१० माघ २०८२ शनिबार
image/svg+xml
अन्य

एसएलसीको भूत

फलामे ढोका भनिने एसएलसी परीक्षा नजिकिँदै जाँदा टेक्सस स्कुलकी पेमा याङ्छेन शेर्पा अन्तिम तयारीमा जुटेकी छिन्। दिनभरिको स्कुल समयबाहेक बिहानसाँझ गरेर छ घण्टा 'एक्स्ट्रा क्लास' छ उनको। 'स्कुलमा ‘राम्रो गर्नुपर्छ है’ भनिरहनुहुन्छ सरहरूले,' उनले भनिन्, 'घरबाट पनि ‘डिस्टिंक्सन' ल्याउनुपर्छ’ भनिरहने भएकाले दबाब निकै बढेको छ।' 

त्यही स्कुलका मुकेशकुमार साह पनि स्कुलको रेकर्डै तोड्ने ध्येयका साथ एसएलसीको तयारीमा जुटेका छन्। उनी राती १२ बजेदेखि बिहान ४ बजेसम्म मात्र आराम गर्छन्। ९० प्रतिशत नघाउने आँट गरेका उनी परीक्षाको रुटिन आएदेखि थप दबाबका साथ तयारीमा जुटेका हुन्। 
नब्स स्कुलकी निशा पौडेल पनि मुकेशकै जति राती १२ देखि बिहान ४ बजेसम्म मात्र आराम गर्छिन्। प्रायः परीक्षामा प्रथम भइरहने भएकाले पनि उनलाई थप दबाब छ। उनी पनि स्कुलको ९१ प्रतिशतको रेकर्ड तोड्ने गरी तयारीमा खटेकी छिन्। अनिवार्य गणितमा त शतप्रतिशतकै नजिक अर्थात् ९९ अंक ल्याउने उनको योजना छ। नब्सकै दिवाकर पन्त निशाको भन्दा कम समय आराम गर्छन्। जहिले पनि राती १२ बजाउने उनको बिहान साढे ३ बजे 'अलार्म' बजिहाल्छ। ‘कहिलेकाहीँ त राती १ पनि बज्छ,’ उनले पनि रेकर्ड तोड्ने आँट गरेका छन्, ‘सामान्य तयारीले त रेकर्ड कसरी तोड्न सकिएला र?’ 
संस्कृत माविदरवारका नरेशराज जैसी कक्षाका प्रथम विद्यार्थी हुन्। उनले अन्यमा नभए पनि गणित विषयमा भने रेकर्ड तोड्न सक्ने आँटेका छन्। यसअघिका विद्यार्थीले ९९ अंक ल्याएकाले यसपटक उनले शतप्रतिशत अंकको सपना देखेका छन्। 
यसरी विद्यार्थीहरू आउँदो चैत ६ गतेदेखि सुरु हुने एसएलसी परीक्षाको तयारीमा टुप्पी कसेर जुटिरहेका छन्। उनीहरूमा एकखाले दबाब छ, ‘डिस्टिंक्सन ल्याउने।' केही अभिभावक तथा शिक्षकहरूले विद्यार्थीमा एसएलसीको ‘भूत’ सिर्जना गरिदिएको आरोप लाग्ने गरेको छ। जसले गर्दा विद्यार्थीमा तनाव उत्पन्न भएको पाइन्छ। परीक्षाका बेला सहजीकरणको साटो दबाब दिने चलनले विद्यार्थीमा राम्रो नतिजाको सट्टा नकारात्मक परिणाम देखिन सक्नेतर्फ कसैले सोचेको देखिँदैन। ‘विद्यार्थीलाई कुनै दबाब दिइएको छैन। उनीहरू आफैँ बढीभन्दा बढी अंक ल्याउने धुनमा जुटेका हुन्,’ एक स्कुलका शिक्षक तर्किन खोज्छन्। आफ्नो स्कुलको नतिजा सुधार गरी अभिभावकहरूमा थप विश्वास पैदा गर्न विद्यालयहरू कम्मर कसेर लागेका जानकारहरू बताउँछन्। 
अभिभावक पनि आफ्नो बच्चामा अहिलेसम्म गरिएको लगानी उठाउनकै लागि भए पनि धेरै अंक ल्याउनुपर्ने ठान्छन्। एक अभिभावक त आफ्नो बच्चालाई भनेको जति नम्बर नल्याए फेरि त्यही कक्षा दोहोर्यारउन पठाउने बताउँछन्। ‘८० प्रतिशत नकटाए त के काम भयो र?’ आफ्नो नाम भन्न नचाहने ती अभिभावकको भनाइ छ, ‘एसएलसी भनेको चानचुने कुरा होइन। यसले भविष्य तय गर्छ।' 
आफ्नो बच्चाले उत्कृष्ट अंक ल्याएर प्रवेशिका पास गरोस् भन्ने आकांक्षा बोकेका अभिभावकहरू यतिबेला छोराछोरीलाई दबाबमुक्त राख्न सकिरहेका छैनन्। उल्टै ‘त्यसले भन्दा धेरै अंक ल्याउनुपर्छ है’ भन्दै बलिरहेको आगोमा घ्यू थप्ने काम गरिरहेको शिक्षाविद् प्राडा विद्यानाथ कोइरालाको ठम्याइ छ। एसएलसीका नाममा छोराछोरीमा परीक्षाको भूत उत्पन्न गराउने अभिभावक तथा शिक्षकहरूले दबाबलाई सहज व्यवस्थापन गर्न सिकाउनुपर्ने टड्कारो आवश्यकता देखिएको उनको भनाइ छ। एसएलसीलाई हाउगुजीको रूपमा नलिई सहज रूपमा पार गर्ने मनस्थिति बनाउँदा विद्यार्थीको भविष्य उज्ज्वल हुन्छ। यसमा सरोकारवालाहरूले ध्यान दिन नसकिरहेकोप्रति उनको रोष छ, ‘त्यो दबाबले उत्पन्न गर्ने नकारात्मक परिणाम के होला? सोच्न भ्याएकै छैनन्। उनीहरूलाई त टन्न नम्बर भए पुग्यो। विद्यार्थीको भविष्य अन्योलमा पर्न सक्नेतर्फ कसैले चासो दिएका छैनन्।' पढ्ने वा घोक्ने होइन, सिक्ने क्षमताको विकास गरिदिनसके विद्यार्थी स्वतः सफल बन्ने उनको बुझाइ छ।
परीक्षा नजिकि“दै जा“दा विद्यार्थीको भोक, प्यास, निद्रा हराउ“छ। कयौँ विद्यार्थी त यति धेरै तनावग्रस्त हुन्छन् कि उनीहरू पढाइमा ध्यान केन्द्रित गर्न सकिरहेकै हुँदैनन्। परीक्षामा उत्कृष्ट नतिजाका लागि पनि मनबाट परीक्षाको डर र तनाव हटाउनुपर्छ। शिक्षाविद् डा. कोइरालाका अनुसार प्रायः अभिभावक तथा शिक्षक नम्बरकै आशमा विद्यार्थीलाई दबाब दिन्छन्, जसले गर्दा उनीहरू तनावमा हुन्छन् र परीक्षामा राम्रो अंक ल्याउन सक्दैनन्। 'यस्तोमा बच्चालाई दबाबबाट टाढा राख्नु सबैको जिम्मेवारी हो, जसले गर्दा बालबालिका तनावमुक्त भएर अध्ययनमा केन्द्रित हुन सक्षम होउन्,' कोइरालाले भने। 
आजभोलि अधिकांश अभिभावक आफ्ना बालबालिकालाई ट्युसन र कोचिङ पढाउन चाहन्छन्। कोचिङ सफलताको ग्यारेन्टी भएको उनीहरू ठान्छन्। तर, कोचिङ तथा ट्युसनलाई भन्दा स्व–अध्ययनलाई महत्व दिनुपर्ने आवश्यकता महसुस गर्छन् विज्ञहरू। यदि विद्यार्थीले स्वयम् नोट बनाएर तयारी गर्ने हो भने राम्रो अंक प्राप्त गर्न सक्छन्। कयौँ विद्यार्थी अघिपछि मेहनत नगर्ने र परीक्षाको समय नजिकिएपछि मात्रै बेस्कन पढ्ने गर्छन्। यस्ता विद्यार्थी प्रायः तनावग्रस्त हुन्छन्। कारण, कम समयमा परीक्षाको तयारी पूरा गर्नुपर्ने बाध्यता हुन्छ। उनीहरूमा कुन विषय पहिले पढ्ने र कुन पछि पढ्ने भन्ने अन्योल हुन्छ। यही अन्योल र तनावका बीच समय बित्दै जान्छ र राम्रो तयारी गर्न पाइ“दैन। विद्यार्थीले पहिलेदेखि नै समय व्यवस्थापन गर्दै पढ्दै र सिक्दै गर्ने हो भने परीक्षाका बेला तनावमुक्त रहन सकिन्छ। अनि, दोहोर्या एर अध्ययन गर्न पनि समय मिल्छ।
विज्ञका अनुसार परीक्षालाई वास्तविकताभन्दा ठूलो बनाउनु हु“दैन। हरेक समय पढाइमै लाग्नु हुँदैन। पढाइको बीचमा आराम गर्न आवश्यक छ। बालबालिकाको मुड पहिचान गरी उनीहरूलाई उत्साहित राख्नुपर्छ। आफ्नो व्यवहार र सोचलाई सकारात्मक राख्नुपर्छ। यदि बालबालिका डरका कारण ठीक ढंगबाट तयारी गर्न सक्षम भइरहेका छैनन् भने तुरुन्तै छलफल र सल्लाहमार्फत समाधान खोज्नुपर्छ। अध्ययनको समयतालिका निश्चित गर्नुपर्छ। राती अबेरसम्म पढ्नुको साटो बिहान चा“डै उठेर पढ्नु राम्रो हुन्छ। पढाइको बोझ लिनु हु“दैन। कमसेकम छ–सात घण्टा राम्ररी सुत्नुपर्छ।
अध्ययनमा रुचि, उपयुक्त वातावरण तथा अध्ययन विधि सही भए विद्यार्थीले छोटो समयमै परीक्षाको राम्रो तयारी गर्न सक्छ। आफूले पढेको कुरालाई सहज ढंगले ग्रहण गर्ने, अध्ययनमा एकाग्रता बढाउने, सकारात्मक सोचको विकास गर्ने, अध्ययन गरेको विषयवस्तुलाई कति ग्रहण गरेँ भनेर आफैँले जाँच्ने, नजानेको कुरा समयमै सम्बन्धित शिक्षक वा ज्ञातास“ग नहिचकिचाई सोध्ने जस्ता कुरामा ध्यान दिए परीक्षाको तनावबाट मुक्ति मिल्छ। एसएलसीको तयारी गर्दा नियमित पाठ्यक्रमलाई दोहोर्यासएर अध्ययन गर्ने तथा मोडल प्रश्नपत्रको अभ्यास पर्याप्त गर्नुपर्ने शिक्षक रामहरि सुवाल बताउ“छन्। ‘आफ्नै तरिकाले पढ्ने भावना विकसित हुने हो र विद्यार्थीले सफल हुने लक्ष्य राखेर प्रयास गर्ने हो भने सफलता टाढा छैन,’ उनको सुझाव छ, ‘कसैको दबाबमा ध्यान नदिई आफ्नै गतिमा तयारी अघि बढाउनुपर्छ। तयारीका बेला नजानेको कुरा सोध्ने विकल्प (शिक्षक, अभिभावक, अग्रज वा अन्य कोही) तयार पार्नुपर्छ।’ उनका अनुसार सिर्जनात्मक मौलिक लेखनशैलीलाई परीक्षकले सधैँ महत्व दिने भएकाले कसैको सार्ने वा नक्कल गर्ने मनस्थिति त्याग्नुपर्छ। 
एसएलसी परीक्षालाई अधिकतम उपलब्धिमूलक बनाउन अभिभावकको महत्वपूर्ण भूमिका रहन्छ। छोराछोरीलाई अनावश्यक दबाब नदिने, उनीहरूको आहारबिहारलाई स्वस्थकर बनाउने, पढ्नेलेख्ने सामग्री तथा बस्ने स्थानको सहजता प्रदान गर्ने र उत्साह तथा ढाडस दिएर मर्यादित रूपमा परीक्षा दिन प्रोत्साहित गर्नु एक असल अभिभावकको जिम्मेवारी हो। यसले विद्यार्थीलाई 'इक्जामफोबिया' अर्थात् परीक्षादेखि डराउने समस्याबाट जोगाउँछ।

प्रकाशित: ९ फाल्गुन २०७० ०२:१५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App