बीरगन्ज— नारायणी अञ्चल यातायात कार्यालयमा पर्सा प्रहरीले छापामारी १४ जनालाइ पक्राउ गरेको छ। यातायात कार्यालयमा अनावश्यक दलाली गरेर सेवाग्रहीलाई दु:ख दिएको गुनासो आएपछि प्रहरीले छापा मारेको हो।
पक्राउ पर्नेमा जिल्ला अदालतबाट इजाजतप्राप्त ६ जना अभिकर्ता (लेखनदास) र बिना इजाजत यातायात कार्यालयमा बिचौलियाको काम गर्ने ८ जना अरु छन् ।यातायात कार्यालयमा नामसारी, नवीकरण, रुट इजाजत, इन्जिन जाँच, ठाउँसारी तथा ठाउँसारी सहमति र सवारी चालक अनुमतिपत्र लगायतको कामका लागि बिचौलिया बिना काम नहुने स्थिति रहेको सेवाग्राहीको गुनासो छ।
पक्राउ परेकामध्ये जिल्ला अदालतबाट इजाजतप्राप्त नगरेका ८ जनाउपर सार्वजनिक अपराध ऐन अन्तर्गत मुद्दा चलाइने प्रहरी निरिक्षक बरुण बहादुर सिंहले बताए । पक्राउ पर्नेमा बीरगन्ज –१४ श्रीपुरका सुरेश महतो, प्रमोद कुमार, रुपेश ढकाल, मनोजकुमार नेपाली, श्रीकान्त ठाकुर, राम नरेश महतो, बीरगन्ज –१२ का प्रदीप कुमार गुप्ता र बीरगन्ज –८ का प्रकाश रौनियार रहेका छन् ।
पक्राउ परेका ६ जना इजाजतप्राप्त लेखनदासहरु उपर छानबीन भइरहेको प्रहरीले जनाएको छ। बिहीबार दिउसो पक्राउ परेका सबैलाई प्रहरीले हिरासतमा राखेको छ।
प्रकाशित: ५ असार २०७१ ०७:३९ बिहीबार





