काठमाडौं– महिलामाथिको सबैखाले हिंसा अन्त्य गर्न बर्सेनि कराडौं रुपैयाँ खर्च भए पनि लक्षित समूहमा कार्यक्रम नपुग्दा हिंसा अन्त्य हुन नसकेको सरोकारवालाले बताएका छन्। बर्सेनि पाँच सय यस्ता गम्भीर प्रकारका हिंसा हुने गरेको राष्ट्रिय महिला आयोगले जनाएको छ।
नेपालमा महिला हिंसाविरुद्ध आन्दोलन चलेको डेढ दशक भए पनि लक्षित समूहमा कार्यक्रम नपुग्नाले समस्या यथावत रहेको राष्ट्रिय महिला आयोगकी प्रवक्ता तथा सदस्य मोहना अन्सारीले बताइन्। ‘महिला हिंसाविरुद्धको अभियानले ग्रामीण भेग छुन सकेको छैन,' उनले भनिन्।
दाइजो प्रथा, बोक्सी प्रथा, बालविवाह लगायतका अन्य प्रथा विकट, अशिक्षित तथा पिछाडिएको विपन्न समुदायमा कायम रहेकाले कार्यक्रम त्यतातिर केन्द्रित हुन सके जघन्य हिंसा अन्त्य हुन सक्ने अन्सारीको तर्क छ। ‘हिंसाविरुद्धको कार्यक्रम जुन समूहमा हुनुपर्ने हो त्यहीँ पुग्न सकेको छैन, यसको दोष हामी अधिकारकर्मीले लिनुपर्छ।'
नेपाली कांग्रेसले पार्टीेका भातृ संगठन नेपाल महिला संघकी केन्द्रीय अध्यक्ष दिला संग्रौलाका अनुसार संघले महिला हिंसाविरुद्ध सबै तहका कार्यकर्तालाई प्रशिक्षण दिने गरेको छ। साथै, महिला हिंसा गर्ने सदस्यलाई पार्टी सदस्यबाट निस्काशनको परिपाटीसमेत छ।
आन्दोलन ठीक ठाउँमा केन्द्रित हुन नसक्नाले नै हिंसा कायम रहेको संग्रौलाको तर्क छ। ‘हिंसा अन्त्य हुँदै जानुपर्नेमा अझै कायम छ, अभियान जुन रुपमा जानुपर्ने हो, त्यो रुपमा जान सकेन,' उनले भनिन्।
संग्रौलाका अनुसार पीडक पक्षमा महिला हिंसाविरुद्धको कार्यक्रम जान नसक्नाले अभियान प्रभावकारी हुन नसकेको हो। ‘पीडक पक्ष पुरुष देखिएको छ, यो समूहलाई सम्बोधन हुने खालको कार्यक्रम लैजानुपर्छ,' उनले भनिन्।
नेकपा एमालेले पनि स्थापनाकालदेखि नै अखिल नेपाल महिला संघमार्फत महिला हिंसाविरुद्ध गतिविधि सञ्चालन गर्दै आएको छ। अखिल नेपाल महिला संघकी महासचिव थममाया पुन आफैं यो अभियानमा संलग्न भएको ३१ वर्ष भइसक्यो। ३१ वर्षअघि बोक्सी, दाइजो जस्ता कुप्रथाका नाममा महिलाले पाउने गरेको यातना अहिले पनि उस्तै देखेकी छन् उनले। उनका अनुसार शिक्षित बन्दै गएका र विकास पुग्दै गएको समाजमा यस्ता हिंसा घट्दै पनि शिक्षा र सचेतना पुग्न नसकेको गाउँबस्तीका महिलामाथि यस्ता हिंसा हुने गरेका छन्।
‘यस्तो समस्या खास समाजमा छ, त्यो ठाउँमा कार्यक्रम पुग्न सकेन, यो हामी सबैको कमजोरी हो,' थापाले भनिन्। समाजमा कायम पितृ सत्तात्मक चिन्तनले पुरुषले महिलामाथि हिंसा गर्ने गरेको थापा बताउँछिन्। ‘पुरुषमा अहिले पनि महिला भनेको किनबेच गर्न सकिने बस्तु हो भन्ने छ, त्यही धनपैसाका लागि हिंसा गर्छन्,' थापाले भनिन्।
समाजशास्त्री तथा लैंगिक विज्ञ नीति अर्यालका अनुसार महिला आन्दोलनहरुले महिला समस्या मात्र केलाएको छ। पीडक पक्षको सामाजिक/मनोवैज्ञानिक पक्षको अध्ययन गरेर कार्यक्रम लैजान सकेको छैन। महिला हिंसाविरुद्धको आन्दोलनमा यो पक्षलाई सम्बोधन गरे सामाजिक सोचमा रुपान्तरण आउनेछ। सामाजिक सोचमा रुपान्तरण आए हिंसा स्वतः अन्त्य हुँदै जान्छ। ‘पीडक कहाँबाट उत्पादन भइरहेको छ, सामाजिक/मनोवैज्ञानिक पक्षको सूक्ष्म विश्लेषण गरेर प्रभावकारी कार्यक्रम लैजानुपर्छ,' अर्यालले भनिन्।
प्रकाशित: २५ वैशाख २०७१ २०:१४ बिहीबार





