जिल्ला अदालत धनुषाले थुनामा राख्न आदेश दिएसँगै साहलाई बिहीबार राति ८ बजे जलेश्वर कारागार पुर्याइएको थियो। पहिल्यै क्षमताभन्दा बढी कैदीबन्दी रहेको कारागारमा उनलाई राख्न ठाउँ नपुगेकाले फिर्ता पठाउनुपरेको जेलर शोभेन्द्र ठाकुरले बताए।
‘पहिल्यै क्षमताको चार गुना कैदी छन्,' उनले भने, ‘सुरक्षा दृष्टिले पनि उच्च जोखिम रहेकाले उनलाई अन्य कारागारमा राख्न अनुरोधसहित पत्र लेखेका छौं।'
एक सय ३५ जना क्षमताको कारागारमा ५ आश्रित बालबालिकासहित ३२ महिला र ४ सय १२ पुरुष गरी ४ सय ४९ कैदी कष्टपूर्ण जीवन बिताइरहेको र थप कैदी राख्न सकिने अवस्था नरहेको उनले जानकारी दिए।
पाँच जनाको ज्यान जानेगरी भएको उक्त बमकाण्डमै संलग्न राजन मुक्ति भनिने रञ्जित झालगायत आधा दर्जनभन्दा बढी आपराधिक समूहका सदस्य एकैठाउँ रहेकाले आन्तरिक सुरक्षालाई समेत ध्यानमा राखी साहलाई फर्काइएको कारागार प्रशासनले जनाएको छ।
कारागारले राख्न नमानेपछि साहलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राख्नुपरेको महोत्तरी प्रहरीप्रमुख एसपी रामप्रसाद श्रेष्ठले बताए। ‘फेरि कारागार पठाउन कानुनी प्रक्रिया मिलाउनुपर्ने भएकाले अझै एक–दुई दिन यहीँ राखिनेछ,' उनले भने।
जिल्ला अदालत धनुषाका अत्तिरिक्त न्यायाधीश कैलाश केसीको एकल इजलासले बिहीबार अदालती बन्दोबस्तीको धारा ११८ बमोजिम साहलाई थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश दिएको थियो।
गत शनिबार राति वीरगन्जबाट पक्राउ परेका साहलाई प्रहरीले आइतबार अदालतमा उपस्थित गराएको थियो। तीन दिन लामो बहसपछि अदालतले उनलाई कारागार चलान आदेश दिएको हो। मिथिला राज्यको माग गर्दै २०६९ वैशाख १८ गते जनकपुरको रामानन्द चौकमा गरिएको शान्तिपूर्ण धर्नामा बम फिस्फोट हुँदा पाँच जनाको मृत्युसाथै ३२ घाइते भएका थिए।
प्रकाशित: २६ वैशाख २०७१ १९:२३ शुक्रबार





