म घनघोर आस्तिक र भयानक नास्तिक होइन। कहिलेकहीँ मन्दिर जान्छु भन्न मलाई कुनै आपत्ति छैन।
शिवजीको ग्ल्यामर मेरो मनमा बालखै छँदादेखिको हो। शिव आफ्ना बाजस्तै लाग्थे। तिनताक मेरै बाको सिको गरेर शिवजीले आफ्नो निधारमा चन्दनको तीनधर्के टीका लगाएका हुन् भन्ने लाग्थ्यो। तर मेरा बाले जस्तै शिवजीले किन पूरा वस्त्र नपहिरिएका होलान् भन्ने जिज्ञासा उति बेलै पलाएको हो। किशोरावस्थामा प्रवेश गरेपछि मलाई तिनी भगवान् कम प्रेमी ज्यादा लाग्न थाले। मलाई तिनका साधुका जस्ता जटा, पहलमानको जस्तो छाती, अबोध बालकको जस्तो शान्त मुखमन्डल बिछट्टै मन पर्न थाल्यो। मेरो ब्ल्याक एन्ड ह्वाइट सपनामा पनि बेरोकटोक आउन थाले तिनी। सपना मिठो हुन्छ भन्ने मलाई त्यस बेलादेखि लाग्न थालेको हो।
हाम्रो पूजाकोठाको भित्तामा शिवको दुई–अढाइ सय सेन्टिमिटर कपडाको कछाडमात्र बेरेर उभिएको फोटो थियो। पूजा गरिसकेर बाले टीका लगाउन बोलाउँदा घाँटीमा सर्पको गलबन्दी लगाएका शिवतिर हेर्दै म मोहित हुन्थेँ। अहिले पनि पशुपतिनाथ जाँदा म रोमान्चित हुन्छु। लाग्छ, म सुटुक्क आफ्नो पुरानो प्रेमीलाई भेट्न आएकी छु। यो प्रेमीले मेरो प्रेमलाई आजसम्म बदनाम गराएको छैन। प्रेमको डंका फिँजाएको पनि छैन। त्यसैले पनि भगवान् भनिने शिवप्रतिको मेरो प्रेम यी शब्दहरू लेख्दासम्म कायम छ।
लामो बिदाका फुर्सदिला दिनमा म भोले बाबालाई भेट्न गइरहन्छु। तर यसपालि भने छोराले भन्यो, ‘मनकामना जाऔं।' उसको बालसुलभ आग्रहलाई टार्ने साहस भएन। मनमा कामना त कति छन् कति। तर देवीदेउताले नै ग्यारेन्टीसाथ मेरा मनका ती कामना पूरा गरिदिएका हुन् भनेर ठोकुवा गरिहाल्न सक्दिनँ।
केबलकारमा हुइँकिएर छोरो र उसको बाबाका साथ मनकामना पुगेँ। लाइनमा लागेँ। मनको कामना मनकामनामै पूरा हुने विश्वास भएका पनि लाइनमै थिए। अरू नै किसिमले मनको कामना पूरा गर्ने रसिक जोडी पनि लाइनमै थिए। म तिनीहरूकै चेपुवामा परेकी थिएँ।
पहिलो प्रहरमै दर्शन गर्दा मनकामना माताको कृपादृष्टि ‘डाइरेक्ट' हामीमाथि परिहाल्छ कि भन्ने घरसल्लाह अघिल्लो दिन नै भएको थियो। माताका नजरमा पर्ने यो काइदा मलाई पनि उत्तम लाग्यो। हामी तीन जना अघिल्लै दिन कुरिनटारका लागि हिँडेका थियौं। एक छिनमै माइक्रो हिँडिहाल्छ भनेर मख्ख पार्योि खलासीले कलंकीमा। एक घन्टा माइक्रोमै कोचेर राख्यो। गर्मी, धुलो र उकुसमुकुसले हर्लिक्सको पाँच सय ग्रामको सिसीमा कोचिएको गुन्द्रुकजस्तो भयो हाम्रो हाल।
‘तीर्थ जाँदा दुःख पाको त एकदम राम्रो पो त। भगवान््ले भक्तको धार्जे (धैर्य) को परखे (परीक्षा) गरेका हुन्। दुःख भो भन्न हुन्न नानी,' छेउमा बसेकी हजुरआमाले यति मायाले सम्झाएपछि अघिदेखि गर्मीले छटपटाइरहेको मेरो छोरोसमेत खुसी देखियो।
००
माइक्रो गुड्न थालेपछि छोरो झन् हौसियो। एकातिर झ्यालबाट छिरेको हावाको तीव्र गतिले नाकै बन्द गराइदिने, अर्कातिर छोराका बालसुलभ प्रश्नको ओइरोले मुख बन्द गर्नै नपाइने। मेरो त नाकले सास फेर्न पाएन, मुखले आराम गर्न पनि पाएन। यसरी दोहोरीलतामा अल्झँदा अल्झँदै मलेखु बजार आइपुग्यो। छोराले मिठो स्वरमा गाउन थाल्यो—
जाऊँ गुरुजी जाऊँ
मलेखु पुगेर तातो माछा खाऊँ।
बाबाछोरा तारेका माछातर्फ झुम्मिएपछि म एक छिन एक्लै भएँ। त्यही बेला मेरासामु एउटा बालक हात पसार्दै उभियो। सडक किनारका धुलाले छोपिएका बिरुवाझैं त्यसको रूपरङ फुङ्ङ उडेको थियो। कहिलेदेखि ननुहाएको शरीर। रिसाएको दुम्सीका जस्ता जिङ्ग्रिङ्ङ ठडिएको कपाल। पटपटी फुटेका कुर्कुच्चा र बाढी घटेपछिको किनारजस्तो लेघ्रैलेघ्रा परेका गाला। त्यसको शरीरमा कपडाको नाउमा बस् एउटा पातलो झत्तो थियो जुन बिजुलीको पोलमा अल्भि्कएको चंगाजस्तो फ्यालफ्याल गरिरहेको। एक रुपैयाँ आफ्ना हातमा पार्न दस जनाका सामु पर्दा पनि निराश नभएर ऊ मेराअघि उभिएको थियो। कविहरू भइदिए त्यसको अनुहारको तुलना हाम्रो देशसित गर्दा हुन् र तिनीहरूलाई तत्काल देश दुख्न थाल्दो हो। तर मलाई त्यो गरिबीको शाश्वत अनुहारजस्तो लाग्यो। यस्ता अनुहार मैलेमात्र किन सबैले देखेका छौं। यस्ता अनुहार देखेपश्चात् सबैको मनमा कुनै न कुनै प्रश्न–गिद्धले झम्टेको हुनुपर्छ।
छोरो माछाको स्वाद लिँदै थियो। मैले सोचेँ– यो माग्ने केटोले नखाएको कति दिन भएको होला। एक छाक पेटभरि खाओस्। मैले ब्याग खोलेँ। सय र पचासभन्दा घटीको नोट रहेनछ। मनभित्र उखरमाउलो भावुकता र बलियो स्वार्थबीच मज्जाले रेस्लिङ चल्यो। अन्ततः भावुकताले विजय प्राप्त गर्योम र मैले पचासको नोट ऊतिर बढाएँ । ऊ त छक्क परेर मतिर हेर्न थाल्यो। मानौं, सोधिरहेथ्यो, ‘चेन्ज दिउँ्क?'
मेरो अनुहार पढ्न भ्यायो त्यसले। ऊभित्र आत्मविश्वास पलायो। भर्खरैसम्म भिजेको मुसोजस्तो देखिएको केटो एकाएक बाजले झम्टा मारेझैं मेरो हातबाट पैसा थुतेर अरूतिर लाग्यो। मेरा आँखा केही बेर त्यसका गतिविधितिर अल्मलिइरहे।
केही बेरको अर्थ संकलनपछि ऊ बाटाछेउकै एउटा पसलमा पुग्यो। मैले दिएकै पचासको नोट दिएर चुरोट किन्यो र बाँकी खुद्रा थोत्रो कमिजको खल्तीमा कोचकाच पारेर बुङबुङ धुवाँ उडाउन थाल्यो। मेरो तर्कहीन भावुकता त्यही धुवाँमा बत्तिँदै धेरै बेरसम्म उडिरह्यो।
ऊ खुसी थियो। तर म उसको खुसीमा रमाउन सकिनँ। मलाई लाग्यो– उसले मलाई ठगेको कि आफैंलाई? कसरी सिक्यो यस्तो आत्मघाती कला? माइक्रोबसमा म पुनः प्रश्नका यिनै भारीसहित बसेँ। ढुक्क थिएँ– प्रश्नको भारीको कुनै एक्स्ट्रा चार्ज लाग्दैन। तर म बसेको सिटमुनिको पांग्रा भने त्यति बेलै पन्चट भयो।
००
छोराको यो पहिलो केबलकार यात्रा थियो। त्यसैले चढ्नासाथ जिज्ञासाको पोको फुकाइहाल्यो। यसपालि जवाफ दिने दायित्व बाबातिर पन्छाएर म छिटोछिटो बगिरहेका फाँट हेर्न थालेँ। वरिपरि, तलमाथिका हरेक दृश्य सृष्टिको अनुपम कारिगरी लागिरहेको थियो।
विद्युतीय फलामे डोरी सर्दै माथिमाथि जाँदा मैले अर्के साइडमा तलको सानो बस्ती पनि देखेँ। जस्तामा बैजनी रङ पोतेका एकनासे टहरा। हेर्दा कति सुन्दर र सुकिला लाग्छन् ती घरहरू
। तर त्यसभित्र बस्नेहरूको जीवन के त्यसरी नै सुन्दर र सुकिलो होला? त्यहीँनेर कतै अकस्मात मैले एउटा मोबाइल कम्पनीको ठूलो बिलबोर्ड पनि देखेँ। मलाई सुन्दर दृश्यमाथिको कुरूप हस्तक्षेपजस्तो लाग्यो। त्यो बिलबोर्डले त्यस भेगका श्रमशील मान्छेलाई क्रमशः उपभोक्तामा मात्र परिणत गरिरहेको जस्तो लाग्यो। राज्यले ती श्रमशील मान्छेका कुरा पटक्कै नसुनिरहेको अवस्थामा एउटा मोबाइल कम्पनीले तिनका आवाज कहाँकहाँ पुर्यानउने सपना देखाइरहेछ। यो यथार्थ एउटा बाक्लो प्रश्न भएर तेर्सियो मेराअगाडि। मेरो मनलाई यो प्रश्नको पहाड नाघ्न हम्मेहम्मे परिरहेको थियो । तर केबलकारले सजिलै डाँडा नाघिसकेछ।
००
आठ वर्षअघि पनि म मनकामना गएकी थिएँ। यसपल्ट आउँदा केही परिवर्तन भने टड्कारै देख्न पाएँ। मोबाइल कम्पनीले सबै घरका छाना र भित्ता एकदम कर्पोरेट कलरमा रंग्याइदिएछ। भित्ता फोरेर मनकामनासम्म जाने मोटरबाटो बन्ने क्रम पनि चलिरहेको थियो।
केबलकारबाट ओर्लेर हिँड्न थालेकै केही बेरमा एक भाइले बाटै छेके। उनी फोटोग्राफर रहेछन्। हामी उनीसँगै उनको स्टुडियोमा पुग्यौं। कृत्रिम प्रकाशको व्यवस्था छैन। बस्नलाई कुर्सी छैन। छुट्टै कोठा पनि छैन। भित्तामा पर्दा छैन। मैले सोधेँ, ‘खोइ त स्टुडियो।'
सारगर्भित उत्तर दिए फोटोग्राफर भाइले, ‘यो त डिजिटल युग हो दिदी।'
उसका कुराले मलाई एकै छिन फ्ल्यासब्याकमा पुर्याशए। फर्किएँ म आफ्नै किशोरवयमा।
म स्कुलबाट फर्किंदै छु। तर मेरा पाइला स्टुडियोतिर गइरहेछन्। स्टुडियोमा छिरेपछि फोटोग्राफर दाइले लाइट बाले। क्यामरामा घोप्टिएर हेर्न थाले। हातमा किताब च्यापेर उभिएकी छु म। फोटो खिचाउने भनेपछि मनमा यसैयसै उत्साह पलाएको छ। तर त्यो उत्साह अनुहारसम्म आइपुग्दा नर्भस्नेसको रूपमा प्रकट हुँदै छ। चिटचिट पसिना आउँदै छ मलाई। यसैबीच फोटोग्राफरले क्यामेराको क्लिक बटन थिचे। मसिनो केही आवाज आएजस्तो भयो। अतीतको त्यही आवाजसँगै म वर्तमानमा फर्किएँ।
तर अहिले मनकामनाका यी फोटोग्राफर भाइले झस्काउँदै छन् मलाई— यो डिजिटल युग हो।
फोटोशपको चमत्कारलाई मैले नबुझेकी पनि त हैन। तर अतीतको म्यानुअल टाइपको धङधङीले मलाई वर्तमानको डिजिटल यथार्थसितको सम्बन्ध एक छिनलाई भए पनि विच्छेद गराइदिएको थियो। हामी भित्ताअगाडि उभिएका थियौं। तर फोटोग्राफर भाइले मन्दिरअगाडि उभिएको फोटो बनाएर हाम्रो हातमा राखिदियो। एउटा सुखद भ्रममा पारेको थियो त्यो फोटोले हामीलाई। सायद जीवनमा हामी हरेक दिन यस्ता हजारौं भ्रमबाट गुजि्ररहेका हुन्छौं।
००
खेलौनाका पसल देखेपछि छोराको माग सुरु भयो। बन्दुक चाहियो। हवाइजहाज चाहियो। किन यी बालकहरूलाई बन्दुक मन पर्छ? किन यिनीहरूलाई तीव्रगतिमा उड्ने हवाईजहाजप्रति मोह? किन यी समयभन्दा चाँडै गुड्न र दौडन चाहन्छन्? यो उमेरमै उनीहरूभित्रको अवचेतनमा कस्तो मनोविज्ञान हुर्किरहेछ? सायद यही मनोविज्ञानकै कारण हरेक दिन मेरो देशको जनगणनाको लगतमा घट्दै छ युवाहरूको संख्या।
छोराले खेलौनाका लागि सुरुमा आग्रह गर्यो्। पछि घुर्की लगाउन थाल्यो। उसको त आग्रह पनि मिठो, घुर्की पनि।
००
केबलकार चढ्ने बेला बस्नु नपरेको लाइनको पैंचो मन्दिर परिसरको लामो लाइनमा उभिएर तिरियो। काखीमा कुखुराको भाले च्यापेका, बोका घिस्याइरहेका मानिसबीच मसँग देखिने कुरा थियो– एक टपरी रातो फूल र एउटा नरिवलको दानो। तर, मभित्र बस् यतिमात्र थिएन। मभित्र थियो– मेरो मनोकामना पूरा होला भन्ने अवचेतन मनोविज्ञान। मभित्र थियो– मेरा पूर्वजहरूबाट संस्कारको रूपमा पाएको देउताप्रतिको आस्था र विश्वास। तर यसले मलाई के दिएको छ मलाई आजसम्म? थाहा छैन। जुनसुकै मन्दिरमा पाइला टेक्दा पनि मेरो मनभित्र असीम शान्तिको आभास उर्लिएर आउँछ। यो आभास किन आउँछ? किन आजसम्म यो आभासबाट मुक्त हुन सकेकी छैन? त्यसैले म अलमलमा छु। म र मजस्ता करोडौं अलमलिएकाहरूको मनोविज्ञानमा हस्तक्षेप गरिरहेका छन्, बाबा रामदेवहरू, रविशंकरहरू, कृपालुजी महाराजहरू र बेचिरहेका छन् आफ्ना त्रिफला र च्यवनप्रासहरू। बेचिरहेका छन्, ध्यान र योगका रंगीन डिभिडीहरू। मलाई थाहै नदिई, मेरो अलमलिएको आस्था र विश्वासको कर्पोरेटीकरण गरिररहेछन्, धर्माधिकारी मठाधीशहरू। जसरी मोबाइल कम्पनीले टाढाटाढाका आफन्तसित सहज सम्पर्क स्थापित गरिदिने नारासहित रंगाइरहेछन् हाम्रा मनका भित्ता, त्यसरी नै ईश्वरसित सिधा सम्बन्ध स्थापित गरिदिने दावा गरिरहेछन् धर्मका मोबाइल मठ चलाइरहेका दाह्रीवाल बाबाहरू।
००
एक्कासि मनकामना मन्दिर परिसरबाहिर छोराले दानपेटिका देख्यो। उसले आफ्नो बाबाको हात समाउँदै प्रश्न गर्र्यो , ‘बाबा, त्यो बाकसभित्र भएको पैसाबाट कसले कति घुस खान्छ? अनि कतिचाहिँ देउताको काममा लगाउँछन्?'
मैले बिर्सें, त्यति बेला हामीले उसलाई के जवाफ दिएका थियौं। लाग्छ, छोरोको यो प्रश्नको जवाफ आजसम्म मेरो देशका कुनै पनि प्रधानमन्त्री या राष्ट्राध्यक्षले किन दिइरहेका छैनन्? के मेरो छोराको मनमा हुर्किरहेको यो प्रश्नसित डर लाग्दैन तिनीहरूलाई?
‘लौ हेर, अघि भर्खर सय रुपैयाँ रिचार्ज गरेको, अहिले दुई रुप्याँ पो बाँकी भन्छ,' मनकामनाबाट फर्किंदा केबलकारभित्र हामीसँगै यात्रारत एक युवती मोबाइल कम्पनीसित रिस पोख्दै थिइन्। त्यही बेला उही मोबाइल कम्पनीको बैजनी कलरको बिलबोर्ड केबलकारमुनिबाट सरर्र बगेर गएको थियो। उसलाई के थाहा, सपनाहरूको कर्पोरेटीकरण गरेर र त्यस्तै मनका भित्तामा विनाअनुमति बैजनी रङ पोतिदिएर कसरी हलुंगो बनाइँदै छ हाम्रो खल्ती। कसरी सस्तो बनाइँदै छ हाम्रो अस्तित्वलाई। त्यसरी नै अर्कोतिर बाबा रामदेवहरू च्यवनप्राससँगै हामीलाई दीर्घजीवनको भ्रम बेचिरहेछन्। यो भ्रम कति सुखद र कति दुखद छ? के कर्पोरेट रङले बलजफ्ती पोतिएका हाम्रा मनका भित्ताहरूको रङ उक्काएर हाम्रो सङ्लो र सफा मनसित यो प्रश्न गर्न सक्छौं?
मैले त सकेकी छैन।
प्रकाशित: ७ असार २०७१ ००:०० शनिबार





