५ चैत्र २०८२ बिहीबार
image/svg+xml
अन्य

‘देश एक दिनमा बन्दैन'

पोखरा– बिपी कोइरालाले ऊ जमानामै भनेका थिए, राष्ट्रियता भनेको भूगोलमात्रै होइन, मान्छे हो। पत्रकार किशोर नेपाललाई बिपीको त्यो भनाइले छोएको थियो र आफू त्यसमा सहमत भएका थिए। अहिले भने नेपालको राष्ट्रियता विभक्त भएर अरबको खाडी र मलेसियासम्म फैलिएको किशोरको बुझाइ छ। भन्छन्, ‘विभक्त राष्ट्रियतालाई जोड्ने भनेको युवाले हो।'आफूजस्तो अघिल्लो पुस्ताको मेहनत र संघर्ष युवाका लागि काम लाग्छ भन्ठान्छन् उनी। ‘त्यसैले यो किताब लेखें,' आत्मकथा ‘मेरो समय' लेख्नुको औचित्य बताउँदै थिए किशोर नेपाल। पोखरेली युवा सांस्कृतिक परिवारले शनिबार उनको किताबमाथि आयोजना गरेको परिचर्चा कार्यक्रममा उनले भने, ‘यो देशमा बुद्धिजीवी निस्त्रि्कय छन्, राजनीतिकर्मी निस्त्रि्कय छन्। त्यसैले आशा युवासँग छ।'
किताबको लेखाइ सँगसँगै आफ्नो व्यक्तिगत जिन्दगीका पानाहरु पनि पाठकसामु पल्टाउन उभिएका किशोरले आफूले भोगेको राजनीतिक दृष्टान्तहरु पनि पस्किए। ‘मुलुक अहिले होइन २००७ सालदेखि नै गन्जागोल हो, अहिलेमात्रै होइन,' उनले भने, ‘देश एक दिनमा बिग्रेको, भत्केको होइन त्यसैले एक दिनमा पनि बन्दैन अहिलेको जस्तो ग्लामर नहुँदा पनि पत्रकारितामा डटेर लागेको सुनाउँदै नेपालले महिनाको सय रुपैयाँमा काम सुरु गरेर अहिले १०० रुपैयाँमा एक लाइन पनि नलेख्ने अवस्थामा आइपुगेको बताए। द्वन्द्वकालमा नेपाली पत्रकारले देख्न नसकेको जनताको पीडा आफूले देखेको बताउँदै उनले सम्पादक भए पनि रिपोर्टिङमै रमाएको सुनाए। 
कुनै पनि राजनीतिकर्मी वा उच्चव्यक्तिसँग एउटा पत्रकारले राख्नुपर्नेभन्दा बढी सम्बन्ध कहिल्यै नराखेको स्प्रष्टोक्ति उनले दिए। ‘म छाला जोगाउनुपर्ने मान्छे होइन, उनले आफ्नो निर्भीकताको पाठ सुनाए,‘ म भयरहित मान्छे हुँ। मलाई डर लाग्दैन, किन लाग्दैन भन्नेचाहिँ डर हो।' 
कवि तीर्थ श्रेष्ठले किशोरको किताबमा पत्रकारिता, साहित्य र राजनीतिकको इतिहास एकैचोटि अटाएको टिप्पणी गरे। ‘तिथिमिति नलेखिएको इतिहासका रुपमा किताब आएको छ,' उनले भने, ‘सम्झना सबैका हुन्छन्,। कसैका धुमिल हुन्छन्। आग्रहका कारण ती सम्झनाका सत्य असत्य बनेका आउँछन्। तर किशोर नेपालको मेरो समयमा सत्य सत्य नै बनेर आएको छ।'
अर्का टिप्पणीकर्ता कवि ईश्वरमणि अधिकारीले आत्मकथामा किशोरले जीवनमा देखेभोगेका महत्त्वपूर्ण घटनालाई दस्तावेजीकरण गर्न सकेको बताए। ‘उहाँको लेखन जीवनको सम्पूर्णताको साक्षी हो, उनले भने।

प्रकाशित: ७ असार २०७१ २०:२२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App