काठमाडौं– कथाकार दुर्गा विनयको कथाकृति ‘राजमाया' सार्वजनिक भएको छ। राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै कथाकृति ‘राजमाया'को विमोचन गरिएको हो। विष्णुविभु घिमिरे, शारदा शर्मा, तुलसी भट्टराई र अर्चना थापाले पुस्तक संयुक्त रुपमा सार्वजनिक गरे।कार्यक्रममा लेखिका अर्चना थापाले दुर्गा विनयका कथा पाठकका लागि चुनौती रहने धारणा राखिन्। ‘कथामा परम्परागत संरचना खोज्ने पाठकका लागि विनयका कथा चुनौती हुन्। कथाकारले हरेक कथामा नयाँ प्रयोग गरेका छन्,' उनले थपिन्, ‘कसैले परम्परा धान्न लेख्नछन् भने कसैले परम्परा सुरु गर्ने हिसाबले लेख्छन्। राजमाया नयाँ परम्परा सुरु गर्ने पुस्तक हो।'
लीलालेखनको अवधारणामा लेखिएका ‘राजमाया'मा १२ वटा कथा संग्रहित छन्। कार्यक्रममा तुलसी भट्टराई, शारदा शर्मा लगायतले दुर्गा विनयका कथामाथि टिप्पणी गरेका थिए। कथासंग्रहलाई पैरवी बुक हाउसले प्रकाशन गरेको हो। दुर्गा विनय मदनपुरस्कार विजेता लेखक कृष्ण धरावासीका छोरा हुन्। दुर्गाले यसअघि ‘अर्केस्टा' र ‘घाम नउदाएको देश' कृति निकालेका थिए।
प्रकाशित: ८ फाल्गुन २०७० २२:०६ बिहीबार