चितवन– मन परेको देशको जर्सी, जुत्तामोजा र मोबाइल किन्न एक किशोरले तीन बालकलाई बन्धक बनाएर उनीहरूका अभिभावकबाट पैसा असुलेका छन्। भरतपुर–७ बस्ने टेकबहादुर सुयलले भरतपुर–१२ बस्ने १२, १३ र १४ वर्षका बालकहरूलाई बन्धक बनाउँदै ५० हजार असुलेको प्रहरीले जनाएको छ।
चितवन प्रहरीका प्रवक्ता डिएसपी शान्तराज कोइरलाका अनुसार घटना असार ३२ गतेको हो। १७ वर्षका अर्जुन भनिने टेकबहादुर सुयलले फुटबल सिकाउने भन्दै ती बालकलाई दिउँसो दुई बजेतिर नारायणगढ क्याम्पाचौर ल्याए।
नजिकको नारायणी कलामन्दिरमा बालकहरूलाई राखेर सुयलले उनीहरूका अभिभावकलाई फोन गरेर धम्क्याउँदै पैसा मागे। सुरुमा तीन जनाकै अभिभावकलाई फोन गरेर १० लाख रुपैयाँ मागेकोमा पछि कुरा गर्दै जाँदा ५० हजार रुपैयाँमा सहमति भयो।
अभिभावकले नारायाण्गढ सहिदचोकमा पैसा बुझाएपछि बालकहरू बन्धक मुक्त भए। घटनाबारे प्रहरीले भोलिपल्ट मात्रै थाहा पायो र सुयल पक्राउ परे।
‘बालक बन्धक बनाउने किशोरले भारतीय टिभी च्यानलमा आउने सिआएडी नामको सिरियल हेरेर पैसाका लागि अपहरणको योजना बनाएको बयान दिएका छन्,' डिएसपी कोइरलाले भने। उनको साथबाट २७ हजार २० रुपैयाँ मात्रै बरामद भएको छ। अरु पैसा अर्जेन्टिनाको जर्सी, एक जोर जुत्तामोजा र एउटा मोबाइल किन्न खर्च गरेको पत्ता लागेको छ।
‘देखासिकीले अपराधमा लाग्न पे्ररित गरेको पाइयो,' चितवन प्रहरीका प्रमुख एसपी प्रद्युम्न कार्कीले भने। प्रहरीले उनलाई मलुकी ऐनको अपहरण तथा शरीर बन्धकसम्बन्धी अपराधमा मुद्दा चलाउन अनुसन्धान सुरु गरेको छ। यो अपराध प्रमाणित भएमा सातदेखि १५ वर्षसम्म कैद सजाय हुनेछ।
प्रकाशित: २ श्रावण २०७१ ०६:०३ शुक्रबार





