उनले ‘कहाँ भेटिएला', ‘सन्तान', ‘ट्रकडाइभर', ‘मायालु', ‘अल्लारे', ‘करोडपति', ‘नेपालीबाबु', ‘डर', ‘पालेदाइ', ‘माइली', ‘हामी तीन भाइ', ‘सुखदुःख', ‘मसान', ‘छोडी गए पाप लाग्ला', ‘साथी म तिम्रो' र ‘सो सिम्पल' लगायतका फिल्ममा काम गरेका थिए। श्रद्धान्जली दिन पशुपति पुगेकी अभिनेत्री करिश्मा मानन्धर भावुक देखिइन्। ‘उनी मेकअप आर्टिस्टभन्दा बढी साथी थिए। सहयोगी स्वभावका उनले कामप्रति कहिल्यै गुनासो गरेको सुनिनँ। उनीसँग काम गर्दा मेकअपबारे पनि धेरै नयाँ कुरा सिक्न पाइन्थ्यो,' उनले भनिन्। करिश्माले अभिनय गरेको ‘ट्रकडाइभर'मा साम्भाले मेकअप आर्टिस्टको रुपमा काम गरेका थिए।
निर्माता निर्देशक अशोक शर्माले साम्भाको निधनले नेपाली फिल्म उद्योगले असल कलाकार गुमाएको प्रतिक्रिया दिए। ‘वासुदेव फिल्मपछि उनी भारत फर्किएनन्। २०४० सालतिर हामीसँगै भोटेबहालमा डेरा लिएर पाँच वर्ष बस्यौं। पछि उनको घरजम गराउने जिम्मा पनि मेरा काँधमा थपियो। नाटकदेखि सुरु भएको हाम्रो दौंतरी धेरै फिल्ममा जारी रह्यो। पछिल्लो पटक सात महिनाअघि भेट हुँदा रोगबाट ग्रसित देखिन्थे,' निर्माता शर्माले भने।
‘सो सिम्पल' फिल्ममा पाटिलसँग काम गरेका निर्माता केशव भट्टराईले फिल्म क्षेत्रले प्राविधिकलाई ध्यान दिन नसकेको गुनासो गरे। ‘उनी कामप्रति जिम्मेवार थिए। सुटिङमा आफ्नो काम सिध्याएर अन्य प्राविधिक कुरामा समेत उनले सहयोग गर्ने गरेका थिए,' उनले भने।
प्रकाशित: १२ फाल्गुन २०७० २३:२१ सोमबार





