१० माघ २०८२ शनिबार
image/svg+xml
अन्य

'स्टेज नचढी स्रोताले नचिन्ने रहेछन्'

लोकगीत 'सिमेसिमे पानीमा' गाएर चर्चित बनेकी रेखा शाह यतिबेला आधुनिक गायिकाका रूपमा चिनिन्छिन्। चार वटा सोलो एल्बम बजारमा ल्याइसकेकी छिन्। उनी आफ्ना गीतमा आफँै मोडलिङ पनि गर्छिन्। पछिल्लो समय उनले गाएको/अभिनय गरेको 'नजिक छौ तिमी' भन्ने गीतले चर्चा कमाइरहेको छ। रेखासँग सजना बरालले गरेको अन्तरंग कुराकानीः


सदा जवान, सदा सुन्दर देखिनुहुन्छ। यसको रहस्य के होला?
प्रकृतिको वरदान हो। म राम्री हुनलाई खासै केही गर्दिनँ। खानेकुरामा किचकिचे छु, जे पायो त्यही खान्नँ। जति खान्छु, त्यो पनि अरूको भन्दा निकै थोरै खान्छु। यसले गर्दा मेरो 'वेट' बढ्दैन। अलि–अलि 'एक्सरसाइज' पनि गर्छु। र, सबैभन्दा मुख्य कुरा– म सकारात्मक सोच्छु। यही सोचले मेरो अनुहारमा चमक ल्याएको हो।
कहिल्यै रिसाउनुहुन्न?
रिस त भयंकर उठ्छ। कहिलेकाहीँ कुरै नबुझी पनि झोक्किन्छु। तर, रिसाएर धेरै बेर ठुस्स पर्दिनँ। म आफूलाई लामो समय तनावमा राख्दिनँ। त्यसैले रिस उठ्ने कुरालाई दिमागबाट हटाइहाल्छु। तनाव लिएन भने मान्छे आफसे आफ सुन्दर देखिन्छ।
तपाईंको रूप देखेर धेरैलाई ईर्ष्या लाग्दो हो?
बाहिरी सुन्दरता के नै हो र? एक दिन हराएर जान्छ। म पनि सधँै यस्तै राम्री, यस्तै जवान हँुदिनँ। रूप भनेको खोलमात्रै हो। मान्छेले भित्री सुन्दरतालाई ध्यान दिनुपर्छ। त्यसो गरे अरूको रूपरङ देखेर ईर्ष्या हुँदैन।
के गर्दै हुनुहुन्छ आजकल?
'सिमसिमे पानीमा'लाई 'रिमेक' गर्दै छु। अरू गीतहरूको पनि काम हुँदै छ। 'फास्ट बिट'का गीत गाउने सोचमा छु। अहिले 'स्टेज' नचढी नहुने भएको छ। स्टेज तताउन 'डान्सिङ नम्बर' नै चाहिन्छ। म त नृत्य पनि सिक्ने विचारमा पो छु। 
स्टेज–शोमा खासै देखिनुहुन्न नि?
त्यही त। पहिले–पहिले स्टेज चढ्ने चलनै थिएन। चलन आइसक्दा पनि मैले त्यति वास्ता गरिनँ। अहिले स्टेजको महत्व बुझ्न थालेकी छु। गीत 'हिट' भए पनि स्टेजमा देखिएन भने स्रोताले नचिन्ने रहेछन्। अब डान्सिङ नम्बरका गीत निकालेर आयोजकसँग 'लिंक' पनि बढाउनुपर्योन। र, स्टेजतिरै लाग्नुपर्योर। 
नृत्य सिक्ने 'मुड'मा हुनुहुँदो रै'छ। कलेज पनि जान थाल्नु भा'छ रे। के–के गर्न लाग्नुभएको?
नृत्य 'म्युजिक भिडियो'का लागि सिक्न लागेकी हुँ। कलेज चाहिँ 'रिज्वाइन' गरेकी हुँ। पढाइ अधुरै थियो मेरो। त्यो बेला सिकिस्त बिरामी भएकाले कोठामै थन्किनुपर्योि। पढाइ, गायन सबै लथालिंग भएका थिए। अहिले सबैलाई सम्हाल्दै छु। पढ्नलाई उमेरले छेक्दैन क्यारे। 'मास्टर्स' गर्न लागेकी छु अहिले।
गीत गाउनकै लागि धादिङबाट काठमाडौँ आउनुभएको थियो?
सानैदेखि गीत गाउँथे म। मेरो स्वर सुन्नेहरूले 'काठमाडौँ गएर स्वर परीक्षा देऊ' भन्न थाले। काठमाडौँ आएँ पनि। तर, रेडियो नेपालमा स्वर परीक्षा दिने मिति गुजि्रसकेको थियो। बरु, वार्षिकोत्सवको अवसर पारी रेडियो नेपालले गायन प्रतियोगिता आयोजना गर्दै रहेछ। मैले त्यसमा भाग लिएँ। 'सिमसिमे पानीमा' गाएर पहिलो पनि भएँ।
यही गीत आफ्नो बनाउन मुद्दामामिला पनि गर्नुपर्यो। क्यारे!
यसबारे कति बोल्नु? वाक्क भइसकेँ। प्रेमराजा महतले यो गीत आफ्नो एल्बममा राख्नुभएको थियो। पछि यसलाई 'मेरै गीत' भनेर 'क्लेम' गर्न थाल्नुभयो। मलाई सह्य भएन। विरोध गरेँ। जीत पनि मेरै भयो। मेरो स्वीकृतिबगेर अरूले यसलाई 'प्रयोग' गर्न नपाउने भनी कागज गराएँ त्यही बेला। वास्तवमा अर्काको सिर्जनामा कसैले अधिकार जमाउन नपाऊन् भनेर त्यस्तो गरेकी थिएँ। 
त्यसपछि तपाईं केही समयका लागि गायब हुनुभयो। र, एक्कासि आधुनिक गीत लिएर बजारमा आउनुभयो। लोकबाट आधुनिकमा हाम्फाल्नुको कारण केही थियो?
मैले २०४९ सालमा 'सिमसिमे पानीमा' गाएँ। २०५१ देखि ०५५ सालसम्म थला परेँ। त्यसपछि बिहे गरेँ। बच्चा भयो। घरव्यवहारमै व्यस्त भएँ। त्यसपछि एकैचोटि 'द लाइन' भन्ने आधुनिक एल्बम निकालेँ। लोकगीत गाएर हिट भए पनि अग्रज दाइदिदीले मेरो स्वर आधुनिकमा 'फिट' हुन्छ भन्नुहुन्थ्यो। मलाई पनि आधुनिक गीतमा लगाव भएकाले विधा फेरेकी हुँ।
त्यसपछि लोकगीत गाउनुभएन। मन पर्न छाड्यो कि कसो?
लोकगीत मन नपर्ने पनि हुन्छ र? साह्रै मन पर्छ नि। कुनै–कुनै लोक भाका सुन्दा त यस्तो आनन्द लाग्छ कि भनिसाध्य छैन। मैले एक जना मान्छेसँग लोकभाका मागेकी पनि छु। यसपालि पहिलो पटक तीजको गीत पनि गाउने भएकी छु। फेरि पनि लोकभाकामा रम्ने धोको छ। 
तपाईंले गीत गाउन सुरु गर्दा नेपालको सांगीतिक माहोल कस्तो थियो?
त्यो बेलाको जमानै अर्को थियो। सञ्चारमाध्यम यति धेरै थिएनन्। रेडियो नेपाल र नेपाल टेलिभिजनको हाइहाइ थियो। घरमा रेडियो, टीभी हुनेको त सानै बेग्लै नि! आफ्नै गीत सुन्न पनि म चाहिँ अर्काको कोठमा जानुपर्थ्याे। पहिलोचोटि नेपाल टेलिभिजनमा क्यामेराको अगाडि पर्दा उभिनै नजानेर हैरान भा'थ्योे। त्यो बेला कलाकार थोरै थिए। भएकाले ठूलो सम्मान पाउँथे। 
बाल्यकाल कस्तो थियो?
मेरो बुवा असाध्यै कडा हुनुहुन्थ्यो। घरमुन्तिरको मेलामा समेत जान दिनुहुन्थेन। जानैपरे हामी बुवाकै हात समातेर जान्थ्यौँ। स्कुल र घर गर्दैमा बाल्यकाल बित्यो।
तपाईं प्रायः गीतकार भूपेन्द्र खड्का, संगीतकार हरि लम्साल आदिसँग काम गर्नुहुन्छ। संगीतकर्मीहरूको पनि आ–आफ्नै गुट, समूह हुन्छ भन्छन्। हो कि क्या हो?
होइन। राम्रा शब्द, राम्रा कम्पोजिसन पाएँ भने म जोसँग पनि काम गर्छु। मैले सुगम पोखरेल, कमल खत्री जस्ता भाइहरूसँग पनि काम गरेकी छु। फेरि, जोसँग सहकार्य गर्न सजिलो हुन्छ मान्छेले उसैसँग काम गर्ने हो। भूपेन्द्र, हरिसँग काम गर्न मलाई सहज लाग्छ। उनीहरूसँग म आफ्ना कुरा, आफ्ना 'कन्सेप्ट' राख्न सक्छु, जुन अरूसँग सम्भव हुँदैन। तर, यसलाई गुटबन्दी नै चाहिँ भन्न मिल्दैन कि? 
अलिकति 'पर्सनल' कुरा गरूँ? 
हुन्छ नि। 
तपाईंको विवाहेतर सम्बन्धको कुरा गाइँगुइँ सुनिन्छ नि? यस्तो कुराले परिवारमा असर पर्दैन? 
म खराब छैन भन्ने मेरो श्रीमान्लाई थाहा छ। उहाँ मलाई विश्वास गर्नुहुन्छ। र, मैले पनि उहाँको विश्वास तोड्ने काम गरेकी छैन। हल्लाको पछि लाग्यो भने त बर्बाद भइन्छ।
तपाईंका छोराछोरी छन्? 
छोरा एउटा छ। 
छोरालाई पनि गायक नै बनाउने हो?
ऊ जे बन्न चाहन्छ, त्यही बनाउनुपर्ला। तर, उसको पनि लगाव चाहिँ संगीतमा नै छ। अस्ति 'गिटार किन्दिनुस्' भन्दै थियो। नेटमा पनि संगीतबारे 'गुगल' गरिरा'को हुन्छ। गायक बन्ने सुर कस्यो भने साथ दिन्छु।
समाजसेवातिर पनि हात हाल्नुभएको छ रे नि?
हो, हो। मैले रेखा शाह फाउन्डेशन दर्ता गराइसकेँ। त्यसबाट महिला, गरिब, अपांगलाई सहयोग गर्ने र कलाकार तथा पत्रकारलाई सम्मान गर्ने योजना छ। म पारदर्शी ढंगले काम गर्ने सोचमा छु। यसका लागि फन्ड कलेक्सनमा लागिरहेकी छु। त्यहाँबाट कमाएको पैसा म यही संस्थामा लगाउनेछु।

प्रकाशित: ९ फाल्गुन २०७० ०२:१७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App