१० माघ २०८२ शनिबार
image/svg+xml
अन्य

कर्णालीको कथामा ‘तुइन'

ललितपुर– कर्णालीको कथामा फेरि अर्को आख्यान थपिएको छ। जुम्लाको परिवेशलाई आधार बनाएर सुरेश प्राञ्जलीले लेखेको उपन्यास ‘तुइन' बुधबार ललितपुरको मोक्षमा सार्वजनिक गरियो। अजित बराल, विष्णु सापकोटा र सुरेश प्राञ्जलीले उपन्यास संयुक्त रुपमा सार्वजनिक गरे।अनौपचारिक कार्यक्रमका बीच सार्वजनिक पुस्तकले जुम्ला र दसवर्षे सशस्त्र द्वन्द्वलाई परिवेश बनाएको छ। लेखक प्राञ्जलीले ‘तुइन' ६ वर्षे मेहनतको प्रतिफलसँगै कर्णालीका दुःखलाई अभिलेखिकरण गर्ने प्रयत्नको अर्थ्याए। ‘उपन्यासमार्फत् दसवर्षे सशस्त्र द्वन्द्व र जुम्लाको भोगाइलाई अभिलेखीकरण गर्ने प्रयास गरेको हुँ। देशमा एक दशक चलेको द्वन्द्वले कर्णालीलाई के दियो? उपन्यास यही प्रश्नको सेरोफेरोमा बुनिएको छ,' प्राञ्जलीले भने। 
स्याङजामा जन्मिएका प्राञ्जलीले चर्चाको लोभले भन्दा पनि कर्णालीका जनताका भोगाइबाट प्रेरित भएर उपन्यास लेख्न थालेको जानकारी गराए। उनले भने, ‘कर्णालीका जनताको दुःख कष्ट आजभोलिजस्तो सतहमा आउनुअघि नै मैले लेख्न अभ्यास गरिरहेको थिएँ। तर लेख्दा भने सकभर ‘डिट्याच' हुने प्रयत्न गरेको छु।'
उपन्यासमाथि टिप्पणी गर्दै विष्णु सापकोटाले ‘तुइन'को परिवेश नयाँ नभए पनि पात्र र उनीहरुका संवेदनशीलतामा नवीनता रहेको धारणा राखे। ‘कर्णालीको परिवेश पहिले पनि विभिन्न माध्यमबाट बाहिर आइसकेका छन्। त्यसैगरी सशस्त्र द्वन्द्वको पृष्ठभूमिमा पनि थुप्रै कृतिहरु लेखिइसकेका छन्। तर यसको विशेषता के हो भने यसमा संवेदना नयाँ छ। प्रस्तुति काव्यात्मक छ,' सापकोटाले भने। 
प्रकाशकका तर्फबाट बोल्दै अजित बरालले लेखन र पुनर्लेखनमा तीन वर्षभन्दा बढी समय खर्चिएको चर्चा गर्दै उपन्यास स्तरीय बनेको धारणा राखे। उनले लेखकको धैर्य र मेहनतको प्रशंसा गर्दै आफ्नो प्रकाशन गृहबाट नयाँ लेखक भित्र्याउन पाएकोमा कृतज्ञता व्यक्त गरे। 
जुम्लेली पात्रको आँखाबाट सशस्त्र द्वन्द्वलाई चिरफार गरिएको ‘तुइन' फाइनप्रिन्टले प्रकाशन गरेको हो। लेखक प्राञ्जलीको यो प्रथम प्रकाशित कृति हो।

प्रकाशित: ८ फाल्गुन २०७० ००:५० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App