जहाँ पनि, जहिले पनि
सडक विस्तारित हुनु र नहुनु
मैले भोगेकै नियतिको कथा
सहर कागतका पन्नामा लेख्छुपल्टाउँदै लेख्छु पाइताला आँखा र
शरीरले जुन सधैंसधैं गुरुत्वाकर्षणका
नयाँनयाँ पाठहरू बोकेर हिँड्छु
सधैं लेख्छु जे पनि
भरंग भएको मन लेख्छु
धुलाम्मे सहरको आकाशमा
छियाछिया भएको मन लेख्छु
आधा खनेर छोडेका सडकमा
धुलाम्य हावामा सुसेलीले लेख्छु
किताबहरूभरि लेख्छु
राजनीतिका हल्ला लेख्छु
अनिर्णयहरू लेख्छु,
हरेक बिहान अखबार पस्छन् अक्षर बोकेर
हेर्छु अनि किनाराहरूमा लेख्न थाल्छु
नछोइने, नसकिने, नबुझिने र मन लाग्ने/नलाग्ने
पाठहरू लेखिबस्छु, आजकल
यो देश पनि लेख्नेमात्र कुरा गरिबस्छ
संविधान लेख्छ, लेख्तैन
संझौताहरू लेख्छ, लेख्तैन
विदेशमा बसेका दुखिया आफना जनहरूको निम्ति
पत्रहरू लेख्छ, लेख्तैन
नियतिहरू अति नै कष्टले भोगेका
मानिसहरूको कथा यो देशले लेख्छ, लेख्तैन
यही लेख्नु र नलेख्नुको महान अन्तर्द्वन्द्वमा
म भने सधैं लेखिरहन्छु
कहिलेदेखि यस्तो नियतिवश, इच्छा र मायाले
अनि लेख्नुबाहेक अरू केही नदेखेर
यो सहरमा म आजकाल
लेख्छुमात्र, जारी छ
पानाहरू भरिन्छन् र मेटिन्छन् तर
हामी सबै भने यहाँ केही लेखिएला भनेर
पर्खिबसेकै छौं
हेर्नुछ कति लेख्छन्, लेख्तैनन्
केही लेखिनेछ, लेखिनेछैन
नभए अर्को लेख्ने तयारी
पछि नै गरौंला भनेर बसेका छौं।
प्रकाशित: ५ वैशाख २०७१ २२:१६ शुक्रबार





