१० माघ २०८२ शनिबार
image/svg+xml
अन्य

दुई सातामा २ हजार जना पक्राउ

काठमाडौं- काठमाडौंको सुरक्षा अवस्थामा सुधार ल्याउन महानगरीय प्रहरी परिसर काठमाडौंले कार्यान्वयनमा ल्याएको विशेष सुरक्षा अभियानको १५ दिनमा २ हजार १ सय जना पक्राउ परेका छन्। काठमाडौं परिसरले आफ्नो कार्यक्षेत्रमा सार्वजनिक अपराध र गुन्डागर्दी बढेको निष्कर्ष निकाल्दै विशेष अभियान सञ्चालन गरेको थियो। अभियानका क्रममा गुन्डागर्दीमा संलग्नको पक्राउ, अवैध मदिरा र जुवातास नियन्त्रणलाई प्राथमिकतामा राखेको थियो।परिसरले शनिबार सार्वजनिक गरेको विवरणअनुसार माघ २३ देखि फागुन ८ सम्म परिसर अन्तर्गतका वृत्त र प्रभागका प्रहरीले विभिन्न अपराधमा संलग्न आशंकितलाई पक्रेको हो। 
परिसरका प्रवक्ता भीमप्रसाद ढकालका अनुसार अभियान अन्तर्गत २ हजार १ सय ३१ जना पक्राउ परेकामा ४ सय ९९ जना विभिन्न आपराधिक गतिविधिमा संलग्न रहेको अभियोगमा अनुसन्धानको दायरामा तानिएका छन्।
प्रहरीले १ हजार ६ सय ३२ जनालाई कुनै घटनामा संलग्न रहेको नदेखिएपछि मुक्त गरेको थियो। पक्राउ परेकामध्ये ३ सय ९८ जनामाथि सार्वजनिक अपराध, ५ जनालाई अपहरण तथा शरीरबन्धक उद्योग, २ जना हत्या, ४ जना बलात्कार, ३४ जना जुवा, १४ जना चोरी, १९ जना लागुऔषध, ६ जना हत्या प्रयासको अभियोगमा प्रहरी हिरासतमा छन्। 
प्रहरीले काठमाडौंका विभिन्न स्थानका पसलबाट १९ हजार ८ सय ४० लिटर मदिरा फेला पारेर नष्ट गरेको थियो। अधिकतम शंकास्पद व्यक्तिलाई पक्रेर छानबिन गरी घटनामा संलग्न देखिनेलाई कारबाही प्रक्रियामा ल्याउने गरिएको डिएसपी ढकालले बताए। उनका अनुसार रिहा भएकामध्ये केही तारेखमा छाडेर निगरानीमा राखिएको छ। 
४८ गुन्डा फन्दामा
पटकपटक आपराधिक घटनामा सक्रिय हुँदै आएका ४८ जनालाई पक्राउ गरी उनीहरुलाई 'केही सार्वजनिक अपराध र अपहरण तथा शरीर बन्धक उद्योगमा मुद्दा दर्ता अनुसन्धानको दायरामा ल्याइएको ढकालले जानकारी दिए। 
ढकालका अनुसार जबर्जस्ती चन्दा उठाउने, विभिन्न व्यापारी, हाउजिङ कम्पनी सञ्चालक, ठेकेदार तथा विभिन्न व्यवसायबाट जबर्जस्ती रकम माग गर्ने, असुल गर्ने र माग गरेको रकम नपाए परिवारसमेतलाई अपहरण गर्ने र ज्यानको धम्की दिन सक्रिय रहेकालाई टार्गेट गरेर अभियान चलाइएको थियो। 
प्रहरीको आफ्नै सूचना सञ्जाल र पीडितबाट आएको सूचनाका आधारमा प्रहरीले हाउजिङ, म्यानपावर व्यवसायी र अन्य व्यवसायीलाई धम्क्याएर रकम माग गर्नेको सूची बनाएर खोजी सुरु गरेको थियो।
प्रहरीले शनिबार नै सामुदायिक सेवा केन्द्रको आवरणमा व्यवसायीलाई धम्क्याएर रकम असुलेको अभियोगमा माइला लामाका छोरा सुकबहादुर लामा (बाघे) लाई पक्रेको छ। 
काठमाडौंले उनलाई स्वयम्भुमा व्यवसायीलाई दुःख दिएको अभियोगमा पक्रेको हो। सेवा केन्द्रको उपाध्यक्ष रहेका उनले सोही केन्द्रलाई रकम असुलीको माध्यम बनाएको परिसरको दाबी छ। 
बाघे प्रारम्भमा दिपक गुरुङ (मनाङे)को समूहमा रहेर आपराधिक गतिविधिमा सक्रिय थिए। उनी विभिन्न आपराधिक घटनामा संलग्न रहेको अभियोगमा पक्राउ परे पनि छुट्दै आएका थिए। 
मनाङेको समूहमा रहेका बेला उनी २०५९ भदौ १७ गते लोचनप्रसाद विमलीबाट १ लाख २८ हजार रुपैयाँ लुटेको अभियोगमा पक्राउ परेका थिए। विलमी होटल उडल्यान्डमा गएका बेला मनाङे र बाघेसहितको टोलीले उनलाई कुटपिट गरेर रकम लुटेको प्रहरी दाबी छ। 
सो अभियोगमा बाघे काठमाडौं जिल्ला अदालतबाट साधारण तारेखमा छुटेका उनी २०६४ कात्तिक १५ गते बौद्धको ह्यात रिजेन्सी होटलमा नगेन्द्र श्रेष्ठलाई खुकुरी हानेको घटनामा पक्राउ परे पनि लामो समय प्रहरी हिरासतमा बस्नु परेन। उनलाई जिल्ला प्रशासन कार्यालयले २८ हजार धरौटी राखेर मुक्त गरेको थियो। 
बाघे तेस्रो पटक मितेरी यातायातका शंकर शर्मा गुरागाईंको अपहरणमा मुछिए। कलंकीबाट शर्माको अपहरण अभियोग लागेका उनी सो केसमा भने कारागार पुगेका थिए। 
अपहरण अभियोगको सजाय काटेर बाहिरिएलगत्तै उनले पुनः आफ्नो आपराधिक गतिविधिलाई निरन्तरता दिएको प्रहरीले जानकारी दिएको छ। पक्राउ परेका ४८ मध्ये ३ जनामाथि अपहरण अभियोगमा अनुसन्धान भइरहेको छ भने अन्य सबैलाई सार्वजनिक अपराधको अभियोगमा हिरासतमा राखिएको छ। 
१५ दिनको बीचमा रकम असुलीको अभियोगमा तेजेन्द्र गुरुङ, बलराम सापकोटा लगायतकालाई पक्रेको थियो। दीपक तालु, कान्छा लामा, पञ्चे लामा, टोकल लामा लगायतका पक्राउ परेका छन्।

प्रकाशित: १० फाल्गुन २०७० २२:३४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App