क्रिस्टियानो रोनाल्डो, लियोनेल मेसी, जेरार्ड पिकेलगायत चर्चित खेलाडीका श्रीमती वा प्रेमिका ब्राजिल पुगेका छन्। उनीहरू आफ्ना पति वा प्रेमीका साथै आफ्नो टिमको समर्थन गर्दै हौसला बढाउन ब्राजिल पुगेका हुन्। टिमको खेल र अभ्यास नभएको बेला आफ्ना प्रेमी वा श्रीमान्लाई मायाको न्यानो प्रदान गर्ने यी सुन्दरीहरूले खेल चलिरहेका बेला दर्शकदीर्घामा बसेर स्टेडियम पनि तताउने छन्। ब्राजिल पुग्ने त्यस्ता केही सुन्दरी :
इरिना शेक

पोर्चुगलका स्ट्राइकर क्रिस्टियानो रोनाल्डोकी प्रेमिका इरिना शेक यो विश्वकपमा सबैभन्दा धेरै चर्चामा रहने सुन्दरी हुन्। रसियन सुपरमोडल शेक सन् २०१० देखि रोनाल्डोको मायामा परेकी हुन्। रोनाल्डो र शेकको जोडीले अन्तर्राष्ट्रिय म्यागजिन 'भोग'को स्पेनिस संस्करणका लागि फोटो खिचाएका थिए।
साकिरा

स्पेनिस फुटबलर जेरार्ड पिकेकी श्रीमती साकिरा ब्राजिलमा चम्किने अर्की सुन्दरी हुन्। सन् २०१० को विश्वकपको आधिकारिक गीत 'वाका वाका' गीतको भिडियो सुटिङ गर्ने बेलामा पिके र साकिराको भेट भएको थियो। त्यो गीतको म्युजिक भिडियोमा सँगै देखिएको यो जोडीको त्यही भेटबाट प्रेम सम्बन्ध सुरु भएको थियो। साकिराले सन् २०११ को मार्चमा पिकेसँगको सम्बन्ध सार्वजनिक गरेकी थिइन्। गत वर्षको जनवरीमा छोरा जन्माएकी साकिरले यो विश्वकपलाई पनि लक्ष्य गरेर 'ला ला ला' बोलको गीत निकालेकी छिन्। यो गीतको भिडियोमा पनि उनका पति पिकेलाई देख्न सकिन्छ।
एन्टोनेल्ला रोक्युजो

अर्जेन्टिनी स्टार लियोनेल मेसीकी श्रीमती एन्टोनेल्ला रोक्युजो पनि उनीसँगै अहिले ब्राजिलमा छिन्। यो जोडीलाई महत्त्वपूर्ण प्रतियोगिताका क्रममा दुई वर्षका छोरा थिएगोसँगै देख्ने गरिएको छ। उनीहरूबीच सन् २००८ देखि प्रेम सम्बन्ध सुरु भएको थियो। तर, मेसीले आफ्नो प्रेम सम्बन्धका बारेमा सन् २००९ मा मात्र सार्वजनिक गरेका थिए। स्पेनिस टेलिभिजन च्यानलमा दिएको एउटा अन्तरवार्तामा उनले अर्जेन्टिनामा आफ्नी प्रेमिका भएको र यो सम्बन्धबाट आफू धेरै खुशी रहेको बताएपछि उनीहरूको सम्बन्ध सार्वजनिक भएको हो। रोक्युजोसँगको प्रेम सम्बन्ध सुरु हुनुअघि मेसीको नाम अर्जेन्टिनी मोडल लुसियाना सलाजारसँग पनि जोडिएको थियो।
सारा कार्बोनेरो
विश्वका सबैभन्दा सेक्सी टेलिभिजन पत्रकारका रूपमा चिनिएकी सारा कार्बोनेरो पाँच महिनाकी सुत्केरी हुन्। सन् २०१० को विश्वकपमा टेलिभिजनको बुम बोकेर दक्षिण अफ्रिका पुगेकी उनी अहिले भने पाँच महिने छोरालाई काखी च्यापेर आफ्ना पति स्पेनिस गोलकिपर इकार कासिलासको हौसला बढाउन ब्राजिल पुगेकी छिन्। स्पेन र नेदरल्यान्ड्सबीचको खेलमा स्पेनको गोलपोस्ट पछाडि बसेकी कार्बोनेरोले कासिलासको ध्यान तानेका कारण स्पेनले गोल खाएको समाचार केही युरोपेली पत्रिकामा आएको थियो। खेललगत्तै उनले गोलपोस्टमै पुगेर कासिलासको अन्तरवार्ता पनि गरेकी थिइन्। उनको यो कामको पनि आलोचना भएको थियो।
बुर्ना माक्युजेन

ब्राजिलियन टेलिभिजन च्यानलबाट प्रसारण हुने टेलिसिरियलकी नायिका बुर्ना नेइमारकी प्रेमिका हुन्। एक वर्षअघि डेटिङ थालेका नेइमार र बुर्नाको गत फेबु्रअरीमा ब्रेकअप भएको समाचार सार्वजनिक भएको थियो। तर, त्यसपछि पनि यी दुईले चुम्बन गरिरहेको तस्बिर सार्वजनिक भएको छ। बुर्ना नेइमारलाई भेट्न ब्राजिलले विश्वकपका लागि राखेको प्रशिक्षण शिविरमै पुगेकी थिइन्। नेमारकी प्रेमिका भएका कारणले मात्र नभई आयोजक राष्ट्रकै सुन्दरी भएका कारणले पनि यो विश्वकपमा उनी अर्को आकर्षणको केन्द्र हुनेछिन्।
अन्ना कथ्रिनन ब्रोम्मेल

जर्मनीका युवा स्टार मारियो गोटेजकी प्रेमिका गायिका अन्ना कथि्रन ब्रोम्मेल पनि आफ्ना प्रेमीलाई साथ दिन ब्राजिल पुगेकी छिन्। उनीहरू सन् २०१२ देखि प्रेम सम्बन्धमा छन्। १६ वर्षको उमेरदेखि नै मोडलिङमा चम्किएकी उनी नियमित ब्लग लेख्ने गर्छिन्। अहिले २५ औँ वसन्तमा रहेकी उनीभन्दा गोटेज तीन वर्ष कान्छा छन्।
इडुरेन गार्सिया अलमाग्रो

स्पेनिस गोलकिपर डेबिड डे जियाकी प्रेमिका स्पेनिस पपगायिका, अभिनेत्री र टेलिभिजन प्रस्तोता इडुरेन स्पेनिस टिमको हौसला बढाउन ब्राजिल पुगेकी छिन्। आफूभन्दा पाँच वर्ष कान्छा जियाकी प्रेमिका बनेकी यी २८ वर्षकी सुन्दरीलाई स्पेनको खेल भएको बेलामा स्टेडियममा देख्न सकिन्छ।
कार्ला कम्पनी

बेल्जियमको राष्ट्रिय फुटबल टिमका कप्तान भिन्सेन्ट कम्पनीकी श्रीमती हुन् कार्ला। रेडियो कार्यक्रम प्रस्तोता रहेकी कार्ला खेल भनेपछि मरिहत्ते गर्छिन्। भिन्सेन्टले आठ वर्षअघि जर्मन क्लब ह्यामबर्गबाट खेल्दा भिन्सेन्टलाई भेटेकी कार्ला सुरुमा फ्यान र पछि श्रीमती बनेकी हुन्। म्यानचेस्टर सिटीमा जन्मिएकी कार्ला इंग्लिस क्लब म्यानचेस्टर सिटीकी कट्टर समर्थक पनि हुन्, जुन क्लबमा अहिले उनकै पति कप्तान छन्। सन् २०११ मा विवाह बन्धनमा बाँधिएको यो दम्पतीको एक छोरा र एक छोरी छन्।
प्रकाशित: १ असार २०७१ ०५:३९ आइतबार





