२९ पुस २०८२ मंगलबार
image/svg+xml
अन्य

गृहनगरमा मिस नेपालको सम्मान

ढाकाको सारी–चोलो, ढाकाकै दोसल्ला, शिरमा शिरबन्दी, गलामा कण्ठ। लिम्बू महिलाको परम्परागत पहिरनमा सजिएर मंगलवार आफ्नो जातीय संस्था किरात याक्थुङ चुम्लुङ हिम पुगेकी मिस नेपाल सुविन लुङ्फुङ्वा लिम्बूलाई आयोजकले 'सिलाम साक्मा' (धागोबाट बुनिएको फुलबुट्टे फुर्को) लगाइदिए।लिम्बू परम्पराअनुसार भूतप्रेत, बोक्सी–डायनबाट टाढा रहन घरको ढोकामा झुन्ड्याइने सिलाम साक्मा छातीमा लगाइदिए पछि अग्रजहरूले आशीर्वाद र जिम्मेवारी एकैसाथ दिए 'मिस वर्ल्डमा अहिलेसम्मका सहभागीभन्दा राम्रो गर्नु। त्यसका लागि अहिलेदेखि नै कडा मेहनत गर्नु, आफ्नो संस्कृति नभुल्नु।' सडकदेखि नै च्याब्रुङ नाचले स्वागत गरेपछि लिम्बू जातिका थरगत र थुमगत संस्थाका प्रतिनिधि, बुद्धिजीवी र लिम्बू संस्कृतिप्रेमीले लस्करै उभिएर फूलमाला लगाइदिए। सबैले मिस वर्ल्ड जितेर देशसँगै लिम्बू समुदायको इज्जत राख्न आशिष दिए। कसैले ढाकाको सारी उपहार दिए त कसैले सम्मानपत्र दिए। मिस नेपालको ताज जितेपछि पहिलो पटक गृहनगर धरान आएकी सुविनलाई यसरी नै सम्मान गर्ने र मिस वर्ल्डका लागि शुभकामना दिनेको ओइरो लागेको छ। यो साता उनी सम्मान थाप्न नै व्यस्त बनिन्। शनिवार धरान आइपुगेकी सुविनलाई धरान १६ पार्वतीमार्गमा रहेका घरपरिवार र छिमेकीले सडकमै स्वागतद्वार निर्माण गरेर सम्मानको सुरुवात गरे। घर–घरबाट स्वागतको तयारीमा जुटेका छिमेकीहरूले फूलमाला र खादाले सम्मान गरे। त्यसपछि उनले कक्षा–५ सम्म अध्ययन गरेको सिद्धार्थ शिशु सदन, त्यसपछि अध्ययन गरेको विजयपुर उच्च मावि, उनकै वार्डमा रहेको सियोन इन्टरनेसनल स्कुल, जातीय संस्था लुङ्फुङ्वा समाज, लिम्बू पत्रकार संघसहित चार दिनमा ७ वटा सम्मान पाइन्। आगामी सेप्टेम्बरमा हुने मिस वर्ल्डमा पहिलाका सहभागीभन्दा राम्रो गर्न दबाब सम्मानले पारेको उनले बताइन्। भनिन्, 'सम्मानसँगै सबैले मिस वर्ल्डमा केही गरोस् भन्ने चाहेको पाएँ। यसलाई हौसलाका रूपमा लिएकी छु।' तेह्रथुम पुख्यौली थलो भएकी सुविनको जन्म धरानमै भएको हो। उनका बुवा ब्रिटिस लाहुरे काजीमान लुङ्फुङ्वा र मिनाकुमारी सम्बाहाङ्फे बेलायतमा छन्। पढाइको सिलसिलामा काठमाडौँ बस्दै आएकी सुविनले 'मिस मंगोल २०१०' मा फस्टरनर अप बनेपछि आफूले मिस नेपालको क्राउन जित्ने सपना देखेको बताइन्। मिस नेपाल बनिसकेपछि अहिले उनको सपना मोडिएको छ, मिस वर्ल्डको नीलो ताजतिर। 'अहिले मिस नेपाल बनेर सम्मान थाप्दै हिँड्दा सपना हो कि जस्तै लागिरहेको छ। मिस वर्ल्डमा पनि राम्रो गर्ने कोसिस गर्छु,' उनले भनिन्।

प्रकाशित: ९ जेष्ठ २०७१ ०९:५९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App