११ चैत्र २०८२ बुधबार
image/svg+xml
अन्य

चम्किलो ताज धमिलो धन्दा

मिस, मिसेस झुन्डिएका ताल–तालका सौन्दर्य प्रतियोगिता राजधानी तथा देशका प्रमुख शहरमा हप्तैपिच्छे भइरहेका छन्। युवती, किशोरी, गृहिणी तथा बालिकाका सुन्दरता नापतौल गर्न तराजु बोकेर बसेका आयोजकहरू ताजको व्यापार गरिरहेका छन्। कम हुने पुरुषलक्षित प्रतियोगिता पनि विवादमा फसेका छन्।
अनगिन्ती झन्झट बेहोरेर शिरमा परेको ताज केही दिनमै काम न काजको साबित भएपछि सुन्दरीहरू निराश हुन्छन्। आयोजकका चिप्ला कुरा भ्रम र धोकाबाहेक केही हुँदैनन्। ताजले न अवसर दिलाउँछ, न सेलिब्रिटी बनाउँछ, न व्यक्तित्व विकास गराउँछ। यद्यपि, ताजको धन्दा चलिरहेको छ। सौन्दर्य प्रतियोगिता अहिले पैसा कमाउने सजिलो उद्यम भएको छ। धनबहादुर खड्काले चम्किलो ताजका मैला पाटाहरू केलाएका छन्।

– वार्षिक आधा दर्जनजति सौन्दर्य प्रतियोगिता गर्दै आइरहेको सिजन मिडियाका प्रबन्ध निर्देशक प्रदीपराज वन्त दुई हप्ताअघि दरबारमार्गस्थित प्रहरी प्रभागमा एक रात थुनिए। मिस ई–कलेजको उपाधि दिलाउने भन्दै दुई लाख रुपैयाँ जिप्ट्याएर पनि उपाधि नदिएको भन्दै एक युवतीले दरबामार्ग प्रहरी प्रभागमा उजुरी गरिन्। ती युवतीको ट्रेनिङ अवधिमा खर्च भएको थप ३५ हजार रुपैयाँ पनि फिर्ता गरेर वन्तले केस मिलाए।
– भर्खरै सम्पन्न 'मोडेल अफ दी इयर'मा धाँधली भएको भन्दै कार्यक्रमस्थलमै कुटाकुट भयो। एक प्रतियोगी अस्पतालमै पुग्ने गरी घाइते भए। नेक्स्ट मोडल नेपालले आयोजना गरेको कार्यक्रममा धाँधली भएको भन्दै १२ भन्दा बढी प्रतियोगीले सार्वजनिक रूपमै विरोध गरे।
सुन्दरी प्रतियोगिताका ताजा कुरूप तस्बिर हुन् यी। प्रतिभा र सुन्दरताको विकाससँगै प्रतिस्पर्धा गरिने भनेर आयोजना हुने 'ब्युटी पेजेन्ट'हरूबाट पीडित हुनेको संख्या थुप्रै भए पनि अहिले आएर केही पीडित बोल्न पनि थालेका छन्। 'हारेपछि सबैलाई रिस उठ्छ' भन्ने रेडिमेड उत्तरले प्रतिस्पर्धीको मुखमा बुजो लगाइरहेका आयोजकहरूविरुद्ध मुख खोल्ने साहस केही युवा–युवतीले गर्न थालेका उदाहरण पनि हुन् यी।
पछिल्लो छ महिनाको रेकर्ड हेर्ने हो भने प्रत्येक हप्ता कम्तीमा चारजना नेपालीका छोरी–छोरीले सुन्दरी/ह्यान्डसम हुने अवसर पाइरहेका छन्। जतिसक्दो चाँडो सेलिब्रिटीको लाइनमा उभिन चाहने युवायुवतीलाई आकर्षक उपहार र अवसरको लोभ देखाएर यस्ता कार्यक्रम भइरहेका छन्। विभिन्न नामका उपाधि पाए पनि उपलब्धि नपाएका थुप्रै युवायुवती छन्। सुन्दरता नापजोख गर्ने उद्यमलाई अत्यधिक व्यावसायिक बनाउने नाममा आयोजकले गर्ने अनेक चलखेलका कारण सौन्दर्य प्रतियोगिताहरू कुरूपताको दलदलमा फसेका छन्।
ग्ल्यामर क्षेत्रमा चम्किने युवतीका लागि उचित प्लेटफर्म भन्दै गरिने सुन्दरी प्रतियोगिताको पछिल्लो समयमा रूप, स्वरूप र नियत फेरिएको छ। अनेक नाममा पाएको ताजलाई अघि सारेर ग्ल्यामर क्षेत्रको मार्गप्रशस्त गर्न चाहने युवतीहरूलाई प्रचारिएजस्तो अवसर दिलाउन नसकेपछि अहिले सुन्दरी प्रतियोगिताका आयोजकहरू फरक क्षेत्रमा कार्यक्रम गर्न थालेका छन्। प्रतियोगितामा भाग लिनुअघि जनाइएका प्रतिबद्धता पछि लागू नहुने भएपछि ताज पहिरिएकाहरू नै त्यसलाई 'वाहियात' भन्न थालेपछि आयोजकहरू फरक क्षेत्रमा गएका हुन्।
नेपालको संविधानसभामा जातीय राज्य र अग्राधिकारजस्ता विषयले 'जातीय सेन्टिमेन्ट'लाई उत्कर्षमा पुर्याोएका बेला जातीय सुन्दरी प्रतियोगिताको बाढी नै आएको थियो। मिस मगर, मिस तामाङ, मिस थकाली, मिस क्षत्री, मिस तमुस्यो, मिस किराँत, मिस सुनार, मिस दलितजस्ता दुई दर्जन जातीय प्रतियोगिता भए। कति अझै भइरहेका छन्। जातीय सेन्टिमेन्ट भजाउँदै सम्बन्धित जातिका व्यवसायीलाई प्रायोजन गर्न लगाएर आर्थिक उपलब्धि हासिल गर्ने सौन्दर्यका काला व्यापारीहरूले त्यहाँ पनि उस्तै बदमासी गरे। मिस राईको एउटा संस्करणमा यौनहिंसासम्म भएको आरोप प्रतियोगी युवतीले नै लगाए भने मिस तामाङको ताज बिक्री भएको समाचार पत्रपत्रिकामा छापियो। यसकारण पछिल्लो समय जातीय प्रतियोगिताको आकर्षण पनि खर्लप्पै घटेको छ।
 
टार्गेटः महिला र बालबालिका
यो एक वर्षदेखि युवा/युवतीका भन्दा महिला तथा बालबालिकामा केन्द्रित प्रतियोगिता बढेका छन्। मिसेस र लिटिल जोडिएका तीन दर्जन प्रतियोगिता यो वर्षमात्रै भए। स्कुलका शिक्षक/शिक्षिकालाई फकाएर वा कमिसनमा मनाएर अबोध बालबालिकालाई सौन्दर्य प्रतियोगितामा सहभागी गराउने गरेको पाइएको छ। ''लिटिल मिस एन्ड मास्टर नेपाल आइकन' मा भाग लिन आएका अक्सिडेन्टल पब्लिक स्कुलमा चार कक्षा पढ्ने प्राञ्जल शिवाकोटीले पुरस्कार पाउने भनेकाले भाग लिएको बताए। उनी भन्छन्, 'प्राइज पाएर खुशी हुन भाग लिएको हुँ।' सयजना प्रतियोगी रहेको उक्त कार्यक्रममा उनले उपाधि जितेनन् भने उनको मनोविज्ञानमा कस्तो असरी पर्ला? बालबालिकालाई यसरी लोभलालचमा पारेर प्रतियोगितामा सहभागी गराएर आफ्नो स्वार्थ सिद्ध गर्न ब्युटी पेजेन्टका आयोजक उद्यत छन्।
अक्षमाला विद्या सदन, बत्तीसपुतलीमा कक्षा ५ मा पढ्ने सिर्जना बस्नेत भन्छिन्, 'स्कुल, बाबुआमा र भिलेजको नाम रोशन गर्न 'लिटिल मिस एन्ड मास्टर नेपाल आइकन'मा भाग लिएकी हुँ।' सही र गलत छुट्याउन नसक्ने उमेर समूहलाई लिएर सौन्दर्य प्रतियोगिता गर्दै आर्थिक मुनाफा हासिल गर्नेहरूको जमात बढ्दो छ।
यस्ता प्रतियोगितामा विभिन्न चरणका छनोटबाट अन्तिम स्पर्धाका लागि निश्चित संख्यामा प्रतियोगी लिनुपर्ने अन्तर्राष्ट्रिय प्रचलन छ। तर, अहिले फर्म भर्न आएजतिलाई अन्तिम स्पर्धामा उतारेर उच्च आर्थिक लाभ हासिल गर्ने काम आयोजकले गरेका छन्। आगामी कात्तिक १६, १७ र १८ गते हुन गइरहेको 'लिटिल मिस एन्ड मास्टर नेपाल आइकन' मा सयजना बालबालिका अन्तिम स्पर्धामा भिड्दै छन्। अल नेपाल पब्लिसिङ एन्ड एड्भर्टाइजिङले गर्न लागेको यो एउटै प्रतियोगिता तीन दिन हुँदै छ। 'कसैलाई फर्काउन नचाहेको' आयोजक संस्थाका प्रमुख लव कार्कीको तर्क छ। अन्तिम स्पर्धामा भिडाउँदा ट्रेनिङका लागि प्रत्येकबाट कम्तीमा आठ हजार रुपैयाँ असुल्न पाइने भएकाले बढीभन्दा बढीलाई अन्तिम स्पर्धामा पुर्याेइएको प्रस्टै देखिन्छ। नत्र यति धेरैलाई अन्तिम स्पर्धामा उतार्ने जोखिम आयोजकले लिन सक्दैनथ्यो।
नेपालको ठूलो युवा जमात विदेशमा छ। विदेशिएका ती युवाका श्रीमतीलाई लक्ष्य गरेर अहिले 'मिसेस' अघि जोडिएका सुन्दरी प्रतियोगिता थुप्रै हुने गरेका छन्। उनीहरूले उपाधिपछि त्यसको उपलब्धि नहर्ने र तालिम खर्च, फोटोसुट, ड्रेसलगायत शीर्षकमा लिइने शुल्क सजिलै हात पर्ने भएकाले सौन्दर्य प्रतियोगिताका धन्दावालहरू त्यतातिर लागेको देखिन्छ।
 
विश्वासको संकट
प्रतियोगिता भनिए पनि ६० प्रतिशतभन्दा बढी 'ब्युटी पेजेन्ट'हरू 'नियोजित' हुन्छन्। अन्तिम स्पर्धा भनिएको दिन मञ्चको अग्रभागमा सहभागीहरू एकले अर्कालाई उछिन्ने होडबाजी गरिरहेका हुन्छन् भने पछिल्लो भागमा ताजको लिलाम बढाबढ चलिरहेको हुन्छ। यही कारणले सिजन मिडियाका प्रबन्ध निर्देशक प्रदीपराज वन्तले प्रहरी थाना पुग्नुपरेको थियो। एक युवतीले उनीमाथि ताजका लागि दुई लाख रुपैयाँ दिएको तर ताज नपाएको आरोपमा उजुरी गरेकी थिइन्। प्रदीप भन्छन्, 'उनले ताज दिलाइदिन दुई लाख रुपैयाँ दिए पनि निष्पक्ष निर्णय गर्न भनेर मैले लिन मानिनँ। यही कारण उनले उजुरी हालिन्।' यो केसमा कमजोरी आयोजकको मात्रै होइन, पैसा दिएर ताज हासिल गर्न चाहने युवतीको पनि छ।
तर, प्रतियोगितामा कार्यक्रम निष्पक्ष हुनेमा विश्वासको संकट उत्पन्न हुँदा यस्तो घटना घटेको हो। नेपालको सबैभन्दा ठूलो र जेठो प्रतियोगिता मिस नेपालमा पनि आयोजकको चाहनाले पनि उपाधि दिलाउन सक्ने केही शृंखलामा देखिएको थियो। यसले गर्दा अरू साना प्रतियोगिता निष्पक्ष हुनेमा प्रतियोगी विश्वस्त हुँदैनन्। सकेसम्म आफ्नै शिरमा ताज सजाउन यस्ता हर्कतका लागि अघि सर्छन्।
मिस्टर नेपाल, मिस्टर एन्ड मिस राजधानीलगायत प्रतियोगिता गर्ने एक्सपोज नेपालका प्रबन्ध निर्देशक दिनेश शाही प्रतियोगिता 'फेयर' नहुनुमा प्रतियोगीलाई पनि दोष दिन्छन्। उनी भन्छन्, 'प्रतियोगी आफैँले रोचक अफर ल्याउँछन्। कतिका आफन्तले खाना खान बोलाएर पनि उपाधिका लागि हात जोड्छन्।'
 
धाँधलीको तरिका
धेरै प्रतियोगितामा धाँधली भएको प्रस्ट प्रमाण फेला पर्दैनन्। त्यसैले धेरैलाई लाग्छ– गडबड भएन। धेरै आयोजकले धाँधली गर्न एउटै आइडिया प्रयोग गरेको देखिएको छ। अन्तिम स्पर्धाका लागि जज छान्दा नै अनुकूल छान्ने, तर सबै होइन। दुईचारजना सम्बन्धित क्षेत्रका विज्ञ र सेलिब्रिटी जजमा हुन्छन् भने बाँकी आयोजकका नजिकियाहरू हुन्छन्। ६० प्रतिशत आयोजकका नजिकका जज राख्ने र ४० प्रतिशत मात्रै प्रसिद्ध व्यक्ति राख्ने यो काइदाले चाहेको प्रतियोगीले सजिलै नतिजा आफ्नो पक्षमा पार्छ। तर, कार्यक्रमका प्रत्यक्षदर्शी आफूले अनुमान नगरेको मान्छेले जित्दा जजले मिहीन ढंगले मूल्यांकन गरेको 'पोजिटिभ थिङ्किङ' बोकेर बाहिरिन्छन्।
प्रतियोगितामा पैसाको चलखेल सीधै हुँदैन। कतिले टिकट धेरै बेच्नेलाई उपाधि दिलाएर घुमाउरो तरिकाले आर्थिक चलखेल गर्छन्। 'मोडल अफ दी इयर'को लफडा टिकटकै कारण भएको हो। धेरै टिकट बेच्ने प्रतियोगी सीधै 'टप फोर'मा ल्याइएपछि अरू प्रतियोगीले विरोध जनाएका हुन्। श्रीयांस अडुकिया नामका एक प्रतियोगीको टप एट छान्दा बाहिरिएर पनि टप फोरमा 'रिइन्ट्री' भएपछि 'कहीँ नदेखिएको जात्रा' भन्दै विवाद भएको थियो। स्थिति हात हालाहालमा परिणत भयो। आर्मी अफिसर्स क्लबमा भएकाले आर्मीहरूले ठूलो दुर्घटना हुन दिएनन्। त्यसैगरी टप एटमा पनि आयोजक संस्थाले तलमाथि गरेपछि आलोक कार्कीले भोटिङ दाबी गरे। टप एटको सट्टा टप नाइन निकालियो। आयोजक संस्थाका प्रमुख रवि धमला प्रतियोगीले तत्काल कुरा बुझ्न नसकेको बताउँछन्। 'बेचिएको टिकटको रकम सामाजिक संस्थालाई दिइने भएकाले धेरै टिकट बेच्नेलाई 'सोसियल वर्क' अन्तर्गत टप फोरमा ल्याइएको थियो,' धमलाले भने।
धेरै प्रतियोगीलाई चुप राख्ने अर्काे तरिका छ, त्यो हो सबैलाई पुग्नेगरी टाइटल वितरण गर्ने। मुख्य टाइटल पहिरिने अवसर नपाएका अरू प्रतियोगीलाई चुप लगाउन राम्रो हिँडेकोदेखि हाँसेकोसम्मका नाममा उप–उपाधि (सब–टाइटल) सिर्जना गरिएका हुन्छन्। जसले गर्दा प्रतियोगीहरू आफ्नै मानमर्दन गर्न धाँधली भएको गुनासो गर्दैनन्।
 
उपलब्धि शून्य
प्रत्येक वर्ष सयभन्दा बढी सौन्दर्य प्रतियोगिताबाट कसले के उपलब्धि हासिल गरेका छन्? बर्सेनि चारवटा प्रतियोगिता आयोजना गर्ने सन्तोष सापकोटा पनि 'कन्फ्युजन'मा छन्। भन्छन्, 'त्यही कुरा त प्रस्ट छैन।' आफ्ना १४ वटा टाइटल विजेताले अन्तर्राष्ट्रिय मञ्चबाट पनि उपाधि हासिल गरेको बताउँदै त्यसले पनि कुनै उपलब्धि दिलाउन नसकेको स्विकार्छन्। 'ब्युटी पेजेन्टलाई असाध्यै सस्तो इभेन्टका रूपमा आयोजना गर्ने, जसलाई पायो त्यसलाई ताज पहिर्यायउनेहरूका कारण उपाधि पाउनेहरूले पनि उपलब्धि हासिल गर्न नसकेका हुन्,' उनी भन्छन्, 'उपाधि हासिल गर्नेले पनि त्यसलाई भजाएर अघि बढ्न सक्नुपर्छ। आयोजकले हात समाएर शिखरमा पुर्या उने होइन।'
उनले भनेजस्तै धेरै उपाधिका विजेता आयोजकको गोजी गरम पारेकाहरू भएकाले गर्दा उपलब्धि हासिल हुन नसकेको हो। विज्ञापन, म्युजिक भिडियो र फिल्म क्षेत्रमा समेत उपाधि विजेताहरू प्राथमिकतामा पर्दैनन्।
 
आयोजकै 'अवैध'
सौन्दर्य प्रतियोगिता कसले गर्न पाउँछ? यसको उत्तर सजिलो छैन। सानोतिनो कम्पनी बनाएर प्रतियोगिता गर्ने, विवाद भयो भने प्रतियोगिता बन्द गर्ने क्रम चलिरहेको छ। राम्रो/नराम्रो छुट्याउने वा धाँधली गर्नेलाई कारबाही गर्ने निकाय छैनन् भन्दा पनि हुन्छ। के गर्ने भन्ने न्यूनतम मापदण्डसमेत नभएकाले सौन्दर्य प्रतियोगिताहरू हलुका र सस्ता भइरहेका छन्। कति संस्था त सरकारी नियमानुसार वर्षाैंदेखि नवीकरण पनि भएका छैनन्।
राम्रै इभेन्ट गरिरहेका केही संस्थाले आफ्नो छाता संगठन बनाउने तयारी गरेका थिए। इभेन्ट म्यानेजमेन्ट एसोसियसन नेपाल (इम्यान) भनेर गठन गर्न लागिएको संस्था जन्मिनै पाएन। 'करको दायरमा आउने, गलत गर्दा संस्थाले नै कारबाही गर्ने जस्ता प्रावधान राखिने भएपछि धेरैले उक्त संस्था निर्माणमा असहयोग गरे,' इभेन्ट म्यानेजमेन्ट गरिरहेका सन्तोष सापकोटाले भने। प्रतियोगीलाई दिने पुरस्कारबाट १३ प्रतिशत कर काट्ने भए पनि कतिपय आयोजक भने करको दायरमा छैनन्।
 

आयोजक के भन्छन् ?

santsohसन्तोष सापकोटा, प्लानेट नेपाल
हाम्रो कार्यक्रम उपाधिभन्दा ट्रेनिङलक्षित छ। हाम्रो प्रतियोगितामा भाग लिएकाहरू आफ्नो ठाउँमा लिडर' छन्। हामी प्रतियोगीको व्यक्तित्व विकासमा प्रशस्त ध्यान दिन्छौँ। अहिलेसम्म कसैले हाम्रो कामको विरोध गरेका छैनन्। हामी नेपालमा इभेन्ट गरेर कमाउन होइन, प्रोफाइल मात्रै बनाउँदै छौँ। चाँडै विदेशतिरका इभेन्ट गर्न खोजिरहेका छौँ। त्यसैले हामी कार्यक्रमबाट फाइदा हुने भन्दा पनि दाग लाग्ने काम नहोस् भनेर ध्यान दिइरहेका छौँ।

hemaहेमा मानन्धर, नेप्लिज फेशन होम
हामी अहिले वर्षमा पाँचवटा कार्यक्रम गर्छौँ। तीमध्ये मिस नेवाः १४ वर्षदेखि गरिरहेका छौँ। अहिलेसम्म हामीले गुनासो सुनेका छैनौँ। विशेषगरी नेवार समुदायको वेशभूषा जगेर्ना गर्न हामी नेवार समुदायका युवतीलाई प्रेरित गरिरहेका हुन्छौँ। भाषा र भेषका विषयमा ट्रेनिङ पनि दिन्छौँ। क्राउन बेचेर पैसा कमाउने उद्देश्य नभएकाले नै हामी लामो समय टिकेका हौँ। पोहोर साल क्राउनका लागि बार्गेनिङ गर्ने आठजना प्रतियोगीलाई निकालेर हामीले कार्यक्रमको अनुशासन कायम राख्यौँ।

dinesh shahiदिनेश शाही, एक्सपोज नेपाल डट कम
प्रतियोगी र तिनका अभिभावकका कारण पनि प्रतियोगिता फेयर नभएको हो। किनभने, आफूलाई जिताइमाग्न उनीहरूले विभिन्न उपक्रम गरिरहेका हुन्छन्। मलाई पनि प्रभावमा पार्नका लागि प्रतियोगीका आफन्तले नजिकिने, खाना खान अफर गर्ने र सहयोग गर्छु भन्ने गरेका छन्। त्यसैगरी डनलाई र ठूलो मान्छेलाई फोन गर्न लगाउने लेभलका काम हुन्छन्। यसको मतलब यस्ता प्रतियोगिताका आयोजकहरू सबै असल हुन्छन् भन्ने होइन।

Laba Karki copyलव कार्की, सञ्चालक, अल नेपाल पब्लिसिङ एन्ड एड्भर्टाइजिङ
हाम्रो संस्थाले वर्षमा विभिन्न शीर्षकमा छ वटा सौन्दर्य प्रतियोगिता आयोजना गर्छ। यो वर्ष यो संख्या नौ वटा पुग्दै छ। हाम्रो संस्थाले एजुकेसनल डाइरेक्ट्री निकाल्ने भएकाले हाम्रो विद्यालयहरूसँग राम्रो सम्बन्ध छ। जसले गर्दा हामीले आयोजना गर्ने प्रतियोगितामा सहभागीको संख्या उल्लेख्य हुन्छ। लिटिल मिस एन्ड मास्टर नेपाल आइकन'मा मात्र सयजना बच्चा सहभागी छन्। कार्यक्रम नै लगातार तीन दिन गर्ने योजना बनाएका छौँ। हाम्रो इमेज राम्रो भएकाले हामीलाई विश्वास गर्नेहरू धेरै छन्। हामी बालबालिकालाई छात्रवृत्ति, ब्रिजकोस आदि सुविधा उपलब्ध गराउँछौँ। सौन्दर्य प्रतियोगिताबारे विभिन्न टीकाटिप्पणी र विवाद भइरहेका बेला हामीले आयोजना गर्ने प्रतियोगिता विवादमा नपर्नु हामी निष्पक्ष भएको प्रमाण हो।

प्रतियोगीकभनाइ

nishanनिशान चौहान
मैले यस्तो प्रतियोगितामा भाग लिएको दोस्रोपल्ट हो। अघिल्लोपल्ट हाउस अफ फेशन न्यू लुक'मा भाग लिँदा पनि अलिअलि धाँधली भएको जस्तो लागेका थियो। यसपल्ट मोडल अफ दी इयर'मा भाग लिएपछि यस्ता प्रतियोगिता फेयर हुँदैनन् भन्नेमा विश्वस्त भएको छु। साथै, ट्रेनिङ दिएर व्यक्तित्व विकास गरिन्छ भन्ने कुरा पनि वाहियात हो। हामीले १० हजार ट्रेनिङका लागि र पाँच हजार ड्रेस र फोटोसुटका लागि तिरेका छौँ। प्रतियोगिता सकिँदासम्म पनि फोटो पाउन सकेका छैनौँ। त्यसैगरी, टाइटल र सबटाइटल विजेताले प्रमाणपत्र पाएका छैनौँ। कार्यक्रम कस्तो भयो त दुनियाँले देखेकै कुरा हो।


rosi bhusalरोजी भुसाल
तीनटा सौन्दर्य प्रतियोगितामा भाग लिइसकेँ– ‘दी ग्रान्ड ब्युटी पेजेन्ट २०११', ‘मिस टिन' मोडल अफ दी एयर २०१४'। सौन्दर्य प्रतियोगिताका आयोजकले प्रतियोगीका आगाडि गर्ने कमिटमेन्ट थोरै पनि पूरा गर्दैनन्। सुरुमा हामी यसो गर्छौ, उसो गर्छौँ' भनेर गफ दिने तर त्यसको सानो अंश पनि कार्यान्वयनमा आउँदैन। दी ग्रान्ड ब्युटी पेजेन्ट'मा म विजेता भएकी थिएँ। तर, पछि मलाई मोडलिङमा जान थप टे्रनिङ लिनुपरेको थियो। ग्रुमिङ सेसन भनेर आयोजना हुने ट्रेनिङमा अधिकांश समय गफै दिएर बित्ने गरेको हुन्छ। मोडल अफ दी इयर मोडलिङ सम्बन्धी प्रतिस्पर्धा भनिए पनि पछि यसलाई पनि सौन्दर्य प्रतियोगितामा रूपान्तरण गरियो। मोडल अफ दी इयरका आयोजकले उत्कृष्ट मोडललाई अन्तर्राष्ट्रिय र्‍याम्पमा लाने गफ दिएका थिए। पछि यो सुन्दरी प्रतियोगिता जस्तो हुने भएपछि म ट्रेनिङमा जान छोडेँ। तर, आयोजकले सहभागिताका लागि फर्म भरेपछि नआउने भनेर किचकिच गरेपछि म गएकी हुँ।
प्रतिस्पर्धीले जे सोचेर गएका हुन्छन्, त्यो नहुँदा निराश हुनुपर्ने अवस्था छ। एउटा पेजेन्टमा भाग लिँदा कम्तीमा पनि ३० हजार रुपैयाँ खर्च हुन्छ। टाइटलका लागि पैसाको चलखेल पनि उत्तिकै हुन्छ। टिकट बेच्नु, स्पोन्सर खोज्न सहयोग गर्नुजस्ता थुप्रै झन्झटमा प्रतियोगीलाई पार्छन् आयोजकले। यस्ता प्रतियोगिताले केही अनुभव हासिल गर्न मद्दत पुगे पनि यसैको पछि लागेर मात्र ग्ल्यामर र मोडलिङको क्षेत्रमा केही गर्न सकिँदैन। यसका लागि थप तालिम आवश्यक पर्छ। प्रतियोगिता विजेताको ताज लगाउँदैमा रातारात केही हुन्छ भनेर सोच्नु मूर्खतामात्रै हो। त्यसैले सुन्दरी प्रतियोगिताको पछि दौडनुभन्दा आफूलाई मोडलिङ तथा अभिनयमा रुचि छ भने त्यससँग सम्बन्धित तालिम र अध्ययनमा लाग्दा नै बेस हुन्छ।

प्रकाशित: २६ आश्विन २०७१ ०७:५९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App