धनुषा धवौली –३ घर भई हाल जनकपुर कटैयाचौरीमा बसिरहेकी मैतुलको टाउकोमा काठको मुंग्रोले हानेर हत्या गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका नायव प्रहरी उपरिक्षक दिलिप घिमिरेले जनाए । उनका अनुसार छोरा अमरुलको भने घाँटी थिचेर मारिएको छ। ‘आमालाई काठको मुंग्रोले हानेको देखिन्छ । छोराको शरीरमा भने खासै चोटपटक लागेको देखिन्न, उसको घाँटी थिचेर मारेको होला जस्तो लाग्छ’, घिमिरेले भने।
निर्माणाधिन घरमा बसिरहेकी मैतुल आमाछोराको हत्या वारे कुनै रहस्य अहिलेसम्म पत्ता लागिनसकेको घिमिरेले बताए । तर, घटनामा संलग्न हुनसक्ने आशंकामा सोही घर बनाउने मिस्त्री र कामदार गरी चारजनालाई घटना अनुसन्धानको लागि नियन्त्रणमा लिएको उनले जानकारी दिए ।
मैतुलका श्रीमान आलम साफी रोजगारको सिलसिलामा एक वर्षदेखि कतारमा छन् । त्यहीँबाट पठाइएको डेढ लाख रुपैयाँ पनि चोरी भएको मृतक परिवारले जनाएको छ । यसबाट लुटेरा समूहले घरै लुट्ने मनसाय बनाएर गएको तर उनीहरुले चिनिसकेको बुझेर प्रमाण मेटाउन हत्या गरेको हुनसक्ने अनुमान प्रहरीको छ ।
प्रकाशित: ८ असार २०७१ ०२:३५ आइतबार





