मलेसियाले नेपाली कामदारका लागि भिसा प्रक्रियामा नयाँ किचलो उत्पन्न गराएको छ। मलेसियामा कार्यरत नेपाली कामदारलाई बिदामा घर आएर फर्कंदा हस्तलिखित र एमआरपीमा भिसा र पुनः श्रम स्वीकृति भए पनि हस्तलिखितबाट एमआरपीमा भिसा सार्नुपर्ने नियम लागू गरेको छ। यस्तो अभ्यास मलेसियाले नेपाली कामदारका लागि मात्र गरेको छ।
केही वर्षयता नेपाली कामदारका लागि प्रमुख गन्तव्य बनेको मलेसियामा त्यहाँको सरकारले बेला–बेलामा ल्याउने नयाँ नियम र अभ्यासका कारण कामदारले सास्ती भोग्नुपरेको छ। वार्षिक एक लाख ५० हजारभन्दा बढी कामदार पुग्ने मलेसियामा करिब सात लाख नेपाली कामदार कार्यरत छन्।
मलेसिया अध्यागमनले गत साता १७ नेपाली कामदारलाई फिर्ता पठाएपछि परराष्ट्र मन्त्रालयले नेपालस्थित मलेसिया दूतावाससँग बुझ्दा कामदारले पुरानो पासपोर्टमा भएको भिसालाई नयाँ पासपोर्टमा नसारेकाले मलेसियाबाट डिपोर्ट गर्नुपरेको जानकारी दिएको परराष्ट्र मन्त्रालयका सहसचिव अर्जुनकान्त मैनालीले बताए। 'यस्तो नियमबारे कि रोजगारदाता कम्पनी कि नेपालको एजेन्ट कम्पनीले कामदारलाई जानकारी दिनुपर्ने हो। तर, कतैबाट पनि कामदारले थाहा पाएनन्। त्यसैले समस्या उत्पन्न भएको हो,' मैनालीले भने।
दुःख दिने नियत
सरकारी अधिकारी र व्यवसायीले नै मलेसियाले अहिलेसम्म कतै अभ्यास नभएको नयाँ नियम नेपाली कामदारका लागि लागू गरेर झन्झटिलो बनाएको बताएका छन्। पुरानो पासपोर्टमा भिसा हुँदा पाना सकिएर वा अन्य कुनै कारणले नयाँ पासपोर्ट लिनुपर्दा पुरानो पासपोर्ट नम्बर नयाँमा उल्लेख हुने र दुवै राहदानी सँगै गाभिएर वाहकले बोक्दा अन्य कुनै मुलुकमा अहिलेसम्म कसैले अवरोध नगरेकोमा मलेसियाले नेपाली कामदारलाई दुःख दिने नियतले नयाँ अभ्यास थालेको उनीहरूको धारणा छ।
वैदेशिक रोजगार विभागका महानिर्देशक जगन्नाथ देवकोटाले मलेसियाले संसारमा नै नभएको नियम लागू गर्ने खोजेको बताए। 'भिसा कन्भर्ट गर्नु सम्भव पनि हुँदैन। त्यसमाथि फेरि भिसा लिँदा कामदारलाई आर्थिक भार पनि पर्छ। यो मलेसियाले बदनियत राखेर नेपाली कामदारलाई दुःख दिन खोजेको हो,' देवकोटाले भने।
'नयाँ जाने कामदारलाई नयाँ एमआरपीमा नै भिसा र श्रम स्वीकृति हुन्छ। बिदामा आउने कामदारलाई सहजीकरण गर्न सकिन्छ,' उनले थपे, 'जुन देशमा पनि दुवै पासपोर्ट सँगै हुँदा जाँचपछि निर्बाध जान दिन्छ।' मलेसियाले अहिले भीएलएन, बायोमेटि्रक, फोसालगायत सिस्टम नेपालमा लागू गरिरहेको छ। जुन सहज रूपमा नेपालमा स्वीकृति पाएको छैन। त्यसैको इगो हुन सक्ने अनुमान देवकोटाको छ।
नेपाल वैदेशिक रोजगार व्यवसायी संघका निवर्तमान अध्यक्ष बलबहादुर तामाङले मलेसियाले कानुनविपरीत नेपाली कामदार फर्काउन थालेको बताउँदै नयाँ अभ्यास गर्ने लागेको नियम लागू गर्ने नहुने बताए। 'मलेसियाले नेपाललाई पेल्ने काम गरिरहेको छ। त्यसको सास्ती कामदारले भोग्दै छन्,' उनले भने, 'पुरानो र नयाँ पासपोर्टको कुरै आउँदैन। पुरानोबाट पाना सकिएर वा नयाँ व्यवस्था लागू भएपछि त्यसैको स्वरूप नयाँ बन्ने हो। त्यो पुरानोकै सिलसिला हो। त्यसलाई आधार मान्दिनँ भन्नु अन्तर्राष्ट्रिय कानुन मान्दिनँ भन्नु सरह हो।'
'यस विषयमा नेपाल सरकारले कूटनीतिक पहल गर्नुपर्थ्याे। मलेसिया सरकारलाई पत्र पठाएर नेपालको समस्या समाधानका लागि आग्रह गर्नुपर्थ्याे,' तामाङले थपे, 'नेपालले कामदारलाई सहुलियत दिएर पुरानो राहदानीमा रद्द नगर्न पनि सक्थ्यो। तर, यताबाट पनि त्यस्तो भएन।' सरकारले परराष्ट्रमार्फत मलेसियामा रहेको नेपाली दूतावासलाई भनेर मलेसिया सरकारलाई २ वटा पासपोर्ट हुने र हस्तलिखितमा भिसा र नयाँमा श्रम भए पनि केही समय सहयोग माग्न सक्ने उनको भनाइ छ। मलेसियामा लामो समय बसेर काम गरेका कामदारले रेसिडेन्स भिसा पाउँछन्। त्यसको अद्यावधिक सफ्टवयरमा पनि हुन्छ। तर, मलेसियाले कामदारलाई दुःख दिने नियतले फर्काएको तामाङले बताए।
विभागका निवर्तमान महानिर्देशक कृष्णहरि पुस्करले भिसा कन्भर्ट गर्ने नियम बिल्कुलै नयाँ अभ्यासको थालनी गरेको बताए। 'विश्वका अध्यागमनमा कडाइ गर्ने अमेरिका, क्यानडा, युरोपेली मुलुकमा पनि २ वटा पासपोर्टमध्ये पुरानोमा भिसा भएर रद्द भए पनि नयाँ पासपोर्टको आधारमा सहज छिर्न पाइन्छ,' पुस्करले भने, 'तर, मलेसियाले नै किन यस्तो गरेको छ, बुझ्न सकिएन।' यो विषयमा नेपाल सरकारले गम्भीर भएर मलेसियासँग उच्चस्तरीय वार्ता गर्नुपर्ने नवर्तमान महानिर्देशक पुस्करको भनाइ छ।
मलेसियामा कार्यरत रहेका कामदारमध्ये करिब ३ लाख कामदारको हस्तलिखित पासपोर्ट रहेको मलेसियास्थित नेपाली दूतावासले जनाएको छ। मलेसियाको नयाँ नियमले नेपाली कामदारलाई प्रत्यक्ष मर्कामा पारेको छ। कामदारले पुरानो पासपोर्टबाट नयाँ एमआरपीमा भिसा कन्भर्ट गर्दा वृद्धि भएको ३२ सय भिसा शुल्क तिर्नुपर्ने हुन्छ। २०७० सालभित्र मात्रै मलेसियामा १ लाख ६६ हजार ८ सय ९८ कामदार मलेसिया पुगेका थिए।
किन फर्काइयो कामदार?
चार देखि ८ वर्षसम्म मलेसियामा कार्यरत १७ नेपाली कामदार २ महिना घर बिदामा आएर गत बिहीवार एयर एसिया एयरलाइन्समार्फत मलेसिया पुगेका थिए। तर, मलेसिया अध्यागमनले उनीहरूलाई एक रात अध्यागमन हिरासतमा थुनेर नेपाल फर्काइदियो। आफू के कारणले फर्केको भन्ने समेत थाहा नपाएका कामदार शुक्रवार नेपाल आएपछि झसङ भए। उनीहरूसँग रहेको हस्तलिखित पासपोर्टमा भएको भिसालाई पत्र काटेर अवैधानिक लेखेको देखेर।
बिदामा नेपाल आएका कामदारले राहदानी विभाग, वैदेशिक रोजगार विभागको सूचनामार्फत नयाँ मेसिन रिडेवल पासपोर्ट (एमआरपी) बनाएका थिए। कामदार नेपाल आउँदा हस्तलिखितमा श्रम स्वीकृति नहुने र नयाँ पासपोर्ट अनिवार्य रहेको वैदेशिक रोजगार विभागले सूचना जारी गरेको थियो। एमआरपी बनाएका कामदारले पुनः श्रम स्वीकृति लिन जाँदा वैदेशिक रोजगार विभागबाट स्वीकृति दिएको थियो।
मलेसियाको अध्यागमनबाट फिर्ता भएका १७ जना कामदारलाई प्रवासी नेपाली समन्वय समितिले त्रिभुवन विमानस्थलबाट उद्धार गरेको थियो। विभिन्न जिल्लाबाट मलेसिया जान लागेका कामदार त्रिभुवन विमानस्थलमा आफूले लगाएको लुगामा मात्र फर्केका थिए। मलेसियन अध्यागमनले कामदारलाई फिर्ता पठाए पनि उनीहरूले लगेको लगेज र सामान भने फिर्ता दिएको छैन। फिर्ता भएर आउने १७ जना कै हस्तलिखित पासपोर्टमा भिसा र एमआरपी पासपोर्टमा श्रम स्वीकृति रहेको छ। पुरानो पासपोर्टमा क्यान्सिल लेखेको र नयाँ पासपोर्टमा पुरानो पासपोर्टको पासपोर्ट नम्बर उल्लेख छ। हस्तलिखित र एमआरपीमा छुट्टाछुट्टै भिसा र श्रम स्वीकृति भएको भन्दै पहिलो पटक मलेसियाले नेपाली कामदारलाई फिर्ता पठाएको हो।
वैदेशिक रोजगार विभागले गत फागुन ८ गते जेठ १ देखि एमआरपीमा मात्र श्रम स्वीकृति दिने निर्णय गर्दै सार्वजनिक सूचना प्रकाशित गरेको थियो। पछि हस्तलिखितमा भिसा भएका कामदारलाई समस्या हुने भन्दै ६ महिनासम्म अवधि बढाएको थियो। एमआरपी पनि बनाएर सँगै गाँभेर पठाउँदा समस्या नहुने भन्दै छुट्टाछुट्टै राहदानीमा भिसा र श्रम स्वीकृति भए पनि जान मिल्ने जनाएको थियो।
विभागले ६ महिनासम्म हस्तलिखित पासपोर्टको म्याद थपे पनि अन्तर्राष्ट्रिय रूपमा २०७२ मंसिर ७ देखिमात्र हस्तलिखित राहदानी काम लाग्दैन।
सोसल भिसा दिएर फर्काउने
रद्द गरिएको हस्तलिखित पासपोर्टमा भिसा भएको भन्दै मलेसिया अध्यागमनले फर्काएका १७ जना नेपाली कामदारलाई मलेसिया दूतावासले सोसल (टुरिस्ट) भिसा दिएर मलेसिया पठाउने भएको छ।
दूतावासले सोसल भिसामा १७ जना कामदारलाई मलेसिया पठाउने र त्यहाँ पुगेपछि रोजगारदाता कम्पनीमार्फत वर्किङ भिसामा कन्भर्ट गर्ने कुरा भएको परराष्ट्र मन्त्रालयका सहसचिव अर्जुनकान्त मैनालीले बताए।
प्रकाशित: २२ जेष्ठ २०७१ ०८:४९ बिहीबार





