३ माघ २०८२ शनिबार
image/svg+xml
अन्य

यसरी डुब्यो ‘अनाम'

संविधानसभा निर्वाचनको प्रचार गर्न गत कात्तिकमा नाट्य संस्था ‘अनाम'ले सुनसरी, धनकुटा, भोजपुर र डडेल्धुरा जिल्लाका ३९ ठाउँमा नाटक प्रदर्शन गर्‍यो। दसैँ–तिहारका बेला एक महिनासम्म नाटकका लागि खटेका कलाकारलाई १७ हजार रुपैयाँसम्म दिइने मौखिक सहमति भएको थियो तर उनीहरूले अझै पूरा पैसा पाएका छैनन्।
कति कलाकारले उल्टै गोजीको पैसा खर्च गर्नुपरेको छ। रंगकर्मी टेकराज लिम्बू भन्छन्, ‘हामीले धेरै पटक भन्दा पनि अनेक बहाना बनाउँछन्। नाटकको पारिश्रमिक पाउनु त परको कुरा आफ्नै खर्च उठाउनसमेत मुस्किल भयो। अनामको कार्यालय सधैँ बन्द हुन्छ।' नाटक प्रदर्शनका लागि ११ जना कलाकार हिँडेका थिए। उनीहरूलाई तीन हजारदेखि पाँच हजार रुपैयाँसम्म मात्र दिइएको छ। उनीहरूले नाटकको प्रोजेक्ट उपलब्ध गराउने आरोहणका अनील पोखरेललाई यसबारे जानकारी गराए तर उनले नाटकका निर्देशक सुवास थापालाई पैसा उपलब्ध गराइसकेको बताए। आरोहणले अनामलाई एउटा नाटक बराबर १५ हजारका दरले पैसा दिएको थियो। रंगकर्ममा केही गर्ने उत्साहसाथ नाटकमा हिँडेका कलाकारहरू अनामको व्यवहारले अहिले निराश छन्। अर्की कलाकार अञ्जना पराजुली भन्छिन्, ‘बेकारमा नाटकमा हिँडिएछ जस्तो लागेको छ। न पैसा पाइयो, न राम्रो व्यवहार।'
नाटकका निर्देशक सुवास थापा भने आफूले अनामका पदाधिकारीलाई ५० हजार दिनुपरेको र खर्च धेरै भएकाले कलाकारलाई पूरा पैसा दिन नसकेको बताउँछन्। तर, आरोहणबाट आएको यत्रो प्रोजेक्टबारे अनामको कार्यसमितिमा कुनै छलफल र निर्णय भएको छैन। केही पदाधिकारीले आरोहणसँग करिब साढे छ लाखको प्रोजेक्ट लिएका थिए। त्यसबापत ५० हजार उनीहरूले पाए। तर, संस्थामा यसको हिसाबकिताब छैन। अनामकी कार्यसमिति सदस्य अल्पना कर्माचार्य नाटक प्रदर्शनका लागि प्रोजेक्ट आएको विषयमा कुनै बैठक नभएको बताउँछिन्। यत्रो योजना आउँदा कुनै बैठक नहुनु, हिसाबकिताब नहुनुले पदको दुरुपयोग भएको उनको भनाइ छ। भन्छिन्, ‘अध्यक्ष र केही पदाधिकारीले प्रोजेक्टबाट ५० हजार लिएर ठेक्कामा लगाएका हुन्। पैसा लिएर यसरी प्रोजेक्ट बेच्ने उनीहरूलाई कसले अधिकार दियो?'
अनामका अध्यक्ष विनोद तखाछेँ श्रेष्ठ प्रोजेक्ट सुवास थापालाई जिम्मा दिएको र त्यसबाट ५० हजार लिएको स्विकार्छन्। तर, संस्थाको बैठक बसेर यस्तो निर्णय गरेको उनको दाबी छ। उनी भन्छन्, ‘पैसा लिए पनि ऋण धेरै भएकाले तिर्नमा खर्च भयो।' अनामका निवर्तमान अध्यक्ष विशाल भण्डारी नाटकको प्रोजेक्टको विषयमा कुनै छलफल नभएको बताउँछन्। भन्छन्, ‘बैठक भएको भए त्यसको निर्णयपुस्तिका सार्वजनिक गर्न चुनौती दिन्छु। बैठक गरेकै भए पनि यसरी प्रोजेक्ट ठेक्कामा लगाउनु गैरकानुनी काम हो।'
यो त अनाममा भएको अनियमितताको पछिल्लो उदाहरणमात्र हो। यसअघि पनि अनाममा विनानिर्णय, विनाहिसाबकिताब धेरै काम भएका छन्। केही पदाधिकारीले अनाम बन्द गर्ने तयारी गरिरहेका बेला अनाममा भएका अनियमितता सार्वजनिक भइरहेका छन्। उनीहरूले बन्द गर्ने योजना बनाउनुको मुख्य कारण अनामभित्रको अनियमितता नै देखिएको छ।
यसअघि डीएफआईडीबाट ५८ लाख रुपैयाँको ‘अधिकार, लोकतन्त्र र समावेशीकरणका लागि जनचेतना अभियान' परियोजना आएको बेला पनि अनियमितता भएको थियो। परियोजनाका तत्कालीन कार्यकारी निर्देशक राजेन्द्र रिमालका अनुसार कार्यसमिति पदाधिकारीले सीधै १५ लाख रुपैयाँँ मागेका थिए। ‘मैले गैरकानुनी हो, यसो गर्दा संस्थागत भ्रष्टाचार हुन्छ भनेर दिन सक्दिनँ भन्दा परियोजनामै अवरोध गरे। समयमा पैसा निकासा नगरिदिने, बिल भौचरमा हस्ताक्षर नगरिदिने गरे। परियोजना सकिएपछि दातृ संस्थालाई अन्तिम प्रतिवेदन बुझाउने बेलामा हस्ताक्षर गर्न मानेनन्,' रिमाल भन्छन्, ‘पछि मलाई बाध्यतामा पारेर ११ लाख रुपैयाँ दिनैपर्छ भनेर पहाडे कागजमा हस्ताक्षर गराए। अहिले पनि अध्यक्षले संस्थाको पैसाबाट ल्यापटप किनेर व्यक्तिगत बनाएका छन्।'
परियोजनाले कुन काममा कति खर्च लाग्नेदेखि संस्थालाई ओभरहेड कस्ट भनेर पैसा छुट्याएको हुन्छ। त्यसबाहेक नाफा कमाउन खोज्नु अवैधानिक हुन्छ। तर, त्यही पैसा नदिएको विषयलाई लिएर कार्यकारी निर्देशक रिमाल र संस्थाका पदाधिकारीबीच खटपट भयो। त्यसले संस्थालाई नै धराशायी बनायो। अध्यक्ष तखाछेँ भने अहिले पनि रिमालले पैसा दिनुपर्ने जिकिर गर्छन्। रिमाल भने उल्टै अध्यक्षले २१ लाख ५० हजार रुपैयाँको हिसाब संस्थामा नबुझाएको बताउ"छन्। अनाममा देखिएको विवादलाई समाधान गर्न आरोहणका निर्देशक सुनील पोखरेलले वरिष्ठ पत्रकार हर्ष सुब्बाको नेतृत्वमा समिति समेत बनाए तर त्यसले पनि विवाद टुंग्याउन सकेन। समितिले बोलाउँदा उपस्थित नहुने पदाधिकारी संस्था नै बन्द गरेर पन्छिने तयारीमा जुटेका छन्।
गत वर्ष धरानमा भएको राष्ट्रिय चलचित्र महोत्सवको स्थानीय आयोजक रहेको अनाममा त्यसबेला पनि अनियमितता भएको थियो। संस्थागत निर्णयविनै स्थानीय आयोजक बनेको अनाम चलचित्र महोत्सवका कारण विवादित बन्यो। यही विषयमा अख्तियारले समेत छानबिन गर्‍यो। त्यसो त अनामले संस्थागत निर्णयविनै विराटनगरको गुरुकुललाई एक लाख रुपैयाँ सापट भनेर दिएको छ। त्यसको पनि कुनै हिसाब छैन।
यसरी अनियमितताको दलदलमा फसेको अनाम बन्द गरेर झन्झटमुक्त हुन चाहन्छ, वर्तमान कार्यसमिति। तर, २७ वर्ष पुरानो पूर्वको ऐतिहासिक नाट्य संस्था अनाम बन्द गर्न नहुने चर्को दबाब देशविदेशबाट आइरहेको छ। अनामलाई नजिकबाट नियालेका गुरुकुलका निर्देशक सुनील पोखरेल भन्छन्, ‘अनाम पूर्वको रंगमञ्चको खम्बा हो। त्यसलाई मर्न दिनु हुँदैन। एउटाले चलाउन नसके अर्को आउनुपर्छ।'

प्रकाशित: २५ वैशाख २०७१ १३:१० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App