६ माघ २०८२ मंगलबार
image/svg+xml
अन्य

'अभिनय साइकल सिकेजस्तो होइन'

अनुप बराल रंगकर्मीका रूपमा चिरपरिचित नाम हो। टेलिफिल्म 'दलन' र फिल्म 'दासढुंगा', 'बधशाला', 'ब्याच नं १६' लगायतबाट उनी अब्बल फिल्म अभिनेताका रूपमा पनि स्थापित भए। नेपाली नाटक इतिहासमा सबैभन्दा धेरै दर्शक बटुलेको 'कोर्ट मार्शल'का निर्देशक अनुपले फिल्म निर्देशन पनि थालेका छन्। उनले निर्देशक गरेको फिल्म 'फिटकिरी' चाँडै नै रिलिज हुँदै छ। अनुपसँग धनबहादुर खड्कासजना बरालले गरेको अन्तरंग कुराकानीः
एक्कासि फिल्म निर्देशनमा हात हाल्नुभएको रे!
एक्कासि होइन। निर्देशन गर्ने सोच अघिदेखि नै थियो। तर, 'फिटकिरी' नै निर्देशन गर्छु भन्ने चाहिँ थिएन। अर्कै प्रोजेक्टमा काम सुरु गर्ने तरखरमा थिएँ। 'फिटकिरी'मा त बरु कलाकारका रूपमा अनुबन्धित भएको थिएँ। पछि, साथीहरूले 'डाइरेक्सन नै गर' भन्न थाले। रोल अर्कैलाई दिएर आफू डाइरेक्सनमा होमिएँ।
गर्छु भनेको प्रोजेक्ट चाहिँ के भयो?
त्यो छँदै छ। फिल्म बनाउनुअघि धेरै पूर्वाधार निर्माण गर्नुपर्छ। रिसर्च गर्नुपर्योत, टिम बनाउनुपर्योइ, फिल्मको जान्रअनुसार पात्र, टेक्निसियन आदि छान्नुपर्यो । यस्ता धेरै कुराको 'बे्रनस्ट्रमिङ' गर्नुपर्छ। त्यसका लागि समय लाग्छ। अबको पाँच/छ महिनापछि मात्रै अघिल्लो प्रोजेक्ट थाल्नेछु।
पहिलो चोटि फिल्म निर्देशन गर्नुभयो। कस्तो रह्यो अनुभव?
कतिपय कुरा अनपेक्षित हुँदा रै'छन्। आफूले सोचेभन्दा बिलकुल फरक भइदिने। मौसम बिग्रिनेदेखि साधनस्रोत र कलाकार समयमै सेटमा नआइदिनेजस्ता समस्या निर्देशकले झेल्नुपर्ने रहेछ। सरसामानका लागि कहिलेकाहीँ प्रोड्युसरसँग बाझाबाझ पनि गरियो। फिल्म निर्देशक भएपछि टिमसँग बेलाबेला मिटिङलगायत कामहरू गर्नुपर्ने रै'छ। नाटक निर्देशन गर्दा त्यतिबिघ्न चटारो हुँदैन थियो। तर, फिल्म बनाउँदा सकसै पर्दो रहेछ।
निर्देशकले सुटिङअघि 'ब्रेनस्ट्रमिङ' गर्नुपर्छ भन्नुभयो। त्यसो गर्दा निर्देशक पूर्वाग्रही हुने खतरा हुन्छ कि हुँदैन?
पूर्वाग्रहीभन्दा पनि ऊ सीमित हुन सक्छ। 'यो लोकेसनमा यो सिन यसरी सुट गर्छु, क्यामराको एंगल यस्तो हुन्छ, एक्टरलाई यसरी खेलाउँछु' भनेर निर्देशकले पहिल्यै 'माइन्ड सेट' गरिसकेको हुन्छ। त्यसो गर्दा ऊ सेटमा पुगेपछि जे–जे सोचेको छ, त्यही–त्यही उतार्न थाल्छ। त्यतिबेला नयाँ चिज नआउने खतरा बढी हुन्छ। किनभने, ऊ पहिल्यै 'यति गर्छु' भनेर प्रि–सेट भइसकेको हुन्छ। उसको सोचाइ नै सीमित हुन्छ। मेरो मामिलामा पनि त्यस्तै हुन लागेको थियो। तर, जोगिएँ। मैले सोचेको लोकेसन, खिच्छु भनेको सिन सबै क्यान्सिल भए। सोचेको जस्तो नहुँदा मैले तत्काल नयाँ उपाय निकाल्नुपर्योक। नयाँ तरिकाले काम गर्दा सुटिङ झन् राम्रो भइदियो।
निर्देशक अन्धाधुन्ध सेटमा गएर काम गर्दा पनि त नतिजा खराबै आउला नि फेरि?
सोचविचारै नगरी निर्देशन गर्नुपर्छ भनेको होइन। कहिलेकाहीँ स्पेस(स्थल)ले पनि निर्देशकको दिमागमा क्लिक गर्दो रहेछ भन्न खोजेको हुँ। वातावरणले आइडिया निकाल्ने धरातल बनाइदिने रहेछ। पहिल्यै भरिभराउ दिमागभन्दा खुला दिमागले काम गर्दा बढी कलात्मकता आउन सक्छ।
फिल्म बनाउँदा धेरै कुरामा 'कम्प्रोमाइज' गर्नुपर्छ भन्छन्। कत्तिको सत्य हो?
जुन वातावरणमा बसेर, जति बजेटमा हामी काम गर्छाैं, त्यसअनुसार 'यो फिल्मका लागि ६० प्रतिशतमात्रै दिन पाएँ भने पनि मेरो कामलाई सन्तोषप्रद नै मान्छु' भन्ने लागेको थियो मलाई। त्यति नै दिन पाएँ। 'फिटकिरी'को काम राम्रै भएको छ।
धेरै नाटक निर्देशन गर्नुभएको छ। फिल्म निर्देशन र नाटक निर्देशनबीच के फरक पाउनुभयो?
विशेषतः मिडियम (माध्यम) को फरक हुन्छ। फिल्म भनेको अधिकतम रूपमा यान्त्रिक विधा हो, जहाँ दृश्यलाई रेकर्ड, एडिट आदि गरिन्छ। फिल्मलाई राम्रो बनाउने धेरै 'पोसिबिलिटिज' हुन्छन्। नाटकको हकमा त्यस्तो हुँदैन। नाटकमा एउटामात्रै सम्भावना भनेको रिहर्सल हो। रिहर्सल सकिएपछि सबै कुरा अभिनेताको हातमा हुन्छ। निर्देशकले जतिसुकै कल्पनाशक्ति त्यसमा हाले पनि अभिनेताले भनेजस्तो गरिदिएन वा लाइटिङ मिलेन भने नाटक बिग्रिन्छ। नाटक भनेको सजीव कला (लाइभ आर्ट) भएकाले यो अस्थिर छ। अभिनेताको मुडले पनि नाटकमा प्रभाव पार्छ। तर, फिल्ममा त्यस्तो हुँदैन। यसमा बढी सुविधा हुन्छ। यद्यपि, फिल्म गर्दा/बनाउँदा यान्त्रिकताको ज्ञान हुनुपर्छ। यस विषयमा अलि गाह्रो भाथ्यो मलाई।
निर्देशनमा ढल्किसक्नुभएको छ। अब अभिनयलाई के गर्नुहुन्छ?
निर्देशक भएँ भन्दैमा अभिनय छोड्नुपर्छ भन्ने छैन। 'डाइरेक्टर भइसकेँ अब पात्र भएर खेल्नुछैन' भन्ने अहम् ममा छैन। अस्ति भर्खर 'ताण्डव' फिल्मका लागि काम गरेँ। फेरि, मसँग काम गर्न खोज्ने निर्देशक पनि धेरै छन्। अफर आइरहन्छन्, सकुञ्जेल गर्छु। मेरो कलालाई पोख्ने ठाउँ नै अभिनय हो, यसैलाई माया मार्ने कुरा हुँदैन। अभिनय गरिरा'छु, गरिरहनेछु।
रंगमञ्चका कलाकार अहिले भकाभक फिल्म खेल्न थालेका छन्। यसलाई कसरी लिनुभएको छ?
राम्रो कुरा हो। फिल्म र नाटकलाई एकअर्काका परिपूरक मान्छु म। यिनले एकअर्कालाई समृद्ध बनाउँछन्। थिएटरका आर्टिस्टले फिल्म खेल्नु वा फिल्मको कलाकार नाटकघर छिर्र्नु दुवै, दुवै विधाका लागि फाइदाजनक छन्। हाम्रै रंगक्षेत्रको उदहारण लिँदा हुन्छ। थिएटरका आर्टिस्ट फिल्ममा आउन थालेदेखि नेपाली फिल्मको आयामै बदलिएको छ। बलिउडमै पनि थिएटरका आर्टिस्टले खेलेका फिल्म गुणस्तरीय मानिन्छन्।
थिएटरका आर्टिस्टलाई आजभोलि बढी नै भाउ दिन थालिएको छ। रंगमञ्च टेक्नेबित्तिकै उसले अभिनयमा जादु देखाउँछ भन्ने छ र?
छैन। अभिनय भनेको साइकल सिकेको जस्तो होइन, जो एकचोटि सिक्नासाथ जीवनभर सम्भि्कइन्छ वा काम लाग्छ। अभिनय भनेको 'प्य्राक्टिस' हो। यो निरन्तर गर्नुपर्छ। र, तपाईंले भन्नुभएको कुरा पनि सही हो। अहिले त अडिसन लिँदा नै 'थिएटरमा काम गरेको अनुभव छ कि छैन?' भनेर सोध्न थालिएको छ। 'छ' भन्नासाथ ऊ छानिने सम्भावना उच्च हुन्छ। यस्तो हुनु थिएटर–आर्टिस्टका लागि चुनौती र अवसर दुइटै हुन्। चुनौती किनभने यहाँ 'नाटक खेलेर आएको' भन्दै फिल्ममा घुस्नेहरू बढ्न थालेका छन्। त्यसो भन्ने कतिपयलाई हामीले चिनेकै हुँदैन। कतिले त 'अनुप बरालसँग सिकेर आएको'समेत भन्दा रैछन्, जब कि उसलाई मैले चिनेको पनि हुँदैन। यस्ता नक्कली कलाकारले थिएटरको बदनाम गराउलान् भन्ने डर छ। अवसर चाहिँ सक्कली कलाकारलाई आएको छ। हाम्रा लागि अहिले स्वर्णिम युग नै छ।
स्टेजमा नाटकको चार्म यसरी बढिरहँदा पनि नाटक लेख्नेहरू त्यति जन्मिन सकेका छैनन्। किन होला?
समस्यै यही हो। नेपाली नाटक थोरै छन्। भएका जति सयौँ चोटि देखाइसक्यौँ। अब त हुँदा–हुँदा कथा, उपन्यास र कवितालाई समेत नाटकमा ढाल्न सकिन्छ कि भनेर सोच्नुपर्ने भइसकेको छ। 'विदेशी नाटक बढी देखायो' भनेर हामीलाई आरोप लाग्नुको कारण पनि यही हो। आफ्ना नाटक त भए पो देखाउनु?
तपाईंहरू आफैँले स्क्रिप्ट लेखेर देखाउँदा कसो होला?
सबै मान्छेले सबैथोक गर्न सक्दैन नि। म अभिनय गर्ने मान्छे, अभिनय जति पनि गर्नसक्छु। तर, नाटकै लेख्न त सक्दिनँ। यद्यपि, दयाहाङ, खगेन्द्र लामिछानेहरूले स्त्रि्कप्टतिर पनि हात हालेका छन् अहिले।
तपाईंले भारतको एनएसडी (नेसनल स्कुल अफ ड्रामा)बाट नाटकको अध्ययन पूरा गर्नुभयो। भारतमै काम गर्ने अवसर पाइन्थ्यो होला। तर, तपाईं नेपालै आउनुभयो नि?
एकचोटि बलिउड छिर्न ट्राई गरेको थिएँ। 'अशोका' फिल्मका लागि कन्ट्रयााक्ट पेपर पनि पाइसकेको थिएँ। सबैथोक तयार भइसकेपछि घरबाट फोन आयो। म नेपाल नआई नहुने भयो। यता आएपछि उताको म्याद गुजि्रयो। पछि, फिल्मका डाइरेक्टरले गाली पनि गरे। 'राम्रो चान्स मिस गर्यौा' भने। त्यसपछि भने म बलिउडतिर लागिनँ। आफू सानो शहर (पोखरा) को मान्छे, दिल्लीको आधुनिकता देखेर आत्तिएको पनि थिएँ। 'जे गरे पनि नेपालमै गर्छु' भनेर स्वदेशिएँ।
नेपालमा काम नपाउने, बलिउडमा पनि टिक्न नसक्दा छटपटी भएन?
नेपालमा त्यो बेला रंगमञ्च ठप्प थियो। टीभी र रेडियोको बिगबिगी भएकाले पनि नाटक रेलको प्लेटफर्मजस्तो फुंग उडेको, सुनसान थियो। यहाँका कलाकार पनि रेल चढेर फिल्म खेल्न हिँडिसकेका थिए। मलाई समेत कतिले 'नाटक नगर्, घर न घाटको होलास्' भन्थे। तर, हामीले हार मानेनौँ।
नाट्य क्षेत्रमा खडेरी लागेका रंगमञ्चमा सक्रिय हुनुभयो। दर्शक आउँथे त त्यो बेला?
दर्शक भित्र्याउन के गरिएन भन्नुस् न? एकचोटि प्रज्ञा प्रतिष्ठानमा नाटक महोत्वस चलिरहेको थियो। मान्छे आउँदैनन्! मेरो पालो मुखभरि पेन्ट गरेर रोडमै नाच्ने, उफ्रिने गर्न थालेँ। 'धेरै पढेर खुस्किएछ' भने कतिले। तर, बाटो हिँड्ने मान्छेहरू छक्क परेर मेरो चर्तिकला हेर्न थाले। ती मान्छेलाई बटुलेर भित्र लगेर नाटक देखाएको थिएँ। कहिले थिएटरको छानामा चढेर हामफालौँला झैँ गर्दिन्थे। 'मर्ने भयो यो' भनेर मान्छे गुटुटु भित्र आउँथे। तिनलाई समातेर नाटक देखाइन्थ्यो। यस्ता तिकडम धेरै अपनाइयो।
पोखरामा छँदै नाटक खेल्न थाल्नुभएको हो?
मैले १३ वर्षको उमेरदेखि नै नाटक खेलेको हुँ। तर, धेरै वर्षसम्म पनि यसलाई 'सिरियसली' लिएको थिइनँ। पछि सरुभक्तका कविता, नाटक पढ्न थालेपछि म कवि भएँ। कविता लेख्न थालेपछि निकै गम्भीर पनि भएछु। आफूलाई व्यक्त गर्ने माध्यम कविता र नाटक भएको पाएँ। नाटकमा अझ बढी चासो लाग्यो। यसमै लागिपरेँ।
स्कुले जीवनमा बडो अराजक हुनुहुन्थ्यो रे?
चुलबुले थिएँ। स्कुल गएर पढ्न मन लाग्दैन थियो। ब्याग एकातिर लुकाएर दिनभरि कि त खोलामा माछा मार्न जान्थेँ, कि रूख चढेर चराका गुँड पत्ता लगाउँथेँ। नभए पोखरामा आयोजना भइरहने सांस्कृतिक कार्यक्रम हेर्न जान्थेँ। मैले नाटकमा आउनुअघि धेरै थोक गरेँ। मन लागेजति सबै गरेँ। चित्र कोरेँ, फुटबल खेलेँ, वेट लिफ्टिङ गरेँ, कवि भएँ, पोस्टर डिजाइनर बनेँ, डान्स पनि गरेँ। जे–जे गर्थें सबैमा राम्रो गर्दिन्थेँ। तर, एउटै चिजमा अडिनै नसक्ने बानी थियो। अडिएको भनेको यही थिएटर र फिल्ममा हो।

प्रकाशित: ५ चैत्र २०७० ०८:२६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App