५ चैत्र २०८२ बिहीबार
image/svg+xml
अन्य

मेरो पोखरा

पोखरालाई पोखरेली आँखा लाइहेर
आफ्नो धर्ती आकाशको गीत गाइहेर
मरेपछि कहाँ खोज्नु स्वर्ग शून्यतामा
जिउँदैमा दिव्यताको भाव छाइहेर
माछापुच्छ्रे अन्नपूर्णा हिमालका काख
हराएमा मुटु अन्त फेरि पाइहेर
प्रकृति र संस्कृतिको स्वच्छ दोभानमा
विश्व सारा समेटिई यहीँ आइहेर।केही समयअगाडि मात्र मैले राष्ट्रिय भावनाद्वारा प्रेरित भएझैं आफ्नो जन्मभूमि पोखराप्रति भावविभोर भई एउटा गजल रचना गरेको थिएँ। माथि उल्लिखित गजल रचना गर्दा सायद मैले करिब तीस वर्षअगाडि रचना गरेको आफ्नै कविता ‘पोखरा दुख्न थालेको छ' लाई बिर्सेको थिएँ, अथवा भनूँ बिर्सन चाहेको थिएँ। 
आजभोलि पोखरालाई धेरैले ‘पर्यटकीय नगरी' भन्छन्। विश्वप्रसिद्ध भूगर्भविद् टोनी हेगनले विश्वको सर्वाधिक सुन्दरस्थल भनी भावाभिव्यक्त गरेको पोखराको प्राकृतिक सौन्दर्यले यसलाई पर्यटकीय आकर्षणको केन्द्र बनाएकोमा आश्चर्य मान्नुपर्दैन। यहाँका धवल हिमालहरू, पहाडहरू, तालतलैयाहरू, गुफाहरू, झरनाहरू, गल्छीहरू सबैले आन्तरिक एवं बाह्य पर्यटकहरूलाई लोभ्याइरहेका छन्। कवि मुकुन्दशरण उपाध्यायले मदन पुरस्कार विजयी काव्यकृति ‘प्राकृत पोखरा'मा ‘लेखेको पोखराभन्दा देखेको पोखरा मिठो' भनेको भएर हो कि पोखरामा प्रत्येक वर्ष पर्यटकहरूको प्रवाह बढ्दो छ। तर पोखरा पर्यटकीय नगरीमात्र होइन, एक सुन्दर सांस्कृतिक नगरी पनि हो। पोखरा विभिन्न जाति र जनजातिहरूको संगमस्थल पनि हो। यहाँका सोरठी, घाँटु, बालुन, गाईजात्रा, भैरव जात्राजस्ता लोकनाट्यहरू गन्धर्वजातिका कर्खा र अन्य जातजातिका ऋतु र उत्सवकालीन गीत अनि धार्मिक जातीय संस्कारहरू सबै पोखराका सम्पदा र चिनारी हुन्।
कवि शिरोमणि लेखनाथ पौड्याल पोखरामा जन्मेका थिए। जनकविकेशरी धर्मराज थापा पोखरामा जन्मेका थिए। हे वरै गीतका स्रष्टा झलकमान र लोककवि अलिमियाँ पोखराकै पुत्ररत्न थिए। समकालीन साहित्य, संगीत, कला र विविध सांस्कृतिक गतिविधिमा पनि पोखराले उल्लेख्य इतिहास रचना गरिरहेको देखिन्छ। तर दुर्भाग्यवश पोखरा केही व्यावसायिक गतिविधिले पर्यटकीय नगरीमात्र भएको छ। यो पोखरा सौन्दर्य र सम्पदाको न्यूनतम उपादयता हो। जुन दिन यहाँका गौरवपूर्ण मानव संस्कार र संस्कृतिहरूले विश्वलाई आकृष्ट गर्नेछ त्यही दिनदेखि पोखरेली सम्पदाको वास्तविक अर्थ र गहिराई पत्तो लाग्नेछ। 
खालि प्रकृतिमात्र देखाउनु सांस्कृतिक मानव जातिका लागि अविवेक र दुर्बुद्धिको प्रमाणपत्र हो। प्रकृति तब नै सुन्दर बन्छ, जब विवेक र बुद्धि भएका मानवहरूले त्यसलाई सांस्कृतिक मूल्य प्रदान गर्ने क्षमता अर्जित गर्छन्। 
पोखराको प्रकृति अहिले पनि सुन्दर छ तर सांस्कृतिक रूपले विवेकहीनताको सिकार बनेको छ। पोखराको सुन्दर प्रकृति अहिले सुन्दरताभन्दा कुरूपतातर्फ उन्मुख छ। यसोभन्दा एक पोखरेलीलाई खुसीको अनुभूति पक्कै हुँदैन। 
टोनी हेगनको पोखरा असाध्य सुन्दर थियो। पचास वर्षपहिले मेरो बालककालको पोखरा पनि असाध्य सुन्दर थियो। म सम्झन्छु, पोखरा सानो थियो तर सर्वत्र हरियालीमा डुबेको थियो। यहाँ चौतारीहरू धेरै थिए। चउरहरू धेरै थिए। पुरानो टुँडिखेल र ढुंगेसाँघुमा लाग्ने मेलाहरूमा स्वच्छ ग्रामीण प्रकृति थियो। यहाँका खोलाहरूमा मानव अतिक्रमण थिएन। फेवाताल र बेगनास ताल प्रदूषित थिएनन्। अन्य तालहरू हिले पोखरीजस्ता थिएनन्। 
भनिन्छ, पोखरामा गाडीहरूभन्दा पहिले हवाईजहाज आएको थियो। बाहिरी भूभागहरूसित जोड्न पहिले पोखरामा सिद्धार्थ राजमार्ग बन्यो, पछि राजधानीसित जोड्न पृथ्वी राजमार्ग। म सम्झन्छु, तीसको दशकारम्भमा पहिलोपल्ट बसमा सवार भई काठमाडौं जाँदा पृथ्वी राजमार्गमा ग्राभलिङ हुँदै थियो। काठमाडौं पुग्न पूरा बाह्र घन्टा लागेको थियो। राजमार्गहरूले पोखरामा विकास ल्याए, साथसाथै विकार पनि। 
म सानो छँदा लेकसाइड भनिने वैदाम लगभग खाली थियो। फेवातालअगाडि रमणीय चउर थियो। दसैं पूर्णिमाको दिन सपरिवार तालवाराहीको दर्शन गरी दिनभर चउरमा बसेर भोज खाने चलन थियो। मलाई सधैं वर्षको एकपल्ट आउने त्यस रमाइलो ‘भोज खाने दिन'को प्रतीक्षा हुन्थ्यो। तर हेर्दाहेर्दै भोज खाने चउर हरायो। भोज खान जाने चलन पनि हरायो। 
विसं २०३८ मा पागल बस्तीको रचना आरम्भ गर्दा मैले पोखरालाई ‘सिटी अफ माइग्रेसन' भनेको थिएँ। अहिले यो पूरै सत्य साबित भएको छ। पोखरामा गाउँगाउँबाट मनिसहरू ओर्लेका छन्। देशभरिबाट काम र रोजगारीको सिलसिलामा मानिसहरू आउने र यहीँ बसोबास गर्ने क्रम तीव्र रूपमा बढेको छ। अहिलेको पोखरामा ‘पुराना पोखरेलीहरू' थोरै र नयाँ निवासी धेरै भेटिन्छन्। 
तर यो चिन्ताको कुरा होइन। विश्वको कुनै पनि देशमा सहरी क्षेत्रमा मानिसहरू संकेन्द्रित हुनु एक सामाजिक प्रक्रिया नै हो जसको पछाडि धेरै अर्थ राजनीतिका कारण हुन्छन्। चिन्ताको कुरा हो– अव्यवस्थित बसोबास! सायद काठमाडौंपछि वा त्यसैको हाराहारीमा पोखरामा घरहरू बनिरहेका छन् तर जथाभावी। पोखरा सुन्दर भएझैं पोखरा नगरलाई सुन्दर पार्ने योजना कुनै सरकारी वा गैरसरकारी निकायसित छ भन्ने अनुभूति कतै हुँदैन। 
पोखरामा खोलाका बगरहरूसमेत किन अतिक्रमित छन्, कसैलाई थाहा छैन। कुन अल्पकालीन वा दीर्घकालीन सुरक्षा योजनाअन्तर्गत खोलाका ढुंगा र बालुवा दोहन भइरहेछन्, कसैलाई थाहा छैन। महेन्द्रपुलमा सेती खोलाको डिलसम्म बनेका विशाल भवनहरू, डेभिड फल्स र गुप्तेश्वर गुफाअगाडि बनेका घरहरूको अवस्थिति देख्दा म पोखराको सुन्दर भविष्यको सपना देखूँ वा सम्भाव्य दुर्घटनाको? 
मलाई सम्झना छ, म सानो छँदा पोखरा बजार बगरदेखि साँघुमुख, गणेश टोलदेखि बगाले टोलसम्म सीमित थियो। महेन्द्रपुल, चिप्लेढुंगा, न्युरोड, पृथ्वी चोक, लेकसाइड आदि क्षेत्र खाली थिए। साँघुमुखपारि रानीपौवादेखि कुँडहरसम्म फाट्टफुट्ट घर थिए। रामबजार क्षेत्र त टाढा कता हो कताको गाउँजस्तो लाग्थ्यो। समय सँगसँगै अहिले यी क्षेत्र आबाद भएका छन्। पोखरामा शैक्षिक, औद्योगिक, र व्यावसायिक गतिविधि बढेका छन्। तर कतै पनि पोखराको सुन्दरताअनुरूप भौतिक योजना र व्यवस्था परिलक्षित हुँदैनन्। 
केही वर्षपहिले सार्क लेखक संस्थाकी अध्यक्ष अजीत कौर पोखरा आएकी थिइन्। उनले एक भेटमा भनिन् ‘पोखरा मलाई स्विट्जरल्यान्डभन्दा धेरै गुणा सुन्दर लाग्यो तर पोखराको सुन्दरतामा स्विट्जरल्यान्डमा जस्तो भौतिक सुन्दरता पनि थपिनु जरुरी छ।' 
अजीत कौरले सही भनेकी थिइन्, म अहिले पनि सम्झन्छु। तर त्यसभन्दा पहिलो आवश्यकता सुन्दरताको सुरक्षा हो। पोखराको सुन्दरता सुरक्षित रहेन भने हाम्रो अस्तित्व नै कति रहन्छ? दुई वर्षजति अगाडि सेती खोलामा आएको आकस्मिक बाढी र खारापानी क्षेत्रमा त्यसले गरेको धनजनको क्षति हामीले भुलेका छैनौं। यसै वर्ष पनि अर्मला ठूली बेसीमा परेका भुवान (भूस्खलन) हरूले हामी पोखरेलीलाई तर्साइरहेछन्। हामीले बुझ्नुपर्छ, प्रकृति सुन्दरमात्र हुँदैन, त्यसले कुरूप विनाशलीला पनि मच्चाउन सक्छ। 
म सानो छँदाको सानो र सुन्दर पोखराजस्तो अहिलेको पोखरा हुन सक्दैन भन्ने म बुझ्छु तर हामीले चाहे महानगरतर्फ उन्मुख पोखरा सुन्दर, सुरक्षित र बहुआयामिक रूपले विश्वमानव समुदायको लागि उपयोगी बन्न सक्छ। म चाहन्छु, मैले किशोरावस्थामा अनुभूत गरेजस्तो मेरो पोखरा नबनोस् : 
गाइनेको सारंगीमा अल्झेको पोखरा
यसपालि पनि एक डफ्फा विदेश घुम्न निस्केको छ
र अर्काे डफ्फा विदेशबाट फर्केको छ...
ए, मनभित्रको शान्त पोखरा सम्झेर परपर रुनेहरू
पोखरा त जताततै घाउ भएर दुख्न थालेको छ
पोखरा त जताततै कोलाहल भएर दुख्न थालेको छ।

प्रकाशित: ६ असार २०७१ २३:५४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App