१० माघ २०८२ शनिबार
image/svg+xml
अन्य

क्यान्सरझैं फैलँदैछ चुरेदोहन

सुन्दरपुर (उद्यपुर)– 'पहिले फुसको छाप्रो बनाएर केही समय त्यसै छाड्छन्। अनि चुरेवनकै रुख काटेर सखुवाको खम्बा गाड्छन् र एक–दुई कोठा बनाउँछन्। यति गर्दा पनि कसैले औंला नउठाए क्रंक्रिटकै घर बनाउँछन्,' सेक्टर वन कार्यालय, सुन्दरपुरका सहायक वनअधिकृत उत्तिमलाल साह चुरे अतिक्रमणको सिलसिला सुनाउँछन्।उनकै शब्दमा चुरे विनाशको प्रमुख कारण हो– चुरेक्षेत्रका भू–अतिक्रमण।
'क्यान्सरजस्तै देशभर फैलिएको छ चुरे अतिक्रमण,' उनी अझ प्रस्ट पार्छन्, 'विशेषगरी राष्ट्रिय वन र चुरेमा यो रोग निको नहुनेगरी उकुज पल्टिएको छ।'
नागरिक टिम चुरेको अवस्थिति रहेका जिल्लामा अतिक्रमणपछि बसाइएका बस्ती अवलोकन गर्दै उदयपुर पुगेको थियो। चुरे विनाशका दृष्टिले उदयपुर अतिसंवेदनशील क्षेत्र हो। जिल्लाका ७ हजार ४ सय ३८ हेक्टरजति भू–भाग अतिक्रमित छ। त्यसमध्ये अधिंकाश क्षेत्र चुरे नै हो। चुरे पसारिएका ३४ जिल्लामध्ये बढी अतिक्रमित सूचीमा उदयपुर तेस्रो नम्बरमा छ।
सुन्दरपुर–४ को सेक्टर कार्यालयनजिकैका अधिकांश बस्तीमा कसैसँग घरजग्गाको लाजपुर्जा छैन। यसले प्रस्ट गर्छ– उनीहरू सबै अतिक्रमण गरेर बसेका छन्। त्रियुगा नदी सिन्धुली गाईघाट हँुदै दक्षिणपूर्व बहेको छ। नदीको दक्षिणी मोहडा यस जिल्लाको चुरे क्षेत्र हो। त्रियुगाकोे दक्षिणपश्चिम किनार पूरै अतिक्रमित बस्तीले आवाद छ।
'कुन जग्गा नम्बरी, कुन ऐलानी छुट्ट्याउनै गाह्रो छ,' साह भन्छन्, 'त्रियुगा नदीले घरबास खाइदियो भनेर चुरेतिर उक्लिने क्रम बढ्दो छ।'
छाप्रो बनाउँदा नै हटाउन सकिए मात्र अतिक्रमण रोक्न सकिने उनी बताउँछन्। 'नसके अतिक्रमणले क्यान्सरकै रूप लिन्छ,' जागिरे जीवनको अन्तिम दिन भेटिएका उनले नागरिकसँग अनुभव बाँडे, 'अतिक्रमण वनप्रशासनको मात्र होइन, नितान्त राजनीतिक समस्या हो।'
कसरी हुन्छ त अतिक्रमण? साहको अनुभव छ– राजनीतिक संरक्षणको आडमा, त्यसैले छाप्रा बनाएर जमिन हडप्न सुरु गर्नेलाई जोकोहीले छुनै सक्दैन।
'अतिक्रमित क्षेत्र राजनीतिक दलहरूको भोट बैंक भएका छन्,' साह थप्छन्, 'छाप्रा बनाउनेहरू पहुँचदार हुन्छन्, जोकोहीले छुनै सक्दैन।'
हामी सुन्दरपुर पुग्दा सेक्टर वन कार्यालयनजिकै चुरेभित्र एउटा क्रंक्रिट घर बन्दै थियो। कार्यालय भने मूकदर्शक। चुरेका सालका पुराना रुख काटिएका छन्। त्यही स्थानमा घरका पिलर ठडिएका छन्, अनि तिनै घरका व्यक्ति स्थानीय उपभोक्ता समितिका हर्ताकर्ता।
'हामीले कसलाई कारबाही गर्ने?' साह भन्छन्, 'अतिक्रमण रोक्ने त अब कल्पना पनि गर्न छाड्यौं।' उनका अनुसार सुन्दरपुरमा मात्र करिब ५० हेक्टर चुरे अतिक्रमण भएको छ।
सँगैको हडिया गाविसको हडिया बजार पूरै चुरेभित्र छ। आफूहरूलाई त्रियुगाको बाढीपीडित बताउनेहरू यहाँ बसेका छन्। चुरे पहाडमाथि नै उक्लिएर बस्ती बसालिएको देखिन्छ। घरआँगन परिसरमा सखुवाका लठ्ठा र दाउराका डंगुर छन्। चुरेमा पुराना सखुवाका रुख एक/दुई थान पनि भेट्न मुश्किल छ। अतिक्रमित बस्तीमा सडक, बिजुलीका पोल छन्। हडिया–७ अँधेरी चुरेको फेदमा रहेको सडकभित्र पूरै अतिक्रमित बस्ती देखिन्छ। त्यहीँ चुरेको खहरेले ढुंगागिट्टी बगाएर बस्तीमा ल्याएको छ। चुरेका ती खहरे दक्षिणबाट उत्तरतर्फ बस्ती हुँदै त्रियुगातर्फ सोझिएका छन्। चुरे, अतिक्रमित बस्ती, अनि सडक र केही नम्बरी बस्तीपछि त्रियुगा खोला– यहाँको भौगोलिक बनोट यही हो। सुन्दरपुर र हडियाका केही बस्ती चुरे अतिक्रमण गरेर बसेका छन्। यी बस्ती आफैंमा असुरक्षित त छन् नै, यिनीहरूबाट चुरे झन् असुरक्षित भएको साह बताउँछन्।
'वन प्रशासन अतिक्रमण र फँडानी रोक्न अक्षम भइसकेको छ। यहाँ पनि हामीले धेरै प्रयास गर्‍यौं तर सफल भएनौं। राज्य पूरै लागेमात्र सम्भव होला,' यो उनको जागिरे जीवनको पछिल्ला दुई वर्षको अनुभव हो। 'भर्खरै भोट दिएर जिताएका छन्, कुनचाहिँ राजनीतिक दलले मान्छन् र यिनीहरूलाई हटाउन?'
हडियासँगै जोडिएको चुरे फेदीमै रहेको जोगीदह–१ रुपनीटोलका सूर्य विष्ट चुरेबाट निस्किएका खोलाको सतह माथि उठ्दै आएको अनुभव सुनाउँछन्। 'चुरे बग्ने क्रम बर्सेनि बढिरहेको छ। पानीको सतह पनि घटिरहेको छ,' उनी भन्छन्, 'पिउने पानीकै समस्या बढेको छ।' चुरेको उत्तरतर्फ वारि उदयपुर पर्छ भने दक्षिण सीमामा सप्तरी।
हडिया हुँदै हामी त्रियुगा नदी पार गरेर बेल्टार पुग्यौं। त्रियुगाको पूर्वी किनारबाट बेल्टार जाँदै गर्दा त्यसको पूर्वी क्षेत्रमा पनि अतिक्रमण गरेर बसेका बस्ती भेटिए। बेल्टार बजारको पश्चिमबाट बगेको द्वारखोलासमेत अतिक्रमण भएको छ। खोलाका बगरमा घर बनाइएको छ। बेल्टारबाट गाईघाट जाने २२ किमी सडकको दाहिनेतिरको चुरेमा पनि बस्ती उक्लिएका छन्। गाईघाट पुग्नुअघिसम्मकै चुरेमा धेरै संख्यामा घर देखिन्छन्। चुरेको टुप्पोसम्मै घर बनाइएको देखिन्छ। वन पनि पातलिएको छ। फेदमा सडक छ। ठाउँठाउँमा चुरेबाट निस्किएका खहरे छन् जसले चुरेलाई निरन्तर बगाइरहेका छन्।
वनविज्ञानमा स्नातकोत्तर लाहानका चुरेविज्ञ दिनेशप्रसाद यादव उदयपुरमा पर्ने चुरेक्षेत्रको वन व्यापक फँडानी भएको बताउँछन्।
'उदयपुरअन्तर्गतको चुरेको पुराना पुस्ताका सखुवाका रुख सबै काटिएको छ। ती रुख सबै सिराहाका सःमिलमा बेचिन्छन्,' उनले भने, 'चुरेमा नयाँ पुस्ताका रुखमात्र देखिन्छ। यहाँको काठ स्तर राम्रो हुने भएकाले पनि बढी फँडानी भइरहेको छ।'
उदयपुर, सिराहा र सिन्धुलीको चुरे नांगिने क्रम बढ्दो छ। साहका अनुसार वन कार्यालयले आफ्नो कार्ययोजना बनाउँदा भएका रुखको उमेर बढाउने गर्छन्। धेरै काठ निकाल्न पाइने ध्येयले कम उमेरका रुखको पनि स्टक निकाल्छन्। 'कार्ययोजना बनाउने पैसा पनि ठेकेदारले दिने भएकाले उनीहरूले जति काठ निकाल्न भन्छन्, त्यही काठको इन्भेन्ट्री बनाउँछन्,' उनले भने।
अन्य जिल्लाका चुरे पनि यसैगरी अतिक्रमणको चपेटामा परेका छन्। सिराहाको इलाका वन कार्यालय, मिर्चैयाअन्तर्गतको फुलबरिया–९ हाथिमुन्डाको चुरे पनि अतिक्रमण भइरहेको छ। यस क्षेत्रमा पनि अतिक्रमण गरी बसाइएको नयाँ बस्ती भेटियो। मगर, महरा, मुसहर, दाहाललगायत सर्वसाधारण यस क्षेत्रमा अतिक्रमण गरेका बसेका छन्। 'पहिले एकदुई घर आएपछि आफन्तलाई बोलाए,' कार्यालयका फरेस्टर महेन्द्र यादवले भने, 'घरहरू दिनप्रतिदिन बढ्दै गएको छ।'
नागरिक टिमसँगै अतिक्रमित क्षेत्रमा पुगेका यादवले त्यहाँ अतिक्रमण गरेर बसेका थप घर फेला पारे। उनकै सामने अतिक्रमण गरेर बसेका व्यक्तिले चुरेमा डढेलो लगाइरहेका थिए। पहिले छाप्रो बनाउने, अनि खेतीका लागि चुरे फँडानी गरेर जमिन तयार गर्ने काइदा पनि यहाँ देखियो। यादवले पनि यो दृश्य टुलुटुलु हेरे। चुरेका सखुवाको रुख काटेर त्यसको ठाउँमा मकै, तिल र रहरको खेती गरेको पाइयो। यो क्षेत्र माओवादीको पकडमा रहेछ। पार्टीका हर्ताकर्ताले नै यहाँ अतिक्रमण गराएका रहेछन्। 'आफू रुख काटेर लैजान्छन्, अनि सुकुम्बासीलाई त्यहाँ बस्न जा भन्छन्, हामीले कसरी अतिक्रमण हटाउने?,' यादवले भने।
नयाँ बस्तीमा डरलाग्दो चुरे
सिन्धुलीको भिमानबाट निपाने गाविस हँुदै कटारी निस्किने चुरेको फेदको बाटो र त्यसलाई अतिक्रमण गरेर बसेको बस्तीको दृश्यले चुरेको आयु र त्यससँगै बसेको बस्तीको भविष्य जोखिममा परेको प्रस्ट देखिन्छ। सिन्धुलीमा चुरे सबैभन्दा बढी अतिक्रमित देखिन्छ।
भिमानबाट झन्डै २०/२५ किमिपूर्वतर्फ गएको गाभ्रेल बाटोको दक्षिण चुरे र उत्तरमा कमला नदी छ। यसबीच रानीबास र निपाने गाविस पर्छन्। यी गाविसका सबै वडा यही बाटोका दायाँबायाँ छन्। यी दुवै गाविस राजनीतिक हिसाबले माओवादी पकडमा रहेको स्थानीयको भनाइ छ।
यहाँका अधिकांश बस्ती एलानी जग्गामाथि बनेको स्थलगत भ्रमण क्रममा स्थानीयले बताए। बाटोदेखि दुई/तीन सय मिटरउत्तरको अधिकांश भू–भाग चुरेको हो, जहाँ सबै सालका रुख फँडानी भइसकेको छ।
अतिक्रमण गरेर बनाइएका घरका आँगनमा कतैकतै सालका बडेमानका रुख पनि देख्न पाइन्छ। चुरे फँडानी गरेर बनाइएका जमिन पनि प्रशस्त छन्, ती जमिनका बीचबीचमा ढाल्न बाँकी सालका पुराना रुख धेरै संख्यामा देखिन्छ। बाटोको उत्तरतर्फको भू–भाग अतिक्रमणमा त परेकै छ। बाटोको दक्षिण चुरे पनि बिस्तारै अतिक्रमणको चपेटामा पर्दैछ। चुरे फेदमा पुराना पुस्ताका केही रुख देखिए पनि चुरेक्षेत्रमा एउटा पनि त्यस्ता रुख देखिँदैन, सबै नयाँ मात्रै।
अतिक्रमण गरेर बनाएका सबै घर सालका काठबाट बनेको देखिन्छ। खाँबादेखि भित्तासम्म सालका काठ लगाइएका छन्। घरआँगन र बारीमा सालका गोलिया छन्। दाउराका खलिया त कतिकति! जता हेरे, जसरी हेरे पनि रानीबास र निपानेका अधिकांश वडा र बस्तीमा काठमात्र देखिन्छ।
अतिक्रमणपछि रुख ढाल्ने तरिका सबैतिर उस्तै देखिन्छ। प्राविधिकका अनुसार पहिले फेदको बोक्रा तास्ने वा त्यसलाई अलिकति काट्ने अथवा वरिपरिबाट सुकेको दाउरा राखेर आगो लगाइदिने। यति गरेपछि रुख सुक्छ।
धेरै पहिले अतिक्रमण भएको भनिए पनि निपाने–६ मा नयाँ–नयाँ घर बनिरहेको देखियो। अर्को डरलाग्दो कुरा त के भने बाटोको बायाँउत्तर चुरेतर्फ पनि बस्ती विस्तार हुन थालेको छ। बस्तीहरु बिस्तारै चुरेतिर उक्लिँदै छन्। बायाँतर्फ गाईगोठ बनाउने र स–साना छाप्रा राख्ने क्रम सुरु भएको छ भने कतिपय स्थानमा भुइँकटहरजस्ता बिरुवा रोप्न थालिएको छ। चुरेका नयाँ पुस्ताका सालका रुखका बीचबीचमा यस्ता काम भइरहेका छन्।
'कमला नदीले नम्बरी जग्गा काटेपछि यो बस्ती चुरेतिर उक्लिएको हो,' निपाने–५ खुट्टेपानीका रामभरोस अधिकारी दनुवारले भने, 'यो सबै क्षेत्र ऐलानी हो।' उनले यो बस्ती १८ वर्ष पुरानो भएको बताए। दनुवारका अनुसार सडकसँगै जोडिएका अधिकांश घर ऐलानीमा पर्छ, दुई सय मिटर तलका मात्र नम्बरी जग्गामा बनेका छन्। कमला नदीपारि महाभारत पर्वतशंृखला छ।
निपानेका एकदेखि ७ वटा वडा यही सडक खण्डमा पर्छ। यस गाविसको तुलनामा रानीबासमा कम क्षेत्र अतिक्रमित छ।
अतिक्रमित क्षेत्रलाई जानी–जानी सरकारी निकाय र गैरसरकारी क्षेत्रले पनि सुविधा दिएका छन्। निपानेमा विद्युत प्राधिकरणले बिजुली उपलब्ध गराएको छ। विभिन्न गैरसरकारी संघसंस्थाले परियोजना पुर्‍याएका छन्। खानेपानीको समस्या भने अन्ततिरझैँ बढ्दो छ।
रानीबास–६ चन्दनपुरकी कौशिला कुम्मर सेनाको गणमा पानी भर्न आएकी  भेटिइन्। कमला किनारको इनार धेरै टाढा भएकाले चुरेभित्रै रहेको गणमा पानी लिन आएको उनले बताइन्। 'गाउँमा तीनवटा इनार छ, तीनवटै सुकेपछि यहाँ आएको,' उनले भनिन्, 'गणले पानी दियो भने खान पाइन्छ, नभए छैन।'
अहिले गण रहेको स्थानमा पहिले माओवादी शिविर थियो। त्यही शिविरलाई वन तथा वातावरण संरक्षण गण बनाइएको छ। गणको धारामा पानी लिन आउनेको भिड देखिन्थ्यो।  
चुरे अतिक्रमण र वनफँडानीको स्पष्ट चित्र देख्न सकिन्छ यी दुई गाविसमा। 'रुख यसरी मासिएपछि चुरे नबगोस्् किन?' यहाँ आइपुग्ने जोकोहीले प्रश्न गर्न सक्छ। त्यसैले होला, चुरेबाट कमला खोलातिर तेर्सिएका खहरेका आकार हरेक वर्ष फराकिँदै गएको छ। फैलिँदै गएका सयौंको संख्याका खहरेका फेदमा नयाँ बस्ती भेटिन्छ। खोलाले चुरेको कमलो माटो बगाएको छ। वर्षायाममा चुरेबाट बगेर आउने ढुंगा, गेग्र्यान र माटो मिश्रित लेदोले खहरेको सतह उक्लिएको छ। यो सोझै अतिक्रमित बस्तीतर्फ छिरेको छ। बाटो हँुदै उत्तरतर्फबाट बस्तीमा यी खहरे जथाभावी रुपमा फैलिएको दृश्य यहाँ देख्न पाइन्छ। यी खोलामा ढुंंगागिट्टीको मात्रा अथाह छ। वर्षाकाल पानी चारैतिर फैलिएर बस्तीमा छिर्ने गरेको स्थानीय बताउँछन्। खहरेबाट जोगिन उनीहरुले सडकको बायाँ ढुंगा थुपारेर जालीरहित तटबन्ध गरेका छन्। कतिपय स्थानमा तारजाली नै प्रयोग गरिएको छ। घरबारी र आँगनमा समेत खहरे पसेको देख्न पाइन्छ यहाँ। कुनै पनि खहरे खोला मानव बस्तीको नियन्त्रणमा देखिँदैन। तैपनि नयाँ अतिक्रमित क्षेत्र बढिरहेको छ। उत्तरबाट पूर्व हुँदै दक्षिण बगिरहेको कमला नदीको बाढी र त्यसले घरखेत बगाएपछि चुरेतर्फ बस्ती सरेको स्थानीयको भनाइ छ।
बाटो ग्राभेल गरिएपछि अतिक्रमण झनै बढेको देखियो यस क्षेत्रमा। भिमानबाट रानीबास हुँदै यस बाटोमा यात्रा गर्दा चुरेका खहरे दक्षिणबाट उत्तरतर्फ झन्डै ५०/५० मिटरको दुरीमा भेटिन्छन्। ती सबै चुरे विनाशका प्रतीक भएका छन्। चुरे बगेको सपाट दृश्य देखिन्छ यहाँ। यही बाटोमा पर्ने कमलामाई नगरपालिका–१४ स्थित काउछे सामुदायिक वनमा सालका गोलिया सयौंको संख्यामा राखिएको अवस्थामा भेटिए। एकातिर चुरे बगिरहेको दृश्य र अर्कोतिर वन फँडानी भएका दृश्य यस क्षेत्रका लागि सामान्य लाग्छ। राजमार्गउत्तरका राष्ट्रिय वन व्यापक फँडानी भएको देखिन्छ। यहाँका जंगलमा पनि पुराना सालका रुख देखिँदैन। कु–काठमात्र देखिन्छ। चुरे र राजमार्गबीचको वन क्षेत्र पूरै संकटमा देखिन्छ।
जताततै चुरेमाथि आइलागेको विनाशलीलाले कहाँ अलग राख्थ्यो महोत्तरीलाई? माइस्थान र खयरमाडा गाविस चुरेको फेदीमा छन्। यस क्षेत्रमा पनि अतिक्रमण त्यत्तिकै छ। राजमार्गको टुटेश्वरचोकबाट छ किमि उत्तरमा माइस्थान पर्छ। चुरेमै टुटेश्वरनाथ महादेव मन्दिर छ। मन्दिर परिसर ऐलानी र नम्बर जग्गाका बस्ती छन्। छ किमिबीच पर्ने राष्ट्रिय वनमा रुख काटिएका छन्। चुरेको फेद र वनको बीचमा माइस्थान भएकाले बस्ती वनतर्फ सरिरहेको देखिन्छ। सालका रुख काटिएको छ, बस्ती क्रमशः उत्तरतिर चुरे उक्लिरहेको छ ।
माइस्थान पश्चिममा रहेको मडाहा खोला तरेपछि आउने खयरमाडा गाविस चुरे धेरै अतिक्रमित क्षेत्रमा पर्छ। राजमार्गबाट यहाँसम्मको दुरी करिब १५ किमि छ। सडकको उत्तर र चुरेको फेदमा रहेका अधिकांश घर अतिक्रमित जमिनमा ठडिएका छन्। चुरेको टुप्पैसम्म घर बनेको देखिन्छ। प्रायः सबैतिर चुरेको फेदमा सडक फैलिएको छ। सडकउत्तर अतिक्रमित बस्ती र दक्षिणतिर नम्बरी जग्गा देखिन्छ। सडक पार गरेर बस्तीहरु चुरे उक्लिरहेका छन्।
खयरमाडामा यो क्रम बढिरहेको देखिन्छ। २ नम्बर वडामा चुरेभित्रै पक्की घर बनेका छन्। यी दुवै गाविस पुरानो बस्ती मानिन्छ। 'सडकउत्तर ऐलानी र दक्षिणमा नम्बरी जग्गा छन्,' खयरमाडा–७ का कुलबहादुर स्याङतान भन्छन्, 'बस्तीमा यादव, तामाङ र कोइरीको बाहुल्य छ।'
महोत्तरीमा चुरे र राष्ट्रिय वन गरी ६ सय ८० हेक्टर भू–भाग अतिक्रमणमा परेको छ।

खोलामै इनार
वन मासिँदै गएपछि बस्तीमा पानीको हाहाकार मच्चियो। माइस्थान र खयरमाडाका स्थानीयले मडाहा खोलाको बीचमै इनार खने। चुरेले बगाएर ल्याएको बालुवागिट्टी र ढुंगाले गर्दा खोलामा पानीको सतह देखिँदैन। तर पनि त्यसमै दुईवटा इनार खनिएको छ। तीन इनारमा पोलिथिन पाइप हालेर बस्तीसम्म पानी पुर्‍याइएको छ। मोटर प्रयोग गरेर तानिएको पानी यी दुई गाविसका केही वडाका स्थानीयले प्रयोग गरिरहेका छन्।
धनुषाको चुरे क्षेत्रका अतिक्रमित बस्तीमा त सरकारी र विभिन्न संघसंस्थाले विकासका पूर्वाधार गाँउसम्मै पुर्‍याइदिएका छन्। सरकारी निकायले नै विद्यालय, सडक र बिजुलीको व्यवस्था गरिदिएका छन्। राजमार्गमा पर्ने भरतपुर गाविसको वीरेन्द्रबजारबाट साढे तीन किमि उत्तर चुरेको फेदमै यो बस्ती छ। करिब अढाइसय परिवारको यो बस्तीमा कसैसँग नम्बरी जग्गा छैन। बस्तीमा सिन्धुली, उदयपुर र ओखलढुंगाबाट झरेर अतिक्रमण गरी बसेकाहरु छन्। पानीको सहज आपूर्ति देखेर उनीहरु यहाँ सरेका हुन्। तर बस्ती बढ्दै गएपछि पानीको मुहान सुकेको छ।
'सुरुमा सरकारी निकायले नै बस्ती स्थापित गर्न सहयोग गरे,’ नयाँ बस्तीमै विद्यालय, बिजुली र सुगम सडक बनाइदिएको जानकारी दिँदै स्थानीय बिन्दु थापाले भने,  'अहिले पानीको हाहाकार बढेको छ, कसैले नधपाए पनि भाग्नुपर्ने अवस्था छ।’
मुहान सुकेको छ, कल र इनारबाट पानी आउँदैन।  छेउछाउका नदीसमेत सुक्न थालेको उनी बताउँछन्।
राजनीतिक दलका केही स्थानीय अगुवाले आफ्नो सीमित स्वार्थ पूर्तिका लागि उक्त बस्ती स्थापित गराएको उनी बताउँछन्।
'तिनीहरुले गाउँलेको आडमा वनका महँगा काठ ओसार्ने बाटो बनाए। जंगल मासिएपछि अहिले कसैले मतलब राखेका छैनन्,’ उनले भने। बस्तीमा कांग्रेसको बाहुल्य छ। सुरुमा हरियै रुख ढालेर बेच्ने स्थानीयले पनि वन विनाश भइसकेपछि पशुपालन र खेती गर्न थालेको उनको भनाइ छ।
धनुषा गोदारस्थित चिसापानी, काँडे दमार, सखबोनी, भरतपुरको तिनतले, पुष्पवलपुरको चमिनिया माइस्थान, ढल्केबरको केवलीपुर, गाइमारे खत्ता, लालभित्ती, महोत्तरीको गौरीडाँडा, खयरमारा, माइस्थान, दूधपानी, रजखोर, ढुंग्रेबास, रजबासेलगायत स्थानमा चुरेको फेद अतिक्रमण गरी बस्ती बनाइएको छ। तिनीहरुलाई नै प्रयोग गरी चुरे पर्वतको जंगल मासिँदैछ। धनुषामा ८ सय ८४ हेक्टर भू–भाग अतिक्रमणमा परेको तथ्यांक छ।
महोत्तरी र सर्लाहीको सीमा मानिएको बाँके खोला आफैं संकटमा परेको छ। राजमार्गमा रहेको यसको पुल र खोलाको सतहबीचको दुरी नजिकिँदै गएको देखिन्छ। पुलको उत्तरतर्फ महोत्तरीको खयरमाडा गाविससँग जोडिएको चुरे पनि अतिक्रमणमा परेको छ। प्रशासनिक रुपमा मकवानपुर क्षेत्रमा पर्ने सर्लाहीसँग जोडिएको चुरेमा पनि यस्तै बस्ती छ। तर अन्य ठाउँको तुलनामा यहाँ कम अतिक्रमण देखिन्छ। बाँके खोलाको पश्चिम किनारको चुरेको टुप्पोमा कालिन्चोर बस्ती छ। यहाँ मकवानपुरबाट झरेका २०/२२ घर दलित बसोबास गरिरहेका छन्। यी परिवारका लागि संयुक्त राष्ट्र संघ विकास कार्यक्रम (युएनडिपी) अन्तर्गतको एलजिसिडिपीले विद्युतीकरण गरिदिएको छ। नम्बरी जग्गा भएका घरधनीले भने सहजै विद्युत मिटर पाएका छन् भने ऐलानीमा घर भएकाले धरौटी बुझाउन नसक्दा नम्बरीवालको घरबाट बिजुली तानेका छन्। 'पैसा तिर्न सकेनांै, त्यसैले मिटर राख्न पाएनौं,' चुरे टुप्पोमा घर भएकी रनमती रम्तेलले सुनाइन्।
चुरेको टुप्पैमा रहेको यो बस्ती पुग्न मोटरबाटो खनिएको छ। बाटोछेउ सिमेन्टका पोल गाडेर टुप्पैसम्म बिजुली पुर्‍याइएको छ। 'चुरेमा बसेका सबै सुकुम्बासी होइनन्, वास्तविक सुकुम्बासीलाई यहीँ सुविधा उपलब्ध गराइनुपर्छ। गरिबको नाममा जग्गा ओगट्नेलाई धपाउनुपर्छ,' फेदको नम्बरी जग्गामा घर भएका बराल थरका एक स्थानीयले भने। पानीको भने उस्तै समस्या, एक गाग्री लिन आधा घन्टा तल ओर्लिनुपर्ने।

चुनावमा मासियो वन
राजमार्गमै पर्ने सर्लाहीको घारी रेन्ज पोस्टको प्रांगणमा सयौं सालका काँचा गोलियाको चाङ देखियो। तस्करबाट पोस्टले बरामद गरेका राखेको रहेछ। संविधानसभा चुनावका बेला काठतस्करले राजमार्गबाट नौ किमि उत्तरमा पर्ने कालिन्जोर क्षेत्रमा रुख काटेका रहेछन्।
'चुनाव अवधिभर तस्करले काटे, सकिएपछि हामीले बरामद गर्‍यौं,' वनपाले भीमबहादुर कार्कीले भने। उनका अनुसार यो रेन्जपोस्टले मात्र साढे ११ सय क्युविक फिट काठ मात्र बरामद गरेको हो। 'राम्राराम्रा काठ त उनीहरुले नै लगे। बचेको हामीले ल्यायौं,' कार्कीले सुनाए, '२४ सै घन्टा रुख समातेर बस्ने कुरा आउँदैन, हामी चारजनाले कसरी जोगाउने? साधनस्रोत केही छैन।'
तस्करहरुले लगेर बचेको साढे तीन सय क्युविक फिट चिरान काठ र १ सय ३६ वटा गोलिया बरामद भएको कर्मचारी बताउँछन्। तस्करले छाडेको काठ नै यत्रो परिमाणमा छ भने कति लगे होलान्, कर्मचारी नै अनुमान गर्न सक्दैनन्।
सँगैको अर्को रेन्जपोस्टले पनि सालका काँचा गोलिया बरामद गरेको थियो। कालिन्जोर गाविसको सुखीपुर र परवानीपुर गाविसको देउराली क्षेत्रमा धेरै वन फँडानी भएको वनप्राविधिक उदयकान्त मिश्र बताउँछन्। सर्लाहीमा वन फँडानी र तस्करी व्यापक छ भन्ने पुष्टि फुलजोर इलाका वन कार्यालयको प्रांगणमा राखिएको सालका गोलियाले पनि पुष्टि गर्छ।

तस्कर र पार्टीले तोडे चुरेसँगको वन कनेक्सन
राजमार्गको रौतहट खण्डको लमाहाबाट नौ किमिउत्तर चुरेको फेदमा रहेको चपुर गाविस–३ भुलन्टार, अरुणबस्ती र इबिलघारी नामका बस्ती अतिक्रमण र वन फँडानीका नमुना हुन्। यी बस्तीले अतिक्रमण गरेको वन क्षेत्र र काटिएका रुखका जराले देखाउँछ राष्ट्रिय वनको हविगत। यी तीनवटा बस्तीका हजार परिवार चुरेको फेद र राष्ट्रिय वनको बीचमा बसोबास गर्दै आएका छन्।
नागरिक टिमले भ्रमण गरेका ठाउँमध्ये सबैभन्दा बढी वन फँडानी  यहीँ भएको हो। राष्ट्रिय वनका सालका सबै रुख काटेर खेती गर्न जमिन बनाइएका छन्। सयौं बिघा जमिन रुख काटेर बनाइएको देखिन्छ। जमिनका बीचबीच बूढा र पुराना सालका रुख देखिन्छ भने काटिएका रुखका कतिपय जरा अझै पनि खुला फाँटमा त्यत्तिकै राखिएको छ। यी बस्ती राष्ट्रिय वनतर्फ सर्दै आएका छन्।
यी बस्तीका सबै भौतिक पूर्वाधार सालका काठ प्रयोग गरेर बनाइएको छ। जंगली जनावरबाट जोगाउन वन फँडानी गरेर बनाएको मैदानलाई काठका गोलिया र दाउराले घेरिएको छ। हरेकका घरआँगन गोलिया र दाउराले भरिएको छ। रौतहटमा वनप्रशासनै नभएको पुष्टि गर्छ, यस्ता दृष्टिले।

कति रुख काटियो र कति क्षेत्रफल अतिक्रमण भयो भन्ने जानकारी कसैसँग छैन। बाहिरका व्यक्तिले बस्ती प्रवेश गर्नेबित्तिकै स्थानीयलाई स्पष्टीकरण दिनुपर्छ। वन फँडानी र अतिक्रमणबारे कुरा गर्ने छुट यी बस्तीमा छैन। यहाँको दृश्यले के पनि पुष्टि गर्छ भने केही वर्षअघि यहाँको राष्ट्रिय वन चुरेसँग जोडिएको थियो।
अहिले बीचमा मानव बस्ती बसेको छ। ती रुख काटिएका छन् र कतिपय रुख काटिने तर्खरमा छन्।
राजमार्गका रेन्जपोस्टमा रहेका वनपाले र वनअधिकृत भने अतिक्रमित बस्तीकै मिलोमतोमा काठतस्करी भइरहेको बताउँछन्। यहाँ पनि अन्य जिल्लामा जस्तै वन प्रशासनको उपस्थिति शून्य छ। नागरिक टिम लमाहाबाट राष्ट्रिय वन हुँदै चुरेतर्फको नौ किमि यात्रा गरिरहँदा पनि काठतस्कर दिउँसै रुख काटिरहेका थिए। जंगलका बीचबीच गाडासमेत देखिए। दाउरा काट्ने बहानामा सयौंका साइकलधारी बन्चरोसहित जंगलभित्र थिए।

यी बस्तीमा मकवानपुरको फापरबारीबाट झरेको परिवारको बाहुल्य छ। माओवादी पकडमा रहेको यो बस्तीमा दस वर्षयता अतिक्रमण बढेको हो। 'यो सबै ऐलानी जग्गा हो', दस वर्ष पहिले यहाँ आएका रविलाल आइवाले भने, 'हामीले धेरै किसिमका दुःख भोगिरहेका छौं।' राजनीतिक दलका नेताले भोट माग्दा ऐलानी जग्गा नम्बरी बनाइदिने आश्वासन दिएको उनले बिर्सेका छैनन्। 'भोट माग्न आउँदा भनेका त हुन्, खै गर्छन् कि गर्दैनन्?,' आइवाले भने।
अन्य जिल्लाका चुरेको फेदमा जस्तै यहाँ पनि पानीको हाहाकार छ। नागरिक टिमलाई अतिक्रमित क्षेत्र देखाउन लगेका आइवाले भने, 'यो बस्ती बसेपछि तलका पानीका मुहान सुकेको हो।' फेदका बस्तीले मुहानको पानी खाइरहेका छन् भने अलि टाढाका बस्तीमा तिनै मुहान थुनेर पानी लगिएको छ। चपुर–३ भुलन्टारका करिब दुई सय घरपरिवारले एउटै धारोको पानी खाइरहेका छन्। यो धारो राष्ट्रिय वनभित्रको झाडीमा छ।
बस्तीसँगैको मकवानपुरतिर पर्ने चुरे क्षेत्रमा पनि बस्ती बढ्न थालेको छ। चुचुरामै फाट्टफुट्ट घर बनेको देखिन्छ। उनीहरुले चुरेको वन र झाडी फँडानी गरेर चुरेकै टुप्पोमा खेती गर्न जमिन तयार गरेका छन्। खेतीपाती पनि गरेका छन्। ती घरपरिवार पनि पानी लिन फेदको मुहानमै आउँछन्। वन फँडानी र अतिक्रमणबारे भने उनीहरु बोल्न चाहँदैनन्।
'हामीसँग खाना पकाउने अरु कुनै किसिमको इन्धन छैन, दाउरा नै हो,' उनले यति मात्र भने। जंगली हात्ती पूर्व–पश्चिम ओहोरदोहोर गर्ने बाटोमा रहेका यी बस्तीमा जेठ, असार, साउन र भदौतिर हात्तीले निकै दुःख दिन्छ। धुप र आगो बाल्ने र थोत्रा ड्रम बजाएर हात्ती भगाउने गरेको आइवाले सुनाए।
यत्रो बस्तीमा कक्षा ३ सम्मको एउटा सरकारी विद्यालय मात्र छ जहाँ एक सय ५२ विद्यार्थी अध्ययनरत छन्। 'यही स्कुल पनि हात्तीले धेरैपटक भत्काइदिएको छ,' प्रधानाध्यापक वसन्तकुमार मिश्रले भने। ३ कक्षामाथि पढ्न नौ–दस किमि टाढा निजगढ पुग्नुपर्छ।
रौतहटबाट बारातर्फ लाग्दै गर्दा  बाराको धनसर खोला चोकमा सिंघौल रेन्जपोस्टका वनरक्षक ठागा महतोले मकवानपुरको चुरेको फेदबाट ल्याइएका ढुंगा दक्षिणतर्फ पास गराउँदै थिए। उनी आफंै राजमार्गमा उभिएर ढुंगा र दाउरा बोकेको ट्र्याक्टरलाई उत्तरबाट दक्षिण पास गराइरहेका थिए। 'यो वनले ठेक्कामा दिएको ढुंगा हो। एक ट्र्याक्टरको आठ सयदेखि एक हजार रुपैयाँ लिइरहेका छौं,' उनले सुनाए।
बारा अमलेखगन्जको २ नम्बर पुलबाट दुधौरा खोला हुँदै पूर्वतिर वन क्षेत्र अतिक्रमण गरिएका दृश्य छ्यापछ्याप्ती देखिन्छ। रतनपुरका गाविसमा पर्ने डम्बरपुर, रतनपुर लाल भन्ने स्थानमा अतिक्रमण भइरहेको छ। चुरेको फेदसम्म जोडिएको वन क्षेत्र पूरै मासिएको छ। सयौं बिघाका सालका रुख काटेर जमिनमा खेतीपाती गरिएको छ। रतनपुरका केही भू–भाग नम्बरी भए पनि दक्षिणतर्फ (वनसँग) जोडिएको अधिकांश बस्ती ऐलानीमा पर्छ। ६ र ७ वडामा अतिक्रमणको बढी समस्या देखिन्छ। बस्तीउत्तर चुरे भू–क्षयको चपेटामा देखिन्छ। बत्ती पुर्‍याउन सिमेन्टका पोल गाडिएको छ। डम्बरबस्तीको शक्तिखोला र त्यसका किनार अतिक्रमणमा परेका छन्। पञ्चायतकालका अन्तिम प्रधानमन्त्री मरिचमान सिंहका पालामै यो बस्ती उठाउने निकै प्रयास भएको जानकार बताउँछन्। बस्ती हटाउने क्रममा गोलीसमेत चलेको थियो यहाँ।

निकुञ्जकै चुरे पनि जोगिएन
चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत कमलजंग कुँवर निकुञ्जको महत्र्व चुरे संरक्षणसँग जोडिएको प्रसंग उठाउँछन्। निकुञ्ज नभएका पूर्वी नेपालको चुरे क्षेत्र उजाड भएको उदाहरण दिँदै उनी भन्छन्, 'यहाँको चुरे हराभरा हुनुको कारण निकुञ्ज नै हो।' तर चितवन निकुञ्ज नै अतिक्रमणबाट जोगिएको भने छैन। वन मन्त्रालयअन्तर्गत पाँच विभागमध्ये संरक्षणसम्बन्धी सबैभन्दा कडा कानुन राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन नै हो। यसले निकुञ्जभित्र मानवीय गतिविधिलाई पूर्ण रुपले बन्देज लगाएको छ। यद्यपि, निकुञ्जकै एक हजार १६ हेक्टर जमिन अतिक्रमण भएको छ। अतिक्रमण गर्नेमा सुकुम्बासीदेखि स्वामीसम्म छन्। निकुञ्जले निकालेको आर्थिक वर्ष २०६९/७० को वार्षिक प्रतिवेदनमा अतिक्रमित जमिनको विवरण उल्लेख छ।
समूहबाहेक व्यक्तिले पनि ठाउँठाउँमा निकुञ्जको जमिन अतिक्रमण गरेको प्रतिवेदनमा छ। सबैभन्दा धेरै माडी अयोध्यापुरी गाविसको वडा नं ९ बाँदरझुलामा ४ सय ५१ हेक्टर जमिन अतिक्रमित छ। भरतपुरबाट ७५ किमि दक्षिणस्थित बाँदरझुला भारातसँग सीमा जोडिएको क्षेत्र हो। त्यहाँ अतिक्रमण गरेर बसेकाहरु बरु आफूहरुले भारतीयबाट अतिक्रमण रोकेको दाबी गर्छन्।
बाँदरझुला क्षेत्र निकुञ्जको मध्यवर्ती क्षेत्रअन्तर्गत पर्छ। सो ठाउँमा विसं २०४७ देखि नै अतिक्रमण सुरु भएको हो। हाल उक्त क्षेत्रमा ४ सय ५६ घरपरिवार बसोबास गर्दै आएका छन्। संकटकाल लागेका बेला विसं २०५८ मा यहाँको बस्ती उठाइएको थियो। पछि, फेरि मान्छेहरु गएर बस्न थालेका हुन्। बाढी र पहिरोका कारण घरबारविहीन भएका बसेकाले राज्यले त्यहाँ थुप्रै स्थायी संरचना बनाएको छ। भव्य विद्यालय भवन छ। बिजुली छैन, खानेपानी छ। निकुञ्जको मध्यवर्ती क्षेत्र भए पनि बाँदरझुला बस्ती उठाउन अब असम्भवजस्तै देखिन्छ।
राजनीतिक दलका नेताले बाँदरझुला बस्ती स्थानान्तरणबारे कुरै उठाउन छाडेका छन्। निर्वाचनका बेला नेताहरु लालपुर्जा दिने वाचा गरेर बाँदरझुलाबाट मत माग्ने गर्छन्। बाँदरझुला क्षेत्रमा सामरी उत्थान नामक गैरसरकारी संस्थाले काम गर्दै आएको छ। निकुञ्जको मध्यवर्ती क्षेत्रअन्तर्गत मकवानपुरको मनहरी–२ सुनाचुरीमा पनि जमिन अतिक्रमण भएको छ। पहाडी क्षेत्रबाट बाढीपहिरोले विस्थापित ०५९ सालमा सुनाचुरी आएर बस्न थालेका हुन्।
उक्त क्षेत्रको १ सय १४ हेक्टर भूभाग अतिक्रमित भएको निकुञ्जको प्रतिवेदन बोल्छ। चितवन निकुञ्जले ०६८ सालमा त्यहाँको १५ हेक्टर जमिन खाली गराएको थियो, ५५ घर उठाएर। बाँकीलाई उठाउन सकेन। मध्यवर्ती क्षेत्रमा सुकुम्बासी छन् तर निकुञ्जकै साँध–सिमानाभित्र मुक्तिनाथ पीठाधीश स्वामी कमलनयनाचार्यले भव्य आश्रम र मन्दिर बनाएका छन्। नवलपरासी गजग्राह पोस्ट क्षेत्रको आफ्नो १५ हेक्टर जमिन अतिक्रमणमा परेको निकुञ्जको प्रतिवेदनमा छ। आश्रम क्षेत्रलाई पहँुचवालाको संरक्षण छ। गजेन्द्र मोक्षधाम खडा गरेर कमलनयनाचार्यले भव्य मन्दिर बनाउँदै आएका छन्।
नवलपरासी नयाँबेल्हानी गाविसको तमासपुरमा रहेको ठूलोपोखरी मध्यवर्ती सामुदायिक वनको १५ हेक्टर जमिन पनि अतिक्रमणमा परेको निकुञ्जको भनाइ छ। सो ठाउँमा २०३६ देखि अतिक्रमण सुरु भएको हो। समूहगत नभएर नम्बरी जग्गाको आडमा रहेको निकुञ्ज र मध्यवर्ती सामुदायिक वनको जमिन अतिक्रमण पनि व्यापक मात्रामा भएको छ।
चितवनको अयोध्यापुरी, गर्दी, पटिहानी, मेघौली, गीतानगर, नवलपरासीको कुमारवर्ती, नारायणी, दिव्यपुरी, मुकुन्दपुर र पर्साको ठोरी र निर्मलबस्तीमा निकुञ्ज क्षेत्रको ४ सय २१ हेक्टर जमिन अतिक्रमित भएको छ।
नवलपरासीको सुनवल नगरपालिका सुनवलबाट करिब ४ देखि ६ किमि उत्तर चुरेको फेद पनि अतिक्रमित छ। सुनवल–२ घैयाबारी, बेलारीलगायत क्षेत्र चुरेभित्र छ। पर्यटन स्थल बनाउने नाममा यी स्थानबाट उत्तरतर्फ चुरे खनेर बाटो लगिएको छ। चुरेको टुप्पोसम्मै बस्ती बसालिएको  छ। ऐलानी र नम्बरी छुट्ट्याउन नसकिने गरी बस्ती विस्तार गरिएको छ, जहाँ बिजुली पनि बालिएको छ। कपिलवस्तुको गोरुसिंगेबाट उत्तरस्थित पत्थरकोट जाने बाटोको पश्चिमका राष्ट्रिय वन पनि अतिक्रमणमा परेको छ। जंगलबीच घना बस्ती  छ।

प्रकाशित: ९ फाल्गुन २०७० २०:०२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App