२ माघ २०८२ शुक्रबार
image/svg+xml
अन्य

विमानभित्र बेलायती मेनु

पोखराको फेवा किनार हल्लन चोकबाट पामे जाने बाटोमा पर्छ, खहरे। यो ठाउँबाट दक्षिण–पश्चिम हेर्दा पर्यटकका आँखा फेवातालले तान्थ्यो। नयाँ बनेका घरैघर र होटल/रेस्टुरेन्टले तालमा पर्दा हालिदिएका छन्। अहिले भने पर्यटकका आँखा तान्न एउटा वस्तु त्यहीँ आइपुगेको छ– जहाज। गेट, सेट, रेडी, गो भन्ने हो भने उडिहाल्ला जस्तो अवस्थामा घरको छतमाथि टक्क रोकिएको छ जहाज।हरियो र सेतो रङले चम्काइएको जहाजमा लेखिएको छ– नमस्ते एयर नान्दोज। एयर लेखिएको भए पनि यो कुनै वायुसेवा कम्पनीको जहाज होइन र उड्दा पनि उड्दैन। यसभित्र बस्न मिल्छ। खान मिल्छ। संसार प्रसिद्ध अमेरिकी ब्रान्ड केन्टुकी फ्राइड चिकन ‘केएफसी’को स्वाद काठमाडौंवासी थुप्रैले चाखिसके होलान्। बेलायतको प्रसिद्ध रेस्टुरेन्ट नान्दोजको खान्की खान मन भए पोखरा आए हुन्छ। लेकसाइड खहरेको त्यही विमानभित्र बसेर खान पाइन्छ। 
बेलायत बसेर आएका ऋषि तिमिल्सिना र उनका साथी कुमार, सन्तोष र अनील गुरुङले पोखरा भित्र्याएका हुन्, नान्दोजको स्वाद। नान्दोजको विशेषता त्यहाँको पाककला हो। ‘कुखुराको उही मासु पनि भिन्नै स्वादमा पाइने हुँदा एक हप्ताअघि बुक गरेर खान जानुपर्छ,’ ऋषि सुनाउँछन्। नान्दोजले पेरीपेरी ससमा ६ घन्टा म्यारिनेट गरी ओभनमा आधा पकाएर फेरि ग्रिल गरेको चिकन पस्कन्छ, जुन अत्यन्तै लोकप्रिय छ। ‘हामीले पनि त्यही प्रक्रिया पूरा गरेर परिकार बनाएका छौं,’ कुमार गुरुङ भन्छन्, ‘बेलायत र यहाँको स्वादमा कुनै फरक हुँदैन।’
पेरीपेरी ससमै बनेको चिकेन पिटा नमस्ते एयर नान्दोजको अर्काे परिकार हो। त्यसबाहेक भारतीय परिकार र नेपाली दालभात त छँदैछ। बेलायती रेस्टुरेन्टको आधिकारिक ‘फ्रेन्चाइज’ नभए पनि त्यसको जस्तो गुणस्तर र स्वस्थकर खाना उपलब्ध गराउने तिमिल्सिना बताउँछन्। ‘युकेमै जस्तो हप्तैपिच्छे खाद्य गुणस्तर जाँच भइदिने हो भने हाम्रो क्वालिटी प्रमाणित हुन्थ्यो,’ उनी भन्छन्, ‘बेलायतबाट आएका साथीहरूले उहीँकै स्वाद पायौं भनेर प्रतिक्रिया दिइसकेका छन्। उत्साहित छौं।’
अढाई करोड लगानीमा बनाएको रेस्टुरेन्ट ३ रोपनी जमिनमा फैलिएको छ। १५ जना रोजगार छन्। जहाजभित्र १५ जना अट्छन्। त्यसबाहिर भने ५ सयजना अटाउने व्यवस्था मिलाइएको छ। 
‘चाडपर्व र उत्सवमा लेकसाइडको अन्त कतै जानु नपरोस् भन्ने हाम्रो चाहना हो,’ गुरुङले भने। केही दिनअघि औपचारिक सेवा सुरु गरेपछि नमस्ते एयर नान्दोजले वैशाख १९ मा भव्य सुरुवात गर्दैछ। जहाज देखेर आकर्षित हुनेहरूको दिनहुँ भीड सुरु भइसकेको छ। कोही भित्रै पस्छन् र कोही बाहिर बसेर फोटोसेसन गर्छन्। अनि साथीभाइलाई जिस्क्याउँछन्– भित्र बसेर खाँदाखाँदै जहाज भुरुर्र उड्ला है! 
प्रत्यक्ष सांगीतिक कार्यक्रम र गजल गायनी पनि समावेश गर्ने सोच ती उद्यमशील युवाले बनाएका छन्। बेलायती स्वाद भए पनि नान्दोजले परिकारको सूची (मेनु) मा मूल्यलाई नेपाली पहुँचबाहिर पुर्‍याएको छैन। ३ सय रुपैयाँमै पाइन्छ– पेरीपेरी चिकन विङ्स ३ पिस, फ्रेन्च फ्राइ र सलाद। बर्गर पनि पेरीपेरी स्वादमा उपलब्ध छ। 
देशविदेश पुगेका र घुमेका तिमिल्सिना र गुरुङ चारैजनालाई स्वदेशमै केही गर्ने इच्छा थियो र त्यसैको परिणामतः सुरु भएको हो यो रेस्टुरेन्ट। केही गर्ने र त्यो पनि फरक गर्ने इच्छाका कारण विमानसहितको रेस्टुरेन्ट जन्मिएको हो भन्छन्, कुमार गुरुङ। 
रेस्टुरेन्टमा राख्ने विमान उनीहरूले काठमाडौंको त्रिभुवन विमानस्थलबाट ल्याएका हुन्। ग्राउन्डेड जहाजका पार्टपूर्जा ५० फिट लामा दुइटा लरीमा बोकाएर पोखरा ल्याइएको थियो। जोडजाड पारेर जहाजै तयार पार्न इन्जिनियर डाक्नुपर्‍यो र डाकियो। जहाजको ‘बडी'भित्रै एसीसमेत जडान गरेर उपभोक्तालाई सजिलो पारिएको छ।
रेस्टुरेन्ट राति ११ बजेसम्म खुल्छ। ‘बाहिरबाट हेर्दा जहाजले भित्रसम्म तान्छ। भित्र पनि स्वादिलो खाना पाइने रहेछ,' रेस्टुरेन्टको स्वाद चाखेका गायक विनोद बानियाँ भन्छन्, ‘यसले पोखराको पर्यटनमा नयाँ स्वाद र शैली भित्र्याएको छ।'

प्रकाशित: ५ वैशाख २०७१ २३:३४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App