रामचन्द्र मण्डल जनकपुरबाट राजधानी आएको ११/१२ वर्ष भइसक्यो। उमेरले ५५ वर्ष नाघिसके उनले। कपडामा बुट्टा भर्नु उनको गरिखाने बाटो हो। महिनामा ३० देखि ३५ हजार रुपैयाँ आम्दानी गर्छन्। स्वयम्भूमा पसल चलाउने उनी मेला, महोत्सव पनि धाइरहन्छन्।
'मेरा दुःख र पसिना बेच्ने पसल खोलेको छु,' दुःख गरेर बुनिएका सामान बेचेर आफूले सुख आर्जन गरिरहेको उनको बुझाइ छ। उनी आफूले तयार पारेका बुट्टेदार कपडासँगै सियो, धागो, फ्रेम र डिजाइन बेच्छन्। 'सिक्नेलाई बुट्टा बुन्ने सीप सित्तैमा सिकाउँछु,' उनले भने। उनले यो सीप साथीभाइबाट सिकेका हुन्।
पहिला गाउँमा खेतीपाती गर्थे। अलिअलि पैसा कमाउनुपर्यो भन्दै राजधानी आएका उनले खेतबारी सबै दाइभाइका जिम्मा लगाए। यहाँ आएर के काम गर्ने? उनी काम खोज्ने चटारोमा थिए। 'त्यसै बेला गाउँका साथीहरू भेटिए,' उनले भने, 'मज्जाले बसेर बुट्टा भर्दै विदेशीलाई सामान बेच्दै टन्न पैसा कमाइरहेको देखेँ। अनि, मैले पनि त्यसैगरी पैसा कमाउने सपना देखेँ।' त्यसपछि उनले त्यही काम सिक्ने निधो गरे। महिनादिन काम सिकेपछि हल्का लगानी गरेर उनले सामान किने। त्यसपछि सुरु भयो उनको यो बुट्टा कुँद्ने कलात्मक पेशा।
'काम त धेरै रमाइलो छ,' उनले भने, 'बरु बस्दाबस्दा ढाड दुख्छ।' यहाँ कपडामा सियो खोप्ने कामलाई उनी गाउँमा हुँदा खेतमा खन्ने कोदालोसँग तुलना गर्छन्। आफूले बनाएका डिजाइन र बुट्टाले उनलाई सन्तुष्टि दिन्छन्। तल चित्र वा पोस्टर राखेर ट्रेसिङ पेपरमा सियोले खोपेर डिजाइन तयार पारिन्छ। विशेष प्रकारको सियो पनि बनाउन सक्छन् उनी। सियोलाई ५०, डिजाइनलाई ५० र फ्रेमलाई तीन सय रुपैयाँमा बेच्छन्। उनले बनाउने बुद्धका बुट्टाहरू सबैभन्दा महँगोमा बिक्छन्। 'बुद्धको बुट्टा एउटाको २० हजारसम्ममा बेचेको छु,' उनले भने, 'शिव, पार्वती, सरस्वती, गणेशका बुट्टा पनि राम्रै बिक्छन्।' उनले बनाएका फूलका बुट्टा र डिजाइनले पनि धेरैको मन जितेका छन्।
उनीसँग बुट्टा भर्ने सीप सिक्न धेरै विदेशी आएका छन्। 'नेपालीलाई यस्ता काम सिक्ने फुर्सद छैन,' उनले चित्त दुखाए, 'यस्ता काम झारेझुरे ठान्छन् नेपालीहरू। समय खेर जान्छ रे।' निःशुल्क सिकाएको कला कसैले मतलब नगरेको देखेर उनी कहिलेकाहीँ खिन्न हुन्छन्। तर, कामको सम्मान गर्ने केही मान्छेले उनको चित्त बुझ्छ।
कमाइ राम्रै भए पनि काठमाडौँको खर्च धेरै हुने भएकाले रामचन्द्रले उति बचत गर्न सकेका छैनन्। 'यसबाट बचाएर केही गरौँला भन्ने नसोचे पनि भयो,' उनलाई यहाँको महँगीले आजित बनाइसक्यो, 'दिनमा तीनचार सय त तरकारीमै जान्छ,' उनले भने, 'झन् घर भाडादेखि अन्य खर्च धान्नै गाह्रो छ।' तर, उनी हातमा भएको सीप र आफूले बगाएको पसिनाले परिवार पाल्न सकेकोमा सन्तुष्ट छन् उनी।
रामचन्द्र शिवका भक्त हुन्। 'यिनै शिवले त मलाई यी सबै दुःख र टेन्सनबाट टाढा राखेका छन् नि,' पशुपति क्षेत्रमा भेटिएका उनले भने। बोलबम पनि मान्छन् उनी। खाली खुट्टा सुन्दरीजल पुगेर त्यहाँको शुद्ध मुहानको जल ल्याएर पशुपतिमा चढाउने योजना छ उनको। 'भगवान्मा विश्वास छ,' उनले भने, 'भगवान्ले केही देलान् भनेर भन्दा पनि मनशान्तिका लागि हो।' यहाँ भगवान छैनन्। यी पूजाआजा सब नाटक हो, भन्नेहरू पनि धेरै छन्। उनीहरूलाई रामचन्द्रको जवाफ छ, 'जीवन भनेकै भगवान्को देन हो। भगवान्का रूप धेरै छन्। उनलाई देख्ने र चिन्ने आँखा मात्र फरक हुन्।' फरक–फरक धर्म र संस्कारमा विश्वास गर्ने मान्छेहरू मिलेर बस्नुको सौन्दर्यलाई उनी आफूले बनाउने बुट्टासँग तुलना गर्छन्। भन्छन्, 'धेरै थरी धागोले बुनेको आकर्षक बुट्टाले सबैको मन जित्छ। तर, एउटै रङको धागोले बुनेको बुट्टा कसले रुचाउँछ र? आखिर जीवन भन्नु बुट्टा न हो!'
प्रकाशित: १५ श्रावण २०७१ ०८:०१ बिहीबार





