०३७ सालमा पुष्पकमल दाहालको नेतृत्वमा गठन भएको नेपाल युवक संघको संस्थापक केन्द्रीय सदस्य रहेकी श्रेष्ठ ०३६ को जनमत संग्रहमा धाँधली भएको भन्दै युवा विद्यार्थीको नेतृत्व गर्दै सडकमा निस्किइन्। त्यो आन्दोलनले राजनीतिप्रतिको लगाव अझै बढेर गएको श्रेष्ठ बताउँछिन्। ०४० सालमा चौथो महाधिवेशन विभाजन भएपछि उनले अनेमसंघको नेतृत्व गर्ने अवसर प्राप्त गरिन्। ०४७ सालमा पार्टी एकीकरणपछि पनि उनले नै महिला संघको निरन्तर नेतृत्व पाइन्। एकता केन्द्र र नेकपा माओवादीको एकीकरणपछि उनी केन्द्रीय सदस्य तथा महिला विभाग प्रमुख छिन्।
नेपालमा सुन्दरी प्रतियोगिताको विरोध गर्ने पनि श्रेष्ठहरुकै समूह थियो। पञ्चायतकालमा घटेको चर्चित नमिता–सुमिता हत्याकाण्डको विरोधमा सडक तताउने पनि उनीहरु नै थिए। ‘नमिता–सुमिता हत्यकाण्डको विरोधमा भएको आन्दोलनको अग्रपंतिमा हामी थियौं,' पुराना दिन सम्झँदै श्रेष्ठ भन्छिन्, ‘पैतृक सम्पत्तिमा छोरीलाई समान अधिकार दिनुपर्छ भन्दै संसद भवनभित्र कालो झन्डा देखाएको दिन आजैजस्तो लाग्छ।'
विगतका तुलनामा अहिले महिलाअधिकार क्षेत्रमा सुधार आए पनि पर्याप्त नभएको बताउने श्रेष्ठ अधिकारमा पहुँच दिलाउन सक्नुपर्ने बताउँछिन्। आर्थिक सामाजिक अधिकारमा समानता दिलाउन अझै सशक्त ढंगबाट अघि बढ्नुपर्ने उनको धारणा छ।
प्रकाशित: २५ फाल्गुन २०७० ०१:१७ आइतबार





