जनता उच्च मावि सोनमति मझौरामा प्राथमिक तहका स्थायी शिक्षक राम लहानस्थित सफटेक कलेजमा समेत अध्यापन गराउँदै आएका छन्। पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस कलेजमा अध्यापनरत्त शिक्षक राम बीबीएस प्रथम वर्षको परीक्षाका लागि ब्राइटफ्युचर एकेडेमी फत्तेफुर सप्तरी केन्द्रका केन्द्राध्यक्ष बनेका थिए। केन्द्राध्यक्ष रहेका रामले एक दिन अगाडि नै प्रश्नपत्र लहानस्थित सफटेक कलेजका विद्यार्थीलाई आउट गरेको पाइएपछि प्रहरीले उनलाई पक्राउ गरेका हुन्।
गत असोज ५ गत्ते उनलाई प्रहरीले लहान-१ स्थित घरबाटै प्रश्न पत्र, खाली उत्तर पुस्तिका र उत्तर पुस्तिका प्याक गर्ने लाहछाप र परीक्षासम्बन्धी अन्य कागजातसहित पक्राउ गरेको डीएसपि ज्ञानेन्द्रप्रसाद फुयाँलले बताए।
एक दिन अगाडि लहानस्थित ललकु उमावि परीक्षा केन्द्रबाट प्रहरीले ८ जना परीक्षार्थीलाई पक्राउ गरेको थियो। उनीहरुबाट परीक्षा सुरु भएको १० मिनेटमै सम्पूर्ण उत्तर हल गरिएको उत्तर पुस्तिका फेला परेपछि प्रहरीले पक्राउ गरी अनुन्धान सुरु गरेको थियो।
पक्राउ परेका परीक्षार्थी आफूलाई शिक्षक रामले प्रश्नण आउट गरेको बयान दिएपछि प्रहरीले रामको रेकी (पच्छाउन) सुरु गरेका थिए। उनको घर खानतलासी गर्दा परीक्षार्थीले दिएको बयानअनुसार प्रमाण फेला परेपछि रामलाई पक्राउ गरिएको फुयाँलले बताए।
यसअघि ८ जना परीक्षार्थीसहित शिक्षक राम असोज १० गत्ते धरौटीमा छुटेका थिए। जिल्ला प्रसाशनले ८ जना परीक्षार्थीबाट जनही ७ हजार र शिक्षक रामबाट १५ हजार धरौटी बुझेर छाडेको इलाका प्रहरी कार्यालय लहानले जनाएको छ।
प्रकाशित: १५ कार्तिक २०७१ ०६:२९ शनिबार





