१२ चैत्र २०८२ बिहीबार
image/svg+xml
अन्य

चाबीचालकका कथा

फर्पिङ, सेतीदेवीका राजनप्रसाद श्रेष्ठले केयुकेएलमा चाबीचालकको काम गर्न थालेको पाँच वर्ष भयो। तर, पानीको संकट बढ्दै जाँदा यही जागिर उनका लागि निल्नु न ओकल्नु बनेको छ।पानी अत्यधिक खपत हुने महिना चैत, वैशाख र जेठ हुन्। यो समय पानीका स्रोत सुक्दै जान्छन् भने माग बढ्छ। ‘बर्खामा जस्तो अहिले काम गर्न सजिलो छैन,' ललितपुर शाखाअन्तर्गतका चाबीचालक श्रेष्ठ भन्छन्, ‘यतिबेला तनावमा काम गर्नु परिरहेको छ।'
पाटनको त्यागल, दुपाट, गुइँटोल र पिलाछेँ उनका कार्यक्षेत्र हुन्। त्यहीँका ३५ प्वाइन्टमा पानी खोल्ने र बन्द गर्ने काम गर्छन् उनी। वितरणको तालिका मिलाउँदा कतिपयकहाँ त एक सातासम्म पालो आउँदैन। ‘पानी नआएको आक्रोश हामीमाथि नै पोखिन्छ,' श्रेष्ठ गुनासो गर्छन्, ‘कति त हात हाल्नसम्म आइपुग्छन्।'
कतिले पैसा लिएर अन्तै पानी दिएकाले आफ्नोमा नआएको आरोप लगाउँदा रहेछन्। ‘तर हामीले कसैको पैसा खाएका छैनौं,' उनले भने, ‘काम गरेपछि कसैले खाजा खुवाउँछ बरु त्यो खाइदिन्छौं। घुस खाँदैनौं।' 
भक्तपुर शाखामा कार्यरत केयुकेएलका एक कर्मचारी भने चाबीचालकमाथि लगाइने आरोपमा केही सत्यता भएको बताउँछन्। ‘पैसाकै लोभमा काम गर्ने कतिपयलाई कारबाहीसमेत गरेका छौं,' उनले सुनाए, ‘खाजा खुवाएको, लत्ताकपडा दिएका घटना पनि छन्। पैसाकै मोलतोल गरेको भेटिएमा उनीहरू कारबाहीमा पर्छन्।' 
ललितपुर शाखाका प्रशासन प्रमुख चिरागमानसिंह कुँवरका अनुसार ललितपुरका २६ हजार ग्राहकका लागि २५ जना चाबीचालक खटाइएको छ। 

पानीका लागि बियर 
भक्तपुरस्थित शाखामा १२ वर्षदेखि चाबीचालकको काम गर्दै आएका जितबहादुर महर्जनको समस्या पनि श्रेष्ठको जस्तै छ। वितरण र व्यवस्थापन कमजोरीले बर्सेनि पानीको समस्या बढ्दो छ। ‘अझ सुख्खा सिजनमा त हामीलाई उपभोक्ताले हैरान पार्छन्,' महर्जन गुनासो गर्छन्, ‘रिजर्भवायरमै पानी नभएपछि साँचोमात्रै खोलेर पानी आउने होइन!'
पानीको चरम अभावमा छट्पटिएका उपभोक्तको गुनासो सुन्ने र आक्रोश थेग्ने नजिकको माध्यम नै महर्जनजस्ता चाबीचालक हुन्। ‘अर्कोतिर पानी पठायो भनेर हामीलाई विभिन्न आरोप लगाउँछन्,' उनी भन्छन्, ‘कपितयले त ‘बियर खुवाउँछौ पानी खोल्देऊ' भनेर लोभ देखाउँछन्। 
भक्तपुर क्षेत्रमा चारपाँच दिनमा एकपटक पानी वितरण हुन्छ। ‘त्यही पानी खोल्न जाँदा पनि पिटाइ खाइएला कि भन्ने डर लागिरहन्छ,' महर्जन आम चाबीचालकको पीडा सुनाउँछन्।

पिटाइ खाने डर 
महर्जनसँगै रहेका ३४ वर्षीय भरत प्रजापतिको समस्या पनि उही हो। कमलविनायक, इनाचो, दतात्रय, च्यामासिंङलगायत क्षेत्रमा काम गर्ने उनी पेसा नै जोखिममा परेको सुनाउँछन्। सूर्यमढी घर भएका उनले काम गर्न थालेको आठ वर्ष भइसक्यो। ‘उपभोक्ताले हामीलाई नै कार्यालयजस्तो ठानेर सबै गुनासो थोपर्छन्,' उनले भने, ‘ड्युटीबाहिर हुँदा पनि ‘खोइ पानी' भन्दै आक्रोश पोख्छन्।' पहिले पानीको माग पूरा हुँदा सहज लाग्ने जागिर अहिले बोझिलो बन्दै गएको उनको अनुभव छ। 
एक वर्षअघि काठमाडौको महांकालचौरस्थित खानेपानी कार्यलयमा सरुवा भएर आएका हरिद्वारा माक आफ्नो २७ वर्षे जागिरे जीवनमा यो निक्कै अपजसको काम रहेको सुनाउँछन्। ‘सबै आरोप हामीले नै सुन्नुपर्ने,' उनी आजित भइसकेका छन्, ‘सहनुबाहेक केही उपाय छैन।' 
केयुकेएलअन्तर्गत ६४ ज्यालादारी, ३४ करार र २० स्थायी गरेर जम्मा एक सय १८ चाबीचालक कार्यरत छन्।

प्रकाशित: ९ जेष्ठ २०७१ २३:४७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App