समकालीन नेपाली समाजका सामाजिक–सांस्कृतिक तथा राजनीतिक असंगति नै आख्यानकार ढकालको प्राथमिक सरोकार–क्षेत्र भएको देखिन्छ। संग्रहमा समावेश ‘जगन्नाथ माड्साबको पर्खाल', ‘सहिद : पूर्वकथा', ‘इन्द्रजाल', त्यस्तै कथा हुन्, जसमा मूलतः नेपाली वाम–राजनीतिको सांस्कृतिक परिवेशको विचलन, स्खलन र विडम्बनायुक्त परिदृश्य चित्रित गरिएको छ। निजी सम्पत्ति र निजी सुविधाको अन्त्य गर्ने भन्दै कम्युनिस्ट क्रान्तिकारी आन्दोलनमा लागेर थुप्रै कार्यकर्तालाई समेत प्रेरित गर्ने जगन्नाथ माड्साब जीवनको उत्तरार्द्धमा आफ्नै निजी घरको सुरक्षार्थ अग्लो पर्खाल लगाउँछन्, त्यो पनि जसलाई सपना देखाइएको थियो उसैलाई बालुवा बोकाएर (जगन्नाथ माड्साबको पर्खाल)। पञ्चायतकालको खुंखार मण्डले बहुदलमा चोखो एमाले बन्छ र गणतन्त्रपछि क्रान्तिकारी माओवादीको ओत लाग्छ। जब उसको रहस्यमय हत्या हुन्छ, हत्यारा पत्ता लगाउनुको सट्टा माओवादी सरकारले उसलाई ‘सहिद' घोषणा गरेको समाचार आउँछ (‘सहिद : पूर्वकथा')। न्यायपूर्ण समाज निर्माण हुन्छ भनेर ज्यान दिएका १५ हजार योद्धाहरूको रगतमा टेकेर जब क्रान्तिकारी नेताहरू सत्ताको हवाई मैदानमा अर्कै रूपरङमा अवतरित हुन्छन्, त्यसपछि युद्धोपरान्त पनि समर्पित कार्यकर्ताहरूलाई हृदयाघातले खान्छ र परिवार लथालिंग हुन्छ (इन्द्रजाल)। यी कथ्य इतिवृत्तले नेपालको यतिखेरको राजनीतिक–सांस्कृतिक दुर्दशालाई अभिलिखित गरेका छन्। तर, कुरूप वर्तमानको विकल्प भने राजनीतिदेखि नै भाग्ने ‘इन्द्रजाल'को कथावाचक हुन सक्दैन। यो प्रस्तुत कथाका सन्दर्भमा मात्रै होइन, नेपाली वाम–सांस्कृतिक आन्दोलन र साहित्यका सन्दर्भमा पनि बहस गरिनुपर्ने विषय हो।
संग्रहका सबैभन्दा बलशाली कथा यिनै तीन वटा हुन्– जगन्नाथ माड्साबको पर्खाल, सहिद : पूर्वकथा र इन्द्रजाल। यसबाहेक ‘शाकुन्तलम्'ले समकालीन नेपाली साहित्यको बजार–प्रवृत्ति, साहित्यिक सत्ता, लोकप्रियताका लागि हुने लेनदेन आदिलाई सूक्ष्म ढंगले उद्घाटित गरेको छ। ‘मुक्तिदाता', ‘बादलभन्दा उता' पनि आख्यानात्मक स्वादका हिसाबले पठनीय छन्। ‘डोल्मा' संस्मरणात्मक व्याख्याजस्तो लाग्छ। कथाकारले ‘गम्भीर पढन्ते'हरूको माग गरेको ‘पूर्वजन्मको कथा' भने विषय वा प्रस्तुतिका हिसाबले बिल्कुलै भिन्न वा विशिष्ट लाग्दैन। बाँकी कथाले कथाकारको स्तर धानेका छन् तर तिनमा नवीनता र सामयिकता फेला पार्न कठिन छ। अधिकांश कथाको प्लट राजधानीको पूर्वी काठक्षेत्र हुनु, पात्रस्रोत मूलतः निम्नमध्यम वर्गीय ग्रामीण परिवार हुनु, कथा भन्ने तरिकामा शास्त्रीय यथार्थ र कुनैकुनैमा मायावी यथार्थको प्रयोग गर्नु ‘इन्द्रजाल'का केही मुख्य विशेषता हुन्। ‘इन्द्रजाल'का अधिकांश कथाको मूल पात्र केही हदसम्म कथाकार स्वयंको आत्मकथात्मक चरित्रजस्ता लाग्छन्। ‘इन्द्रजाल', ‘मुक्तिदाता', र ‘डोल्मा'को कथावाचक, ‘सहिद : पूर्वकथा'को विश्वनाथ र ‘जगन्नाथ माड्साबको पर्खाल'को जगन्नाथलगायतका पात्रमा कथाकार व्यक्तित्वको घुर्मैलो छाया आरोपित भइरहेको देख्न सकिन्छ।
‘इन्द्रजाल'को पठनपछि पुष्टि हुन्छ– नारायण ढकालका कथा अहिलेको चमकधमकपूर्ण बजार–व्यवस्थाले प्रवर्द्धन गर्ने लेज–कुरमुरे मार्काका फास्टफुडे प्रेमकथा होइनन्। ‘तिम्रो माया उनान्सय मेरो माया सय' पारामा कमसल यौनकथा लेखिहिँड्ने युवाहरू उत्पादन गर्न चाहने उत्तरआधुनिकतावादी समयका लागि ढकाल एउटा चुनौती हुन्। बजारमा आइरहेको उपभोक्तावादी असांस्कृतिक बाढीमा हेलिन उनले निरन्तर इन्कार गरेको देखिन्छ। ‘इन्द्रजाल' त्यसैको दसी हो। तर, सँगसँगै युगले सिर्जना गरेका नवीन सामाजिक सम्बन्ध र राजनीतिक परिदृश्यमाथिको सामयिक आख्यानात्मक अवबोधन यतिखेर ढकालकै पनि चुनौती हो। उनको कथा लेखनसँग समयले यही अभावपूर्तिको माग गरिरहेको छ। पूर्ववर्ती कथाका तुलनामा प्रस्तुत संग्रहमा तिख्खरपन कम महसुस हुन्छ, यो पनि चिन्ताको विषय हो। उनी सामाजिक यथार्थको चित्रण संयमित र वस्तुपरक रूपमा गर्छन्। तर, संयम र वस्तुपरकता त्यो सीमासम्म सही हुन्छ, जति बेलासम्म त्यसमा गतिशीलता कायम हुन्छ। ‘इन्द्रजाल'मा संकलित कथामा यदाकदा गतिशील यथार्थको प्रतिविम्बन फेला पार्न मुस्किल हुन्छ।
दस थान लामा–छोटा कथा समेटिएको संग्रहमा एक दशकयता लेखिएका र मूलतः सोही कालखण्डकै नेपाली समाजको समय–सन्दर्भलाई कथ्यकेन्द्र बनाइएका कथा संकलित छन्। पुस्तकलाई मसिनो गरी चिरफार गर्न रुचि राख्ने पाठकका लागि केही भाषिक र तथ्यगत त्रुटि दाँत बिझाउन आइपुग्छन्। त्यसबाहेक दलितसम्बन्धी संवादमा ‘सानो जाति भनेका सानो जाति नै हुन्' भन्ने निष्कर्षमा प्रतिवाद गरिरहेको मूलपात्रले ‘आत्मसमर्पण' गरेको देखाउनु (इन्द्रजाल, पृ. १२३/१२४), विद्रोहलाई ‘मानिसहरूको मस्तिष्कमा पुगेर रगत चुसिरहेको नाम्ले जुका'को उपमा दिनु, (सहिद : पूर्वकथा, पृ. ७३), हत्या नै हत्याको इतिहास भनेर कोतपर्व, वीरेन्द्रको वंशविनाश र जनयुद्धसमेतलाई एउटै डालोमा घालमेल पार्नु (उही, पृ. ७८) जस्ता केही वैचारिक बेमेल र विवादित प्रसंगले कथाकारसँग थप प्रस्टोक्तिको माग गर्न सक्छन्। कथा लेखनसम्बन्धी आत्मकथ्यमा एकताका ढकालले भनेका थिए– ‘जबजब म राजनीति वा पत्रकारिता क्षेत्रबाट निराश भएको छु, तबतब मलाई कथालेखन आफ्नै घरजस्तो लाग्छ। राजनीतिक जीवनमा आरोह–अवरोहका क्षणहरूमा म कथा लेखनद्वारा आफूलाई बचाउने काम गर्छु।'
पछिल्लो समय फेरि राजनीतिक मञ्चहरूमा उपस्थित हुन थालेका ढकालले आफ्नो कथा लेखनकै घरमा युगचेतनाको छानो हाल्न आवश्यक देखिन्छ। ‘इन्द्रजाल'का कथाहरूले पनि ढकालसँग अर्को उचाइको माग गरिरहेका छन्।
प्रकाशित: ६ असार २०७१ २३:४८ शुक्रबार





