१० माघ २०८२ शनिबार
image/svg+xml
अन्य

पेटभित्र साढे २ किलो कोकिन

काठमाडौं- नेपाल प्रहरीले नामिबियाका एक नागरिकलाई साढे २ किलो कोकिनसहित पक्राउ गरेको छ। ब्राजिलबाट दुबई ट्रान्जिट हुँदै फ्लाई दुबईको एफजेड ५७५ विमानबाट काठमाडौं आएका रेमन जुङ्गु ओपेललाई लागुऔषध नियन्त्रण ब्युरोले पक्रेको हो।

ओपेल फागुन ६ गते साँझ ६ बजे पक्राउ परे पनि पेटबाट कोकिनका क्याप्सुल निकाल्न समय लागेकाले प्रहरीले आइतबार मात्र घटना विवरण सार्वजनिक गरेको छ। प्रहरीका अनुसार उनी क्याप्सुल आकारका कोकिन निलेर काठमाडौं आएका थिए। 
ब्युरो प्रमुख डिआइजी प्रतापसिंह थापाका अनुसार विमानबाट उत्रिएदेखि नै ओपेलले असहज व्यवहार देखाएका थिए। हतारहतार सामान लिएर विमानस्थलबाट बाहिरिँदै गरेका उनलाई प्रहरीले विमानस्थलको गोल्डनगेटबाट नियन्त्रणमा लिएर साथमा रहेको झोला खोतलेका थिए। झोलामा प्लास्टिकले बेरेको ४५ वटा क्याप्सुल फेला परेपछि उनलाई नियन्त्रणमा लिएर कोटेश्वरस्थित कार्यालयमा लगेको डिआइजी थापाले जानकारी दिए। 'कार्यालय पुग्दासमेत व्यवहार सहज नदेखिएपछि ब्युरोका प्रहरीले चिकित्सकीय परीक्षणका लागि उनलाई प्रहरी अस्पतालमा पुर्याेएका थिए,' उनले भने, 'उनको पेट क्याप्सुल नै क्याप्सुलले भरिएको थियो।'
उनको पेटमा रहेको कोकिन चिकित्सकीय प्रणालीबाट निकाल्न मात्रै तीन दिन लाग्यो। चिकित्सकले उनको पेटबाट १ सय १२ वटा कोकिन क्याप्सुल निकाल्दा ब्युरोकै टोली छक्क परेको थियो। झोलामा रहेको र पेटबाट निकालिएको क्याप्सुल जोख्दा २ किलो ६ सय ६९ ग्राम थियो। 
'पहिला त उनको झोलामा मात्र कोकिन होला भन्ने लागेको थियो,' डिआइजी थापाले भने, 'पेटबाट १ सय १२ वटा क्याप्सुल पो निस्कियो।' लागुऔषधको अन्तर्राष्ट्रिय बजारमा उक्त कोकिनको मूल्य १० करोडमाथि पर्ने प्रहरीको दाबी छ।
प्लास्टिकको टेपले बेरेर क्याप्सुल आकारमा ढालिएको कोकिन निलेर उनी नेपाल आएको अनुसन्धानमा खुलेको ब्युरोका एसएसपी रणबहादुुर चन्दले जानकारी दिए। दुबईमा १० घन्टाको ट्रान्जिटका क्रममा पेटमा रहेको ४५ वटा क्याप्सुल बाहिर निस्केपछि त्यसलाई हाते झोलामा बोकेर उनी नेपाल आएका थिए।
काठमाडौंमा सम्पर्कमा आउनेलाई कोकिन दिएर २० हजार अमेरिकी डलर लिन निर्देशन दिइएअनुसार आफू काठमाडौं आएको उनले प्रहरीलाई जानकारी दिएका छन्, तर कोकिन लिन आउने व्यक्तिको पहिचान भने खुलाएका छैनन्। बीचबाटोमै पक्राउ परेकाले उनी कुन होटलमा जाँदै थिए र होटल कसले बुक गरेको थियो भन्ने तथ्य खुल्न सकेन। 
डिआइजी थापाले कोकिन तस्करीको जालोमा ओपेलको संलग्नताबारे उनको देशसँग थप जानकारी मागिएको जानकारी दिए। 'अहिले उनको पृष्ठभूमि केलाउँदै नेपालमा रहेका सहयोगी पहिल्याउने प्रयासमा सक्रिय छौं,' डिआइआजी थापाले भने।
नेपाल कोकिनको ट्रान्जिट
लागुऔषधमध्ये अत्यन्त महँगो मूल्यमा बिक्री हुने कोकिनको लक्षित बजार युरोप नै हो। ब्राजिल, पेरूलगायत देशमा कोकाको पातबाट उत्पादन हुने कोकिनको 'रुट' मात्र हो नेपाल। 
अफगानिस्तानमा उत्पादित सेतो हेरोइन युरोपेली बजारमा पुर्या्उन लागुऔषधका अन्तर्राष्ट्रिय कारोबारी नेपाललाई ट्रान्जिट बनाउन लामो समयदेखि सक्रिय छन्, नेपाललाई रुट बनाएर गरिने कोकिन तस्करी भने नौलो घटना हो। दक्षिण अमेरिकी देशमा उत्पादन हुने कोकिनलाई सिधै युरोपेली बजारमा भिœयाउन कठिन हुन थालेपछि कारोबारी पछिल्लो समय नेपालमा समेत सक्रिय देखिएका छन्। 
नेपालमा पहिलो पटक २ वर्षअघि थाई नागरिक सुपारेरात सिन्तोस १ किलो कोकिनसहित पक्राउ परेकी थिइन्। माछा प्याक गर्ने टिनको बट्टाभित्र कोकिन राखेर पेरुबाट अर्जेन्टिना हुँदै नेपाल आउँदा उनी पक्राउ परेकी थिइन्। उनी मलेसिया हुँदै युरोप जान नेपाल आएको खुलेको थियो। उनी अहिले कारागारमा छिन्।
प्रहरीले आइतबार सार्वजनिक गरेको कोकिन नेपालमा फेला परेकोमध्ये सबैभन्दा ठूलो परिणाम भएको डिआइजी थापाले बताए। तर उनले उक्त कोकिन कता लैजान नेपाल भिœयाइएको हो भन्ने खुलाउन सकेनन्। 
ब्युरोको हिरासतमा रहेका ओपेल एक भारतीय नागरिक र अर्का अफ्रिकी नागरिकले कोकिन नेपालसम्म पुर्याआएवापत २० हजार अमेरिकी डलर (२० लाख रुपैयाँ) दिने सर्तमा नेपाल आएको खुले पनि ती दुई पूर्ण पहिचान खुलेको छैन। 
ब्युरोका एसएसपी चन्दले हवाई मार्ग जोखिम हुने विश्लेषण गदर्ैै स्थलमार्गको उपयोग गरी तेस्रो देशमा कोकिन लैजान ओपेल नेपाल आएको हुनसक्ने बताए। 'पहिलो आशंका भारत हो कि भन्ने देखिन्छ,' चन्दले भने, 'पछिल्लो समय लागुऔषधको अन्तर्राष्ट्रिय बजारमा चरेस र सेतो हेरोइन पुर्याोउन चीनको बाटो समेत प्रयोग गरिएकाले त्यो सम्भावना पनि नकार्न सकिँदैन।'

प्रकाशित: ११ फाल्गुन २०७० २३:४७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App