काठमाडौं– उद्यमी तथा लेखक कर्ण शाक्यले नयाँ अंग्रेजी किताब ‘अल दि बेस्ट' निकालेका छन्। उनले आफ्नो ७२ औं जन्मदिनको अवसरमा मंगलबार उक्त किताब ल्याएका हुन्। किताबको विमोचन बुढानीलकण्ठस्थित पार्क भिलेज रिसोर्टमा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले गरे।
‘म समय र परिस्थितिले लेखक भएको हुँ, मैले लेख्छु भनेर किताब लेखेको होइन,' दिदी नानीमैया शाक्यको हातबाट जन्मदिनको सगुन लिएपछि उद्यमी शाक्यले भने, ‘साथीभाइले मेरा अनुभव र कथाहरु त्यतिकै मरेर जान दिनुहुँदैन भनेर कर गरेपछि तिनलाई किताबमा उतारेको हुँ।'
बोर्डिङ स्कुलमा पढेका र अंग्रेजी भाषामा हुर्केका नयाँ पुस्तालाई समेत पढ्न सजिलो होस् भनेर यसपालि अंग्रेजीमा किताब लेखेको शाक्यले बताए। ‘मैले यसअघि लेखेका ‘सोच' र ‘खोज'जस्ता नेपाली किताब मेरै छोराछोरीले राम्ररी पढेका छैनन्,' उनले थपे, ‘सायद यसपटक उनीहरुले पनि पढ्छन् होला।'
शाक्यका किताबले नयाँ पुस्ताको एउटा वर्गलाई मार्गनिर्देशन गरिरहेको पूर्व प्रधानमन्त्री भट्टराईले तर्क दिए। उनका अनुसार प्रत्यक्ष भोगाइ र अनुभवका आधारित भएकोले शाक्यका किताबहरु उपयोगी बनेका हुन्। ‘उद्यमीमा हुनुपर्ने गुण के–के हुन् भनेर उहाँले किताबमा निकै व्यावहारिक ढंगमा राख्नुभएको छ,' भट्टराईले भने, ‘जातको आधारमा पेसा छान्ने परम्परागत सोचलाई उहाँले विरोध गर्नुभएको छ, रुचि र क्षमताअनुसार उद्यमशील हुन किताबले प्रेरित गर्छ।'
शाक्यले खोलेको काठमाडौं गेस्ट हाउसले नेपालको पर्यटन क्षेत्रमा ठूलो योगदान दिएको स्मरण गर्दै भट्टराईले भने, ‘मान्छे बूढो भएपछि बाहिरी आँखा कमजोर हुँदै जान्छ भने भित्री आँखा चाहिँ अझ चम्किलो बन्छ, यो कुरा उहाँले पुष्टि गर्नुभएको छ।'
कार्यक्रम सञ्चालक दिवाकरराज राजकर्णिकारले प्रत्येक खिल्ली चुरोटबाट एक पैसा संकलन गरेर क्यान्सर अस्पताल खोल्ने अभियानका योजनाकार शाक्य नै रहेको जानकारी दिए। राजेन्द्रबहादुर श्रेष्ठले शाक्यलाई स्मार्टफोनसँग तुलना गरे, ‘कर्ण शाक्य स्मार्टफोन जस्तो हो, बेलाबेला अपडेट भएर नयाँ नयाँ भर्सन आइरहने।' आफ्नो सबल र दुर्बल दुवै पक्ष उजागर गर्ने शाक्यको उनले तारिफ गरे।
प्रकाशित: २५ चैत्र २०७० १९:३७ मंगलबार



-600x400.jpg)

