१२ जेष्ठ २०८३ मंगलबार
image/svg+xml
अन्य

के हो इबोला?

इबोला भाइरसको कारणले लाग्ने एक प्रकारको रोग हो। यो अहिले पश्चिमी अफ्रिकामा महामारीको रूपमा फैलिएको छ। सन् १९७६ मा पहिलोपटक फैलिएको यो भाइरसले यस वर्षमात्रै अफ्रिकी राष्ट्रहरूमा १५ सयभन्दा बढीको ज्यान लिइसकेको विश्व स्वास्थ्य संगठनले जनाएको छ। यो एउटा आरएनए भाइरस हो।
यो भाइरस सबैभन्दा पहिले वर्तमान गणतन्त्र कंगो र तत्कालीन जायरको इबोला नदी आसपासमा पाइएको कारण यस भाइरसको नाम इबोला राखिएको थियो। अहिलेसम्म यसका पाँच वटा प्रजाति फेला परेका छन्, जसका चार प्रजातिबाट मानिसमा इबोलाको संक्रमण हुन्छ।
इबोला भाइरस संक्रमित मानिसको प्रत्यक्ष सम्पर्कमा आउँदा रोगीको थुक, र्यारल, रगतलगायत तरल पदार्थको माध्यमबाट स्वस्थ मानिसमा सर्दछ। अहिलेसम्म इबोला भाइरस हावाको माध्यमबाट सरेको थाहा भएको छैन तर एक ग्राम इबोला भाइरसको एक लाख भागको एक भागमात्रै पनि स्वस्थ मानिसमा सरेमा यसले अत्यन्तै छिटो प्रजनन् गरेर मानिसलाई रोगी बनाउन र ज्यानै लिन सक्छ।
पश्चिमी अफ्रिकी देशमा गरिएको अनुसन्धानबाट चमेरा इबोला भाइरसको प्राकृतिक बासस्थान भएको पत्ता लागेको छ। सुरुमा यो भाइरस चमेरा, बाँदर, गुरिल्ला हुँदै मानिसमा आइपुगेको इबोला खोजकर्ताहरूले बताएका छन्। अफ्रिकामा वनचमेराको मासु अत्यन्तै लोकप्रिय खाना हो। त्यसैले इबोला भाइरस चमेराको मासु र विष्टाबाट पनि सर्न सक्ने अनुमान गरिएको छ।
स्वस्थ मानिसको शरीरमा इबोला भाइरसको संक्रमण भइसकेपछि यसका लक्षणहरू दुई दिनदेखि २१ दिनभित्रमा देखा पर्न थाल्छन्। इबोला लागिसकेपछि सुरुमा उच्च ज्वरो आउने, घाँटइी अररो हुने, छाती दुख्ने, हाडजोर्नी तथा मांसपेसी दुख्ने, पेट दुख्नेजस्ता लक्षण देखा पर्छन्। रोगले च्याप्दै लगेपछि झाडापखाला लाग्ने, बान्ता हुने अनि खाना खान मन नलाग्ने हुन्छ। त्यसपछि बिरामीको शरीरका आन्तरिक अंगहरूमा रक्तश्राव हुन थाल्छ। यसैकारण कसैकसैका आँखा राता देखिन सक्छन्। बिस्तारै अंगहरूले काम गर्न छाडेर संक्रमित व्यक्तिको मृत्यु हुन सक्छ।
सुरुमा देखिने इबोलाका लक्षण अन्य भाइरल संक्रमणका जस्ता हुने र यसको पहिचान गर्न विशेष प्रविधिको प्रयोग गर्नुपर्ने हुन्छ। त्यसैले पनि अहिले इबोला लागेपछि रोगको पहिचान हुन समय लाग्ने वा इबोला लागेको थाहा नभई अरू नै रोगको औषधि चलाइनाले पनि इबोला संक्रमित रोगीलाई बचाउन सकिने सम्भावना कम हुन्छ। इबोला भाइरसविरुद्ध अहिलेसम्म कुनै पनि प्रमाणित खोप वा औषधि बनिसकेको छैन। विभिन्न अनुसन्धानशालामा सम्भावित खोप बनाएर हालैमात्र मानिसमा परीक्षण थालिएको छ। विश्व स्वास्थ्य संगठनले इबोला संक्रमण भएकामध्ये ९० प्रतिशत मानिसको मृत्यु हुने गरेको जनाएको छ भने अन्य कतिपय स्वास्थ्य क्षेत्रमा काम गर्ने संस्थाले इबोला संक्रमित प्रायको मृत्यु हुने बताएका छन्।
इबोला रोगीलाई विशेष आइसोलेसनमा राखेर उपचार गर्नुपर्ने हुन्छ। अत्यन्तै जोखिमयुक्त भएकाले उपचारमा संलग्न स्वास्थ्यकर्मीले पनि विशेष सुरक्षा उपाय अपनाउनु पर्छ। अहिलेसम्म रोगीको उपचारमा संलग्न डाक्टर, नर्सलगायत ५० भन्दा बढी स्वास्थ्यकर्मीको मृत्यु भइसकेको छ।
इबोलाको अहिलेसम्म प्रमाणित उपचार विधि नभएकाले इबोलाबाट बच्नु नै मृत्युबाट बच्ने एकमात्रै उपाय हो। संक्रमणबाट बच्न रोगीको शरीरबाट निस्कने तरल पदार्थबाट बच्नुपर्छ। त्यसका लागि रोग फैलिएको क्षत्रमा सुरक्षात्मक पूरै शरीर छोप्ने लुगा लगाएर हिँड्ने, कसैसँग हात नमिलाउने, गला नमिलाउने, बोल्दा पनि सम्भव भएसम्म दुई–तीन फिट टाढाबाटै बोल्ने र बेलाबेला साबुनपानीले हात धुने गर्नुपर्छ। त्यस्तै जंगली जनावर, चमेरा र बाँदरबाट पनि इबोलाको संक्रमण हुन सक्ने भएकाले रोग फैलिएको अवस्थामा जंगलको नजिक वा जंगलमा जानुहुँदैन। चमेराले फलमा विस्ट्याउने र त्यसबाट समेत रोग फैलिन सक्ने भएकोले इबोला लागेको क्षेत्रमा जंगली फलफूल पनि सकेसम्म खानुहुँदैन।
हालसम्म यो भाइरस नेपालमा आइपुगेको थाहा भएको छैन। तर पनि कामको सिलसिलामा विभिन्न देश गएर आउने वा नेपालमा आउने विदेशी पर्यटकमार्फत यो रोग नेपालमा पनि भित्रिन सक्छ। त्यसैले हामी सबै इबोलाको बारेमा सचेत हुनु जरुरी छ।

प्रकाशित: २० भाद्र २०७१ २१:१० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App