठूलै संघर्ष गर्नुपर्छ। सुरुमा प्रहरी मुद्दा दर्ता गर्नै नमान्ने गरेको पीडितहरू गुनासो गर्छन्। दर्ता भइहाले पनि बलियो प्रमाणबिना दर्ता हुन्छ। जसले मुद्दाको जग नै कमसल बनाइदिन्छ। उजुरी गर्नुपर्ने ३५ दिने सीमाले समस्या निम्त्याएको अनुभव गर्छन् अधिकारकर्मी। '३५ दिनसम्म मानसिक आघातमै हुन्छन् पीडितहरू,' अन्तरदृष्टिकी चापागाईंले भनिन्, 'त्यो सीमा अव्यावहारिक भएकाले बढाउन निर्देश भए पनि कार्यान्वयन नहुँदा समस्या भइरहेको छ।'
बलात्कारविरुद्धका अधिकांश मुद्दा लामो अदालती प्रक्रियाका कारण सहमतिमा गएर टंुग्याउने गरिएको छ। पीडितलाई मुद्दा जिताउनका लागि स्वास्थ्य परीक्षण सबैभन्दा ठूलो प्रमाण हो। घटना भएको केही घण्टामै स्वास्थ्य परीक्षण गराइएन भने पछि यकिन प्रतिवेदन नआउन सक्छ। सरकारी वकिलको कार्यालय ललितपुरकी सहायक जिल्ला न्यायाधिवक्ता शान्ति न्यौपाने भन्छिन्, 'सबैलाई मिलाउनतिरै चासो हुन्छ। कसैले पनि प्रमाण जुटाउन ध्यान दिँदैन। जसले गर्दा न्याय दिलाउने बाटो नै असहज बनाइदिन्छ।'
नेपालको विद्यमान कानुनमा १० वर्षमुनिका बालिका भएमा १० देखि १५ वर्ष कैद र १६ देखिमाथि भएमा ५ देखि ८ वर्ष कैद हुन्छ। हाडनाता भएमा थप १० वर्ष कैद हुने व्यवस्था छ।
०००
असामाजिक, कठोर, जिद्दी, अव्यावहारिक, अशिक्षित, लागुऔषध दुर्व्यसनी, विवेकको सही प्रयोग गर्न नसक्ने वा कडा मानसिक रोग भएका व्यक्तिले बलात्कार गर्ने बताउँछन्, मनोविज्ञहरू। बालअधिकारका क्षेत्रमा कार्यरतहरू भने जुनसुकै चरित्र र प्रकृतिका व्यक्ति यस्ता घटनामा संलग्न हुन सक्ने बताउँछन्। प्रविधिको प्रयोगले पनि यस्ता घटनालाई बढाएको बताउँछन्, सिविनका कार्यक्रम अधिकृत भण्डारी। 'अश्लील तस्बिर र फिल्म हेरेर उत्तेजित हुने अनि जो भेट्यो उसैमाथि गलत व्यवहार देखाउने गर्छन्,' उनले भने, 'यौनप्यासलाई नशा अर्थात् एडिक्सन नै मान्नेहरू पनि धेरै छन्।' यस्ता मानिसका पहिलो शिकार बच्चाहरू नै बन्ने बुझाइ भण्डारीको छ। बालबालिकामा प्रतिकार गर्ने क्षमता विकास गर्नुपर्ने बताउँछिन्, अन्तरदृष्टिकी चापागाईं। 'के राम्रो, के नराम्रो बुझाउँदै आफूमाथि आइलागे प्रतिकार गर्न सक्ने क्षमता बढाउन सक्नुपर्छ,' उनले भनिन्, 'पीडितलाई संरक्षण हुने र पीडकलाई फेरि त्यसो गर्न आँट नगर्ने गरी कारबाही हुने कानुनी व्यवस्था हुनुपर्छ।'
पीडितलाई नै दोषी ठान्छन् : शान्ति न्यौपाने, सहायक जिल्ला न्यायाधिवक्ता, ललितपुर
पछिल्लो पटक हाम्रो प्रयासले जुन सफलता पायो, बाउबाट बलात्कृत ती बालिका र उनकी आमालाई न्यायसँगै राहत मिल्यो। त्यो हाम्रा लागि पनि ठूलो उपलब्धि हो। सँगै यो घटनाले न्यायालयप्रतिको विश्वास थप बढाएको छ। न्याय पाइन्छ भन्ने सन्देश पीडितमा जानु अहिलेको परिप्रेक्ष्यमा ठूलै उपलब्धि मान्नुपर्छ। चाकुपाटको त्यो घटनाको अभियोजनदेखि अन्तिम फैसलासम्म म सक्रिय थिएँ। एकदमै दबाब खेप्नुपर्योक हामीले। पीडितलाई विभिन्न प्रलोभन र त्रास देखाएर उजुरी फिर्ता लिन दबाब र प्रभावको सामना निकै गर्नुपर्योा। हाम्रो टिमलाई पनि तनाव धेरै थियो। त्रासको वातावरण निम्त्याउन खोजियो।
बलात्कारजस्ता मुद्दामा वकालत गर्न धेरै चुनौती हुन्छ। अझ धेरै समस्या नजिकको सम्बन्ध भएका घटनामा हुन्छ। मानिसको हेर्ने दृष्टिकोण नै गलत हुन्छ। पीडितलाई नै दोषी ठान्छन् धेरैले। दोषीलाई बचाउन सकेजति गर्छन्। इज्जतमा दाग लाग्ने ठानेर सकेसम्म घटना लुकाइन्छ। बाहिर आइहाले पनि मिलाउन खोजिन्छ। कानुनको ज्ञान नभएर पनि समस्या छ। यस्तोमा पनि न्याय पाइएला र? भन्ने संकोच धेरैमा हुन्छ। अदालत पुगिहालेका केही घटना पनि बीचैमा मिलेमतो गरेर निस्त्रि्कय पार्न प्रयास गरिन्छ।
हाम्रो समाजमा अन्धो भएर विश्वास गर्न लायक कुनै पनि सम्बन्ध छैनन्। सबै सम्बन्धमा कुनै न कुनै लालसा देखिन्छ। त्यस्तै लालसाबाट प्रेरित हुन्छन् सम्बन्धहरू। संरक्षण गर्नुपर्ने व्यक्ति नै त्यसरी गिरेर व्यवहार गर्छ भने कसको मान्ने विश्वास? मनोवैज्ञानिक त्रास देखाएर साना नानीहरूलाई आफ्नो हातमा लिन खोज्नेहरू सबैतिर छन्। बाहिर होइन, घरभित्रै पनि त्यस्ता व्यक्ति हुन सक्छन्। सबैजना सजग भएर दोषीलाई कानुनको दायरामा ल्याउनुपर्छ। त्यसो भयो भने मात्र अर्को दोषी हच्किने अवस्था आउन सक्छ।
प्रकाशित: २० कार्तिक २०७१ १३:२९ बिहीबार





