५ चैत्र २०८२ बिहीबार
image/svg+xml
अन्य

तेल चोर्ने निगम कर्मचारीलाई ६ लाख धरौटीमा छाड्न आदेश

भैरहवा- रुपन्देही जिल्ला प्रशासन कार्यालयले तेल चोरी काण्डमा पक्राउ परेका नेपाल आयल निगमका कर्मचारीलाई धरौटीमा छाड्न आदेश दिएको छ। सोही काण्डमा पक्राउ परेका ट्यांकर व्यवसायी तथा चालकलाई भने पुर्पक्ष थुनामा राख्न र सहचालकलाई साधारण तारेखमा छाड्न प्रशासनको आदेश छ।कालोबजारी ऐनअन्तर्गत दायर मुद्दामा सुनुवाइ गर्दै प्रमुख जिल्ला अधिकारी बालकृष्ण पन्थीको इजलासले शुक्रबार यस्तो फैसला गरेको हो। बिहीबार र शुक्रबार दुई दिन थुनछेक बहस सकिएपछि इजलासले नेपाल आयल निगम पश्चिमाञ्चल क्षेत्रीय कार्यालय भलवारीका प्रमुख नागेन्द्र कुर्मी र अधिकृतद्वय दीपेन्द्र बस्नेत र रविनकुमार राउतलाई जनही ६/६ लाख धरौटीमा छाड्न आदेश दिएको हो। 
भारतबाट ल्याइएको पेट्रोलियम निगमको भलवारीस्थित डिपो पुर्या उनुअघि पडसरी र मधवलियामा चोरिँदै गर्दा गत वैशाख १६ गते रुपन्देही प्रहरी र राष्ट्रिय सतर्कता केन्द्रको टोलीले छापा मारी ट्यांकर चालक र सहचालकलाई रंगेहात पक्राउ गरेको थियो। सो क्रममा १९ ट्यांकर नियन्त्रणमा लिइएका थिए। पक्राउ परेकाको बयानमा ट्यांकर व्यवसायी र निगम कर्मचारीको पनि मिलेमतो भेटिएपछि 
४४ जनाविरुद्ध मुद्दा दर्ता गरिएको थियो। १६ व्यवसायी अझै फरार छन्। 
पडसरी र मधवलिया दुवैतर्फको मुद्दामा उक्त धरौटी मागिएको प्रजिअ पन्थीले बताए। यसअघि गत जेठ २० गते जिल्ला अदालतले तेलचोरीमा संलग्न निगम कर्मचारी, व्यवसायी तथा चालक गरी १९ जनाबाट १ करोड ८० लाख १६ हजार धरौटी उठाउन आदेश दिएको थियो। तेल चोरीमा संलग्नलाई भन्सार छली, सम्पत्ति शुद्धीकरण तथा अख्तियार दुरुपयोगअर्न्तगतको मुद्दा पनि चलाइँदै छ।

प्रकाशित: ६ असार २०७१ २०:४३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App