२०४६ को आन्दोलनमा उनी डटेर लागिन्, गिरफ्तार भइन्। त्यो बेला पुलिसले हिर्काएको काँडेलौरीको दाग अझै मेटिएको छैन। पहिला अर्धभूमिगत थिइन्। बहुदल आएपछि पार्टीमा पूर्णकालीन भइन्।
उनलाई राजनीतिमा लाग्न सहज थिएन। ‘परिवारभित्रै संघर्ष गर्नुपर्योइ,' उनी भन्छिन्। छिमेकीले छोरी बिग्रिएको खबर फैलाउँथे। तर, यस्तो खबर उनका बाबुलाई असैह्य लाग्दैनथ्यो।
प्रहरीले पक्राउ गरेपछि गाउँलेले उनको परिवारलाई छोइछिटो गर्ने प्रयास गरे। मुखिया परिवारबाट पहिलोपटक बाहिर आएर राजनीति गर्ने उनको साहस चर्चाको विषय बन्यो।
राजनीतिक पृष्ठभूमिकै परिवारमा विवाह भएकाले उनलाई थप सहज भयो। जिल्ला अध्यक्ष निर्वाचित हुँदा पार्टी चलाउने कुरामा उनलाई चिन्ता थिएन बरु महिला भएकै कारण हेर्ने दृष्टिकोणले फरक पार्छ कि भन्ने लाग्थ्यो। ‘तर त्यस्तो स्थिति आइपरेन,' उनले भनिन्।
समाज महिलामैत्री बन्दै गएकाले महिलाले क्षमता विकास गर्नुपर्ने उनको मान्यता छ। समाज धेरै परिवर्तन हुन सकेको छैन तर सामाजिक चिन्तनलाई महिलाले नै परिवर्तन गर्नुपर्ने उनी बताउँछिन्। ‘आफैं संघर्ष गरेर अधिकार लिनुपर्छ, अरुले दिँदैनन्,' उनी भन्छिन्। उत्साही भएर अघि बढे महिलाले जुनसुकै बागडोर सम्हाल्न सक्ने उनको ठहर छ।
प्रकाशित: २५ फाल्गुन २०७० ०१:१२ आइतबार





