१२ चैत्र २०८२ बिहीबार
image/svg+xml
अन्य

कलाकारलाई माया गर्ने हङकङ

संगीत क्षेत्रमा छिरेताका गायिका जुना श्रीसमगरलाई हङकङ सपनाको शहर लाग्थ्यो। नेपालका विभिन्न कलाकारले हङकङ गएर प्रस्तुति दिएको खबर सुन्दा उनलाई पनि 'जाउँ–जाउँ' लाग्थ्यो। बिस्तारै गीतसंगीतमा जम्न थालेपछि जुनाको सपनाले साकार हुने मौका पायो।सन् २००६ मा मगर संघ हङकङले गरेको सांगीतिक कार्यक्रममा हङकङ पुगेर उनले आफ्नो सपना साकार पारिन्। 'संगीत करिअरमा हङकङ नै मेरो पहिलो विदेश यात्रा थियो,' उनले भनिन्।हङकङ टेक्न चाहने नेपाली कलाकारको संख्या बाक्लै छ। तर, हङकङ जान सजिलो चाहिँ छैन। हङकङ पुग्न कला र गला भएर मात्र पुग्दैन। पूर्वेली गायक भीम लिम्बूले पनि हङकङ जाने अथक प्रयास गरे। झण्डै चार वर्षपछि उनको प्रयास सफल भयो। एक मौका डटकमले आयोजना गरेको सांगीतिक कार्यक्रममा पहिलो पटक उनले हङकङमा गाउने अवसर पाए।
हङकङको भिसा लागेपछि अन्य देशमा जान सजिलो हुने भएकाले पनि धेरै कलाकार यहाँ पुग्ने धोको राख्छन्। कलाकारले पाउने विदेश भ्रमणले उसको लोकप्रियता बढ्छ भन्ने मानसिकताले पनि धेरैले हङकङ ताक्छन्। नेपाली सांगीतिक क्षेत्रमा पहिलो विदेश यात्रा हङकङबाट सुरु गर्नेका लिस्ट लामै छ। दर्शकको बाक्लो सहभागिताका साथै पैसा पनि राम्रै कमाइन्छ यहाँ। फ्यानले दिने महँगा उपहारले गर्दा पनि कलाकारहरू हङकङ यात्राका निम्ति मरिहत्ते गर्छन्। पैसाका लागि मात्र नभएर फ्यान बढाउन पनि हङकङ जान खोज्ने कलाकार थुप्रै छन्। विदेशमा सबैभन्दा धेरै सांगीतिक कार्यक्रम हुने ठाउँ भएर होला, नेपाली कलाकारले एक पटक भए पनि हङकङ टेक्ने सपना देख्छन्। हङकङले नेपाली कलाकारलाई असाध्यै माया गर्छ।
नेपाली मनोरञ्जन क्षेत्रमा चम्किएका धेरै हस्तीले हङकङबाटै विदेश यात्रा सुरु गरेका छन्। चर्चित सालैजो गायक राजु गुरुङको विदेश यात्राको ढोका पनि हङकङले नै खोलिदिएको हो। सन् २०११ मा आयोजित भीसी साँझमा पहिलो पटक हङकङको स्टेज उक्लिएका उनलाई विदेश यात्रा फलिफाप भयो। त्यसयता उनी यूके, जापान, जर्मनीलगायत देश पुगिसकेका छन्। 'हङकङबाटै विदेश यात्राको ढोका खुलेर होला, म अहिलेसम्म दर्जनौँ देश पुगिसकेँ। कलाकारलाई दोहोर्या ई–तेहेर्यााई बोलाउने ठाउँ पनि हङकङ हो,' राजुले भने।
हङकङमा हुने धेरैजसो कार्यक्रमको मेनुमा गायन, हास्य र नृत्य तीनै विधाका कलाकार छुट्दैनन्। हङकङका स्टेजमा लोकदोहोरी अनिवार्य हुन्छ। सबैभन्दा धेरै जाने पनि लोकदोहोरी क्षेत्रका कलाकार नै हुन्। पप, आधुनिक गायकसँगै हास्यकलाकार पनि यहाँ आइपुग्छन्। एउटा कलाकारले न्यूनतम ३० हजारदेखि १ लाख २५ हजार रुपैयाँसम्म पारिश्रामिक पाउँछ। आउने–जाने हवाई टिकट, खाने–बस्ने खर्च आयोजकले नै बेहोर्छन्। ब्यान्ड वा समूहलाई आयोजकले तीनदेखि सात लाख रुपैयाँसम्म दिने गरेका छन्।
पहिले लाहुरेले कलाकारलाई हङकङ बोलाउँथे। अहिले तिनै लाहुरेका सन्तान र आईडी होल्डरले कलाकार बोलाउँछन्। अन्य देशमा नेपाली केवल कामदार भएर जान्छन्। तर, यहाँ कामदारमात्रै होइन, व्यवसायी र स्थानीय नागरिक सरह बसेका छन् नेपालीहरू। धेरैजसो संगीतप्रेमी छन् हङकङका नेपाली। हङकङमा अहिले जातीय, क्षेत्रीय, सामाजिकलगायत करिब एक सयभन्दा बढी नेपाली संघसंस्था छन्। धेरैजसो सांस्कृतिक कार्यक्रमका आयोजक यिनै संस्था हुन्।

प्रकाशित: ९ जेष्ठ २०७१ १०:०१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App