१४ चैत्र २०८२ शनिबार
image/svg+xml
अन्य

आमाको खोज

सैसैला खेल्दाखेल्दै नारानपातीको रूखबाट फुत्रुक्क ओर्लेर मैले बाको तर्जनी औंला समाउँदै आमाबारे सोधेको थिएँ। बा उदास! उदासी त हाम्रै परिवारको एउटा सदस्य नै थियो। हामीबाहेक कसैले त्यसलाई देख्न सक्दैनथ्यो।


'बा, आमा काँ जानुभ'को भन्याँ?'
'काँ गको भन्नू तँलाई अब! चुप्पो लागेर बस्!'
'काँ गको भन्नुस् न?'
'ए छोरी, यल्लाई एक छिन खेलाउन लैजा न! हैरानै पार्छ यल्ले त!' बाले दिदीलाई भन्नुभयो।
दिदी दिक्क छे। उसको अनुहारबाट साउने झरी भर्खरै रोकिएजस्तो छ। बाले भन्नुभएको, अब ऊ स्कुल जाँदिन। ऊ हिसाबमा तेज छे। नेपाली र सामाजिकमा पनि। गाउँकै स्कुलमा फर्स्ट भएर उसले कक्षा तीन पास गरी। माथि पढ्न पाएकी भए अंग्रेजी पनि राम्रो गर्थी। उसका मिल्ने साथी धेरै छन्। तर, अब ऊ चुलोचम्को गर्दै, भारी बोक्दै र भाँडा मा‰दै तिनीहरू स्कुल गएको हेर्नमात्र सक्छे।
'अँ मान्दै मान्दैन। आमा जानी, आमा जानी भनेर हैरान खेलाउँछ!' दिदीको अनुहारको बर्सन नसकेको बादल दिक्दारी भरिएको गाग्रीझैं छचल्किन्छ।
'त्यसो नभन् न छोरी, यल्लाई एक छिन पल्लो बारीमा ढिकुरातिर वाख्या गीत सुनाउन लैजा न! ए कान्छु, जा तँ दिदीसँग एक छिन वाख्या गीत गाएर आ!'
'नाइँ, मलाई वाख्या गीत गाउन मन पर्दैन। बोडी नि सकिइसक्यो, पात 'नि छिपिइसक्यो। अनि तातो न छारोको के वाख्या गीत गाइ' भो र?'
'हेर् न, यो चिगो मल्टा पालु! (सानो खुर्सानी नै पीरो!) छिप्पेर के भो त? जा न एकचोटि।'
'भो जान्नँ, त्यस्ता जाबो! काकाले भन्या, आमालाई अस्पताल ल'को रे। हो?'
'तँ अहिले बु‰दैनस्। चुप्पो लागेर बस्!'
'लौ हिजोमात्र यहीँ काँगियो फूलको बोटमुनि सुतिरहनुभएको थियो! आज हुँदा कहाँ जानुभ'को त?'
'जाँ गए नि चुप्पो लागेर बस्!'
'अनि आमा काँ जानुभ'को, मलाई पुर्याोइदिनुस् न!'
'भैगो, तँ आफैं खोज्न जा!'
'बा, बेकारमा किन झर्कनुहुन्छ? त्यो बालखालाई के था छ र?' ठूली भएकी दिदीले बालाई खै गरी।
'कान्छु, तँ चुप लागेर बस् त, आमा अब आउनुहुन्न,' दाइ भन्छ र मलाई तानेर लान खोज्छ। उसलाई एक घुस्सा हानेर म उम्कन्छु।
'आमा आउँदा पुस्टकारी र तिलौरा ल्याइदिनुन्छ?'
'आमाले नल्याइदिए मै ल्याइदिऊँला नि त! किन धन्ना मान्छस् बाबै! मैले नभए दिदी र दाइले नि ल्याइदेलान् नि!'
'अँ तिनेर्ले ल्याइदिन्नन्। पाए आफैं खान्छन्।'
'हुन्छ, मै ल्याइदिन्छु त्यसो भे। तर, म काममा गएर आउन्जेल तँ नसुती बाह्रखरी पढेर बस्नुपर्छ नि! नत्र खान पाउन्नस्!'
'भइहाल्छ नि, पुस्टकारी नै ल्याउने भए पढेरै बसम्ला नि त!'
'ल त्यसो भे अहिले खेल्न जा त!'
'अनि बकैनाको रूख किन काट्या नि?'
'हरे, यो खुनखुनेसित नसकिने भो बाबा!'
'किन काट्या भन्याँ?'
'ए बकैना रूख? काटियो नि! कस्तो राम्रो रूख थियो, काट्नुपरो!'
'अब म कुन रूख चढ्ने? ऐँजेरु काफल टिपेर कहाँ खाने? किन काट्या?'
'हेर कान्छु, तँ आमालाई माया गर्छस्, हो कि होइन भन् त?'
'हो।'
'आमालाई अस्पताल लग्या भन्या, होइन?'
'हो।'
'हो, अस्पतालमा आमालाई राख्न खाट पनि ल्याइदिनू रे। अनि बकैनाको रूख नकाटी भो त?'
'भएन।'
'हो, त्यसै भ'र।'
'अनि किन काट्या त?'
बा पुर्पुरोमा हात राखेर माथि उक्लनुभयो। टाउको दुख्यो क्यारे। दाजु अंग्रेजी माने घोक्न थाल्छ। डब्लु ई– वी माने हामी। ओ आई एल आयल, आयल माने तेल। ओ आर ए एन जी ई अरेन्ज, अरेन्ज माने सुन्तला।
पिँढीको थाममा अडेसा लगाएर पापीकान्छा र काकाको अघोषित जुहारी चल्दै छ। पापी गाइरहेछ, '‰याले चोना तुकँ मा, वः हे ल्यासे जिःत मा।' काका गाउँदै हुनुहुन्छ, 'योःमरी चाकु थेँ, चतामरी माकु थेँ।' काका र ऊ नर्कटको भर्या ङ बनाउँदै छन्। नौखुट्टे। आज नौ दिन, बेलुकी खोलामा लानुपर्छ रे। किन हो? केको नौ दिन?
दिदी कुखुराको खोरमाथि बसेर टोलाउँछे। म के गरूँ? हान्निएर कुलामाथि नारानपातीको बोटमा चढेर सैसैला खेल्न थाल्छु। बाख्राका दुई पाठा मलाई पछ्याउँछन्। पाठाहरू मतिर आशाको नजरले हेरेर लयबद्ध स्वरमा म्या...गर्छन्। दौडँदै गएर पिँडीमा नर्कट ताछिरहेको पापीको पिठ्युँमा उफ्रन थाल्छन्।
म त्यहाँ पनि धेरै बेर टिक्न सक्दिनँ। कहाँ जाऊँ? बाले आमालाई खोज्न आफैं जा भन्नुभएको छ। आमा घाँस काट्न, लुगा धुन र कालमुन्टे काट्न माथ्लो खोलातिर जानुुहुन्थ्यो।
हाँडीको पँधेरामा केही आइमाई पानी भरिरहेका थिए। आमा त्यहाँ पनि हुनुुहुन्थेन।
'एई फुच्चे, तँ काँ जान ला'को?'
'याँ आमा आउनुभ'को छैन?'
'लौ यो त आमा खोज्दै हिँड्दोर'छ! छैन–छैन। नजा त्यतातिर। ए मोरा, नजा भन्या।'
म सरासर खोलातिर लाग्छु। खोला बगेको एकतमास आवाजबाहेक केही सुनिन्न। आमाले लुगा धुने ठूलो ढुंगा पनि सुनसान छ। यहीँ बसेर आमा लुगामा साबुन घोट्नुहुन्थ्यो, लुगा पछार्नुहुन्थ्यो। पछार्न नसकिने खालका ठूला कपडा मुंग्राले चुट्नुहुन्थ्यो। हामीलाई नुहाइदिएर यही ढुंगामाथि बसाल्नुहुन्थ्यो र नरम पछ्यौरी ओढाइदिनुहुन्थ्यो। यो ढुंगा किन यस्तरी दिक्दार छ आज? माथि उक्लेर चौरतिर हेर्छु। त्यहाँ माथिको भीरमा आमा आफ्ना साथीहरूसँगै घाँस काट्नुहुन्थ्यो। कालमुन्टे फाँड्नुहुन्थ्यो। त्यहाँ पनि हुनुहुन्न। आमाका साथीहरू पनि छैनन्। छन् केवल सर्प लुक्ने उन्यूघारी र काँसुपारीका बुटा। अलिमाथि पाँगो भित्तामा माटोकोरेका गुँड खोपिएका छन्। एउटी माटोकोरे आफ्ना बचेरालाई आहारा खुवाउँदै छे। आमाचाहिँ फेरि फुत्त उडेर जान्छे। बचेरा ठूलो मुख बाएर च्यार्रच्यार्र कराउन थाल्छन्। एउटा बचेरा गुँडबाट तल खस्छ। म त्यसलाई बिस्तारै समाउँछु, तर त्यो ज्यानै जान लागेजस्तो च्यार्रच्यार्र चिच्याउँछ। बायाँ हातले उत्तिसको जरा समाएर त्यसलाई दायाँ हातले गुँडमा छिराइदिन्छु।
खोलो तरेर म सोझै मामाघरतिरको बाटोमा उक्लन्छु। तल आँगनमा मधुरो घामतिर पिठ्यँु फर्काएर हजुरआमा र सानिमा मकै छोडाइरहनुभएको छ। 'आमा खोइ त?' मैले सोधेँ। हजुरआमा एक्कासि मुख छोपेर रुन थाल्छिन्। चुपचाप टोलाएर सानीमा मलाई हेर्छिन्।
'हजुरआमा किन रुनुभ'को? आमा खोइ भन्याँ!' सानिमाका आँखा किन यति सुनसान छ आज? उनी भित्र जान्छिन् र बिहानको रोटीको एक टुक्रा र धनियाँको एक पित्को अचार ल्याएर मलाई दिन्छिन्।
'लौ घर हिँड्, तँ किन एक्लै आको?' सानिमा भन्छिन्।
'म आमासँगै जान्छु। खुरुक्क बोलाउनुस् त!'
'आमा याँ आ'की छैन।'
'छैन? काँ जानुभो त?'
'लौ बढ्ता कुरा नगर्। खुरुक्क घर हिँड्, अहिले गठेले काट्ला।'
'काटे काट्ला। जान्नँ तपैंसित!'
आमा घट्ट जानुभएको हो कि क्या हो? म बुरुक्क त्यहाँबाट उम्केर घट्टतिर लाग्छु। माथि बाटोमुनिको कुलाबाट एउटा काठको डुँडमा जोडले पानी ओर्लिरहेको छ। पिठोको मिठो बास्ना बाहिरसम्मै फैलेकोे छ। भित्र पिठोको धुलो उडिरहेको छ। घट्ट एकोहोरो घुमिरहेको छ। एक जना माथि सोलीबाट गहुँ खन्याइरहेको छ। एक जना आइमाई पिठो उठाइरहेकी छ। अर्कीचाहिँ यता नाङ्लामा गहुँ निफनिरहेकी। गहुँ खसालिरहेको पुरुष मेरो गालामा पिठो दलिदिन्छ। म अहिले जोगीजस्तै देखिएको छु होला।
'आमा खोइ त?' म उसलाई सोध्छु। घट्टको आवाजले ऊ कान सुन्दैन र मेरो मुखमा कान ल्याउँछ। म फेरि सोध्छु। ऊ मलाई लिएर बाहिर आउँछ।
'को आमा? तेरी आमा? तँ कसको छोरा, भन् न!'
'आमाको छोरा! भन्नुस् न आमा खोइ?'
त्यो मान्छे हाँस्न थाल्यो। त्यसले मलाई भित्र लग्यो।
'यसलाई तिमेर्ले चिन्या छौ?' दुइटी आइमाईलाई सोध्यो। तिनीहरूले छैन भन्ने संकेत गरे।
'तेरो घर काँ हो भन् त!' गहुँ निफनिरहेकी आइमाईले मलाई बोलाएर सोधी। मैले खोलाको पल्लो तीरतिर देखाइदिएँ।
'तँ कसको छोरा?'
'आमाको छोरा!'
'हो। तर, तेरी आमाको नाम के भनेर सोधेको क्या!'
'आमै हो क्या रे!'
त्यो हाँस्न थाली। 'आमा घरै होली। लौ घर जा!'
'साँच्ची हो त?'
'म तँलाई किन ढाँट्थे!'
म त्यहाँबाट पनि निस्कन्छु। ए हे, आमालाई त अस्पताल लगेको नि! होइन, सबै जना ढाँट्छन् कि क्या हो? हस्याङफस्याङ गर्दै पुल पार गरेर चोरपुरा चौरतिर लाग्छु जहाँ स्वास्थ्यचौकी छ। अस्पताल भनेको यही हुनुपर्छ। जाँच्ने कोठामा दुई जना वृद्ध र चार जना आइमाई पालो कुरिरहेका छन्। एउटी राम्री तरुनी कागजमा केही लेखिरहेकी छ। मलाई कताकता यस्तै राम्री तरुनी श्रीमती होस् भन्ने कामना जाग्छ।
'लौ यो क्याप्सुल बिहान, दिउँसो, बेलुकी तीन ट्याम एकएक वटा पाँच दिन खानू। अनि यो चक्की ज्वरो आको बेलामात्र खानू। चक्की यहीँबाट लिएर जानू, क्याप्सुलचाहिँ भाद्गाउँमा किन्नुपर्छ।'
'आमा खोइ त?' कागजमा लेखिरहेकी आइमाई नजिकै पुगेर मैले सोधेँ। ट्वाल्ल परेर त्यसले मलाई हेरी। मैले फेरि सोधेँ। त्यो हाँस्न थाली।
'सान्दिदी! यो बाबुलाई आमाकहाँ पुर्यािइदिनुस् त!'
अर्को कोठाबाट त्यो 'सान्दिदी' आउँछे र मलाई लिएर बाहिर निस्कन्छे।
'आमा खोइ त?' मैले सोधेँ।
'हरे यो त आमा खोज्दै आएछ। विचरी आमाचाहिँ काँ' पुगिसकी!' आफैंसित भुनभुनाउँदै 'सान्दिदी'ले भनी। मैले 'सान्दिदी'को औंला झट्कारेँ, अर्थात् आमा खोइ?
'लौ आमा अगि नै घर पुगिसक्नुभो। कति पापा ल्याइदिनुभको होला। लौ घरै जाऊ छोरा।'
'भने'सि आमा याँ' पनि आउनुभ'को छैन?'
'छैन–छैन। घरै हुनुहुन्छ।'
जहाँ गएर, जसलाई सोधे पनि छैन भन्छन्। के गरूँ?
•••
घाम डुब्ने तरखर गर्दै छ। घर पुग्ने गोरेटोतिर छिर्नै लाग्दा, बगलीमा गुच्चा खेलाइरहेको काजी भन्छ, 'आइज, ह्वाकर्याुङ खेलाम्।' खेलम् भने खेलम्। हामी कित्ता जिती खेल्न थाल्छौं। मसँग बगलीभरि छन्, कित्ताहरू। याक चुरोटको २०। गैंडाको १०। आशाको पाँच।
ह्वाकर्या।ङ चल्दाचल्दै पिराभाइ आइपुग्छ, जसलाई हामी रिप्लाइट भन्छौं। 'म्यास्साला हो, लौ आओ, ओखर हानम्', ह्वाकर्याैङको माथिपट्टि गुच्चाको ओखर हान्न उसले प्वाकल पारिसकेको छ। हार्दै गएपछि काजी पनि भन्छ, 'लौ अब ओखर हानम्!' हानम् भने हानम्। हामी पनि एक बाउकै छोरो हुम् क्यारे। एकै छिनमा काजी टाट पल्टन्छ। उसका आँखामा अनौठो दुष्टता नाच्न थाल्छ। ऊ हामी दुवैको कित्ता र गुच्चा लुटेर भाग्छ। म त्यसको कठालो समाउँछु। रिप्लाइट किन हो, चुपचाप छ। काजी मलाई एक घुस्सा हानेर भाग्छ। म लखेट्दै जान्छु। त्यो एकै छिनमा पर आफ्नै घरनिर पुगिसकेको हुन्छ।
'पख्लास् हरियाबाँसे, यो बाटो हिँडिस् भने तेरो खुट्टा भाँचियो भनेर जाने भो,' काजी चुनौती दिँदै फर्केर आउँछ। गोरेटोको मुखमा उभिएर मलाई जिस्काउँछ। 'एई आमाटोकुवा, हेर, इस् भाँच्लास् मेरो खुट्टा, इस्।' त्यो मलाई आफ्नो जाँघेतिर हात तेर्स्याउँदै भन्छ। म त्यसलाई लखेट्छु। त्यो टाप कस्छ। एक छिनपछि त्यहीँ आएर फेरि भन्छ, 'हेर् त आमाटोकुवा, इस भाँच्लास् मेरो खुट्टा, इस्।'
म त्यसलाई नभेटेर रन्थनिन्छु। एक्कासि सम्झन्छु– केही दिनअघि मात्र हाम्रो घरमा चिउरा, अदुवा र जुल्फी लिएर आएका आइमाईहरू मझेरीमा बसेर पछ्यौरीले मुख छोपी रोएका, दिदीले कर गरेर तिनलाई आलु र चिउरा खुवाएको, हिजोमात्र नुहाइधुवाइ निनीहरूले पिँडी पोतेको, दिउँसो अबेला माटाको भाँडामा आमालाई भनेर भात छुट्याएको, अनि आजै पापी कान्छा र काकाले नरकटको नौखुट्टे भर्या ङ बनाएको। यो के हो? काजी मलाई किन त्यस्तो भन्दै छ?
गोरेटो छाडेर मलाई खोज्दै दिदी मूलबाटोमा झुल्कन्छे। मलाई खोज्दै ऊ कहाँकहाँ पुगिसकी। कठै, उसले अब पढ्न पाउँदिन। दिदीलाई देख्नेबित्तिकै मलाई रोऊरोऊ झैं लाग्छ।
'दिदी, त्यसले मलाई किन 'त्यस्तो' भन्याँ? आमा मर्नुभ'को हो र!' म काजीकै शब्द सापटी लिएर लगभग रुन्चे स्वरमा सोध्छु। दिदी चुपचाप शून्य आँखाले मलाई हेर्छे। फेरि सोध्छु। यसपालि दिदीको धैर्यको बाँध फुट्छ। एक्कासि ऊ मुख छोपेर रुन थाल्छे। अर्थात्, जवाफ मिल्यो। म के गरूँ? जिन्दगीमा पहिलोपल्ट म पनि रुन थाल्छु। अब दिदी चुप लाग्छे र मलाई फुल्याउन थाल्छे।
•••
'स्वर्गीय हीरादेवीको खोज' भनेजस्तै मेरी स्वर्गीय आमाको खोज स्वयं अब स्वर्गीय भयो। दिदीको औंला समाएर घर फर्कंदै छु। कुनै दिन यसै गरी म आमाको औंलामा सैसैला खेल्ने गर्थें। आमाको ठाउँमा अब दिदी छे।
क्षितिजलाई कोसौं पर छाडेर जसै उज्यालो टाढिँदै जान्छ, पीरको गाँठो झन्झन् कस्सिँदै जान्छ। पश्चिमतिरबाट चिसो स्याँठ यसरी चलिरहेछ, जसमा बतासिँदै ओर्लिरहेको अँध्यारोप्रति असन्तोष झल्किन्छ। तर, जिन्दगीको रीत रोकिँदैन, किनभने अनेकौं समुद्र, नदी र पहाडहरू नाघेर भोलि फेरि उज्यालो ओर्लनेछ। जसरी दिन ढलेकोमा थकथकाउँदै गुँड छिरेका चराहरू भोरमा खुसीले चिर्बिराउन थाल्छन्।
जिन्दगीको किताबमा सायद यस्तै लेखिएको छ।

प्रकाशित: १० आश्विन २०७१ २२:१४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App