३ माघ २०८२ शनिबार
image/svg+xml
अन्य

स्वादका गन्तव्य

होनचा
नेवारी परिकार मन पराउनेका लागि ललितपुरस्थित पाटनको कृष्ण मन्दिरछेउ रहेको होनचाको पसल राम्रो गन्तव्य हुन सक्छ। करिब सय वर्ष पुरानो यो परम्परागत थलोमा बारा, चटामरी, छो्यला र पीरो आलुका साथमा ताइचिन चिउरा पाइन्छ।झन्डै सय वर्षअघि किसलाल व्यञ्जनकारले खोलेको पसलले अझै आफ्नो मौलिकता गुमाएको छैन। नयाँ–पुराना पुस्ताका सबै ग्राहकको साझा रोजाइ हो, होनचा। पसलमा रहेकी रोजिना व्यञ्जनकारले ग्राहक फेरिँदै गए पनि खानाको स्वाद उस्तै रहेको सुनाइन्। किसलालका दुई छोराले यही नामबाट दुईवटा पसल खोलेका छन्। एउटा कृष्ण मन्दिरपछाडि छ भने अर्को भीमसेन मन्दिरपछाडि।

नेवा लहना 
कीर्तिपुरको ठाःवाहास्थित नेवाः लहना पुग्दा पुरानो नेवार बस्ती छिरेको भान हुन्छ। ‘टिपिकल' नेवारी परिकार मन पराउनेहरू पसलका ग्राहक रहेको सञ्चालक राजमान बताउँछन्। गाउँका ७१ परिवारको सेयर रहेको संस्थाद्वारा सञ्चालित यो खाजा पसलमा ५९ कर्मचारी छन्। 
नेवारी सुमदायको जीवनशैलीका साथै परम्परागत संस्कृति नियाल्दै खाजा खान पाइने भएकाले विदेशी पर्यटकसमेत लहनामा लोभिएका छन्। ‘सुकुल बुन्दै गरेका, चर्खा चलाउँदै गरेका र ढिकीजाँतो गरिरहेको हेर्न र फोटो खिच्न मात्र पनि पर्यटक आउँछन्,' राजमानले भने, ‘यो जीवन्त संग्रहालयजस्तै हो। संस्कृति बचाउँदै आम्दानी बढाएका छौं।' 
लहनामा आइपुग्ने ग्राहकले पसलमा होइन, घरमै बसेर खाएजस्तो महसुस गर्छन्। आफ्नैअगाडि तयार पारिएको खानेकुरा खान पाउँदाको रमाइलो बेग्लै हुने ग्राहकको अनुभव छ। पसलमा समयबजी ‐चिउरा, छोयला, बोडी, आलु, भटमास, अदुवा, लसुन, साग, अन्डा बारा, रक्सी र अचारको सेट) लगायत विभिन्न नेवारी परिकार बनाइन्छ।

ट्राउट ककनी 
नुवाकोटको ककनी ट्राउट माछाको सोखिनका लागि प्रसिद्ध हुँदैछ। निरन्तर बगिरहने चिसो पानीमा पालिएका ताजा माछाको स्वाद चाख्न देशैभरिबाट खानाका पारखी यहाँ आइपुग्छन्। नेपालमै पहिलोपटक नुवाकोटमा पालिएको जापानी हिमाली रेम्बो ट्राउट माछाको स्वाद लिन र मनोरन्जन गर्न विदाको दिन सयौंको भीड लाग्छ यहाँ।
यहाँ आकर्षक तथा स्तरीय पर्यटकीय होटल, रेस्टुरेन्ट सञ्चालनमा छन्। ती होटलमा सुलभ शुल्कमै खान तथा आवासको व्यवस्था छ। व्यवसायीहरूले प्रतिकिलो एक हजार रुपैयाँदेखि एक हजार पा“च सय रुपैया“मा माछा बिक्री गर्छन्। राजधानीको बालाजुबाट करिब १५ किलोमिटर यात्रा तय गरेपछि यहाँ पुगिन्छ। 


बोकाको मासु 
नेवारी खाना परम्पराका लागि भक्तपुर पनि ऐतिहासिक ठाउँ हो। दतात्रय मन्दिरछेउको दतात्रय खाजा घर बोकाको मासुका लागि प्रख्यात छ। यहाँ दैनिक बोका काटिन्छ। पारखीहरू बोकाको मासुसँगै नेवारी खाजा खान यहाँ आइपुग्छन्।
भक्तपुर बसपार्कअगाडिको मुनाकर्मीको खाजा घर पनि लोकप्रिय छ। पसलमा बारा, छो्यला र सुकटी मन पराउने ग्राहक थुप्रै आउने गरेको राजेश मुनाकर्मी बताउँछन्। 
काठमाडौका भित्री सहरमा पनि खाना पारखीका लागि थुप्रै परम्परागत पसल छन्। असनभित्र रहेको न्हैकन्तलामा रहेको साइँली प्रजापतिको खाजा पसल चल्तीको पसल हो। यहाँ छो्यला, बारा, भुटन, आलुतामाको साथमा तखाः (मासुको झोल) को मजा लिन ग्राहको ओइरो लाग्छ।

प्रकाशित: २६ वैशाख २०७१ २३:२४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App