६ माघ २०८२ मंगलबार
image/svg+xml
अन्य

भारत हुँदै खाडीतिर

घरेलु महिला कामदारको विषयमा अध्ययन गर्न सरकारले १० दिनसम्म श्रम स्वीकृति बन्द गरेपछि महिला कामदार भारतको बाटो हुँदै खाडी पुग्न थालेका छन्। सरकारले श्रम स्वीकृति बन्द गरे पनि विगतमा गैरकानुनी रूपमा भारतको बाटोमार्फत महिला कामदार खाडी पुग्ने गरेका थिए।
खाडी मुलुकमा घरेलु कामदारको रूपमा जाने महिला कामदारमाथि शारीरिक तथा मानसिक यातना भएको र अलपत्र पर्ने क्रम बढेको भन्दै सरकारले दुई साताअघि व्यक्तिगत श्रम स्वीकृति तत्काललाई बन्द गरेर अध्ययन समिति बनाएको थियो।
अध्ययन समितिको रिपोर्ट सार्वजनिक नहुँदा र सरकारले नियमन गर्न नसक्दा पहिला तालिम लिएर बसेका ८ सय ५० जना महिला कामदारसमेत भारतको बाटो हुँदै खाडी पुग्न थालेको जोरपाटीस्थित समीक्षा ओरिन्टेसन सेन्टरकी सीता देवकोटाले बताइन्। 'तालिम लिएका पनि भारतको बाटो भएर खाडी पुगिरहेका छन्,' उनले भनिन्, 'खाडीबाट भिसा बन्द भएपो कामदार जान पाउदैनन्। यहाँ बन्द हुँदा त झन् अवैधानिक भएर जाने क्रम बढ्छ।'दुई वर्षअघि संस्थागत (म्यानपावर कम्पनी) रूपमै बन्द गरेको सरकारले व्यक्तिगत श्रम स्वीकृतिसमेत बन्द गरेर महिला कामदारको अवस्थाको अध्ययन गर्न श्रम तथा रोजगार मन्त्रालयका सचिव सुरेशमान श्रेष्ठको संयोजकत्वमा अध्ययन समिति बनाएको थियो। घरेलु कामदारको लागि खाडी मुलुक जान वैदेशिक रोजगार प्रवर्द्धन बोर्डमा सूचिकृत भएका १७ वटा तालिम संस्थाबाट तालिम लिएको प्रमाणपत्र लिनुपर्छ। तर, तालिम दिने संस्थाले प्रभावकारी तालिम नदिएको, दुई महिनादेखि नयाँ कार्यविधिअनुसार संस्थाहरूले अनुमति लिनुपर्ने भए पनि अनुमति नलिँदा संस्था पनि बन्द छ।
दुई वर्षको अवधिमा नेपालबाट तालिम लिएर विभिन्न देशमा गएका महिला कामदारको संख्या ६ हजारभन्दा बढी रहेको बोर्डले जनाएको छ। तीमध्ये चार सयभन्दा बढी अलपत्र रहेका छन्। तिनीको उद्धार कसरी गर्ने? भन्ने विषयमा छलफल चलिरहँदा विभागले श्रम स्वीकृति बन्द गर्दै बोर्डले अध्ययनका लागि समिति बनाएको हो।
श्रम तथा रोजगार मन्त्रालयका सहप्रवक्ता बुद्धि भट्टराईले महिला कामदार भारतको बाटो जाने क्रम पहिलादेखि नै रहेको बताउँदै यसलाई रोक्न प्रयास भइरहेको बताए। 'भारतको बाटोबाट जाने कार्य गैरकानुनी हो। जुनसुकै बेला पनि पक्राउ हुन सक्छ,' उनले भने।
घरेलु कामदार अभिमुखिकरण तालिम दिने संस्थाहरूले नै महिला कामदारलाई गैरकानुनी रूपमा खाडी मुलुक पठाउन संलग्न भएको कामदार तथा सरकारी अधिकारीहरूले बताएका छन्। खाडी मुलुकमा घरेलु कामदारमा जाने महिला कामदारमा शारीरिक तथा मानसिक शोषण भएको भन्दै दुई वर्षयता म्यानपावर कम्पनीलाई कामदार पठाउन कडाइ गर्न थालेको छ। यसो हुँदा तालिम दिने संस्थाले नै व्यक्तिगत श्रम स्वीकृतिमा जाने कामदारलाई तालिम दिने र एजेन्टमार्फत खाडी मुलुक पुर्‍याउने काम गरेको सरकारी कर्मचारी, कामदार र वैदेशिक रोजगार व्यवसायी बताउँछन्। नेपालबाट कामदार पठाएबापत प्रतिकामदार दुई हजार डलरसम्म कमिसन आउने हुँदा तालिम दिने संस्थाले गाउँघरसम्म एजेन्ट खटाई महिलालाई काठमाडौँमा ल्याएर तालिम दिने र विदेश जान प्रोत्साहितसमेत गर्ने गरेको वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष हंशराज वाग्लेले बताए।
खोटाङकी ३१ वर्षीया जमुना राईले तालिम लिएर पनि विदेश जान नपाएपछि भारतको बाटो जाने बताइन्। 'काठमाडौँ बस्ने गाउँकै चिनेको दाइले तालिम लिएर विदेश जानुपर्छ भनेपछि तालिम लिन काठमाडौँ आएँ,' उनले भनिन्, 'संस्थामा विदेश पुगेपछि कसरी काम गर्नुपर्छ भनी सिकेँ। कागजपत्र तालिम दिने संस्थाले नै मिलाइदिन्छु भनेपछि मेरो पासपोर्ट पनि उनीहरूसँगै छ।' नेपालबाट जान नपाएपछि भारतको बाटो जाने योजना उनले बनाएकी छिन्।
नेपाली महिला कामदार घरेलु कामदारको रूपमा कुवेत, लेबनान, बहराइन, कतार, दुबईमा पुग्ने गरेका छन्। घरेलु कामदारको रूपमा खाडी मुलुक पुगेका महिला कामदारले समयमा तलब नपाएको, सम्झौताअनुसार तलब नदिने, शारीरिक र मानसिक यातना दिने, घरमा सम्पर्क गर्ने नदिने, फर्कन खोज्दा फर्कन नदिनेलगायत समस्या रहेको बताएका छन्।

प्रकाशित: ९ जेष्ठ २०७१ ०९:३२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App