५ चैत्र २०८२ बिहीबार
image/svg+xml
अन्य

सेतो पर्दा – पात्रको जात खोइ?

सयभन्दा बढी फिल्ममा हिरो बने होलान् राजेश हमाल। उनले खेलेका दर्जनौँ फिल्म सुपरहिट भए। धेरै दर्शकका नजरमा उनी रोल मोडल छन्। धेरैले उनको हेयर स्टाइल नक्कल गरेको पाइन्छ। तर, फिल्महरूमा उनले कुन जात र कुन ठाउँको पात्र भएर अभिनय गरे? न त यसतर्फ कसैले प्रश्न उठाए, न यसको जवाफ नै खोजे।ई नै जान्छ।
राजेश हमालमात्र होइन, उनको जोडी बनेर अभिनय गरेका करिश्मा मानन्धर, निरुता सिंह, जल शाह, विपना थापा र रेखा थापाहरूले समेत पर्दामा आफूले निर्वाह गरेको भूमिका कुन जातीय पृष्ठभूमिका हुन्? प्रस्टाइएको पाइँदैन। यसका लागि कलाकारभन्दा पनि निर्देशक र पटकथा लेखक आलोचित हुनुपर्छ। ‘क्यारेक्टराइजेसन'का आयामलाई नबुझेकाले लेखक र निर्देशकको ध्यान पात्रको जातीयता र भौगोलिकतातिर जान नसकेको हो।
फिल्मका पात्रहरूको समेत जातीयता खोजिनुलाई धेरैले संकीर्णता ठान्लान्। ‘फिल्मभित्रको काल्पनिक कथाका पात्रहरूलाई किन चाहियो जात?' भन्ने तर्क पनि देलान्। ‘कथा र घटनाहरू बुझे भइहाल्यो नि, जात जेसुकै होस्' भन्ने खालका तर्क अर्काथरिका होलान्।
नियालेर हेर्ने हो भने फिल्मको पर्दामा नेपाली कलाकारहरूको एउटा खास जात र धर्म भने झल्किन्छ। राजेश र उनका ‘हिरोइन'हरूलाई फिल्ममा पहाडी खस समुदायका हिन्दू पात्रका रूपमा बढी चित्रण गरिएका छन्। नेपाली फिल्मले लामो समयदेखि कुन संस्कृति र कुन सौन्दर्य मनोविज्ञानको प्रवर्द्धन गर्दै आइरहेको रहेछ? यसले प्रस्ट पार्छ।
फिल्मका पात्रहरू एउटा खास समुदायका मात्र भए भनेर यस लेखमा राजनीतिक वकालत गर्न खोजिएको भने होइन। वास्तवमा पात्रको जातीय र भौगोलिक परिचय हराएकाले पनि नेपाली फिल्म फितलो र अरुचिपूर्ण भएको हो भन्ने तर्क यहाँ दिन खोजिएको छ।
एउटा प्रशंसायोग्य फिल्म बनाउन पटकथा मौलिक हुनैपर्छ। मौलिक पटकथामा चरित्रचित्रण (क्यारेक्टराइजेसन) वैज्ञानिक चाहिन्छ। र, यसका लागि फिल्मका पात्रहरूको जातीय पृष्ठभूमि पनि एउटा अनिवार्य पक्ष हो।
नेपाली समाजका कुनै पनि सदस्यको जात, धर्म र भौगोलिकता हुन्छ। फिल्मले यही समाजको कथा उप्काउने हो भने पात्रका जात, धर्म र भौगोलिकता नछोएर सुख छैन। सचेत भई बनाइएका संसारका जुनसुकै फिल्ममा पात्रको जातीयता (इथ्निसिटी), धर्म र भौगोलिकतालाई ख्याल गरिएको हुन्छ।
बलिउडका मसलादार फिल्महरूमा समेत पात्रको जातीयता र क्षेत्रीयता बिर्सिएको हुँदैन। फिल्म ‘टु स्टेट्स'मा पञ्जाबी नायक र मद्रासी नायिकाबीचका अन्तरहरू केलाइएको छ। अन्तरजातीय प्रेमकथामा आधारित भएकाले यसमा जातीयताको प्रसंग सघन रूपमा आउनु स्वाभाविक हो। तर, अन्तरजातीय कथा नभएका अरू फिल्ममा समेत नायकनायिकाको भौगोलिक र धार्मिक पृष्ठभूमि व्याख्या गरिएको हुन्छ।
बोलीचाली, व्यवहार, सोचाइ, खानपिन, पहिरन र वर्ण कुनै पनि पात्रका बाहिरी गुण हुन्। यी गुणहरू पात्रका जातीय, धार्मिक र भौगोलिक पृष्ठभूमिअनुसार फरक–फरक हुन्छन्। नेपालमा जातअनुसार पहिरन, खानपिन, वर्ण प्रस्ट छुट्टिन्छ। त्यस्तै फरक भौगोलिक क्षेत्रबाट आएका एउटै जातका पात्रहरूको बोलीचाली र पहिरन पनि फरक हुनसक्छ।
नेपाली फिल्ममा मुख्य पात्रहरूको जातीय, धार्मिक र भौगोलिक पहिचान नखोजिनु भनेको समाजको मौलिक कथा नआउनु हो। राजेश हमाललाई हिन्दू पहाडी खस मूलको एक अमूर्त पात्रका रूपमा चित्रण गर्दा कुनै पनि रैथाने संस्कृति वा चरित्र उजागर हुँदैन। उनलाई कुनै फिल्ममा झापाको बाहुन पात्र त कुनैमा डडेल्धुराको क्षत्री पात्र बनाउन सकिन्थ्यो। तर, यसमा फिल्मकर्मीको ध्यान गएन।
डडेल्धुराको क्षत्रीका रूपमा राजेशलाई उभ्याइएको भए त्यही क्षेत्रका व्यथाहरूमा आधारित कथा रच्न पटकथा लेखक बाध्य हुन्थे। राजेशका सहयोगी पात्रका रूपमा स्थानीय समुदायमा उपलब्ध पात्रहरू नै आउँथे होलान्। वेशभूषा र बोलीचाली त्यहीँकै अनुसरण गरिन्थ्यो। राजेशलाई सधैँ चोभारमा फाइट खेलेको हेर्नु पर्दैनथ्यो। नगरकोट वा पोखरा होइन, डडेल्धुराकै पहाडहरूमा नायकनायिका नाच्थे।
कुनै फिल्ममा डडेल्धुरा, कुनैमा पाल्पा त कुनैमा धनकुटाका पात्रका रूपमा राजेशलाई हेर्न पाइएको भए स्थानीय दर्शकले समेत आफ्नोपनको महसुस गर्थे। त्यसो हुँदा दर्शकका लागि नेपाली फिल्मको मेनु फराकिलो हुनसक्थ्यो। ‘सबै फिल्म एकै खाले छन्' भन्ने गुनासा सुनिँदैनथ्यो।
राजेश हमालअघिका शिव श्रेष्ठ र भुवन केसीले निर्वाह गरेका पात्रहरूसमेत सामाजिक पहिचानविहीन अमूर्त थिए। शिवले सायद एउटै पनि फिल्ममा नेवार पात्र भएर अभिनय गरेका छैनन्। भुवनले पनि क्षत्री समुदायको मौलिक कथा भएको फिल्म खेलेको पाइँदैन।
पात्रहरूको सामाजिक पृष्ठभूमि उजागर हुँदा कथा मौलिक, चरित्रचित्रण वैज्ञानिक र पटकथा मजबुत हुनेमात्र होइन, यसले फिल्मका कलाकारको लोकप्रियता र आयुलाई पनि बढाइदिन्छ। राजेश हमालका फिल्म हेरेर दर्शकलाई ‘मनोटोनस' हुनु र ती फिल्म कमजोर लाग्नुको दोष पात्रहरूलाई पहिचानविहीन बनाउने लेखक तथा निर्देशकहरूलाई नै जान्छ।

प्रकाशित: १५ जेष्ठ २०७१ ०७:३१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App