चुरोटको सर्को कहिल्यै नतानेका पछिल्लो पुस्ताका प्रायः युवाले हुक्का तानिसकेका छन्। खासमा हुक्का नेपाली संस्कृति वा पहिचान होइन। इतिहासअनुसार यसको उत्पति पाँच सय वर्षअघि पर्सियामा भएको हो। पछि यो अन्य खाडी मुलुक हुँदै भारत भित्रियो। त्यहाँबाट नेपाल छिर्न त बेरै लागेन।पर्यटकहरूका लागि नेपाल गन्तव्य बन्न थालेपछि बिस्तारै तमाखुुलाई आकर्षक काँचका हुक्काले प्रतिस्थापित गर्न थालेको हो। पहिला पाँचतारे होटलका बारमा मात्र पाइने हुक्का यसको उपलब्धतासँगै सबैको पहुँचमा पुगेको छ।
काठमाडौंको ठमेलमा यस्ता ‘विशेष' रेस्टुरेन्ट छन्, जसको पहिलो आकर्षण नै हुक्का हो।
कुनै बेला सम्भ्रान्त वर्गको बैठकको शान हुक्का अहिले सबैको पहुँचमा पुगिसेको छ। काठमाडौंका गल्ली र चोकमा खुलेका रेस्टुरेन्ट, बार आदिमा हुक्कालाई मेनुमै समेट्न थालिएको छ। सहरका गल्लीभित्र यस्ता पनि रेस्टुरेन्ट भेटिन्छन्, जसको विशेषता नै विभिन्न किसिमका हुक्का सर्भ गर्नु हो।
विदेशी शैलीको नक्कल गर्दै अगाडि बढिरहेको नेपाली समाजमा हुक्का तान्ने प्रचलन भने नयाँ होइन। पहिलादेखि नै नेपालमा हुक्का पिउने चलन थियो। फरक यत्ति– पहिलेको तमाखु अहिले हुक्का भइदियो।
हिजोआज तमाखुु पिउने बूढापाका भेट्न जति मुस्किल छ, तमाखुुका लागि चाहिने विशेष प्रकारको सूर्ती पाउनु उति नै दुर्लभ। बूढापाकाले प्रयोग गर्ने पित्तलको हुक्कालाई अहिले काँच र प्लास्टिकका आकर्षक हुक्काले प्रतिस्थापन गरेको छ। पुरानो तमाखुुको गन्धको ठाउँमा विभिन्न प्रकारको फ्लेवरले ठाउँ लिँदैछ।
विभिन्न फ्लेवरको धुँवा पानीबाट पास भएर फोक्सोसम्म पुग्दा फिल्टर भइसक्छ भन्ने भ्रमले युवाहरू बेपर्बाह हुक्काको क्रेजमा डुबेका छन्। जसरी हिजोआज बियर वा वाइनलाई मदिराभन्दा कोल्ड ड्रिंक्सको रूपमा हेरिन थालिएको छ, त्यसरी नै हुक्कालाई पनि धुम्रपानको रूपमा नलिने युवा धेरै छन्।
ठमेलस्थित सिसाबारमा भेटिएका २१ वर्षीय क्षितिज साखः त हुक्कालाई धुम्रपान मान्न हाक्काहाक्की अस्वीकार गर्छन्। उनलाई चुरोटको लत छैन तर हुक्काको धुँवा भने बेफ्वाँक उडाइदिन्छन्। हुक्काको ‘एप्पल बम' फ्लेवरको सर्को तान्दै उनी गफिए, ‘यस्मा सूर्ती हुँदैन। फ्लेवरमात्रै न हो। फेरि पानीबाट पास भएपछि फिल्टर भइहाल्छ नि।'
युवाहरूको आ–आफ्नै तर्क रहे पनि अन्तर्राष्ट्रिय अध्ययनहरूले भने हुक्कालाई चुरोट सेवनभन्दा घातक हुने निष्कर्ष निकालिसकेका छन्। विश्व स्वास्थ्य संगठनको रिपोर्ट भन्छ– हुक्का सेवन गर्नेहरूले चुरोट सेवन गर्नेभन्दा साढे दुई गुणा बढी धुँवाको सेवन गरिरहेका हुन्छन्।
ग्रान्डी अस्पतालका मेडिकल अफिसर डा. चन्द्र बरियतका अनुसार धुँवा पानीबाट पास गराउँदैमा त्यसले गर्ने असरमा कमी आउँदैन। ‘चुरोट सेवनको समय बढीमा पाँचदेखि दस मिनेटको हुन्छ। तर, हुक्कामा त्यो एक घन्टा लामो हुन सक्छ,' उनी सुझाउँछन्, ‘हुक्काको नराम्रो असर कति हुन सक्छ भन्ने यसले नै बताउँछ।'
विभिन्न प्रकारमा उपलब्ध सुगन्धले हुक्काप्रति युवाको आकर्षण र लत बढिरहेको छ। तर सुरुसुरुमा यसले जति आनन्द दिन्छ, पछि फोक्सोमा समस्या देखिने बरियत बताउँछन्। अझ काठमाडौंमा खुलेका हुक्का बारले सरसफाईप्रति ध्यान नदिँदा विभिन्न प्रकारका सरुवा रोगहरूसमेत सर्ने खतरा बढी छ।
कुनै व्यक्तिले प्रयोग गरेको हुक्काको पाइप राम्रोसँग सफा नगरी र पानी नफेरी अन्य व्यक्तिले प्रयोग गर्दा रोग सर्ने खतरा अत्यधिक हुने बरियतको भनाइ छ।
रंगीबिरंगी सिसाका चिलिमबाट सुगन्धित धुँवा सेवन गरेर मस्त गफिनुमा युवाहरूको आकर्षण बढे पनि यसले दीर्घकालीन असर गर्ने चिकित्सकहरू बताउँछन्।
हुक्काप्रतिको भ्रम :
भ्रम १. हुक्काको लत सजिलै पर्दैन किनभने त्यसमा सूर्तीजस्तो निकोटिन हुँदैन।
तथ्य : सामान्य चुरोटजस्तै त्यसमा पनि निकोटिन हुन्छ। हुक्का धेरै समयसम्म प्रयोग गर्न सकिने हुँदा चुरोट सेवनभन्दा सय गुणा बढी हानिकारक छ।
भ्रम २. हुक्काको धुँवाले फोक्सोको कोषलाई असर गर्दैन।
तथ्य : पानीबाट पास गरेर सेवन गर्ने हुँदा यसको धुँवा चिसो हुने भएकाले चुरोटको धुँवाजस्तै सिधै असर नगरे पनि यसको मात्रा धेरै भएकाले चुरोटले भन्दा हुक्का सेवनबाट क्यान्सर हुने खतरा बढी हुन्छ।
भ्रम ३. हुक्का सेवनले चुरोटले जस्तो दीर्घकालीन समस्या निम्त्याउँदैन।
तथ्य : चुरोट सेवनसरह नै हुक्काको प्रयोगले पनि विभिन्न दीर्घकालीन रोग लाग्न सक्ने सम्भावना उतिकै हुन्छ।
प्रकाशित: २६ वैशाख २०७१ २३:२५ शुक्रबार





