‘समाजले महिलाको अस्तित्व गन्दैनथ्यो, त्यही आक्रोशले राजनीति नबुझ्ने उमेरमै म महिलावादी भइसकेकी रहिछु,' २०३३ बाट राजनीतिक जीवन प्रवेश गरेकी पम्फा विगतका पाइला यसरी गम्छिन्।
आठ कक्षा पढ्दै गर्दा अनेरास्ववियुको भूमिगत राजनीतिमा संलग्न भइन् उनी। राजनीतिक प्रशिक्षणले उनलाई सिकायो, ‘महिला असमानता र विभेदको सम्बन्ध त राजनीतिसँग पो रहेछ।'
पम्फा त्यस्तो सामाजिक परिवेशमा राजनीतिमा सक्रिय भइन् जतिबेला महिला राजनीतिमा वर्जित थिए। व्यवस्थाविरोधी आन्दोलन कसैले गर्नुहुन्न भन्ने मान्ययता थियो। क्रान्तिकारी कम्युनिस्ट राजनीतिमा लाग्दाको परिणाम सम्झेरै मान्छे हायलकायल हुन्थे। पम्फा तेस्रो, कठिनतम बाटो सोझिइन्, राजनीतिको।
२०३६ सालमा पुल्चोक क्याम्पसमा इन्जिनियरिङ पढ्न आएपछि उनको विद्यार्थी राजनीति अझ फैलियो। त्यतिबेला पार्टीका ऐनासरि थिए विद्यार्थी संगठन। देशको जनमत संग्रह उनले विद्यार्थी नेतृको हैसियतले बुझ्न पाइन्। विपरीत धु्रवको राजनीतिमा लाग्ने महिलालाई कतिसम्म दुःख हुन्छ भन्ने यथार्थ उनलाई त्यही समयले बुझायो।
२०३७ सालमा महँगीविरुद्ध आन्दोलन गर्दा पम्फा जेल परिन्। ‘मरेको भए बरु केही हुँदैनथ्यो। जेल पर्नु जति इज्जत फाल्ने काम अर्को थिएन तत्कालीन समाजमा,' उनी सम्झन्छिन्।
सम्पन्न परिवारकी छोरी उनलाई काठमाडौं पढ्न पठाएर परिवारले गाउँभरि कसैले नगरेको काम गरेको थियो। छोरीको नियतिसँगै समाज बदल्ने प्रयास गरेको थियो उनको परिवारले। पम्फा त झन् आम महिलाको नियति बदल्ने मोर्चामा आबद्ध भइन्। ‘समाज बदल्ने काम राजनीतिले मात्र गर्नसक्छ, त्यो पनि क्रान्तिकारीले मात्र,' उनी राजनीतिको यही कठिन बाटोमा प्रतिबद्ध भएर लागिन्।
उनलाई नरबहादुर कर्माचार्यले नेकपाको सदस्य बनाए। पारिजात अध्यक्ष रहेको अखिल नेपाल महिला संगठनमा उनको संलग्नता बढ्यो। संयुक्त जनमोर्चाको त उनी अध्यक्ष नै भइन्।
‘महिलालाई पार्टी अध्यक्ष हुन अहिले त असम्भवजस्तो छ। त्यतिबेलाको त्यो जिम्मेवारी पाउँदा परिपक्व बनेको अनुभव गरेँ,' २०४६ सालपछि परिवर्तित राजनीतिमा पनि उनले महिला मुक्तिको सम्भावना देखिनन्। २०५२ सालमा माओवादीमा लागेर उनी सशस्त्र क्रान्तिमा होमिइन्।
परिवारले पहिले त उनको राजनीतिक यात्रामा विरोध जनायो, पछि मौन बस्यो र अन्तिममा समर्थन।
नेपाली राजनीतिको विभिन्न चरणमा उनी सक्रिय बनिन्। स्कुल पढ्दाको राजनीतिक जीवन निकै प्रतिकूल थियो। काठमाडौंमा विद्यार्थी राजनीतिताका धेरै समय दमन र धरपकड सहेर बित्यो। जेल, नेल र हिरासत पानीपँधेरोजस्तो भयो।
पञ्चायतकालका मरिचमान सिंह, सूर्यबहादुर थापा र प्रजातन्त्रकालका मनमोहन अधिकारी, शेरबहादुर देउवा र गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री हुँदा उनले एउटा पक्ष समान पाइन्– गिरफ्तारी।
आफू संलग्न जनयुद्धले महिलाको चेतना विस्तार गरेर ठूलो उपलब्धि हासिल गरेको दाबी छ उनको। ‘महिलाहरुमा अन्यायको प्रतिरोध गर्ने समार्थ्य राजनीतिक कारणले नै बढाएको हो। १० वर्षमा हामीले हजार वर्षमा नगरेको उपलब्धि प्राप्त गर्यौं ,' उनी भन्छिन्।
पम्फा उपाध्यक्ष रहेको पार्टी नेकपा–माओवादीले गएको संविधानसभा चुनावमा भाग लिएन। अहिलेको व्यवस्थासँग प्रशस्त गुनासो छ उनको, ‘त्यति दुःख गरेर जुन उद्देश्यका लागि परिवर्तन खोज्यौं, त्यो पाउन सकिएन।'
प्रकाशित: २५ फाल्गुन २०७० ०१:३४ आइतबार





