१० माघ २०८२ शनिबार
image/svg+xml
अन्य

वैदेशिक प्रशिक्षणमा जुडो

काठमाडौं– दक्षिण एसियाली जुडो च्याम्पियनसिप र एसियन जुडो च्याम्पियनसिपमा पदक जित्ने लक्ष्यसहित ४ नेपाली खेलाडी विशेष प्रशिक्षणका लागि उज्वेकिस्तान गएका छन्। उज्वेकिस्तान जानुअघि खेलाडी रमेश मगर, खेमबहादुर थापा, लीला अधिकारी र देविका खड्कालाई राष्ट्रिय खेलकुद परिषद (राखेप) सदस्यसचिव युवराज लामा र नेपाल जुडो संघका अध्यक्ष दीपकहर्ष वज्राचार्यले बुधबार बिदाइ गरे।जुडो संघले काठमाडौंमा अप्रिल १० देखि १४ सम्म दक्षिण एसियाली जुडो च्याम्पियनसिप आयोजना गर्दैछ। बिदाइका बेला रमेशले दक्षिण एसियाली जुडोमा स्वर्ण पदक जित्ने लक्ष्यसहित प्रशिक्षण गर्ने बताए। काठमाडौंका रमेशले भने, 'हामीले अहिले प्रशिक्षणका लागि राम्रो अवसर पाएको छौं। विगतको अनुभव र उज्वेकिस्तानको प्रशिक्षणले मलाई स्वर्ण जित्ने सहयोग गर्ने विश्वास छ।' 
रमेश अन्तर्राष्ट्रिय जुडोमा पदक जितिसकेका छन्। रमेशले सन् २०११ मा पाकिस्तानमा भएको दक्षिण एसियाली जुडोमा कांस्य जितेका थिए। त्यसमै नेपालले टिम इभेन्टमा स्वर्ण जित्दा रमेश पनि थिए। ढाकामा भएको ११औं दक्षिण एसियाली खेलकुदमा सहभागी भए पनि लिफ्ट दुर्घटनामा घाइते भएपछि रमेश नखेली फर्किएका थिए। 
बिहीबारदेखी नै नेपाली टोलीले प्रशिक्षणको सुरुआत गर्ने जुडो संघले जनाएको छ। नेपाली खेलाडीले उज्वेकिस्तानमा ५० दिन प्रशिक्षण गरेर फर्कने छन्। संघका अध्यक्ष वज्राचार्यले अन्तर्राष्ट्रिय प्रतियोगितामा स्वर्ण जित्ने लक्ष्यसहित खेलाडीलाई वैदेशिक प्रशिक्षणको व्यवस्था मिलाएको बताए। उनले भने, 'उज्वेकिस्तानको प्रशिक्षणपछि हाम्रा खेलाडीले स्वर्ण जित्छन् भन्ने विश्वास छ। घरेलु प्रतियोगितामा प्रतिस्पर्धा बढ्दै गएको छ। हामीले नेपालमै पनि नियमित प्रशिक्षणलाई प्राथमिकता दिइरहेका छौं। यसले हामीलाई अन्तर्राष्ट्रिय पदक जित्न सहयोग गर्नेछ।'
जुडो खेलाडीले पहिलोपल्ट राम्रो प्रशिक्षणको अवसर पाएको वज्राचार्यले बताए। यसअघि सन् २०१० मा नेपालले वैदेशिक प्रशिक्षण गर्ने क्रममा ११औं दक्षिण एसियाली खेलकुदलक्षित गरी ७ खेलाडी भारत पठाइएको थियो। 
अध्यक्षले दुई ठुला प्रतियोगिताअघि प्रशिक्षणको अवसर पाउनु नेपालका लागि सुखद भएको बताए। उनले भने, 'हामीले सही समयमा प्रशिक्षण अवसर पाएका छौं। यसले काठमाडौं हुने दक्षिण एसियाली जुडो र इन्चोनमा हुने एसियन जुडोमा पदक जित्न सहयोग हुन्छ।' खेलाडीहरू अन्तर्राष्ट्रिय जुडो महासंघको सहयोगमा उज्वेकिस्तान प्रशिक्षणका लागि गएका हुन्। उज्वेकिस्तानमा महासंघले जुडो एकेडेमी चलाएको छ। 
१२औं र १३औं राष्ट्रिय प्रतियोगितामा स्वर्ण जित्ने खेलाडीलाई प्रशिक्षणमा पठाएको वज्राचार्यले बताए। ५० दिने प्रशिक्षणमा नेपाली खेलाडीले विदेशी खेलाडीसँग प्रतिस्पर्धा गर्ने अवसर पाउने छन्। 
इन्चोन एसियाली खेलकुदका लागि विदेश प्रशिक्षक पठाइदिन अन्तर्राष्ट्रिय जुडो महासंघसँग आग्रह गरेको अध्यक्ष वज्राचार्यले जानकारी गराए। सदस्यसचिव लामाले सधैं यस्तो प्रशिक्षणको अवसर नपाउने बताउँदै प्रशिक्षणमा सतप्रतिशत मेहनत गर्न खेलाडीलाई सुझाए।

प्रकाशित: ७ फाल्गुन २०७० २१:०० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App