७ चैत्र २०८२ शनिबार
image/svg+xml
अन्य

चौथो अंगमा कोढ सल्किनुअघि

सञ्चारमन्त्री हुनेबित्तिकै डा. मीनेन्द्र रिजालले धुवाँदार घोषणा गरे– ‘पत्रकारितालाई मर्यादित बनाउँछु।' उनको बोलीको मजबुन थियो– ‘पत्रकारिता जगत् एकदम अमर्यादित र भ्रष्ट छ।' 
आफ्नो समुदायमाथि भएको यो निर्मम प्रहारले पंक्तिकार तिलमिलाएको थियो। उसको स्वाभाविक टिप्पणी थियो– ‘ठूलो कुरा गरेर ठालु पल्टिन खोज्छन्, मन्त्री महोदय।' र, सञ्चारमन्त्रीलाई कुनै मौकामा भित्तामा पुग्नेगरी दनक दिन उसले प्रतिवादको खाका पनि तयार पारेको थियो। अफसोच, नेपाल पत्रकार महासंघको २४ औँ महाधिवेशनको तमासा हेरेपछि पंक्तिकारले डा. मीनेन्द्र रिजालविरुद्ध बोल्ने नैतिक धरातल लुटिएको महसुस गरेको छ। पार्टीका सिन्दुर लगाएका पत्रकारहरूले पेशागत मर्यादा र व्यावसायिकतालाई वाग्मतीमा बगाइदिएका थिए। सायद, जोडतोडले चलिरहेको वाग्मती सफाइ अभियानलाई नेपाली पत्रकारिताको उपहार थियो त्यो। लोकतन्त्रमा दलगत राजनीतिमा लाग्ने स्वतन्त्रता र अधिकार हरेक नागरिकलाई हुन्छ। पत्रकार पनि त्यो हकले सम्पन्न छ। तर, पार्टी कार्यकर्ता र पत्रकारको बीचमा एउटा सीमारेखा हुन्छ। र, त्यो मेटियो भने पत्रकारिता बाँकी रहँदैन। पत्रकारले पार्टीको झन्डा बोक्न पाउँछ तर पार्टीको झोले हुन पाउँदैन। कुनै राजनीतिक विचारप्रति समर्पित हुन पाउँछ तर आफ्नो व्यावसायिक दायित्व र धर्मलाई त्यो खास विचारमा रंग्याउन पाउँदैन। किनभने, उसले लेख्ने भनेको अन्ततः समाचार हो, नारा र पर्चा होइन। पत्रकार महासंघले पार्षद्हरूलाई झोला बाँडेको थियो। त्यो झोला हेर्दै पार्टीका झोले कार्यकर्ताले भिर्ने झोलाजस्तो छ। आजका ‘स्मार्ट' पत्रकारहरूले बोक्ने झोलाजस्तो छैन। यो संयोगमात्रै हो या महासंघ झोलेहरूको अखडा हुँदै गएको अवचेतन स्वीकृति हो? भन्न गाह्रो पनि छ, सजिलो पनि छ। पत्रकार र नेताको निकटतामा कुनै हानि छैन। नेतालाई दाइ, उसकी पत्नीलाई भाउजू भन्दै सम्बोधन गरेर हर्षविभोर हुनुमा पनि कुनै हानि छैन। उसको भान्छामा एक छाक भोजन गर्नुमा पनि कुनै हानि छैन। तर, पत्रकारले लेखेको समाचार सम्बन्धको हार्दिकता र भोजनको कृतज्ञतामा डुब्यो भने के हुन्छ? भन्न गाह्रो पनि छ, सजिलो पनि छ। निर्वाचित भएको प्रमाणपत्र पनि बुझ्न नपाई महासंघका पदाधिकारीहरू आफू आबद्ध (या निकट) राजनीतिक दलका नेताहरूको बधाइ ग्रहण गर्न लाम लागेर पार्टी कार्यालय पुगेका थिए। पत्रकार नेताको आशिर्वाद (र, सोसँग जोडिएको लाभ र दक्षिणा) प्रति कति आशक्त छ, त्यसको लाजमर्दाे तस्बिर दुनियाँले देख्न पायो। अस्ट्रेलियन लेखक एलेक्स केरी भन्थे, ‘पत्रकारिता शक्तिको सेवा हो। त्यो राज्यशक्ति हुनसक्छ, पैसाको शक्ति वा व्यापारिक शक्ति हुन सक्छ।' पत्रकारहरू कसको सेवा गर्न चाहन्छन्, कोप्रति बफादार छन्, त्यसको प्रतिविम्बन थियो, त्यो बधाइ/सम्मान ग्रहण (या दाम चढाइ)। अबिर पोतिएका विजयी अनुहारहरूले पाठकको नजरमा आफू पराजित भएको पत्तै पाएनन्। र, प्रधानमन्त्रीले दिएको चियापानको निम्तो ‘राजनीतिकरण हुने भय' ले अस्वीकार गर्ने पत्रकारहरूको ढोँगको पर्दा यस्तरी च्यातियो कि अब सिलाउने सम्भावना सायद नदारद छ। महासंघको महाधिवेशनमा एउटा रोचक सम्बोधन चर्चित रहेको थियो– ‘विभिन्न पेशामा आबद्ध पत्रकार साथीहरू!' यसले उद्घाटन गरेको अप्रिय सत्य के थियो भने पत्रकारितालाई साइड–जब (फुटकर काम) मात्रै बनाइरहेकाहरूको संख्या ठूलो छ। साइड–जबको रमाइलो विशेषता के हो भने यसले धेरै समय र श्रमको माग गर्दैन तर यो उल्लेख्य लाभदायी हुन्छ। यता देशको बौद्धिक थलो ठानिने प्रज्ञाप्रतिष्ठानमा एउटा बौद्धिक समुदाय आफ्ना नेताहरू छान्ने चाँजोपाँजो मिलाउँदै थियो, उता सुन्धारा रक्सीमा नुहाइरहेको र सेकुवामा बाँकटे हानिरहेको थियो। रङरोगन गरिएको धरहरा आसपासका होटलहरूमा पत्रकारहरू आफ्ना प्रतिष्ठा खुइलाइरहेका थिए। सासमा रक्सीको गन्ध र दाँतमा सेकुवाको छोक्रो बोकेर प्रज्ञाप्रतिष्ठानमा आफ्ना नेता चुन्न पुगेका थिए, कतिपय पत्रकार। प्रतिष्ठान परिसरमा भारतीय नम्बर प्लेटका गाडीहरूको उपस्थितिले गरेको संकेत कसैलाई डरलाग्दो नलाग्नु डरलाग्दो कुरो थियो। पत्रकारको चुनावमा तै, तै पैसा बाँडिएका र गुन्डा परिचालन गरिएका खबर देशले सुन्नुपरेन। भोलि कुनै पत्रकारले आवधिक निर्वाचनमा रक्सी र मासुको छेलोखेलो भएको, भारतीय गाडी प्रयोग भएको जस्ता गलत आचार र विसंगतिका समाचार लेख्दा पाठकले ओठ लेब्य्रायो भने के हुन्छ? नेपाली पत्रकारिताको इतिहास लामो नहोला, तर छाती ठोकेर गर्व गर्नलायक केही उपलब्धि यसले अवश्य हासिल गरेको छ। हिजो पञ्चायतकालमा तरबारको धारमा हिँडेर कलमले आगो ओकलेको थियो। जनताको राजनीतिक र सामाजिक परिवर्तनको उत्कण्ठामा पत्रकारिता जगत्ले सदा साथ दिएको छ। तत्कालीन राजा ज्ञानेन्द्रको शाही सत्ताले पत्रकारलाई यसै ‘आठौँ दल' भनेको थिएन। उसले आफ्ना विपक्षी र आन्दोलनरत सात दलको हाराहारीमा पत्रकारलाई राख्नुको अर्थ थियो–पत्रकारिताको शक्तिलाई अनुमोदन गर्नु। त्यतिबेला सरकार बन्दुक बोकेको छापामारसँगभन्दा कलम बोकेको पत्रकारसँग बढी डराउँथ्यो। आज देशको राजनीति, समाज सबै बेथितिग्रस्त छन्। हरेक क्षेत्रमा भ्रष्टाचार छ, विसंगति छ। यस्तोमा पत्रकारितामात्रै दूधले धोइएजस्तो हुँदैन। यो पनि समाजकै प्रतिविम्ब हो। तर, आजको खतरा के हो भने यो पेसाले ‘कमान्ड' गर्ने ‘सम्मान'मा भयानक क्षय भएको छ। श्रमजीवी पत्रकारका हकहितका कुरा गरेर पत्रकार, नेता, बुद्धिजीवी कहिल्यै थाकेका छैनन्। तर, तलब माग्दा पत्रकार सञ्चारगृहको मालिकबाट कुटिएको छ, रिपोर्टिङमा हिँडेको पत्रकारले फिल्डमै जागिर खुस्केको जानकारी पाएको छ, बाउ बित्दा पशुपतिमा सत्गत् गर्ने पैसा नभएर साथीहरूको चन्दाको भर परेको छ पत्रकार। उता, प्रधानमन्त्री सुशील कोइरालाले पत्रकार महासंघको महाधिवेशन उद्घाटन गर्दै भनेका थिए, ‘मलाई लाग्छ– अबको ८–१० वर्षमा १५–२० वर्ष काम गरेका पत्रकार कार चढेर हिँड्ने अवस्था हुनेछ।' सुस्तताको पर्याय बनेका कोइरालाको यो असाधारण रफ्तारको भविष्यवाणी सुन्नेका लागि मनोरञ्जकमात्रै थिएन, संसारको सबैभन्दा गरिब प्रधानमन्त्रीको सबैभन्दा समृद्ध अनुमान पनि थियो। उनलाई लाग्दो रहेछ, अबको ८–१० वर्षमा पत्रकार यति सम्पन्न हुन सक्छ। तर, वस्तुनिष्ठ भएर भविष्यवाणी गर्ने हो भने अबको ८–१० वर्षमा १५–२० वर्ष काम गरेका इमानदार पत्रकार निजी कार होइन, दिन बिराएर एम्बुलेन्स चढ्ने हुनेछन्। खानपान र विश्रामको कुनै ठेगान नहुने पत्रकारहरू सम्पन्न होइन, रोगी चाहिँ निःसन्देह हुनेछन्। पत्रकार महासंघको २४ औँ महाधिवेशनमा जे–जस्ता अप्रीतिकर दृश्य देखिए, जे–जस्ता नमज्जाका घटना भए, तिनले राज्यको चौथो अंगमा कोढका लक्षणहरू देखिएको जनाउ गरेका छन्। चिकित्साविज्ञान भन्छ– लाटो, फुस्रो र नचिलाउने दाग देखिनु कोढका प्रारम्भिक लक्षण हुन्। र, नेपाली पत्रकारिताका शरीरभरि यस्ता दाग लछप्पै देखिएका छन्।

प्रकाशित: १० जेष्ठ २०७१ ०४:०४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App