‘रमाइलो ठाउँ पुग्दा मन नाच्यो। त्यति राम्रो हिमालको दृश्य अन्यत्र देखेकै थिएनौं,' संग्रौलाले भने, ‘त्यहाँ हामीले धेरै हिमचुली देख्यौं। यालापिक, चेर्कोरी, लाङटाङ आदि।'
क्याङजेनमा दुई रात बिताए। भोलिपल्ट मध्याह्न उनीहरू गोञ्जाला पासको बेसक्याम्प पुग्न हिँडे। न्यौपाने भने होटलमै आराम गरे। प्रकृतिको भर हुन्न। कति बेला घाम लाग्छ, कति बेला पानी। जंगल पुग्दा हिउँ बढ्यो। क्याङजेन भ्याली हिउँले ढपक्कै ढाकियो। जंगल कटेपछि उनीहरूले त्यहाँ एउटा मृग प्रजातिको जनावर देखेछन्। मैनालीले त्यसको भिडियो खिचे, संग्रौलाले फोटो।
थर्मसमा पानी थियो। खल्तीको बदाम र चकलेट खाए उनीहरूले। सुनसान ठाउँमा त्यो मृग पछ्याउँदै गए। बाटोमा खाली बोतल र चकलेटका खोल पछ्याउँदै निकै पर पुगेपछि फर्किए। साँझ तीन भाइ जम्मा भएर होटलको आँगनमा हिउँ खेले। पहिला गोसाइँकुण्ड यात्रामा जाँदा पनि खेलेका थिए।
भोलिपल्ट उनीहरू घोडा तबेला झरे। त्यहाँबाट हेलिकोप्टर चढेर एयरपोर्ट आए। राति होटलवालाले हेलिकोप्टरमा जान सुझाएछन्। कसैलाई छोड्न आएको हेलीले फर्कंदा थोरै पैसामा उनीहरूलाई उडाइदियो। ‘जीवनमा पहिलोपटक हेलिकोप्टर चढ्यौं,' मैनालीले भने, ‘सस्तैमा चढ्न पाइयो।'
लाङटाङमा भोटे बस्ती छ। त्यसलाई ईश्वरले लुकाएको भूमि भनिन्छ। बौद्ध धर्मका गुरु पद्संभवले उहिल्यै आफ्ना शिष्यलाई ध्यान गर्न लुकाएको ठाउँ। त्यसैले पवित्र भूमि मानिन्छ।
गएको असोजमा मैनाली र संग्रौला अरू दुई साथी शीतल सुवेदी र विशाल रिजालसँगै मुक्तिनाथ मन्दिर पुगेका थिए। काठमाडौंबाट बेनी हुँदै दोस्रो दिन जोमसोम पुगेका थिए। त्यहाँबाट दुई घन्टा हिँडेर कागबेनी पुगे।
‘भुषण दाहालको कागबेनी फिल्म हेरेपछि त्यहाँ जान मन लागेको थियो,' संग्रौलाले प्रसन्न भएर भने, ‘नेपालको मरुभूमि पनि हेर्न पाइयो।'
कागबेनीमा दिवंगतलाई सम्झेर श्राद्ध गर्ने चलन छ। समीपले पनि त्यहाँ हजुरबुबालाई सम्झेर पानी चढाए। सबैको राम्रो होस् भन्ने कामना गरे।
बेग्लै भौगोलिक बनावट छ मुस्ताङको। त्यहाँ उनीहरू घरबाट ढाँटेर गएका थिए। ‘पोखरा घुमेर आउँछौं भनेका थियौं,' संग्रौलाले भने, ‘कागबेनी पुगेपछि मुस्ताङ आइपुग्यौं भनेर घरमा फोन गर्यौं।'
असोज महिना मुस्ताङका बगैंचामा स्याउ पाकेका थिए। उनीहरूले ताजा स्याउ चाखे। बेनी–मुक्तिनाथ सडक बनेपछि यात्रा सजिलो भएको छ। गोरा साइकलमा हुइँकिएको पनि उनीहरूले देखे। उनीहरू मुक्तिनाथ पुगे। त्यहाँ एक सय आठ धारामा नुहाए। चिसोले टाउको झर्लाजस्तै भयो। ४ रात ५ दिने यात्रामा प्रतिव्यक्ति ९ हजार रुपैयाँ खर्च भयो।
फुर्सद हुनेबित्तिकै उनीहरू काठमाडौं नजिकका गाउँमा हाइकिङ गर्छन्। चिसापानी जाँदा गोसाइँकुण्डबारे सोधखोज गरेका थिए। त्यसैले कक्षा ११ को पढाइ सकिएपछि ०६९ जेठमा उनीहरू पहिलोपटक पदयात्रामा निस्के। सुन्दरीजलबाट ५ जना साथी मिलेर ६ दिन यात्रा गरेका थिए। त्यो बेला प्रतिव्यक्ति ३७ सय रुपैयाँ खर्च भएको थियो। उनीहरूले साथमा चाउचाउ, ड्राई फुड्स र औषधि बोकेका थिए।
बर्खामा पानी पर्यो। जुका लाग्यो। दुई दिन त उनीहरू १२ घन्टाका दरले हिँडे। गोसाइँकुण्डभन्दा माथिको कुण्ड पुग्दा संग्रौला भावुक बनेछन्। ‘हामी पुग्दा त्यहाँको बादल हट्यो, एक घन्टा बितेको पत्तै भएन।'
मैनालीलाई उचाइमा पुग्दा सास फेर्न गाह्रो भयो। खानाको सन्तुलन नमिलेर पेट दुख्यो। सानो कम्बलले पेट बेर्दै बिस्तारै माथि उचाइमा पुगेर हिमाल देख्दा उनले दुखाइ बिर्सिए। गोसाइँकुण्डमा खाना महँगो, बस्ने सुविधा सामान्य थियो। उनीहरू सुन्दरीजल हुँदै फर्किए।
उनीहरूको यात्रामा प्रतिव्यक्ति ८ हजार रुपैयाँ खर्च भयो। खाजा खाने पैसा बचाएर र नपुग अभिभावकसँग मागेर उनीहरू घुमफिर गर्छन्। ‘अबको ५ वर्षभित्र नेपालका मुख्य–मुख्य गन्तव्य घुमिसक्ने लक्ष्य छ,' २० वर्षे मैनालीले भने।
घुमेका ठाउँका तस्बिर फेसबुकमा अपलोड गर्दा साथी लोभिन्छन्। उनीहरूलाई कताकता जाऊँ जस्तो भइसकेको छ।
अब कहाँ–कहाँ घुम्ने त?
‘अन्नपूर्ण बेसक्याम्प, एभरेस्ट बेसक्याम्प, डोल्पा, च्छो रोल्पा, मनास्लु, कञ्चनजंघा, रारा, तिलिचो ताल जाने मन छ,' उनीहरूले फरर्र भने।
प्रकाशित: २६ वैशाख २०७१ २२:२७ शुक्रबार





