१२ चैत्र २०८२ बिहीबार
image/svg+xml
अन्य

यो पद परमात्माको कृपा

जतिबेला मलाई मुख्यसचिवको पदबाट अन्यायपूर्वक हटाइयो, त्यतिबेला पदको चाहना र एकप्रकारको इगो थियो। एकप्रकारको निराशा थियो मनमा। त्यही समय म पाइलट बाबाको आश्रम गएँ। डेढ वर्ष उहाँसँगै बसे।उहाँकै मोटरमा हिँड्थेँ। उहाँकै छेउको कोठामा सुत्थेँ। उहाँको म अत्यन्तै प्रिय शिष्य थिएँ। म मात्रै होइन, मेरी श्रीमती पनि डेढ वर्ष पाइलट बाबासँगै बस्यौं। त्यसबीच म मात्र दुईपटक नेपाल आएँ, छोटो अवधिका लागि। उहाँ पनि धेरै माथिल्लो कोटीको सन्त हो। परमात्मामा लिन भइसकेको व्यक्ति हो। 

अहिले म खुसी छु। पदका कारण मात्र होइन। साँच्चै भन्दा, भित्री रूपमा एउटा पदको चाहना अवश्य नै थियो। मैले नेपाल सरकारको मुख्य सचिवका रूपमा नौ महिना काम गरेँ। त्यसपछि मलाई राष्ट्रिय योजना आयोगमा सरुवा गरियो। जो गैरकानुनी सरुवा थियो। म कानुनी उपचारका लागि अदालत गएँ। अदालतबाट पनि कुनै नयाँ कुरा प्राप्त नगरेपछि परमात्माको इच्छा भनेर हिँडेँ। 

परमात्माले त्यो समय मेरो जीवनको 'टर्निङ प्वाइन्ट' निश्चित गरेका रहेछन्। म आज त्यही महसुस गर्दैछु। मैले त्यो सांसारिक दुःख अनुभूति नगरेको भए के हुन्थ्यो भन्न सक्दिनँ। अहिले हेर्दा परमात्माले दिएको अवसर रहेछ भन्नेजस्तो लाग्छ। 

भनिन्छ नि, जब दुःख आउँछ तब सोच्नु कि सुख पनि आउँदै छ। र, जब सुख आउँछ तब सोच्नु कि दुःख पनि नजिकै छ। यो भौतिक सुखको कुरा हो। जो मान्छे आध्यात्मिक रूपमा सुखी हुन्छ त्यो मान्छेलाई जीवनमा न कहिल्यै दुःख हुन्छ न कहिल्यै सुख।

जे भने पनि मेरो मनमा पनि एउटा कुण्ठा अवश्य नै थियो। त्यो मेरो अहंकारले हो। मैले जब मानसम्मान र अपमानलाई विश्लेषण गर्न थालेँ म झन् दुःखी भएँ। सही अर्थमा न मान्छेको मान हुन्छ न अपमान। त्यो त अनुभूति मात्र हो। 

मलाई यो पदमा बस्ने इच्छा थियो। यद्यपि पद पाउँदा वा नपाउँदा दुवै अवस्थामा मैले के भन्ठानेको थिएँ भने, 'परमात्मा तिम्रो जस्तो मर्जी।' म अहिले यो पदमा बसेर बोलेकाले धेरैलाई विश्वास नलाग्न सक्छ, तर म पद पाउनुअघि पनि अत्यन्त सुखी थिएँ। बाबाहरूको आध्यात्मिक संगतले मलाई यो कुराको बोध भइसकेको थियो।

यो पदबाट मैले 'अप्रिय' काममात्र गर्नुपर्छ। यो कुनै धन्यवाद पाउने पद होइन। एक वर्ष अवधिमा हामीले थुनामा राखेर कारबाही गरेका मान्छेको हिसाब गर्दा अख्तियारको इतिहासमै धेरै छ। विगत चारपाँच सातादेखि हरेक दिन हामी मुद्दा चलाइरहेका छौं। गएको महिनासम्म हेर्दा मात्रै हामीले १ सय ५० हाराहारी मुद्दा चलाइसकेका छौं। जसलाई मुद्दा चलाउँछौं, त्यसले हामीलाई धन्यवाद त भन्दैन। त्यसले त अन्याय नै गर्योच भन्छ। तर, म 'रिल्याक्स्ड' छु। भगवानले नै कसैलाई दण्डित गर्नुपरेकाले मलाई खटाए होलान् जस्तो लाग्छ। मैले अख्तियारको यो पद पूर्ण रूपमा भगवानलाई नै छाडेको छु। पार लगाए पनि उनकै शरण, डुबाए पनि उनकै शरण।

दुःख र सुखले मलाई पनि छुन्छ। किनभने म सन्त होइन, सामान्य मान्छे हुँ। सन्तहरूले देखाएको पथमा हिँड्न खोजेको मात्रै हो। क्रोध मलाई पनि आउँछ। तर, मलाई केही क्षणमा के महसुस भइहाल्छ भने, 'हे परमात्मा म द्रष्टा मात्रै त हुँ।'

म हरेक दिन हात जोडेर परमात्मालाई मनबाट के प्रार्थना गर्छु भने, 'हे भगवान, तिमी नै कर्ता हौ। जे गर्छौ राम्रोका लागि गरिदेऊ।' अतिशयोक्ति हुँदैन र राजनीतिक भाषा लाग्दैन भने म के पनि माग्छु भने, 'परमात्मा नेपालको रूपान्तरण गरिदेऊ। नेपाली जनताको मुहारमा खुसी ल्याइदेऊ। र, यो संस्थालाई जीवन्त बनाइदेऊ। म तिम्रो माध्यम भएर जे गर्न तयार छु। यही कुरालाई म जीवनभर अवलम्बन गर्न सकूँ।'

प्रकाशित: २४ जेष्ठ २०७१ ००:२२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App