५ चैत्र २०८२ बिहीबार
image/svg+xml
अन्य

नपुंसक इतिहासविरुद्ध

‘मलाई कविता मनपर्छ। म कविता लेख्छु। तर म कवि होइन।’
यस्ता अभिव्यक्ति दिँदै हिँड्ने, कविता लेख्ने तर आफूलाई कवि भनेर चिनाउन नचाहने कवि नेपाली बौद्धिक बजारमा अहिले यत्रतत्र भेटिन्छन्। जता हेर्योे उतै कवि। साहित्यको स्रोत नै कविता। अधिकांश साहित्यकार पहिले कवि हुन्छन् अनि अन्य विधाका लेखक।कुन स्तरको भन्ने भ्रम र यथार्थका कुरा अलग्गै होलान् तर कविता उत्पादन कारखाना चालु छ। प्रकाशकले नपत्याएपछि श्रीमतीको गरगहना सिध्याउने कविको पनि हाम्रो समाजमा कमी छैन। कविता लेखन, वाचन र संग्रह प्रकाशन कर्मबाटै दालभातको जोहो गर्न सफल केही भाग्यमानी कवि पनि छन् नेपाली समाजमा तर ती नगन्य छन्। यही भएर अधिकांश कविले विद्रोहलाई भन्दा बिलौनालाई बढी कविताको विषयवस्तु बनाएका होलान्। कवि धनकुटे कान्छा कुन कित्तामा पर्छन्, उनको ‘इतिहास निफनेर’ कविता संग्रह अध्ययन गर्दा स्पष्ट हुन्छ। 

कवि गोकुल जोशीझैं ‘भोका कवि’को उपमा भिरेर निकै कवि मरे, तर कविता मरेको छैन। मर्नेवाला पनि छैन। मनु मन्जिलको शब्द सापटी लिएर भन्नुपर्दा कवि र ‘कविताले अझ दुःख पाओस्, निर्वासनमा जाओस्, तर कविता कतै पुगेर बाँच्छ।’ किनकि भोकभोकै कविता सिर्जना, वाचन र श्रवणको भारी बोकी हिँड्ने कविताका निस्वार्थी भरिया संसारभरि छ्याप्छ्याप्ती छन्। केन्द्रमा मात्रै होइन विकेन्द्रभरि छन् यस्ता कवि। चोटैचोट खपेर पनि सबाल्टर्न चेतनाका संवाहक कविताका निस्वार्थी भरियालाई म स्यालुट गर्छु। त्यसको एक प्रतिनिधि कवि पात्र हुन् धनकुटे कान्छा। 
उपभोक्तावादी भीडबाट बहिष्कृत कवि जति नै चोटमाझ बाँचेको भए पनि सबाल्टर्न चेतना जब कवितामा छताछुल्ल पोखिन्छ, तब निर्माण हुन्छ अत्यधिक सौन्दर्यले ओतप्रोत सुनौलो संसार। एउटा आलग्गै संसार– आविष्कारको सपना। बेकम्मा इतिहासको विनिर्माण र नवीन इतिहास आविष्कारको सपना। धनकुटे कान्छाको अभिव्यक्ति सापटी लिएर भन्दा ‘कुरैकुरोको खेतीको बीउ सप्रिँदै आएको इतिहास’भन्दा अलगै संसार निर्माणको सपना सशक्त बनी बाँच्छ कवितामा। किनभने, उनीजस्तै अधिकांश काव्यिक पात्रले नाक जोगाउन लेखिएका मिथ्या इतिहासलाई ललकार्न सक्छन्। जसरी धर्तीको फूल र देशको ओठमा हाँसोको सपना बोकेर धनकुटे कान्छाले आफ्नो कविता लेखनीको उद्देश्य र अभिलाषा कवितामा पोखेका छन्। जसरी स्वाभिमानी जीवनसँग सम्झौता नगर्ने उनको उद्घोष छ। यथार्थ जस्तो होस्, सपना सुन्दर देख्न उद्यत रहन्छन् स्वाभिमानी कविका काव्यिक व्यक्तित्व। कविहरूको काल्पनिक सुनौलो संसार नहुँदो हो त यो स्वार्थी मानव समाज झन् साह्रो कति कालो हुँदो हो। इतिहास अझ कति कुरूप हुँदो हो। शब्दको शक्ति अझ धेरै क्षीण हुँदो हो। कतिपय उपबुज्रुकहरूले प्लेटोको ‘कविलाई देश निकाला गर्नुपर्छ‘ भन्ने अभिव्यक्तिलाई आधार बनाएर कवि र कवितामाथि प्रहार गर्दै आएका छन्। तर यस अभिव्यक्तिले कवि र कविताको शक्तिलाई थप स्थापित गर्न सकिने सम्भाव्यतालाई औंल्याएको देख्छु म। यस्तो शक्ति जसले यथास्थितिका सीमाको भञ्जन गर्न सक्छ। धेरै परको सपनाको संसार आविष्कार गर्न सक्ने काल्पनिकता कवितामा भेटिन्छ। 
कविले साहसी पात्र जन्माउन सक्छ, जसरी धनकुटे कान्छाको काव्यिक व्यक्तित्व घामसँग सम्भोग गरेर नवीन दिन जन्माउन उत्प्रेरित छ। उज्यालोका अंगहरू सुमसुम्याउने उनको धोको छ। चराको गीतहरूमा बिहानी जन्माउने लक्ष्य छ। किनकि, उनी ‘इतिहासलाई निफनेर केलाउन खोज्ने मान्छे’ (इतिहास निफनेर)।
कविहरू अराजक प्राणीको कित्तामा गनिन्छन्। यथास्थितिको शत्रु अराजक ‘आउटरिचर’ हुन् कवि जो सानो फोहोरी पोखरीमा जमेर बाँच्न चाहँदैनन्। त्यही भएर ती शक्तिकेन्द्रको प्रभावको सिकार बन्न पुग्छन्। त्यसपछि ती झुक्छन्, शक्तिका अगाडि। केही क्षणिक लाभको लोभमा गुनगान गाउन थाल्छन्, सामन्ती शासकको। स्तुति, याचना र बिलौना तिनको लेखनीको विषयवस्तु बन्छ। कि भने ती विद्रोहको आगो सल्काउन उद्यत बन्छन्। देवकोटाको ‘पागल’ कविताको काव्यिक व्यक्तित्वझैं वनखाने आगोमा रूपान्तरित बन्न पनि सक्छ कवि। नबन्न पनि सक्छ। यसर्थ कवि कायर, बिकाउ र चुकाउ पनि छन्। हाम्रै साहित्यिक इतिहासलाई हेर्दा यसको पुष्टि हुन्छ। महान् कवि भूपिले आफ्नो क्रान्तिकारी चेतनालाई दरबार पसेर नराम्ररी भुत्याएको हामीले देखेकै हौं। आदिकवि, महाकवि, राष्ट्रकविदेखि नवयुवक क्रान्तिकारी कविहरूसम्म शक्तिकेन्द्रको प्रभावबाट बच्न सकेनन्। धेरै शक्तिकेन्द्रको तबेलाभित्र बाँधिए। कोही त्यहीँ कैद भए। कोही फुत्किए। 
कवि स्वाधीनतामुखी विद्रोही चेतनाको संवाहक बनेका उदाहरणको पनि कमी छैन। जो जति हो उसलाई त्यति नै बुझ्नुपर्छ। कविको मूल्यांकन उसको कविताले गर्छ। कुनै गुटवादी विश्लेषकले होइन। कसको कविताले कति धेरै यथास्थितिका पर्खाल भत्काउने साहस गरे, कति नयाँ आविष्कार गरे, त्यसको लेखाजोखा आवश्यक छ। शब्दहरूको दुरूह पहाड खडा गरेर बुद्धिविलासी लीला प्रस्तुत गर्नेहरूको भण्डाफोर अभियान पनि आवश्यक छ। त्यसका लागि कवि नै काफी छ; कवितै काफी छ। शब्द काफी छ; शब्दका अस्त्रै काफी छ। धनकुटे कान्छाको काव्यिक व्यक्तित्वलाई यस चेतनाको बोध छ। 
ऊ अक्षरहरूले भत्काउँछ
भत्काउनै नसकिने भगवानका गजुरहरू
हल्लाउनै नसकिने मानिसका मूर्तिहरू
मसिका चम्किला धारहरूले/खिरिला हरफहरूले
ऊ कोर्रा बर्र्साउँछ
ब्युँझाउनै नसकिने सालिकको इतिहासलाई
ऊ हम्मर लगाउँछ
फोर्नै नसकिने मन्दिरका जब्बर भगवानलाई
ऊ समयसँग लड्न अक्षर तिखारिरहेछ
अपसोच, कुनै कविता नबिकेर कविको
अक्षरहरू धमिराले किताबबाटै खाइरहेछ
यी धमिराहरू कविलाई निक्कै खतरनाक किन ठान्छन् हँ? 
(कविताको मान्छेसँग)
कवि धनकुटे कान्छाको कवितामाथि घोत्लिँदै गर्दा लाग्छ, उनलाई कवि हुनुको नियतिसँग कुनै गुनासो छैन। भाग्यसँग पनि विश्वास छैन तर दुर्भाग्यसँग उनी विश्वस्त छन्। उनी बारम्बार कवि हुनुको दुर्भाग्यका बारेमा बोलेका छन्। विनाकेरमेट जीवन हुँदैन भन्ने बोध छ उनलाई। जिन्दगी बगैंचामा फुलेको फूल हुनुहुँदैन भन्ने कुराको चेतना पनि छ। कतै उनी आक्रोशित छन्, कतै लाचार। यो विरोधाभाष र उकुसमुकुसबीच कवि कति समय बाँच्न सक्ला भन्ने भयले पनि ठूलै डेरा जमाएको छ उनको संग्रहमा। जति विद्रोह छन्, त्यति नै बिलौनाले पनि डेरा जमाएको छ। जुन अस्वाभाविक छैन।
विद्रोह र बिलौनाको माझमा उभिएर कवि कवितामैत्री चेतनाको संवाहक बन्ने प्रयास गरेका छन्। नपुंसक इतिहासलाई तिरस्कार गर्ने साहस गरेका छन्। नवीन इतिहास निर्माणको सपना बोकेका छन्। समयलाई झुन्ड्याउँछु भन्नेहरू बजारका रंगीचंगी क्यालेन्डरझैं आफैं फेरिरहेको देख्दा उनी आफू भने समयले खुद्रा किनेका मान्छे ठानेर अलग्गै अस्तित्वको खोजीमा निस्किएका छन्। एकातिर मान्छे आधा सालिक भएको बेला उनी मूर्तिलाई गुहार मागिरहेछन्। अर्कातिर सहरमा बत्ती निभेको बेला जूनकीरी बनेर उज्यालो बाँड्ने संघर्ष गरिरहेछन्। जूनकीरीहरू अनवरत उज्यालोका गीत गाइरहेछन्, उनी भने कवितामार्फत सार्थक कर्म गर्न सकिने विश्वास बोकेर हिँडिरहेछन्। प्रतिकूल समयसँग लड्न अक्षरहरू तिखारिइहनेछन्।

प्रकाशित: ६ असार २०७१ २३:५८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App